काठमाडौं – स्नेहा केयर्सको टिनको गेट खोलेर भित्र पस्दानपस्दै मैचासँग जम्काभेट भयो । उक्त गेटबाट प्रवेश गरेका हरकोहीसँग उसको भावले प्रश्न गर्छ – मेरी आमा ‘मायाकुमारी’ खै ?
मैचा आहालमा बसेर आएकी थिइ सायद ! शरीर हिलाम्मे थियो । गेटभित्र प्रवेश गर्दैगर्दा मैचाले सुँघ्न थाली । अगाडि–पछाडि गर्न थाली । तल र माथि हेर्न थाली ।
उसको छटपटी साँच्चै अत्यासलाग्दो थियो । ‘तिमी मात्रै आयौ ? मेरी आमा ल्याइनौ ?’ भनेजस्तो गरी ।
सधैँ त्यही गेटबाट प्रवेश गर्ने आमा हप्तायता देखिएकी छैनन् । यत्तिका दिन र रात भइसक्यो, आमा कहाँ गएकी होलिन् ? पहिले त यसरी कहिल्यै हराएकी थिइनन् !
हेर्दा हलक्क बढेकी मैचा जम्मा ८ महिनाकी भई । उ आमाको पखाईमा अत्तालिएकी छे । तीतो यथार्थ – उसकी आमा गत आइतबार संसारबाट सदाका लागि बिदा भइसकेकी छ ।
यो संसारबाट बिदा भएको हरकोही फर्किएर आउँदैन । मैचाको उमेरको मान्छेको बच्चाले त थाहा पाउँदैन, भैसीँको बच्चाले कसरी थाहा पाओस् !
मायाकुमारीलाई दुई वर्षअघि शंखमूलबाट उद्धार गरिएको थियो । स्कूलबाट उद्धार गर्दा ऊ दुई महिनाकी गर्भवती थिई । उसैको गर्भबाट मैचाको जन्म भएको थियो ।

ललितपुरस्थित कार्याविनायक स्नेहा केयर्समा पुग्दा उही मैचा आमाको स्नेहाज् खोज्दै यता र उता भौँतारिरहेकी थिई ।
मैचाबारे थाहा पाउन पहिले उसकी आमा मायाकुमारीको कथा बुझ्नुपर्ने हुन्छ । एकपटक दुई वर्ष अगाडि जाऔं ।
वि.सं. २०८० भदौ ६ को दिन उपत्यकामा झमझम पानी परिरहेको थियो । काठमाडौंबासी तातो–तातो मःमःको प्रतिक्षामा थिए ।
मःमःको कीमा, छोइला, कचिला र भुटन लगायत खानेकुराका लागि ‘मायाकुमारी’ बली चढ्दै थिई । बधशाला त्यसको तयारीमा जुटेको थियो ।
जसै टाउकामा घनको प्रहार भयो, रन्थनिँदै घाँटीको डोरी चुँडाएर मायाकुमारी बधशालाबाट भागी ।
ज्यानको माया सबैलाई हुन्छ । मायाकुमारी मृत्युसँग लड्दै ज्यान जोगाउन शङ्खमुलस्थित एक स्कूल परिसरभित्र छिरेकी थिई । घाइते भैँसीले हान्ने पो हो कि भन्ने त्रासले स्कूलका विद्यार्थी र शिक्षक त्रसित भए ।
मायाकुमारीको सिङ र आँखाबाट रगतको भेल बगिरहेको थियो । ऊ कसैलाई तर्साउन स्कूलभित्र पुगेकी थिइन । आफू त्यहाँ सुरक्षित हुन्छु भन्ने आशा थियो शायद !
बधशालाबाट उम्किएकी मायाकुमारीको भिडियो सामाजिक सञ्जालमा क्षणभरमै भाइरल भयो । प्रहरी टोलीले बन्दुक तेर्स्याएर मार्न खोज्दा स्नेहाज् केयर्स सेन्टरले त्यो भैंसीलाई आश्रय दिने निधो गर्यो ।
बाँच्नका लागि भाग्नुपर्छ भन्ने चेतना वा प्रेरणा एउटी गर्भवती भैंसीलाई कहाँबाट प्राप्त भयो होला ? हामी मानवले शब्दमा भन्न सक्दैनौँ । कतै गर्भमा भएकी बच्ची मैचाको मायाले पो ऊ ज्यान जोगाउन भागेकी थिई कि !

उद्धार गरेर ल्याएपछि पाएको स्याहार-सुसारले मायाकुमारी तङ्ग्रिँदै गई । औषधी उपचारपछि स्वास्थ्य राम्रो हुँदै गयो । पछि मात्र थाहा भयो – ऊ गर्भवती रहिछ ।
गर्भमा भएको बच्चा जोगाउन उसले गरेको सङ्घर्ष चानचुने थिएन ।
उद्धार गरेर सेल्टरमा ल्याइएपछि उसले उचित हेरचाह पाई । त्यहाँ ल्याएको आठ महिनामा मैचा जन्मिई ।
मैचा नेवारी नाम हो । मन परेको केटीलाई नेवारीमा मैचा भनिन्छ ।
मायाकुमारीलाई मालिकले किन बेचेका रहेछन् भन्ने कुरा मैचा जन्मेपछि थाहा भयो ।
मायाकुमारीको चार थुन भए पनि, दुईवटा थुनबाट मात्रै दूध आउने रहेछ । ब्याउँदा पनि प्रशस्त दूध नआएपछि राँगो लागिसकेपछि मासुका लागि बेचिएको रहेछ ।
मैचाले आमामाथि भएको क्रुरता देख्नुपरेन । सेल्टर वरपर पशुमाथि कुनै क्रुरताको कल्पनासमेत हुँदैन ।
आमाको दूधमा बच्चाको हक हुन्छ । मैचा आमाको दूध खाएर सप्रिँदै थिई । तर, अचानक आमाको मृत्युले ऊ अहिले विक्षिप्त छे।

मैचासँगै मायाकुमारीको शोकमा ‘गोपी’ (अर्को पाडो ) पनि छ । गोपीलाई गढीमाईको मेलाबाट उद्धार गरी ल्याइएको थियो। मेलामा निकै स–साना पाडा ल्याएर बली दिइन्छ । बलीकै लागि गोपी त्यहाँ पुगेको थियो ।
त्यहीँबाट उद्धार गरेर ल्याइएका गोपीलाई मायाकुमारीले मातृत्व दिई । मान्छेमा जन्म दिने आमा र कर्म दिने आमाको चर्चा हुन्छ । त्यस्तै मायाकुमारीले गोपीलाई दूध नचुसाए पनि मातृत्व दिनमा कञ्जुस्याइँ गरिन । उसैलाई आमा मान्दै गोपी पनि हुर्किँदै थियो । आमाबाट एकछिन छुटायो भने याइँ..याइँ.. कर्दै कराएर हैरान गर्थ्यो ।
जहाँ जाँदा पनि मायाकुमारीसँगै हिँडाउनुपर्थ्यो । तर, अचानक मायाकुमारी बिरामी भएर थला परिन् । मैचा र गोपीमा दुवैमा निराशा छाउन थाल्यो ।

सबैले आमालाई घेरिरहेका छन्, उपचार गरिरहेका छन् । मायाकुमारी आफ्नो बलले उठ्न नसकेपछि सुताएर उपचार गरिएको थियो । त्यो देखेर उनीहरू आमालाई के भइरहेको भनेर त्रसित हुन्थे शायद ।
मायाकुमारीलाई हाइपोक्याल्सियम भएको थियो । त्यो भनेको शरीरमा क्याल्सियमको कमी थियो । साथै, उसको उमेर पनि धेरै भइसकेको थियो । बुढी भएकी थिई । आमाको अवस्थाले पाडापाडी दु:खी जस्ता देखिन्थे । आमा र बच्चाबीचको सम्बन्ध भनेको छुट्टै किसिमको हुन्छ । जुन मानव र पशुमा केही फरक छैन ।
यसो हेर्दा कुकुर र छाउराबीच निकै माधुर्य हुन्छ । त्यो हरेक जीवमा देख्न सकिन्छ । आमाले हरेक असुरक्षित र असहजताबाट जोगाउँदै प्रेम देखाउँछिन् । अहिले मैचा र गोपीले उनै आमाको कमी महसुस गरिरहेका छन् ।
भनिन्छ – प्रेमको अभाव डिप्रेसन तथा हृदयघातभन्दा पीडादायी हुन्छ । यी पाडापाडीले यतिबेला अरूलाई रुचाइरहेका छैनन् । विशेष ख्याल गरिएको छ, यद्यपि आमाको अभाव केही चिजले पूर्ति गर्न सक्दैन ।
त्यहाँ अन्यत्रबाट उद्धार गरी ल्याइएका पाँच भैंसी छन् । मैचा र गोपी उनीहरूको बीचमा गएर, टाँसिएर सामिप्य खोजिरहेका छन् । आश्रयस्थल नजिकै मायाकुमारीको अन्तिम संस्कार गरिएको थियो । त्यहाँ मृत्यु भएका हरेक जीवको अन्त्येष्टि त्यही क्षेत्रमा गरिन्छ ।
मायाकुमारीको मृत्युपछि स्नेहाज् केयर्सका अध्यक्षले निकै भावुक स्टाटस लेखेकी थिइन् । उनले सामाजिक सञ्जालमा मायाकुमारीको मातृत्वको बयान गरेकी छिन्-
‘अलबिदा प्रिय मायाकुमारी ! तिम्रो मृत्यु स्वीकार गर्न असाध्यै गाह्रो भइरहेको छ । बधशालाभित्र टाउकोमा बज्रिएको घनको प्रहार कति दर्दनाक हुन्छ भन्ने तिमीलाई मात्र थाहा थियो । मृत्युको बज्र टाउकोमा बज्रिँदा पनि पेटको सन्तानका लागि मृत्यु जित्न सक्ने तिम्रो मातृशक्तिको गाथा शायदैले बयान गर्न सक्ला ।’

स्नेहा केयरर्सका परियोजना अधिकृत तथा पशु अधिकारकर्मी प्रस्था श्रेष्ठका अनुसार केन्द्रले हरेक जीवलाई परिवार मान्ने हुँदा सम्मानजनक अन्त्येष्टि गरेको हो । उनले भनिन्, ‘यहाँ ल्याएदेखि कुनै पनि जीवको हेरचाह, लालनपालन, उपचार र आदर परिवारको सदस्यसरह हुन्छ । यो पशु हो या मानव भन्ने दुई खालको मापदण्ड यहाँ हुँदैन ।’
पशु ढुवानी मापदण्ड, २०६४ को दफा १८ मा गर्भवती पशुलाई उपचार प्रयोजनबाहेक गाडीमा हालेर ढुवानी गर्न नहुने उल्लेख छ ।
प्रतिक्रिया