साउनमा धार्मिक आस्था र श्रृङ्गारको रौनक « Khabarhub

साउनमा धार्मिक आस्था र श्रृङ्गारको रौनक


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धरान– धरान उपमहानगरपालिका–१४ की रमा नेपाली बिहीबार बिहानै हरियो चुरा र मेहन्दी लगाएर मन्दिरमा पुगिन् । हरेक वर्ष साउने सङ्क्रान्तिको दिनदेखि नै यसरी नै उनी हरियो श्रृङ्गारमा सजिने गर्छिन् । 

उनले भनिन् , ‘साउन सुरु भएपछि हरियो श्रृङ्गारमा सजिनु धर्म र संस्कृतिप्रतिको श्रद्धा हो जस्तो लाग्छ । ब्रत बसेर हरियो चुरा लगाउँदा आत्मिक सन्तुष्टि मिल्छ ।’

उनका अनुसार साउन महिना जीवनसँग गहिरो रूपमा जोडिएको छ । यो महिना सुरु हुनासाथ महिलामा विशेष उत्साह जाग्ने गर्दछ । हरियो चुरा, मेहेन्दी, हरियो र पहेँलो पहिरन केवल सजावट मात्र नभई उनी परम्परा र आस्थाका प्रतीक ठान्छन् । शिवको पूजा गर्दै सोमवार व्रत बस्दा आत्मिक शान्ति मिल्ने उनको अनुभव छ । बाल्यकाल सम्झँदै उनी भन्छिन्, ‘पहिले आमा बिहानै उठेर गाईको दूध, बेलपत्र लिएर पूजा गर्न मन्दिर जाने गर्थिन्। अहिले म आफैँले पनि त्यो परम्परा निर्वाह गरिरहेकी छु ।’

साउन महिनाको ब्रतले अनुशासन, संयम र श्रद्धाको भाव सिकाउने बताउँदै उनले हरियो रङलाई जीवनमा आशा र समृद्धिको प्रतीकका रूपमा लिएकी छन्  । साथीहरूसँग चुरा किन्न बजार जाँदा हुने रमाइलो क्षण अझै विशेष लाग्ने गरेको उनको अनुभव छ । साउन महिनाको आगमनसँगै नेपाली हिन्दू समुदायमा विशेष उमङ्ग र उल्लास छाउने गर्दछ ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि साउने सङ्क्रान्तिदेखि नै देशका विभिन्न शहरमा हरियाली पोशाक, चुरा र मेहेन्दीको रौनक देखिन थालेको छ । धरान, सुनसरीलगायतका सहरमा साउन लागेसँगै महिला दिदीबहिनी हरियो, पहेँलो र रातो रङका पहिरन, चुरा तथा मेहेन्दीमा सजिएर धार्मिक आस्था प्रकट गरिरहेका छन् ।

धरान उपमहानगरपालिका–३ की पवित्रा सुवेदी पनि साउनभर हरियो चुरा, पोते र पहिरनमा सजिन मन लाग्ने बताउँछिन्। उनी प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिर गई पूजापाठ गर्ने गरेको बताए। शिवको कृपा पाउन पार्वतीले जस्तै हरियो पहिरन र चुरा लगाएर व्रत बसिन्छ भन्ने विश्वासले गर्दा यो परम्परा पछ्याउँदै आएको उनले सुनाइन् । 

धरान उपमहानगरपालिका–२० की सरस्वती राई भन्छिन्, ‘साउनमा बजारको चहलपहल हेर्दा दसैँ झैँ लाग्छ । उनले पनि साउनमा लगाउन केही दिनअघि नै बजार आई हरियो चुरा, पोते र कपडा किनेको बताइन्। 

साउनमा विशेषगरी सोमबारका दिन ब्रत बसी शिव मन्दिरमा पूजा–आराधना गर्ने परम्परा रहिआएको छ । विशेषगरी विवाहित महिलाहरूका लागि साउन महिना धर्म, संस्कृति र सौभाग्यको प्रतीकका रूपमा लिइन्छ । यस महिनाभर महिलाहरूले व्रत बस्ने शिव मन्दिर जाने, शाकाहारी भोजन ग्रहण गर्ने तथा हरियो श्रृङ्गारका सामग्री प्रयोग गर्ने परम्परा रहेको छ ।

साउन महिना शिवजीको आराधनाको विशेष समयको रुपमा लिने गरिन्छ । यो महिनाभर व्रत बस्ने, मन्दिर जाने, चुरा–मेहेन्दी लगाउने चलन पुरानै हो । तर समयसँगै यसको महत्व अझ बढेको छ । अहिले महिलाहरूले यो समयलाई आत्मचिन्तन र आध्यात्मिक उन्नतिको समयका रूपमा पनि लिने गरेका छन् । साडीमा हरियो र पहेँलो रङको मेल, चुरा र मेहेन्दीले सजिएको हात यी सबै कुराले हाम्रो संस्कृतिलाई जीवित राखेको छ ।

‘साउनको हरेक सोमबार मन्दिरमा शिव पूजाका लागि जाने हाम्रो परम्परा छ, म यसलाई केबल धार्मिक कर्तव्यको रूपमा होइन, महिलाहरूबीचको एकताको रूपमा पनि हेर्छु’, इटहरी उपमहानगरपालिका–७ का रमा बस्नेत भन्छिन्, ‘साउन महिनाभर हामी समूहमा पूजा गर्छौं, भजन गाउने गर्छौं, अनि एक अर्काको घरमा प्रसाद बाँड्छौँ यस्तो संस्कारले साथीहरुमा सम्बन्ध बलियो बनाउँछ ।’

साउन महिना हामी महिलाका लागि भने साँच्चीकै विशेष लाग्ने गरेको बताउँदै उनले भनिन् , ‘ब्रत बस्दा शरीर शुद्ध हुन्छ, हरियो चुरा र पहेँलो कपडा लगाएर साथिहरुसँग मठमन्दिरमा पूजा गर्न जान्छौँ । यसले हाम्रा तन र मन पवित्र भएको अनुभव हुन्छ ।’
    
अहिले साउन महिनाको आगमनसँगै धरानको प्रमुख व्यापारिक क्षेत्र भानुचोक, सब्जीमण्डी, देसीलाइन, पुरानो बजारलगायतका स्थानमा रहेका कस्मेटिक तथा चुरा पसलमा उल्लेखनीय चहलपहल देखिएको छ । श्रृङ्गार सामग्री किनमेल गर्ने महिला ग्राहकको आवागमन बाक्लिँदै गएसँगै ती क्षेत्रमा बजार गतिविधि झनै रङ्गीन बनेको छ ।

व्यापारीहरूका अनुसार साउन महिनामा बिक्री हुने चुरा, मेहेन्दी, टिका, क्लिप, बिन्दी, नेलपोलिस, सिन्दूरलगायतका श्रृङ्गार सामग्रीमा अन्य महिनाको तुलनामा उल्लेखनीय माग बढ्ने गरेको छ । विशेषगरी विवाहित तथा किशोरी महिला साउन महिनामा हरियो रङको चुरा र मेहेन्दीप्रति आकर्षित हुने भएकाले बजारमा ती वस्तुको माग उच्च हुने गरेको गर्दछ ।

 ‘साउन एक महिनाको बिक्री अरू महिनाभन्दा दोब्बर जस्तै हुन्छ’, धरान सब्जीमण्डीका व्यापारी सञ्जय महर्जनले भन्छन्, ‘साउन सुरु भएपछि  ग्राहकको घुइँचो बिहानैदेखि लाग्ने गर्छ । अघिल्ला महिनामा फाट्टफुट्ट ग्राहक आउने तर साउन सुरु भएपछि चुरा लागाउने ग्राहक महिलाहरुको सङ्ख्या बिहानैदेखि बेलुकासम्म नै पसलमा भीड हुन्छ ।’

यसरी साउनले बजारमा ल्याउने उत्साह र चहलपहलले स्थानीय साना व्यापारीलाई मात्र होइन, सम्पूर्ण बजारलाई नै जीवन्त बनाउने गरेको देखिन्छ । व्यापारी महर्जनले भने, ‘साउन महिना हामीजस्ता साना व्यापारीका लागि विशेष व्यस्तता र आम्दानीको राम्रो अवसर पनि हो ।’ 

साथै, मेहेन्दी लगाउने चलन बढेसँगै धरानका सौन्दर्य सैलुन, ब्युटीपार्लरमा समेत सेवाग्राहीको चाप दोब्बर भएको देखिएको छ । धरानको देसीलाइनमा ब्युटीपार्लर सञ्चालन गर्दै आएकी रमिला खत्री साउन सुरु भएयता मेहेन्दी लगाउन आउने महिलाको सङ्ख्या दिनहुँ बढ्दै गएको बताउँछिन्।

हरियाली, हरियो चुरा, हरियो मेहेन्दी र हरियो पोशाकले साउनले नारी चेतनामा आध्यात्मिक अनुभूति थप्ने गरेको छ । धरानको सडकदेखि मन्दिर परिसरसम्म र बजारदेखि नारी मनसम्म साउने हरियालीले आत्मालाई हरित भावनासँग जोड्ने गरेको छ । साउनमा विशेषगरी विवाहित हिन्दु महिलाहरूले श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने, हरियो चुरा र मेहन्दी लगाउने तथा शिव मन्दिरमा पूजाआजा गर्ने परम्परा छ । आज साउने सङ्क्रान्तिको बिहानै धरानका मन्दिरमा पूजारी र दर्शनार्थीको सङ्ख्यासमेत उल्लेखनीय बढेको देखिन्छ ।

हिन्दु शास्त्रअनुसार हरियो रङलाई हरियाली, प्रेम र आशाको प्रतीक मानिन्छ भने पहेँलो रङ पवित्रता र रातो रङ सौभाग्यको सङकेत हो । यी तीन रङगको संयोजनमा श्रृङ्गार गरेर महिलाहरू शिव उपासना र ब्रतमा सहभागी हुने गर्छन् । 

हिन्दु धर्मशास्त्रमा उल्लेख भएअनुसार साउन महिनाभर देवी पार्वतीले भगवान शिवलाई प्राप्त गर्न निराहार व्रत बसी, हरियो चुरा, पोते, मेहन्दी र पहिरनमा सजिएर पूजा गरेको वर्णन पाइन्छ् । यही धार्मिक प्रसङ्गलाई आधार मानेर नेपाली हिन्दु नारीहरूले यो महिनालाई सौभाग्य, पति दीर्घायु र पारिवारिक समृद्धिको प्रतीकका रूपमा मनाउने गर्छन् ।

रासस

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : १९ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप