दाङमा मकै उत्पादन बढ्यो « Khabarhub

दाङमा मकै उत्पादन बढ्यो


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् ।
  
परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टन बढी उत्पादन हुने गरेको छ ।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र ३२ हजार आठ सय ९४ मेट्रिक टन मकै उत्पादन भएको थियो । बर्सेनि उत्पादन बढिरहेको उनको भनाइ छ । आर्थिक वर्ष २०७९/८० मा २६ हजार चार सय ५५ मेट्रिक टन मकै उत्पादन भएको थियो । देउखुरी क्षेत्रमा रामपुर हाइब्रिड–१० जातको मकै लगाउने गरिएको छ ।  

सूचना अधिकारी कँडेलका अनुसार बर्सेनि उत्पादन क्षेत्रफल पनि बढिरहेको छ । आव २०७९/८० मा तीन हजार सात सय हेक्टरमा मकैखेती गरिएकामा आव २०८०/८१ मा तीन हजार आठ सय हेक्टरमा मकैखेती हुने गरेको हो । यसरी बर्सेनि खेती गर्ने किसानको आकर्षण बढिरहेको उनले बताइन् । 

कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने गरेको छ । रामपुर हाइब्रिड–१० सहित अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बीउ पनि अनुदानमा दिने गरिएकाले उक्त मकैखेती गर्ने गरिएको छ ।

यसरी किसानले उत्पादन गरेको मकै पसल तथा दाना उद्योगमा बिक्री हुने गरेको छ भने बीउ कम्पनीले बीउ खरिद गरिदिने भएकाले बजारीकरणका लागि पनि समस्या नरहेको सूचना अधिकारी कँडेलको भनाइ छ ।
 
मकैखेतीका लागि विभिन्न प्रविधिको प्रयोग गर्ने गरिएको छ । भौगोलिक बनावटअनुसार रोप्नका लागि सिडड्रिल, ज्याव प्लान्टर तथा केही स्थानमा ट्रयाक्टरले समेत मकै छरेर पछि रोटाभेटर लगाउने गरेका छन् । विगतमा बाँझो राखिएको जग्गामा अहिले मकैखेती गर्ने गरिएको छ । जसले गर्दा किसानलाई आम्दानीको स्रोत बढिरहेको सूचना अधिकारी कँडेलले बताइन् ।  

दाङको लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकामा यसरी मकैखेती हुने गरेको छ । बर्खे मकै वैशाख–जेठमा, हिउँदे मकै भदौ–असोजमा र वसन्ते मकै माघ–फागुनमा लगाउने गरिन्छ ।

विभिन्न बालीको विशिष्टीकृत क्षेत्र स्थापना गरी उत्पादन, मूल्य शृङ्खला, आधुनिकीकरण र व्यवसायीकरणमा बढावा दिने उद्देश्यले दाङमा  आर्थिक वर्ष  २०७३/७४ देखि मकै सुपरजोन कार्यक्रम सञ्चालनमा आएको हो । सुपरजोन कार्यक्रम सञ्चालन भएपछि  देउखुरीमा मकै उत्पादनको व्यावसायिक रूपमा फड्को मार्न थालेको छ । 

‘यस क्षेत्रमा बर्खे मकैखेती बढी हुने  र किसानको बुझाई मकै बर्खे सिजनमा मात्र गर्न सकिन्छ भन्ने रहेको थियो’, सूचना अधिकारी कँडेलले भनिन्, ‘सर्वप्रथम किसानको यस प्रकारको सोचाइ परिवर्तन गर्न जरुरी थियो । यसका लागि हामीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रममार्फत हिउँदे र वसन्ते खेतीलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भएको हो ।’

अहिले देउखुरीका किसानमा हिउँदे तथा वसन्ते सिजनमा समेत मकैखेती गर्ने परिपाटीको विकास भएको छ । देउखुरी क्षेत्रका विभिन्न स्थानमा कष्टम हायरिङ सेन्टरहरू स्थापना भई सञ्चालनमा छन् । जसबाट किसानले मकैखेतीका लागि आधुनिक कृषियन्त्र भाडामा लिएर पनि खेती गर्ने गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १२ : १८ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर