एमाले नेता रविन कोइरालालाई प्रश्न : झापाली भएर किन अर्को झापालीको विरोध गरेको ? | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक

एमाले नेता रविन कोइरालालाई प्रश्न : झापाली भएर किन अर्को झापालीको विरोध गरेको ?



काठमाडौं- झापा बाहुनडाँगीका नेता रविन कोइरालाले नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बाटो खुल्ला गरेर महाधिवेशन अगाडि नै नेतृत्वबाट बिदा लिनुपर्ने माग गरे । एकै जिल्लाको पानी खाएका यी दुई एमाले नेता बाजे-नाति पुस्ता हुन् । तर, कोइरालाले अब ओलीले राजनीतिक विश्राम लिनुपर्ने माग गरेका छन् ।

ओलीले विद्या भण्डारीमाथि अन्याय गरेको बताउँदै उनले सदस्यता नवीकरण गर्नुपर्ने बताए । नेता कोइराला ओलीले राजनीतिक प्रतिवेदनमा आत्मालोचना नगरेकोमा समेत दुःखी छन् ।

कोइरालासँग पार्टी नेतृत्व, महाधिवेशन र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा गरिएको कुराकानीको सम्पादित अंश-

झापाली भएर अर्को झापाली अध्यक्ष ओलीको राजीनामा माग्नुभयो नि ?

नेपालको कुरा गरौँ । कुनै जिल्ला विशेषको कुरा होइन । नीतिगत रूपमा नेपाली जनता र राष्ट्र आज कुन अवस्थामा छ ? आज नेपाल र राष्ट्रको नेतृत्व गरिरहेका छौँ । त्यस्तो बेलामा जिल्ला टोल र गाउँ भनेर सङ्कुचित हुने अवस्था किन बन्छ ? त्यो त बन्नु हुँदैन नि । केन्द्रीय कमिटी भनेको राष्ट्रिय नीतिनिर्माण गर्ने थलो हो । यो टोल कमिटी र जिल्ला कमिटीको बैठक होइन । यो राष्ट्रिय नीतिनिर्माणको कुरा हो । बोल्न पाउनुपर्छ । आज देश अप्ठ्यारो अवस्थामा छ ।

मैले झापालीभएर झापाको विरोध गरेको होइन । मैले उहाँलाई अभिभावक बन्नु भनेको हो । मैले यसो भन्न पाउँदिन र ? मेरो घरको हजुरबुबालाई ढोग्न पाउँदिन ? म उहाँको नाति हुन खोजेको, के फरक पर्‍यो र ? मैले उहाँलाई साष्टाङ्ग दण्डवत गर्न खोजेको हो, के फरक पर्छ र ? मैले के अपमान र विरोध गरेको छु र ? गरेको छैन । यो गलत कुरो र बुझाइ हो ।

तर, किन महाधिवेशन अगाडि नै विरोध गरेको ? पर्खन सक्नुभएन ?

हो,, मैले उहाँलाई अभिभावक बन्नु भनेको हो । यो कुरा त मैले उहाँलाई प्रधानमन्त्रीको राजीनामा दिएकै दिन पनि भनेको हो । यत्रो घटना घटेको छ, यसबारे अल्फा र बिटाले पढ्ला, यो परिस्थितिमा उहाँले आफैँ सम्झेर आत्मालोचित हुनुपर्ने, क्षमा याचना गर्नुपर्ने परिस्थिति हो । यो कुरा मैले राखेको हो । उहाँले जनता र राष्ट्रसामु माफी माग्दै कमजोरी भयो भन्दा के हुन्छ ?

जनताले माफी दिन्छन् । पार्टीका कार्यकर्ताले सम्मान गर्छन् । मैले त्योसम्म किन भएन भनेको हो । विरोध र आलोचना गरेको होइन । विनय भावका साथ काम गरेको हो ।

महाधिवेशनअगाडि या पछाडि अध्यक्ष ओलीले पार्टी अभिभावक नबने यसको असर कस्तो पर्छ ?

मैले मिति तोकेर भनेको होइन । उहाँको अभिभावकत्व सधैँभरी कम्युनिस्ट आन्दोलनमा रहोस् । उहाँ झापा आन्दोलनको विद्रोहबाट उभिनुभएको नेता हो । बहुत धेरै दुःख कष्ट गरेर १४ वर्ष जेल जीवन व्यथित गर्नुभएको छ । धरै मेहनत गरेर कम्युनिस्ट आन्दोलनको विरासत निर्माण गर्नुभएको हो । उहाँको आदर गरेको हो ।

म सम्मान व्यक्त गर्छु र उहाँलाई अभिभावक बनिदिनुहोस् भन्न चाहन्छु । अबको दिनका स्वस्थ प्रतिस्पर्धाबाट तपाई मातहतका मान्छेलाई अगाडि बढ्न दिनुहोस्, यति भन्नु मेरो गल्ती हो ? मैले गलत गरेजस्तो लाग्दैन । यो विकल्पका बारेमा उहाँले नसोच्नु भनेको दूरगामी भविष्यद्रष्टा बन्ने कुरामा वञ्चित हुनु हो ।

यहाँको कुरा अध्यक्ष ओलीले आगामी नेतृत्वमा म उठ्दिन भन्नुपर्छ भन्ने नै हो नि, होइन?

हो । फेरि निर्वाचनमा उठ्ने वा फेरि कार्यकारी बन्ने कुरा परको भयो । उहाँले अभिभावक बनेर बसिदिनुपर्छ । अरूलाई पार्टी निर्माणमा अग्रसरता लिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ भन्ने कुरा हो ।

तर, अध्यक्षलाई बिदा हुनु भन्ने अनि पूर्वराष्ट्रपति भइसकेको व्यक्तिको सदस्यता नवीकरण गर्नुपर्छ पनि भन्नुभयो भन्ने आरोप छ नि ?

हो, मैले भनेकै हो । उहाँलाई फर्काउनुपर्छ । मदन भण्डारी यो देशको कम्युनिस्ट आन्दोलनको, जबजको प्रणेता हो । उहाँको परिवारमा रहेको व्यक्ति र राजनीतिक हिसाबमा पनि एउटा उचाइ प्राप्त गर्नुभएको विद्या भण्डारीले पार्टीको सदस्यता नवीकरण गर्छु भन्दा, मदन भण्डारीको सम्झना र उहाँकै विरासतलाई समझेर, योगदानलाई सम्झेर पनि उहाँको परिवारलाई जहाँ आउँछौँ भन्नुहुन्छ, आउन दिनुपर्छ । यो पार्टी उहाँले नै निर्माण गरेको हो ।

उहाँहरूलाई वञ्चित गरेर एकाधिकार र निरङ्कुशता प्रयोग गर्नु हुँदैन । त्यो सह्य भएन । उहाँ अध्यक्ष बन्नुहुन्छ कि बन्नुहुँदैन, तर पार्टी सदस्य नै बन्न नपाउनेगरी वञ्चित गर्ने कुरा भयो भनेर मैले उठाएको हो । उहाँ भोलि आएर पार्टी समर्थक, सदस्य भएर योगदान गर्नुहुन्छ कि ? उहाँ केन्द्रीय तहमा आउनुहुन्छ कि ? पार्टी अध्यक्ष नै भएर आउनुहुन्छ कि ? त्यो फरक कुरा भयो, तर पार्टीकै सदस्य बन्नबाट वञ्चित गर्ने कुरा ठिक छैन ।

दुनियाँलाई ल्याउने तर आफ्नो देशको होनहार राजनीतिक सिद्धान्तकार व्यक्तित्वको परिवार र राजनीतिक व्यक्तिले म पार्टी सदस्य हुन्छु भनेर भन्दा दिन नसक्नु त्यो भन्दा विवादित के हुन्छ र ?

यहाँको विश्लेषणमा अध्यक्षले आफ्नो भाग खोसिने डरले पूर्वराष्ट्रपतिलाई रोक्नुभएको हो ?

मलाई थाहा छैन । उहाँहरू नजिक भएर सहकार्य गरेको व्यक्ति हो । उहाँहरूको सल्लाह परामर्श हुन्छ होला । तर मैले खाली अन्याय भयो भन्ने सन्दर्भमा मात्र बोलेको हो । उहाँ किन डराउनुभयो भन्ने कुरा नै पत्ता लगाउन सकिएन । तर, छक्क परेका छौँ ।

अर्को कुरा नि, ११ औँ महाधिवेशनमा पनि ओलीजी नै अध्यक्ष चुनिएर आउनुभयो भने यहाँहरू विद्रोह गर्नुहुन्छ कि एमालेमै बस्नुहुन्छ ?
मैले रोजेको पार्टी एमाले हो । कसैले छोड भन्दा नछोडेको पार्टी हो । त्यसो हुँदा को आउनुहुन्छ र कसरी आउनुहुन्छ भन्ने विषयमा मैले सोचेको छैन । आफू एमाले भएर रहन्छु । को कहाँहुने मत कसलाई दिने भन्ने कुरा आफ्नो इच्छाको विषय भयो ।

तर सदस्यता नवीकरण नभए र महाधिवेशनमा नेतृत्वमा उठ्न नपाए उहाँले पार्टी फुटाउनुहुन्छ भन्ने चर्चा छ नि ?

मलाई थाहा छैन । म शून्य छु, यसबारे जानकार छैन । उहाँको के योजना छ के गर्नुहुन्छ भन्ने मलाई जानकारी छैन । मदन भण्डारीको दुर्घटना भएर निधन भयो । एमाले पटक–पटक नेतृत्वमा जाँदा पनि छानबिन भएन । पूर्वराष्ट्रपति पार्टीमा आउन सदस्यता नवीकरण होस् भन्ने कुरा हो । उहाँ के गर्नुहुन्छ भन्ने कुरामा मसँग छलफल भएको छैन ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : ०४ बजे

राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१

म्याग्दे गाउँपालिकाले बाँड्यो ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रममार्फत पोषणभत्ता

दमौली– यहाँको म्याग्दे गाउँपालिकाले ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रममार्फत २४ जना महिलालाई

जावलाखेलमा पुष्प मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– यही असोज २५ गतेदेखि ललितपुरको जावलाखेलमा सुरु भएको ‘१८औँ

‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन

काठमाडौं– पैरवी बुक हाउस प्रालीको आयोजनामा शुक्रबार एक कार्यक्रमकाबीच अध्येता

प्रचण्ड, रवि र बालेनमाथि खनिएका महेश बस्नेतले भने : केपी ओलीविरुद्ध विदेशीले षड्यन्त्र गरे

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले अध्यक्ष