इतिहासले न्याय नगरेका राना मगर | Khabarhub Khabarhub

दस्ताबेज

इतिहासले न्याय नगरेका राना मगर



नेपाली इतिहासकारहरूले न्याय गरेर इतिहास लेखिदिएका भए कालु पाँडे, दामोदर पाँडे, अमरसिंह थापा, भक्ति थापा र बलभद्र कुँवर, रामकृष्ण कुँवर, अभिमानसिंह बस्न्यात आदिको जस्तै विराज थापा मगर, सुरसिंह राना मगर, कालीदाश खड्का मगर, बन्धु राना मगर, देवदत्त थापा मगर, प्रतिमन राना मगर, प्रबल राना मगर, जसपाउ थापा मगर, रिपुमद्र्दन थापा मगर आदि योद्धाको पनि ऐतिहासिक गाथा नेपाली पाठ्यक्रममा पढ्न पाइने थियो । विद्यालय तहदेखि विश्वविद्यालयसम्म जसको बारेमा पढाइयो – नेपाली मनमा उनीहरू मात्रै चर्चित र स्थापित भए । अनि उस्तै र उत्तिकै योगदान गरेका भने ओझेलमा परे ।

कालान्तरमा नेपालका पाँडे, थापा, बस्न्यात क्षेत्री काजी कहलाए, कुँवरमध्ये रामकृष्ण कुँवरका खलक त पछि ‘राणाजी’ नै कहलाए। तर, नेपाल निर्माणमा उत्तिकै योगदान दिएका मगरको ऐतिहासिक गाथा गाइदिने कसले ?

द्रव्य शाहले खड्का मगरको राज्य गोरखामा हमला गरेर वि.सं. १६१६ मा आफ्नो आधिपत्य स्थापित गरेपछि उनले ६ थरका योग्य व्यक्तित्त्वलाई समेटेर भारदारी बनाउँदा अर्ज्याल, खनाल, पाँडे, पन्थ, बोहरा र राना मगरलाई समेटेका थिए । उनको भारदारीमा गङ्गाराम राना मगरलाई न्याय विभागको जिम्मेवारी दिइएको थियो । पछि गोरखाली भारदारीमा थापा मगरलाई पनि समेटिएको थियो । तर वि.सं. १९०३ भदौ ३१ गते राति जङ्गबहादुरले रचना गरेको षडयन्त्रअनुसार भएको कोतपर्वका पहिलो शिकार तात्कालीन जनरल अभिमानसिंह राना मगरको हत्यासँगै नेपाली राजनीतिमा मगरले प्राप्त गर्दै आएको परम्परागत विरासतमा पूर्णविराम लाग्यो। कालान्तरमा उनीहरूको वीरतापूर्ण इतिहास पनि ओझेलमा पर्न गयो ।

देवान बन्धु राना र सरदार प्रतिमन रानाले जारी गरेको वि.सं. १८३७ को रुक्का । स्रोत : कुरुम्वाङ सङ्जुम्भो

यो लेखमा गोरखा राज्यमा योगदान गर्ने मगरमध्ये राना थरका मगरको ओझेलमा परेको इतिहासमा प्रकाश पार्ने प्रयास गरिएको छ ।

९६४ वर्षअघिको ताम्रपत्रमा राना मगर

मगरलाई पहिले “मंग्वर” भनिँदो रहेछ । नेपाल संवत् २२१ (वि.सं. १११७) को एक ताम्रपत्रमा मगरको राना थर जनिने एक व्यक्तिको नाम उल्लेख भएको पाइएको छ । धनबज्र बज्राचार्यअनुसार यो ताम्रपत्र जारी भएको बेला नेपाल मण्डलका अधिपतिका रुपमा शिवदेवको उल्लेख भएको र ‘मंग्वर’ विषयका अधिपतिका रुपमा रामदेवको उल्लेख भएको छ ।

“मंग्वर” शब्द वर्तमान मगर शब्दको पूर्वरूप हो भन्ने कुरामा कुनै शंका छैन । मध्य नेपाल अर्थात गण्डकी प्रस्रवण क्षेत्रका केही इलाका “मगरात” भनेर पछिसम्म नै प्रचलित थिए । यही परम्पराअनुसार पृथ्वीनारायण शाहले आफ्नो उपदेशमा “मगरातका राजा त मै हुँ” भन्ने भाव आफ्नो उपदेशमा व्यक्त गरेका छन् । यसकारण “मंग्वर” विषय उक्त मगरात प्रदेशभित्र रहेको थियो भन्ने यस प्रसङ्गबाट थाहा हुन्छ (धनबज्र बज्राचार्य, “गोपाल राजवंशावलीको ऐतिहासिक विवेचना”-२०६६ :१८-१९)।

अर्का इतिहासकार ज्ञानमणि नेपालले “नेपालनिरुपण ” (२०५५ :१२५-२६)मा उल्लेख गरेअनुसार उक्त ताम्रपत्रमा उल्लेख भएको झान्टेश्वर महादेव स्थानमा “मग्वरविषय” शब्द परेको र त्यहाँ उल्लेख भएमध्ये एक सोहव राने पनि भएकोले ती सोहव राने एक जना महत्त्वपूर्ण मगर व्यक्तित्व थिए भन्ने प्रमाण मिल्छ । ताम्रपत्रमा “इदा भावो धक्नप र सोहव राने” उल्लेख भएकोले पाञ्चाली गुठियारमध्ये पहिलो भावो वा भाओ उपनाम भएका धनीमानी व्यक्ति थिए । दोस्रा स्थानीय व्यक्ति र तेस्रा राना मगर देखिन्छन् । नेपालले यो ताम्रपत्रमा “मग्वरविषय” भन्ने उल्लेख भएबाट पश्चिम नेपालको गण्डकी प्रदेशको मगरातमा झण्टेश्वर स्थान थियो भन्न सकिने आधार प्रकट गरेका हुन् ।

मगर जातिका सम्बन्धमा यो पुरानो लिखत ऐतिहासिक महत्त्वको थियो भन्ने प्रमाण निक्कै बलियो भएर आउँछ।
ताम्रपत्रको व्यहोरा यस्तो छ –

शुभमस्तु, सम्वत् २२१ मार्गशुक्ल दशम्यां। राजाधिराज परमेशश्वर : श्रीमतशिवदेव महाराजै श्रीरामदीव समन्तविजयराजै मंग्वरविषये झांटेश्वर भट्टारकास ताडे गोठि पञ्चालिकेण : च्छेपरम् ग्वण्ड ओपलेम्।। श्री इदा भावो नायक। श्रीधक्नप नायक श्रीसोहव राने। एते पधाण वत्र्तनीय।। (नेपाल, २०५५ :१३०)।

मगरको थर निर्धारण

मगर र क्षेत्रीका थरमध्ये कतिपय एउटै छ, जस्तो; खड्का, थापा आदि । इतिहास शिरोमणि बाबुराम आचार्यको धारणाअनुसार मगरहरू विशिष्ट किसिमका सैनिक जातिका रुपमा प्रसिद्ध छन् । मगरहरूमाहरूथापा” र “राना” थर रहेको छ । खस वर्गका क्षेत्रीयमा पनि थापा थर रहेको छ । तीन पुस्तासम्म लगातार लडाइँका मैदानमा विजयी भएमा यस्ता मगर तथा यिनका छोरा नाती “राना” बन्न सक्ने मान्यता थियो । शुद्धताका हिसावले “आले” थर भएका मगर चोखा मानिदै आएका छन् । इसाको अठारौं शताब्दीको उत्तरार्धमा गोरखाली सैनिकको सङ्गठन हुँदा खश, मगर र गुरुङ गरी तीन थरि जातका नागरिकलाई मिलाएर एउटा विशिष्ट किसिमको सैनिक संस्कृतिको विकासको क्रम सुरु गरिएको थियो । यही संस्कृतिको आधारमा पृथ्वीनारायण शाहले आफ्नो अभियान सुरु गरेका थिए (बाबुराम आचार्य, “प्राचीनकालको नेपाल”-२०६० :३०-३१)।

मगरहरूमा खासगरी बाह्र मगरातमा राना र आले बाहेक थापा र खड्का थरका मगरहरू पनि प्रशस्त पाइन्छन्। थापा र खड्का कुनै समयमा पद थियो, पछि यो थरमा परिणत हुन पुग्यो ।

सुब्बा फौदविर रानालेजागिर पाएको वि.सं. १८६५ को लालमोहर । स्रोत : देबेन्द्र खापुङ

कतिपय थर व्यक्तिले प्राप्त गरेको दर्जा (पद)बाट पनि उत्पत्ति भएको पाइन्छ । थापाहरू कोही क्षेत्री छन्, कोही मगर पनि छन् । खस साम्राज्यको इतिहासमा थापा भन्नाले सैनिक पद बुझाउँथ्यो । उनीहरूलाई जागिरका रुपमा दिइएको भूमिकालाई “थपालो” भनिन्थ्यो । थापा सैनिक पद हुँदा त्यही पद व्यक्तिको नाम पछाडि जोडिँदै जाँदा थर बन्न पुग्यो । यस्तै तरबारधारी सैनिकलाई “खड्का” पद दिइन्थ्यो । गाउँको रक्षक काम गर्नेलाई “रोकाया” पद दिइन्थ्यो । ती पदहरूमा मगरले काम गर्दा मगरका र खस क्षेत्रीले काम गर्दा खस क्षेत्रीमा थरहरू बन्न पुगे (डा. विनोद थापा, “राष्ट्रिय विभूति अमरसिंह थापा”-२०७० :१, ४ र ५)

मगरको राना, थापा र आले मगरमा पनि विभिन्न उपथरहरू रहेका छन् । लेखक जनकलाल शर्माले “हाम्रो समाज एक अध्ययन” (२०७५ :३०७-१२)मा राना मगरको १३४, थापा मगरको १२१ र आले मगरको ११६ उपथर प्रस्तुत गरेका छन् ।

पृथ्वीनारायण शाहको उपदेशमा राना मगर

पृथ्वीनारायण शाहको उपदेश भनेर इतिहासकारहरूले चर्चा गर्दै आएको पुरानो लेखोटमा मगरात र राना मगरको प्रसङ्ग ठाउँमा परेको छ । पृथ्वीनारायण शाहले आफूलाई “मगरातको राजा हुँ” भनेका छन् । बाबुराम आचार्य र योगी नरहरिनाथले “बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्य-उपदेश”(२०६१ :५९) मा उल्लेख गरेअनुसार पृथ्वीनारायण शाहले “नेपालको किताप हेर्दा तुर्काना मंग्रात मुग्लाना हुन्या रहेछ र तुरकाना अघि भैगयेछ. मगरात्को राजा मै हुं” भनेका छन् ।

यो उपदेशमा ददा सुरथिसिं रानासहितका भारदारहरूलाई सम्बोधन गरिएको (आचार्य र योगी, २०६१ :२९) भनिएबाट त्यो बेला दरबारमा रानाको निक्कै ठूलो इज्जत थियो भन्ने देखिन्छ ।

इतिहासकार दिनेशराज पन्तले “गोरखाको इतिहास” पहिलो भाग (२०४१ :२८०-८१) मा उल्लेख गरेअनुसार कालु खड्कासँगै पृथ्वीनारायण शाहबाट वि.सं. १८३० भक्तपुरको अमालिदार नियुक्त भएका र नरभूपाल शाहको समयमा कपरदार पद पाएका सुरसिंह राना नै पृथ्वीनारायण शाहको उपदेशमा उल्लेख भएको सुरथिसिं राना हुनु सम्भव रहेको छ ।

उपदेशमा पृथ्वीनारायण शाहले सपनामा एक जना पुजारी राना मगरकी छोरीलाई दुवै हातमा खड्ग लिएर आएको देखेको र तिनले आफ्नो दुवै खड्ग पृथ्वीनारायण शाहलाई दिँदै “तिम्रो मनोकाङ्क्षा पुरा हुन्छ” भनेको उल्लेख छ । निद्राबाट ब्यूँझेर आफ्नो ज्योतिषहरू भानु जैशी, कुलानन्द जैशी र पुजारी राना मगरलाई सोध्दा उनीहरूले ती सपनामा आउने पुजारी राना मगरकी छोरी माई (देवी)को रुपमा आएको बताएपछि पृथ्वीनारायण शाह उत्साहित भएका थिए (आचार्य र योगी, २०६१ :४०-४१)।

उपदेशमा पृथ्वीनारायण शाहले नुवाकोट कुरेर बसेका तात्कालिन कान्तिपुरका भारदार जयन्त राना र उनका छोरा शङ्खमणिको प्रसङ्ग पनि उल्लेख गरेका छन् । नरभूपाल शाहको समयमा गोरखा राज्यकै भारदार रहेका जयन्त राना पछि गोरखा राज्यसँग चित्त दुखाउँदै त्यहाँबाट पलायन भई नुवाकोट पुगेर कान्तिपुरका राजा जयप्रकाश मल्लको सेवामा समर्पित भएका थिए । पृथ्वीनारायण शाहले जयन्तलाई ग्यामी राना भनेका छन् भने नुवाकोटको युद्धमा दलमर्दन शाहको प्रहारबाट मारिएका जयन्तका छोरा शङ्खमणिलाई राना मात्रै भनेका छन् (आचार्य र योगी, २०६१ :४२-४३)।

