जेन-जी आन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी, अन्यमा राखिएका ४१ जना को थिए ? « Khabarhub

एक महिनापछि बोल्यो सेना

जेन-जी आन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी, अन्यमा राखिएका ४१ जना को थिए ?


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ गते पहिलो दिन भएको जेन-जीको आन्दोलनका क्रममा काठमाडौंमा १७ र इटहरीमा २ सहित १९ जनाले तत्कालै ज्यान गुमाए ।

काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवन परिसर र त्यसअगाडिको सडकमा गोली चल्दा घाइते भएकामध्ये केहीले उपचारका क्रममा ज्यान गुमाए ।

त्योभन्दा ठूलो हताहती भदौ २४ गतेको विध्वंशक प्रदर्शनका क्रममा भएको थियो । भदौ २३ गते १९ जनाको ज्यान गएपछि भोलिपल्ट भएको विध्वंशक र हिंस्रक प्रदर्शनका क्रममा मात्रै ५७ जनाले ज्यान गुमाए ।

यसरी ज्यान गुमाउने निजी तथा सरकारी कार्यालय जलाउन पसेकाहरू पनि थिए । काठमाडौं र अन्य स्थानका भाटभटेनी जलाउन पुगेका मात्रै झन्डै दर्जन संख्यामा जलेर बिते ।

त्यसरी जलेका ८ जनाको अझै पनि सनाखत हुन सकेको छैन । हाडखोड मात्रै बाँकी रहेकाले उनीहरूको डीएनए परीक्षण गरेर पहिचान गर्न चिकित्सकहरूलाई मुस्किल परेको छ।

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको जम्मा संख्या ७६ हो । तर ती सबै आन्दोलनमा सहभागी भएर मारिएका होइनन् ।

उक्त कुराको पुष्टि नेपाली सेनाले शुक्रबार जंगी अड्डामा गरेको पत्रकार सम्मेलनका क्रममा भएको छ । सेनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् देशभर भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गर्दा मारिनेहरूको विवरणमा केही अलमल देखिएको छ ।

सहायक रथी राजाराम बस्नेतले सार्वजनिक गरेको विवरणअनुसार जेन-जी आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका २२ जनाको ज्यान गएको थियो । उनीहरू भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मारिएका हुन् ।

सेनाको तथ्यांक अनुसार देशभर ४५४ स्थानमा आन्दोलन हुँदा २२ जना प्रदर्शनकारीको विभिन्न कारणले ज्यान गएको थियो । सेनाले उल्लेख नगरे पनि उनीहरूलाई प्रहरीले हानेको गोली लागेको थियो ।

उक्त आन्दोलनका क्रममा सडकमा खटिएका ३ जना प्रहरीको प्रदर्शनकारीले ज्यान लिएका थिए । यी तीनजना प्रहरीलाई आन्दोलनकारीले कुटेर ज्यान लिएका थिए ।

उता देशभरका कारागारबाट भाग्ने क्रममा १० जना कैदीले पनि ज्यान गुमाए । यसरी ज्यान गुमाउनेमा रामेछाप कारागारमा मात्रै तीनजना थिए । उनीहरूलाई भाग्ने क्रममा प्रहरी र सेनाले गोली चलाउँदा मारिएका हुन् ।

सेनाले सार्वजनिक गरेको तथ्यांकमा जेन-जी आन्दोलनका क्रममा अन्य ४१ जना नागरिकले ज्यान गुमाएको उल्लेख छ । तर उनीहरू को थिए ? कसरी मारिए भन्ने सेनाले केही खुलाएको छैन ।

सेनाले केही नखुलाए पनि उनीहरू आन्दोलनका नाममा विभिन्न व्यापारिक प्रतिष्ठान लुटपाटका क्रममा ज्यान गुमाउनेहरू रहेको अनुमान गरिएको छ । दर्जनबढीको भाटभटेनीसहितका व्यापारिक प्रतिष्ठानमा लुटपाटका क्रममा लडेर वा जलेर ज्यान गएको थियो ।

प्रदर्शनमै नगएका केही व्यापारिक प्रतिष्ठानमा कार्यरत कर्मचारीको पनि मृत्यु हुन पुगेको थियो । तर सरकारले जेन-जी आन्दोलनका क्रममा मारिएका सबैजनालाई सहिद घोषणा गर्ने निर्णय यसअघि नै गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ४ : १६ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले