सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार | Khabarhub Khabarhub

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो जीवन जोखिममा राख्ने ‘इमर्जेन्सी रेस्पोन्स रुम्स’ (इआरआर) स्वयंसेवकहरूको नेटवर्कलाई बुधबार नर्वेको प्रतिष्ठित ‘राफ्टो मानव अधिकार पुरस्कार’ प्रदान गरिएको छ ।

सन् २०२३ अप्रिलदेखि नियमित सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएपफ) बीचको भीषण युद्धले सुडानलाई ध्वस्त पार्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको तथ्यांकअनुसार द्वन्द्वमा दशौँ हजारको मृत्यु भइसकेको छ र एक करोड ४० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । अनिकाल र हैजाले देशलाई थप संकटग्रस्त बनाएको छ ।

राफ्टो फाउन्डेसनले इआरआरलाई ‘सबैभन्दा मौलिक मानव अधिकार-जीवनको अधिकारको संरक्षणका लागि गरेको साहसी कार्य’ को सम्मानस्वरूप पुरस्कार दिएको हो ।

युद्ध सुरु भएलगत्तै, राज्य र पूर्वाधारविहीन देशमा समुदायका नागरिकहरूले स्वयंसेवकका रूपमा ‘सामुदायिक भान्सा’ (कम्युनिटी किचेन) स्थापना गरेर छिमेकीलाई खाना, स्वास्थ्य सेवा र निकासी सहयोग उपलब्ध गराएका थिए ।

सन् २०१९ मा तानाशाह ओमार अल–बशीरको पतनताका प्रजातन्त्र समर्थक आन्दोलनमा सक्रिय प्रतिरोध समितिहरूबाट विकसित इआरआर अहिले हजारौँ स्वयंसेवकहरूको अभियान बनेको छ ।

‘इआरआरहरूले जीवन बचाउँछन्, निराशामाथि मानव गरिमा कायम राख्छन् र अभिनव पारस्परिक सहायता मार्फत नागरिक समाजलाई बलियो बनाउँछन्’, राफ्टो फाउन्डेसनले भनेको छ ।

सञ्चार अवरोध र पत्रकारहरूको न्यून उपस्थिति बीच स्वयंसेवकहरूले आक्रमणहरूको दस्तावेजीकरण गर्ने महत्त्वपूर्ण भूमिका खेलेका छन् । तर उनीहरू बारम्बार हिंसा, बलात्कार, कुटपिट र लुटपाटको शिकार बनेका छन् । द्वन्द्व सुरु भएदेखि एक सयभन्दा बढी स्वयंसेवक मारिएको फाउन्डेसनले जनाएको छ ।

यससँगै, दुवै पक्षलाई युद्धविराम गर्न, नागरिक जीवनको सुरक्षा गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्न आग्रह गरिएको छ ।

सन् १९८७ देखि दिइँदै आएको यो पुरस्कार नर्वेली मानव अधिकार कार्यकर्ता थोरोल्फ राफ्टोको नाममा स्थापना गरिएको हो । यसमा २० हजार डलरको राशिसहित सम्मान गरिन्छ । यसअघि यो पुरस्कार पाएका आङ सान सुकी, जोस रामोस–होर्टा, किम दाए–जङ र शिरिन एबादीले पछि नोबेल शान्ति पुरस्कार समेत जितेका थिए ।

यस वर्षको पुरस्कार विजेताको औपचारिक घोषणा अक्टोबर १० मा ओस्लोमा हुनेछ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ७ : १२ बजे

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित

सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी

कञ्चनपुर – वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय