काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध बनाउन केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको ठहर गरेका छन् ।
पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै ढकालले पार्टीलाई कमजोर बनाउन पार्टी नेतृत्वमाथि चरणबद्ध प्रहार भइरहेकाले यसका विरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावको समर्थन गर्दै ढकालले वर्तमान सरकारलाई ‘गैरसंवैधानिक र प्रतिगमनकारी’ भएको टिप्पणी गरे । उनका अनुसार यस्तो सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास दल र जनतामा जगाउन सकेको छैन ।
‘आजको कार्यभार जनतालाई जागृत गराउँदै, पार्टी पंक्तिलाई सचेत बनाउँदै, पार्टीको पक्षमा जनलहर सिर्जना गर्नु हो,’ उनले भने ।
राष्ट्र र राष्ट्रियताको सवालमा पार्टी अध्यक्ष ओलीले देखाएको दृढता र नेतृत्व क्षमताको प्रशंसा गर्दै ढकालले भने, ‘श्रद्धेय अध्यक्ष ज्युलाई विगतमा पार्टी अध्यक्ष र सदस्यताबाट कारबाही गरेर सडकमा पुर्याउन खोज्दा पनि उहाँ विचलित हुनु भएन । उहाँले जस्तोसुकै आँधीबेहरी पनि सामना गर्नसक्ने क्षमता देखाउनुभयो । पार्टीलाई यो उचाइ दिनु भयो । त्यसैले हिजो पनि उहाँको आवश्यकता थियो, आज पनि छ र भोलि पनि रहनेछ ।’
उनले पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीको नेतृत्वमा साथ दिन आग्रह गरे । वर्तमान सरकार गैरसंवैधानिक र प्रतिगमनकारी भएको दाबी गर्दै ढकालले निष्पक्ष र भयरहित निर्वाचन सम्भव नदेखिएको भन्दै जनतालाई जागृत र पार्टी पंक्तिलाई सचेत बनाउन आग्रह गरे ।
ढकालले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका घटनाबारे विस्तृत अध्ययन गर्न तथा त्यसमा संलग्न विभिन्न शक्तिहरूको पहिचान गरी जनतामाझ तथ्यसहित प्रस्तुत गर्न छानबिन आयोग गठन गर्न माग गरे ।
साथै, आन्दोलनका नाममा गृह प्रशासनले सक्कली जेन-जीलाई बेवास्ता गर्दै नक्कली जेन-जीलाई पुरस्कार र प्रमाण पत्र प्रदान गरिरहेको दाबी गर्दै लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका नेता ढकालले आन्दोलनका घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरे ।
आन्दोलनको नाममा सरकारी र व्यक्तिगत सम्पत्तिका साथै उद्योग कलकारखानामा तोडफोड र आगजनी गर्नेहरुमाथि कडा कारबाही गर्नुपर्ने भन्दै उनले दोषीलाई उन्मुक्ति दिन नुहने बताए ।
पार्टीका जिम्मेवार नेताहरुको नाम बारबरा फाउन्डेसनसँग जोडिएका समाचार सञ्चारमाध्यममा आएको प्रसङ्गमा नेतृत्वको ध्यानाकर्षण गराउँदै उनले भने, ‘यदि बारबरा फाउन्डेसनसँग पार्टी नेताहरु जोडिएको प्रमाण भेटियो भने पार्टीले छानबिन गरी कारबाही गर्नुपर्छ ।’
पार्टी नेताहरू संयमित हुन आग्रह गर्दै ढकालले भने, ‘पार्टी अहिले चौतर्फि आक्रमणको घेरामा छ । यस्तो बेला सस्तो लोकप्रियता खोज्ने र व्यक्तिगत हिरो बन्ने दुस्साहस नगरौँ । विधिको सम्मान गरौँ । यो समय एकताबद्ध भएर पार्टी निर्माणमा लाग्ने बेला हो ।’
हिजोदेखि ललितपुरमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले आआफ्ना धारणा राखिरहेका छन् ।
प्रतिक्रिया