काठमाडौं – ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद र रहस्यमय मृत्युपछि उनका पिता सुनिल लम्साल भारत पुगेका छन् ।
लम्साल रुपन्देहीबाट सोमबार नै ओडिसास्थित विश्वविद्यालयमा पुगेका हुन् । उनले छोरीको मृत्यु प्रकरणमा निष्पक्ष र गम्भीर छानबिन हुनुपर्ने पनि माग गरेका छन् ।
भारतीय समाचार एजेन्सी एनएआईसँगको कुराकानीका क्रममा उनले आइतबार कलेजको होस्टेलमै मृत भेटिएकी छोरीको प्रकरणमा प्रहरीले अनुसन्धान गरिहेको जानकारी दिएको बताएका छन् ।
उनी सोमबार नै भुवनेश्वर पुगेपछि घटनाक्रममा बुझ्दा छोरीमाथि ‘ह्यारेसमेन्ट’र ‘ब्ल्याकमेल’ दुवै आपराधिक कार्य भएको बताएका छन् ।
‘हामीलाई यस घटनाबारे प्रहरीबाट अनुसन्धान भइरहेको जानकारी मिलेको । पोष्टमार्टम रिपोर्ट छिट्टै आउने छ’, उनले भने, उनी (प्रकृति)माथि ‘ह्यारेसमेन्ट’र ‘इमोशनल्ली ब्ल्याकमेल’गरिएपछि आत्महत्या गरेको जानकारी मिलेको छ।’
सुनीलले सोमबार नै विश्वविद्यालयका अधिकारीहरूसँग कुराकानी गरिसकेको पनि बताएका छन् । तर कलेज प्रशासनले यस घटनाबारे जवाफ नदिएर टारिरहेको उनले बताएका छन् ।
‘कलेज प्रशासन र प्रहरीले हामीलाई सहयोग गरिरहेका छन् । प्रकृतिको दाइ सिद्धान्त लम्साल पनि यही कलेजमा पढिरहेको छ । उसले अस्ति नै एक व्यक्तिबारेमा घटनासँग जोडेर केही बताएको थियो । प्रकृतिको मृत्युबारे नबताए पनि उसले हामीलाई छिटो आउनु भनेकाले हामी घरबाट हिँडेका हौँ’, उनले भने, ‘यस प्रकरणमा एक व्यक्ति पक्राउ परेको छ । छोरीको फोन, ल्यापटप र डायरी पुलिस प्रशासनलाई दिएको मैले सुनेको छु । यस घटनामा मेरो एउटै माग छ, निष्पक्ष छानबिनबाट हाीलाई न्याय चाहियो ।’
सुनीलले भारतको कानूनी प्रक्रिया सकेर छोरीको शव नेपाल नै लाने बताए । भारतको सबै प्रक्रिया सकेर शव लाने गरी तयारी भइरहेको उनले जानकारी दिए । सुनीलले बुधबारसम्म शव नेपाल लैजाने प्रयासमा रहेको पनि बताए ।
प्रकृतिको मृत्यु प्रकरणमा प्रश्न उठाउँदै छानबिन माग गर्ने सात सय बढी नेपाली विद्यार्थीलाई कलेजले गरेको कुटपिट, ज्यादती र अत्याचारप्रति सुनीलले दु:ख जनाए । ‘नेपाली विद्यार्थीलाई कलेज प्रशासनले ज्यादतीसहित लखेटेको सुनेँ, यो ठिक भएन । चाहिँदा आउनुस् भनेले केही घटना हुनेबित्तिकै लखेट्न तयार हुने, यो राम्रो भएन । अरु नेपाली विद्यार्थीमाथि भएको ज्यादतीमा पनि हामीलाई न्याय दिनुपर्छ ।’
#WATCH | Bhubaneswar, Odisha: Sunil Lamsal, father of the Nepali girl student who died by suicide at KIIT University, says "We just know that an investigation is being done. The post-mortem report will come soon. We have the information that she was harassed and emotionally… pic.twitter.com/OJTEtrEFMU
— ANI (@ANI) February 18, 2025
प्रतिक्रिया