यताबाट हेर्दा महत्त्वपूर्ण ऐतिहासिक घटनामा राना मगरको प्रसङ्ग उल्लेख नगरी नहुने अवस्था छ।

नुवाकोट आक्रमणमा रानामगर

कान्तिपुर अधिनस्थ तात्कालीन नुवाकोटमा उमराव भई बसेका जयन्त राना मगर र उनका छोरा शङ्खमणिको प्रसङ्ग माथि नै उल्लेख भइहाल्यो । उनीहरूका साथ प्रशस्तै मगर सेना थिए भन्नेमा कुनै शङ्का छैन । यता पृथ्वीनारायण शाहको गोरखाली फौजमा रहेर नुवाकोट आक्रमण गर्न जाने मगर र त्यसमा पनि राना मगरहरू प्रशस्तै थिए ।

पृथ्वीनारायण शाहको नुवाकोट आक्रमण गर्न जाने अभियानमा कृष्णमणि राना, जस राना, देवु राना, जसवन्त राना, लक्ष्मी राना, जसु राना, माधव राना, इन्द्रमणि राना, रामसिंह राना, प्रतिमन राना, दलजित राना, लोहर राना, यसमन राना, सुगेत राना, साने राना, चन्द्रमणि राना, चामु राना उमापति राना थिए । तीमध्ये मुख्य देवु राना, प्रतिमन राना र बलभद्र राना थिए । यो युद्धमा गोरखा दरबारको रक्षार्थ काजी रुद्र शाहका साथ काजी महेश्वर पन्त र कालु राना ग्याङ्मी थिए ।

पृथ्वीनारायाण शाह आक्रमणका लागि अघि लागेको तीनधारेको बाटोमा युद्धका लागि अघि बढ्ने राना मगरहरूमा कणिमणि राना, बसु राना, दलजित राना, जसवन्त राना, सुगे राना, सानु राना, चन्द्रमणि राना, रत्नमणि राना, परशुराम राना, जगन्मणि राना, पति राम राना, चामु राना, उमापति राना, वहावल राना तथा भिकरी राना सक्रिय योद्धाका रुपमा सहभागी थिए (“प्राचीन नेपाल” सङ्ख्या २१, कात्तिक २०२९ :२७-२८)।

अमालिदार सुरविर रानाले जारी गरेको वि.सं. १८६० को कस्यपत्र । स्रोत : भगिराज इङ्नाम

वि.सं. १७९६ जेठ बदी रोज १ को नरभूपाल शाहकालीन एक तामपत्रमा लोहरी राना र जसबु रानाको पनि उल्लेख छ । नुवाकोटमा आक्रमण गर्न जाने गोरखाली योद्धाहरू लोहर राना र जस राना सम्भवत: नरभूपाल शाहकै समयमा सक्रिय उनै लोहरी राना र जसवु राना हुनसक्छन् । यस ताम्रपत्रको फोटो यो लेखकले गोरखा मान्वुकी ताम्रपत्र प्राप्त गर्ने रामु घलेका सन्तति सिर्जना घलेबाट प्राप्त गरेको हो ।

मूलकाजी सर्वजित राना

राजा प्रतापसिंह शाहको अल्पायुमै देहान्त हुने बित्तिकै राजदरबारमा अनेक खेलचुक्ली सुरु हुन थाल्यो । राजा रणबहादुर शाह नाबालक थिए । राजकुमार बहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मी शाह कहिले मिलेर शासन चलाउने त कहिले एकअर्कालाई दबाउने खेलमा लागे । आफू शक्तिमा आएको बेला राजेन्द्रलक्ष्मीले प्रतापसिंह शाहकै समयदेखि सक्रिय भारदार सर्वजित रानालाई मूलकाजी बनाइन् । प्रतापसिंह शाहको समयमा सर्वजित राना सक्रिय रहेको एक पत्र इतिहासकार दिनेशराज पन्तले “पूर्णिमा” को पूर्णाङ्क १७ (वैशाख-असार २०२५ :२९)मा प्रकाशित गरेका छन् ।

वि.सं. १८३२ साउन सुदी ५ रोज ३ मा तात्कालीन राजा प्रतापसिंह शाहले दलमर्दन शाहलाई हात्ती उपहार दिँदा यसबारेको जानकारी पाउने भारदारमा सर्वजित् राना पनि एक छन् । पत्रमा “आगे गंगाधर दरोगा लछिमिनारायेन दरोगा मेघु षवास जोरावर षवास दलमर्दन साह धरानि पंथ सर्वजित रानाप्रति. दलमर्दन साहके सुव्वाई मानको हाति १ हात ४ चार्को वक्स्यु. आगे साल वाधि लिनु” भन्ने व्यहोरा उल्लेख छ ।

हालको प्रधानमन्त्री सरह पद पाएका मूलकाजी सर्वजित रानाको कार्यकाल लामो समय रहन पाएन । उनी कालगतिले मर्न पनि पाएनन् । त्यहीबेला राजेन्द्रलक्ष्मी र सर्वजीतबारे करणी बिराएको बातको हल्ला चल्यो । बहादुर शाह चौतारिया दलजित शाहले श्रीहर्ष पन्थको सहयोग लिएर आठपहरियाहरूद्वारा दरबार घेर्न लगाई राजेन्द्रलक्ष्मीलाई चाँदीको नेल ठोकी दरबारभित्रै थुनेर मूलकाजी सर्वजीत राना र उनको अनुयायीलाई पक्री कुमारी घरको छिँडीको कोठामा लगेर रातको समय कटाइदिए (ज्ञानमणि नेपाल, “नेपालको महाभारत”-२०५२ :१८-२०)।

दरबारभित्रको यस षडयन्त्रपछि बहादुर शाह शक्तिमा आई नायवी लिएपछि बालक राजा रणबहादुर शाहकातर्फबाट केही भारदारका नाममा एक लालमोहर प्रसारित गराइदिए । योगी नरहरिनाथले “इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह” भाग १ (२०५५ :३१) मा प्रकाशित गरेको उक्त लालमोहरमा “सर्वजित रानाले अकर्म गर्‍यो र काटियो मूलुकको भंनु श्रीमाहिला बाबालाइ बक्स्यौं इनैका मार्फत सित मामिला गर” भन्ने उल्लेख छ ।

समयको चक्र घुम्दै जाँदा फेरि बहादुर शाहलाई दबाएर काका ससुरा चौतरिया महोद्दामकीर्ति शाहको सहयोगमा राजेन्द्रलक्ष्मी सत्ता र शक्तिमा आइपुगिन् । बहादुर शाहका मुख्य सहयोगी चौतरिया दलजित शाह देश निकालामा परे । धने खवास र बलभद्र खवास हात्तीको पाइलाले कुल्चाएर मारिए । गौरीकान्त र कोटसिंहलाई शूलीमा हालेर मारियो । बहादुर शाहका अर्का सहयोगी श्रीहर्ष पन्तलाई गालामा डामेर मर्स्याङ्दी पारी धपाइयो । त्यसपछि आफ्ना छोरा रणबहादुर शाहको नायवी लिएर उनी सत्तामा सर्वेसर्वा भइन् । आफू शक्तिमा आउनासाथ उनले सर्वजित रानाका भाई बन्धु राना र देवदत्त थापा मगरलाई काजी बनाइन् (नेपाल,२०५२ :२०)।

बन्धु राना आफ्नो समयका चल्तीका काजी थिए। उनका छोरामध्ये सुरबिर रानाले मनकामना मन्दिरमा सुनका ढोका बनाई दुई खापामा अभिलेख पनि कुँदाएका थिए। सुरबिरका बाबु बन्धु राना र बाजे जैराज रानाले गोरखा दरबारको भारदारीमा राम्रै स्थान पाएका थिए।

मनकामनाको वि.सं. १८५९ चैत वदली ६ को अभिलेखमा “जैराज रानाको नाती बन्धु रानाको छोरा सुरवीर रानाले धर्मपत्र लेषि चर्‍हाया” भनी लेखिएकोले यसबाट सुरविर राना ठूलै पदमा थिए भन्ने देखिन्छ (धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ, “शाहकालका अभिलेख”-२०३७ :३७६) । इतिहासकार नेपाल (२०५२ :१८-२०)ले बन्धु रानालाई बहादुर शाहको षडयन्त्रमा काटिएका मूलकाजी सर्वजित रानाका भाइ भन्ने उल्लेख भएकोले उनको बाबुको नाम जैराज राना हो भन्ने देखिन्छ ।

इतिहासकार भगिराज इङ्नामले “लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह” (२०७७ :६१४)मा सुरबिर रानाको छापसहित वि.सं. १८६० माघ सुदी १५ रोज ५ को पत्र प्रकाशित गरेका छन् । त्यसमा उनको पद ‘चार अदालतका अमालि ददा’ उल्लेख भएकोले उनी न्यायनिसाफको जिम्मेवारीमा थिए भन्ने स्पष्ट हुन्छ ।

बन्धु रानाका सन्तानमध्ये केही नुवाकोटतिर पुगे भन्ने देखिन्छ। बन्धुका अर्का छोरा फौदबिर रानासम्बन्धी एक लालमोहरबाट यो थाहा पाइन्छ । सांस्कृतिक अन्वेषक देवेन्द्र खापुङबाट यो लेखकले प्राप्त गरेको फौदबिरको जागिरसम्बन्धी वि.सं. १८६५ कात्तिक वदी १ रोज ४ मा राजा गीर्वाणयुद्धविक्रम शाहले जारी गरेको लालमोहरमा “जयराज रानाको नाति वंन्धु रानाको छोरा वतन नुवाकोट फौदबिर रानाके बलवंन्त रानाको षायेल जुमिलाको सुंवांगी मानको पगरि बक्सौं” भन्ने परेबाट फौदबिर त्यसबेला नुवाकोटमा बस्दै गरेका र उनले जुम्लाको सुब्बाको जागिर पाएको भन्ने स्पष्ट हुन्छ । फौदबिरले नुवाकोटको देवीघाटमा वि.सं. १८७२ चैत सुदी ८ रोज २ मा सत्तल निर्माण गरी एक सय मुरी धान आउने खेत गुठी समेत राखिदिएका थिए (बज्राचार्य र श्रेष्ठ, २०३७ :५८४)।

काजी अभिमानसिंह रानालाई जिम्मेवारी दिइएको वि.सं. १८९७ को रुक्का । स्रोत : भगिराज इङ्नाम

मूलकाजी सर्वजित राना र काजी बन्धु रानाका बुबा जैराज राना पृथ्वीनारायण शाहकालिन गोरखा दरबारका महत्त्वपूर्ण भारदार थिए । इतिहासकार धनबज्र बज्राचार्यले “कन्ट्रीब्यूसन टु नेपालिज स्टडिज” (सिनास जर्नल)को वर्ष १० अङ्क १ र २ (डिसेम्बर १९८२-जून १९८३ :११२-१३)मा कपर्दार सुरसिंह रानालाई काभ्रेकोटबाट लछिमन राना, वीरसिंह खड्का, प्रतिमन राना र रामेश्वर रानाले युद्धमा आफूहरूले पाएको दु :ख र देखाएको बहादुरीका बारेमा उल्लेख गरेको पत्र प्रकाशित गरेका छन् । यो पत्रमा आफूहरूले बहादुरीपूर्वक युद्ध लडेको र घाइते भएको भए पनि आफूहरूको उचित कदर नभएको गुनासो कपर्दार सुरसिंह रानासमक्ष पोखेका छन् । यो पत्रको छेउमा “उप्रांत उमरा जेठाबुढा २ सव बरह्याको सलाम १–जैराज राना जैर्‍या अरू केटाहेरु” भन्ने परेबाट त्यसबेला जैराज रानाको पद जेठाबुढा थियो भन्ने देखिन्छ ।

यो पत्रको तिथीमा माघ कृष्ण १४ रोज ५ मा उल्लेख छ,साल खुलाइएको छैन । तर काभ्रेकोटको युद्ध वि.सं. १८१६ मा भएको र उक्त सालको पात्रोमा तिथी भिडाउँदा माघ कृष्ण १४ बिहीबार नै पर्ने भएकोले यो पत्र वि.सं. १८१६ कै ठहर्छ ।

यस्तै रणबहादुर शाहको समयमा सक्रिय भारदार अमरसिंह राना पनि उनै जैराजका एक छोरा जसिवन्ततिरका नाती हुन् भन्ने देखिन्छ । वि.सं. १८५५ मा रणबहादुर शाहले गीर्वाणयुद्धविक्रम शाहलाई राजपाठ सुम्पदा भारदारहरूलाई धर्मपत्र गराएका थिए । सो धर्मपत्रमा सही हाल्नेमा अमरसिंह राना पनि एक थिए । धर्मपत्रमा खुलाइएको उनको तीन पुस्तेमा “जैराज रानाका नाति जसिवन्त रानाका छोरा जेठाबुढा अमरसिं राना” भन्ने उल्लेख छ (चित्तरञ्जन नेपाली, “श्री ५ रणबहादुर शाह”-२०७५ :१०९)। यताबाट हेर्दा अमरसिंह राना मूलकाजी सर्वजित र काजी बन्धु रानाका भतिजा भन्ने देखिन्छ।

दरबारिया सेवाका क्रममा वि.सं. १८५७ मा अमरसिंह राना ललितपुरको लुभु क्षेत्रमा कार्यरत देखिन्छन् । तात्कालिन राजा गीर्वाणयुद्धविक्रम शाहले उनको नाममा वि.सं. १८५७ वैशाख सुदी ११ रोज ५ मा सैनिकहरूलाई हतियार लिई नुवाकोटमा हाजिर हुन आउन अमरसिंह रानाको नाममा लेखिएको योपत्र नेपाली (२०७५ :४८)ले प्रकाशित गरेका छन् ।

पृथ्वीनारायण शाहको समयमा पश्चिमी मोर्चाको युद्धमा नेतृत्त्व गर्ने देवु राना, जुम्ला अधिपत्य गर्न खटिएका प्रबल राना, चीन र तिब्बतसँगको युद्धमा पराक्रम देखाउने प्रतिमन राना र भास्कर राना, अङ्ग्रेजसँगको युद्धका गोरखाली बहादुर शमशेर राना, चामु राना र कीर्ति राना आदि वीर मगरको रगत र पसिनाले भिजेको छ नेपालको माटो ।

कोतपर्वमा परेका राना मगर

नेपालको इतिहासमा कोतपर्व एउटा कुख्यात घटनाको रुपमा चर्चित छ । वि.सं. १९०३ भदौ ३१ गते राती मच्चिएको कोतपर्वपछि जङ्गबहादुर सत्ताको शिखरमा पुगे । गोरखाली परम्पराअनुसार ६ थरघर प्रभृतिअनुसार मगरलाई यथोचित स्थानमा अवसर दिइने गरिएको थियो । कोतपर्वअघि तीन पल्टनसहित अभिमानसिंह रानालाई मन्त्रिमण्डलमा समावेश गरिएको थियो ।

माथवरसिंह थापाको हत्यापछि महारानी राज्यलक्ष्मीले गगनसिंहलाई प्रधानमन्त्री बनाउन चाहेकी थिइन् । तर राजा राजेन्द्रको जोडबलले चौतरिया फत्तेजङ्ग शाहलाई प्रधानमन्त्री बनाइयो । भारतमा निर्वासित अवस्थामा रहेका उनलाई बोलाएर प्रधानमन्त्री बनाइयो । त्यसबेला अभिमानसिंह राना पनि भारतमै निर्वासित अवस्थामा थिए । वि.सं. १९०२ असोजमा नेपाल फिर्ता भएपछि उनलाई पनि मन्त्रिमण्डलमा समावेश गरियो, त्यसबेला फत्तेजङ्ग शाह प्रधानमन्त्री भए पनि सात पल्टनसहितका जनरल गगनसिंह शक्तिशाली थिए (बाबुराम आचार्य, “अब यस्तो कहिल्यै नहोस्”-:२०६८ :११३)। त्यसबेला गगनसिंह, दलभञ्जन पाँडे, जङ्गबहादुर र अभिमानसिंह रानासहितलाई जनरल पद दिइएको थियो ।

भीमसेन थापाले चल्तीमा ल्याएको त्यो समयमा सेनाको आधुनिक पद जनरल पाउने आदिवासी जनजाति समुदायका पहिलो व्यक्ति हुन् – अभिमानसिंह राना मगर । भीमसेन थापा र माथवरसिंह थापाको समयमा उनीहरूका भाइ छोरालाई मात्रै जनरल पद दिइएको थियो । कोतपर्वपछि राणाहरूमा पनि विवाहिताका छोराले मात्रै जनरल पाउने चलन चल्यो ।

भीमसेन थापा र माथवरसिंह थापाको समयमा उनीहरूका भाइ छोरालाई मात्रै जनरल पद दिइएको थियो। कोतपर्वपछि राणाहरूमा पनि विवाहिताका छोराले मात्रै जनरल पाउने चलन चल्यो।

कोतपर्वमा अभिमानसिंह रानालाई तात्कालीन महारानी राज्यलक्ष्मीदेवीले गगनसिंहको हत्यारा वीरकेशर पाँडे भएकोले उनलाई तत्काल काट्न भनी आदेश दिँदा उनले भने राजाको आदेश नभई कसैलाई काट्न नसकिने भन्दै रानीको आदेशलाई इन्कार गरेका थिए । कोतको भेलाको अवस्था अराजकतातिर जान लागेको देखेर आत्मरक्षाका लागि उनी आफ्नो पल्टनमा मिसिन खोज्दा जङ्गबहादुरको आदेशमा युद्धवीर अधिकारी नामका सिपाहीले सङ्गीनले उनको छातीमा प्रहार गरे (नेपाल, २०५२ :२३४-३५)

कोतपर्वमा ज्यान गुमाउने उनी पहिलो भारदार थिए । उनले आफू मर्नुअघि ‘गगनसिंहको हत्यारा जंगे हो’ भनी चिच्याएका थिए । अझ जङ्गबहादुरका छोरा पद्मजङ्ग राणाले “जङ्गबहादुरको जीवनयात्रा” (२०७४ :६९)मा अभिमानसिंह रानाले “गगनसिंहको हत्यारा जंगबहादुर हो भनी रगतले भित्तामा लेखेको” उल्लेख गरेका छन् ।

कोतपर्वमा जनरल अभिमानसिंह राना मारिए । त्यसबेला भागेर ज्यान बचाउनेमा कप्तान कुलचन्द्र राना र कप्तान रत्नसिंह रानाजस्ता मगर पनि थिए (नेपाल, २०५२ :२५९)। सम्भवत : उनीहरू अभिमानसिंह रानाका पल्टनको र उनीसँग बफादार सैनिक थिए । यसैगरी कोतपर्वमा जङ्गबहादुरलाई साथ दिने मगर पनि थिए । तीमध्ये रामु आले, भिमल आलेसहित बुद्धिबल राना मगरले जङ्गबहादुरलाई साथ दिएका थिए । कोतपर्वपछि दुई आलेले सिपाहीबाट एकैपटक कप्तान पाउँदा बुद्धिबल रानाले चाहिँ सिपाहीबाट एकैपटक सुवेदार पद पाएका थिए (पुरुषोत्तमशमशेर जबरा, “श्री ३ हरूको तथ्यवृत्तान्त”-२०६५ :३९)।

जङ्गबहादुर शक्तिमा आएपछि वि.सं. १९१०मा मूलुकी ऐन घोषणा हुँदा त्यहाँ विभिन्न पदाधिकारीहरूलाई पनि साक्षी राखिएकोमा एकैजना मात्रै राना मगरको नाम उल्लेख छ । ती हुन् – लप्टन भीमसेन राना मगर। सम्भवत : त्यसबेला उनी सबैभन्दा उच्च पदका राना मगर थिए ।

अभिमानसिंह रानाको प्रथम प्राणान्तसँगै मगरहरूले कायम गर्दै आएको राजनीतिक विरासतको पनि अन्त्य भयो भने कुँवर खलकका अहिराम कुँवरका सन्तति जङ्गबहादुर राणाको तानाशाही जहानिया शासनको सुरुआत भयो । यो शासन १०४ वर्षसम्म टिक्यो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : २८ बजे

राजेशकाजी श्रेष्ठको व्यक्तित्व र योगदान पुस्तक लोकार्पण 

काठमाडौं– व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘राजेशकाजी श्रेष्ठ

उर्भशीले तीन मिनेटका लागि तीन करोड लिएको चर्चा

काठमाडौं – भारतीय मोडल तथा अभिनेतृ उर्भशी रौटेलाको अभिनय रहेको

‘होस्टल–३’ ट्रेलर सार्वजनिकपछि टिकटक र टिकटकरको कुरा !

काठमाडौं – ‘होस्टल–३’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा

रिंकु सदा हत्या प्रकरण : गृहले सार्वजनिक गर्‍यो छानबिन समितिको अनुसन्धान प्रगति विवरण

जनकपुरधाम– मधेस सरकारको गृह संचार तथा कानून मन्त्रालयले सिरहाको रिंकु

स्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक ‍

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यपालिका