काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर « Khabarhub

काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आइतबार राति ११ बजेदेखि उक्त वनमा लागेको डढेलो नियन्त्रणका लागि सोमबार बिहानैदेखि प्रयास भइरहे पनि डढेलो नियन्त्रण बाहिर रहेको हो । 

गोरखनाथ वनको डढेलो फैलँदै आज बिहान चिसापानी सामुदायिक वनसम्म पुगेको छ । उक्त गाउँपालिका ३ र ५ नं वडाको सिमानामा रहेको पर्यटकीय क्षेत्र गजराम पर्वतसमेत डढेलोको जोखिममा परेको जनाइएको छ ।

सोमबारदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिलगायत वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको सक्रियतामा डढेलो नियन्त्रणको प्रयास गरेपनि डढेलो फैलँदै गएको हो । आज बिहानैदेखि बेथानचोक प्रहरी चौकीको प्रहरी टोली स्थानीयसँग मिलेर डढेलो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

सोमबार नेपाली सेनी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हुर्का भञ्ज्याङको मानवबस्तीलाई डढेलोबाट जोगाउन एन्टिफायरिङ गराएर फर्किएको थियो । एन्टी फायरिङ गरिए पनि बस्ती पूर्ण रूपमा सुरक्षित नरहेको गाउँपालिका वडा नं ३ का वडाध्यक्ष  कुबेर ढकालले बताए। 

उनका अनुसार हावाहुरी व्यापक रूपमा लागि रहेकाले त्यसलाई पूर्ण नियन्त्रणमा लिन भने सकिएको छैन । स्थानीयलाई सचेत रहन र सावधानी अपनाएर बस्न आग्रह गरिएको छ । 

डढेलो लागेको ठाउँमा निकै सुक्खा र पानीको अभाव रहेकाले आगो निभाउन निकै कठिन भएको ढकालको भनाइ छ । उनका अनुसार करिब १ सय ९३ हेक्टर क्षेत्रफल रहेको गोरखानाथ सामुदायिक वनको करिब ७ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्‍याएको अनुमान गरिएको छ । बोल्देबाट फैलिएको डढेलो अहिले हर्कभञ्ज्याङसम्म आइपुगेको बताइएको छ । 

हावाहुरी चलेकाले डढेलो फैलिँदै थलीडाँडा, च्याल्टी, नारायणस्थानसम्म पुग्ने जोखिम देखिएको छ । वनमा डढेलो फैलिरहेकाले नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयका वन अधिकृत चिनीकाजी श्रेष्ठले बताए। उनका अनुसार जंगलका ठूलाठूलो रूखका टुप्पोसमेत आगो लागिरहेको छ । आगलागी भएको क्षेत्र भिरालो भौगोलिक अवस्था रहेकाले डढेलो निभाउन निकै कठिनाइ भइरहेको श्रेष्ठले बताए । 

डढेलो लागेको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने नदेखिएको तथा पशुपक्षी क्षति नभएको ढकालले बताए। उनका अनुसार थलीडाँडा र हर्कभञ्ज्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको छ भने डढेलो देब्रेतर्फ फैलिँदै गयो भने मानवबस्ती जोखिममा पर्नसक्छ । दुई दिनदेखिको डढेलोका कारण वरिपरिको क्षेत्रमा धुवाँ–तुवाँलोले वातावरण प्रदूषित भएको स्थानीय कमल नेपालले बताए। उनका अनुसार श्वासप्रश्वासमा समस्या तथा आँखा चिलाउने समस्या हुँदै गएको छ । 

यसअघि सोही क्षेत्र महाभारत पर्वत शृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि हेलिकप्टरमार्फत नियन्त्रणमा ल्याइएको थियो । खानीखोलाको थामलेख डाँडाबाट सुरू भएको आगलागी बेथानचोक गाउँपालिका–५, ३, १ र २ को सीमा क्षेत्रमासमेत फैलिएपछि बेथानचोक गाउँपालिकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर मगाइएको थियो । 
 

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ७ : ४२ बजे

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा