ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’ | Khabarhub Khabarhub

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

मोदीले निम्तो पठाएछि मुस्कुराइन् परराष्ट्र मन्त्री


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो पठाएका छन्। मोदीकोतर्फबाट विदेश सचिव विक्रम मिश्रीले आइतबार बिहान सिंहदरबारमा भएको भेटमा ओलीलाई औपचारिक रुपमा भ्रमणको निमन्त्रणा दिएका हुन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आएका मिश्रीले सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको भेटका क्रममा निमन्त्रणा दिएका हुन् । भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले निम्तो प्राप्त भएको पुष्टि गरेका छन् ।

भेटका अवसरमा दुुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ओलीको यो भ्रमण आगामी भदौ ३१ देखि असोज २ गतेसम्म हुने भनिए पनि भारतीय र नेपाली दुवै पक्षले औपचारिक रुपमा घोषणा गरेका छैनन् ।

दुवै मुलुकका कूटनीतिक संयन्त्रले आपसी समझादारी गरेर भ्रमणको मिति र कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेका छन् । तर प्रधानमन्त्री ओली भारतभन्दा पहिले चीन जाँदैछन् । उनी ९ महिनामा दोस्रो पटक चीन यात्रामा जान लागेका हुन् ।

तेस्रो कार्यकालका लागि २०८१ असार ३० गते प्रधानमन्त्री बनेका ओली २०८१ मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएका थिए । त्यसको ठ्याक्कै नौ महिनापछि यही भदौ १४ गते ओली चीनतर्फ जानेछन् । त्यहाँबाट फर्किएपछि मात्रै ओलीको भारत भ्रमणको औपचारिक घोषणा हुनेछ ।

ओली संघाई कोअपरेशन अर्गानाइजेशन (एससीओ) को सम्मेलनमा भाग लिन भारतभन्दा पहिले चीन जान लागेका हुन् । ओली भदौ १४ मा चीन गएर भदौ १८ गते फर्किने कार्यक्रम छ । त्यसपछि उनको भारत भ्रमणको कार्यक्रम बन्नेछ ।

एससीओको सम्मेलनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले भदौ १६ गते तियान्चिन सहरमा उद्घाटन गर्दैछन् । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जाने पक्का भइसकेको छ । प्रधानमन्त्री मोदी सन् २०१८ मा भएको गलवान झडपपछि पहिलो पटक चीन यात्रामा जाँदैछन् ।

ओलीका लागि चीनमै भारतीय समकक्षी र चिनियाँ राष्ट्रपति दुवैलाई भेट्ने गतिलो अवसर एससीओको सम्मेलन बन्नेछ । उक्त सम्मेलनमा रसियासहित अन्य २० भन्दा धेरै देशका राष्ट्र र सरकार प्रमुख सामेल हुँदैछन् ।

ओलीका लागि दुई ठूला छिमेकीको नेतृत्वलाई एकै मञ्चमा भेट्ने अवसर एसीओ सम्मेलनले जुराउँदैछ । उक्त सम्मेलनमा भाग लिएर भदौ १८ मा फर्किएपछि ओली भारत जाने छन् । त्यही सम्मेलनमा ओलीले मोदीसँग साइडलाइन वार्ता गर्ने अवसर पाउनेछन् । भ्रमणका मुख्य एजेन्डा दुई नेताले त्यहाँ पनि तय गर्न सक्नेछन् ।

प्रधानमन्त्री भएयताको १४ महिानामा ओलीले भारतको औपचारिक भ्रमण गर्न पाएका छैनन् । नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाएको कुरामा असन्तुष्ट भारतले बल्ल ‌ओलीलाई ग्रिन सिग्नल दिएको हो । यसअघि परम्परागत रुपमा नेपालका प्रधानमन्त्रीले पहिलो औपचारिक भ्रमण भारतबाट गर्थे। तर यो परम्परा पुष्पकमल दाहाल प्रचण्डले पनि तोडिसकेका छन् । ओलीले पनि अमेरिका र चीनपछि भारतको भ्रमण गर्ने भएका हुन्।

पहल र असन्तुष्टि

प्रधानमन्त्रीमा नियुक्त हुनेतबित्तिकै ओलीले भारत भ्रमणको इच्छा देखाएका थिए । तत्कालीन पुष्कपम दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अचानक बिदा गरेर सत्तारोहण गरेका ओलीले यसबीचमा २०८१ मंसिर १७ देखि २० सम्म उत्तरी छिमेकी चीनको भ्रमण गरिसकेका छन् ।

ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्रीको भूमिका पाएपछि डा. आरजु राणा २०८१ भदौ पहिलो साता भारत जाँदा गतिलो स्वागत पाएकी थिइन् । त्यसबेला उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तासमेत दिइन् ।

आरजुको उक्त भ्रमणकै क्रममा नेपाली पक्षले ओलीलाई निम्तो दिने अपेक्षा गरेको थियो । तर नेपालले चाहे जस्तो भएन, आरजुलाई भब्य स्वागत गरेको भारतले ‌ओलीलाई ग्रीन सिग्नल दिएन । बरु मोदीले आफू नेपाल आउने आश्वासन मात्रै दिए । तर उनले कहिले, कसरी आउने केही कुरा खुलाएनन् ।

मोदीले भनेअनुसार न त उनी नेपाल आउने टुंगो भयो, न त भदौयताका तीन महिनामा ‌ओलीलाई नयाँदिल्लीले निम्तो नै पठायो । आफ्नो चहानाविपरीत नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि असन्तुष्ट भारतले ओलीका लागि रेडकार्पेट बिछ्याउने इच्छा देखाएन ।

ओलीका लागि रेडकार्पेट बिच्छाउन अनिच्छा देखाएको भारतले विगतमा चुच्चे नक्सा पारित गर्ने सवालमा, नेपालको नयाँ संविधान जारी हुँदा र नाकाबन्दीको समयमा ओलीको भूमिकालाई अझै पचाउन सकेको छैन । अर्कातिर ओलीलाई भारतले उत्तरी छिमेकी चीनसँग निकट भएको आरोप पनि लगाउने गरेको छ ।

यही आरोपबीच भारतले निम्ता नगरेपछि ओलीले २०८१ मंसिर १७ गतेदेखि उत्तरतिर गएर बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनका लागि फ्रेमवर्कमा हस्ताक्षर गरेर फर्किए । चीनसँग जोडिएको भारत त्यस्तो देश हो, जसले बीआरआईबाट आफूलाई परै राखेको छ । तर उसका वरिपरिका अधिकांश छिमेकी बीआरआईमा जोडिएका छन् ।

ओलीले बीआरआई फ्रेमवर्क अगाडि बढाउने सम्झौता गरेसँगै चीनले नेपालमा भैंसी-राँगा उत्पादनका लागि एक खर्बको परियोजनामा लगानी गर्न अर्को पक्रिया अघि बढाइसकेको छ । यसलाई लिएर चीन र नेपालबीच काठमाडौंमा नयाँ सम्झौता भइसकेको छ ।

नेपाली पक्ष ऋण र अनुदानमध्ये कुन भनेर अलमलिइरहेका बेला चीनले एक कदम अगाडि बढेर नेपालमा बीआरआई कार्यान्वयन थालिसकेको छ । आफूलाई ओलीनिकटका रुपमा चिनाउँदै आएका एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले २०८१ पुस २५ गतेदेखि प्रधानमन्त्री ओली चार दिने भारत भ्रमणमा जाने भनेर ठोकुवा नै गरेका थिए । तर उनको ठोकुवाले त्यहीबेला हावा खायो ।

ओलीको भारत भ्रमणलाई लिएर अनेक अड्कलबाजी चलेका बेला २०८१ पुसमा परराष्ट्रमन्त्री डा. आरजु राणा युरोप हुँदै भारत पुगेकी थिइन् ।

पुस २ गते जर्मनीको बर्लिनमा आयोजित समान अधिकारसम्बन्धी सम्मेलनलाई उनले सम्बोधन गरेर डा. राणा जर्मनीको भारतको नयाँ दिल्ली पुगेकी थिइन् ।

नयाँ दिल्लीमा आयोजित भारत-नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधनका क्रममा उनले भारतसँग गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलका लागि अतिरिक्त हवाई रुट मागेकी थिइन् ।

औपचारिक रुपमा उनले नयाँ हवाई रुट मागे पनि गत भदौमा जस्तो आरजुलाई भारतले महत्त्व दिएन । चीनसँग बीआरआई फ्रेमवर्क सम्झौता गराउन नेपालबाट महत्त्वपूर्ण भूमिका खेलेकी आरजुले यस पटक दिल्ली पुग्दा चिसो महसुस गर्नु परेको थियो । नयाँ दिल्ली पुगेर उनले पटक पटक ओलीको सम्भावित भ्रमण तालिका मिलाउने कूटनीतिक प्रयास पनि नगरेकी होइनन् ।

तर उनलाई दिल्लीले त्यसबेला रेड कार्पेटको साटो रातो झन्डा देखाएर पठाइदियो । अर्थात्, आरजुले त्यस भ्रमणबाट पनि ओलीको दिल्ली यात्रा तय गर्न सकिनन् । दिल्ली उत्रिँदा उनलाई भारतीय पक्षले स्वागतको औपचारिकता पनि पूरा गरेको थिएन । परराष्ट्र मन्त्री राणालाई नयाँ दिल्लीमा नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका थिए ।

नेपाली कांग्रेससँग निर्भर भएर सत्ता यात्रा गरेका प्रधानमन्त्री ओलीका लागि दिल्लीले बल्ल हरियो झन्डा देखाएको छ । दिल्लीले हरियो झन्डा देखाएसँगै अब ओलीलाई दुई छिमेकीबीच भूराजनीतिक तनाव बोक्नु नपर्ने भएको छ ।

त्यसबेला ओलीलाई दिल्लीले चिनियाँनिकटको ट्याग लगाउँदै गर्दा अर्का चीननिकटलाई भने स्वागत गरेको थियो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायके भारतीय प्रधानमन्त्री मोदीको निम्तोमा गत पुस १ गते भारत पुगे । कम्युनिस्ट पृष्ठभूमिका उनी श्रीलंकामा विजयी हुँदा भारतलाई तनाव भएको थियो । तर भारतले उनको पहिलो विदेश भ्रमण दिल्लीबाट गराउन सफल हुँदा आफ्नो भूराजनीतिक जितका रुपमा ब्याख्या गर्‍यो ।

वामपन्थी दिसानायके भ्रष्टाचारविरुद्ध लड्ने वाचासहित सत्तामा आएका थिए । अघिल्लो महिनाको संसदीय चुनावमा उनको पार्टीले दुईतिहाइ सीट ल्याएको थियो । नयाँ दिल्ली श्रीलंकामा बेइजिङको बढ्दो प्रभावबारे चिन्ता भइरहँदा दिसानायकेले भारत आएर छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने सन्देश दिए ।

प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान राजनीतिक गठबन्धनसँग सम्बन्ध विस्तार र सहकार्यमा भारतले लामो समय अभिरुची देखाएन । वि.सं २०७९ मा भारतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनेका बेला स्थिर सम्बन्धको आशा राखेको थियो । तर उसले चाहेको विपरीत नेपालको राजनीतिक परिदृश्य फेरिँदा दिल्लीले अप्ठेरो महसुस गर्नुपर्‍यो ।

भारतीय सत्तारुढ भाजपा र प्रधानमन्त्री मोदीले ओली आएसँगै सीमाविवाद (भारतले मिचेको नेपाली भूमि) बारे कुरा उठाउन सक्ने आशंका गरेका थिए । यद्यपि ओलीले यसबारे अहिले बोलेका छैनन्, दक्षिणले नबोलाउँदा उत्तर गएपछि ओलीले बीआरआई कार्यान्वय अघि बढाएकाले दिल्ली झन् निराश थियो । तर भारत आफैं विश्व भूराजनीतिको चेपुवामा परेर अमेरिकाबाट ट्यारिफको बोज बोकिरहेका बेला दिल्ली छिमेकीसँग सम्बन्ध सुधार अभियान थालेको हो। त्यसैको संकेत ओलीलाई देखाइएको हरियो झन्डा रहेको कूटनीतिज्ञहरूको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण अनिश्चित बन्दा परराष्ट्रमन्त्री डा राणा दबाबमा थिइन । तर आइतबार भारतीय विदेश सचिव मिश्रीले ओलीलाई निम्तो दिएसँगै उनी सबैभन्दा खुसी देखिइन् । त्यो खुसी मिश्रीसँग खिचिएका तस्बिरमा पनि झल्किएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : ५४ बजे

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजामा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार