सुमनाको राजीनामाले रास्वपा तरंगित | Khabarhub Khabarhub

सुमनाको राजीनामाले रास्वपा तरंगित

महाधिवेशनमा नउठ्ने, संसदीय दलको जिम्मेवारी आए नछाड्ने



काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १२ पदाधिकारीमध्ये ४ जना महिला छन् । जसमा सुमना श्रेष्ठ सहमहामन्त्री, लीमा अधिकारी कोषाध्यक्ष, बसुमाया तामाङ सह–कोषाध्यक्ष र प्रतिभा रावल सहप्रवक्ता छन् । रास्वपामा अहिलेसम्म महिला उपसभापति छैनन् । आगामी महाधिवेशनबाट महिला उपसभापतिको पद रहने छ ।

पार्टीमा सहमहामन्त्रीको महत्वपूर्ण जिम्मेवारीमा रहेकी सुमना श्रेष्ठले दिएको राजीनामा चर्चाको विषय बनेको छ ।

सुमनाले राजीनामा दिएपछि कतिपयले उनको निर्णयलाई स्वागत गरेको देखिन्छ भने कतिपयले अपरिपक्व र ‘पदको बार्गेनिङ’सम्म भन्न भ्याएका छन् । कतिले उनलाई स्टन्ट गरेको आरोपसमेत लगाएका छन् । तर, सुमनाले भने दाबी भने पार्टी विधानतः एक व्यक्ति एक पदमा चल्नुपर्ने र निर्णयहरू पारदर्शी हुनुपर्ने बताएकी छिन् ।

आफूले सांसदको जिम्मेवारीलाई केन्द्रमा राखेर पार्टीको महत्वपूर्ण जिम्मेवारी अन्य नेतालाई दिइनुपर्ने तर्क गर्दै राजीनामा दिएकी हुन् । उनले सहमहामन्त्रीबाट राजीनामा दिनुका तीन कारण उल्लेख गरेकी छन् । पहिलो– ‘एक व्यक्ति एक पद’को एजेन्डा । दोस्रो– ‘पार्टीमाथि जनताको ठूलो आशा रहेकाले डेलिभरी क्षमता बढाउनुपर्ने । र, तेस्रो– पार्टीभित्र ‘कर्मकाण्डी प्रक्रिया’ अन्त्य हुनुपर्ने ।

सुमनाले गत चैत्र १७ गते सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएकै दिन राजीनामा बुझाएकी थिइन् । तर, रवि सहकारी प्रकरणमा जेल चलान भएको डेढ सातापछि विहीबार मात्रै राजीनामा प्रकरण बाहिरियो । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा सुमनाको राजीनामा कार्यसूची चढेको थियो ।

संसदीय दलको जिम्मेवारी दिए सम्हाल्न तयार

सुमनाको राजीनामापत्र बिहीबारको केन्द्रीय कमिटी बैठकमा औपचारिक रुपमा टेबल भएको छ । रास्वपाको विधानमा महामन्त्रीमार्फत सभापतिमा गएर स्वीकृत हुने प्रावधान छ । बिहीबारको बैठकमा यसबारे कार्यवाहक सभापति डोलप्रसाद अर्यालले श्रेष्ठसँग छलफल गरेर टुंग्याउने सहमति भएको नेताहरु बताउँछन् ।

बिहीबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यले सुमनाको राजीनामा स्वीकृत गर्न नहुने र उनी जिम्मेवारीमा फर्कनुपर्ने अडान राखेको बैठकमा सहभागी नेताहरूको भनाइ छ ।

बैठकमा सुमनाले १७ चैतमा नै सभापति रवि लामिछानेलाई दुई वटा कुरा गरेर राजीनामा बुझाएको जानकारी गराइन् । उनले लामिछानेलाई पार्टी मूल्य मान्यता अनुसार चलोस् भन्दै एक व्यक्ति र एक पदको अवधारणा अनुसार बुझाएको कुरा राखिन् । उनले आफू जे कुरामा सक्षम छु, त्यही कुरामा केन्द्रित हुन चाहेकाले पनि राजीनामा बुझाएको बताएकी थिइन् । उनले सभापतिलाई पार्टीको काममा भन्दा पनि आफू संसदीय कार्यक्षेत्रमा बढी केन्द्रित हुन चाहेको बताएकी थिइन् । यही कुरा उनले बिहीबारको बैठकमा पनि राखिन् ।

‘मेरो स्वभाव पार्टीको काममा भन्दा पनि संसदीय काममा फोकस हुने छ, म परिणामको आश गर्छु,’ श्रेष्ठले बैठकमा भनिन् , ‘यदि संसदीय दलको नेता या उपनेताको विषयमा विधानतः प्रतिस्पर्धा गर्नुपर्छ भने म तयार छु ।’

बैठकमा सहभागी नेताहरूका अनुसार सुमनाले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न चाहे पनि पार्टीको महाधिवेशनमा भने कुनै पदमा उम्मेदवारी नदिने दाबी गरिन् । ती नेताले सुमनाको भनाइ उधृत गर्दै खबरहबसँग भने, ‘म महाधिवेशनमा कुनै पदको उम्मेदवार हैन । म संसदीय दलमा बसेर काम गर्न चाहन्छु । तर, मैले संसदीय दलको जिम्मेवारी दिनू भनेर राजीनामा दिएको होइन ।’

सभापति रविको सांसद पद निलम्बनमा परेपछि रास्वपामा अहिले संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको जिम्मेवारी सम्हालेका छन् । स्रोतका अनुसार सभापति निलम्बनमा परेपछि सुमनाले दलको उपनेतामा दाबी गरेकी थिइन् र त्यसबारे पार्टीमा छलफलसमेत भएको थियो । तर, सभापति नै दलको नेताको जिम्मेवारीमा फर्कने आधारहरू बाँकी नै रहेकाले तत्कालै यो निर्णय गर्न उचित नहुने भन्दै रास्वपा पछि हटेको थियो ।

पछिल्लो समय सुमनाले रास्वपा छाड्न लागेको हल्ला आएको भन्दै उनले बैठकमा त्यसको खण्डन गरिन् । उनले भनिन्, ‘म पार्टीबाटै बिदा हुन लागे जसरी बाहिर भाष्य आएको छ, यो गलत छ । फागुनमा हुने महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने कुरा पनि यहाँहरूलाई राख्न चाहन्छु । हामीले सहकारी ठगको ट्याग चिर्नु छ । जनतालाई नयाँ पार्टीको भरोसा दिलाउनु छ । म यसका निम्ति काम गर्न तयार छु । सहमहामन्त्रीको जिम्मेवारी अरूलाई दिनुहोस्, अहिले म केन्द्रीय सदस्य र सांसदको भूमिकाका रहन चाहन्छु । मैले सभापतिलाई पनि यही कुरा भनेकी छु ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सुमनाले आफू अन्य पार्टीमा जाने वा बालेन्द्र शाहसँग मिलेर पार्टी खोल्ने हल्ला नियोजित र गलत भएको बताइन् ।

सुमनबारे नेताहरूको टिप्पणी

सहमहामन्त्रीबाट राजीनामा दिने सुमनाको निर्णयबाट रास्वपाका धेरै नेताहरू आश्चर्यचकित बनेका छन् । बूढानीलकण्ठ मावि र विदेशमा पढेकी सुमना व्यवस्थापन विषयकी अब्बल विद्यार्थी हुन् । रास्वपाका एक नेताले खबरहबसँग भने, ‘तर, उहाँसँग समुदायमा भिजेर काम गरेको लामो अनुभव छैन । ०७२ को भूकम्पका बेला समुदायमा उल्लेखनीय कामहरू गरे पनि जनतासँग जोडिएको लामो अनुभव छैन । व्यवस्थापनको विद्यार्थी भएकाले उहाँ तत्कालैै रिजल्ट खोज्नुहुन्छ । उहाँको अपेक्षा पार्टीले तत्काल नतिजा दिने काम गरोस् भन्ने छ ।’

रास्वपाका ती नेता थप्छन् , ‘राजनीतिमा तत्कालै परिणामको आश गर्नु हुँदैन । पार्टी स्थापना भएको दुई वर्षमै पुस्तान्तरण गर्दा हाम्रो संस्थागत संरचनाले धान्दैन । किनकि लामो इतिहास बोकेका ठूला दलहरुजस्तो हाम्रो पार्टी संस्थागत बनिसकेको अवस्था होइन ।’

याे पनि…

राजीनामा पत्रमा सुमनाले लेखिन् : ‘सहकारी ठग’को ट्याग चिर्न सकेनौँ, रास्वपा पुराना दलभन्दा फरक हुन सकेन

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ८ : ३० बजे

इंग्लिस प्रिमियर लिग : न्यु क्यासलसँग चेल्सीको हार

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा न्यु क्यासल युनाइटेडसँग चेल्सी स्तब्ध

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं– आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

यी भूभागमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि बिहीबार इस्तानबुलमा

हमासले अमेरिकी–इजरायली नागरिक अलेक्जेन्डरलाई रिहा गर्दै

काठमाडौं– हमासले इजरायली-अमेरिकन बन्दी एडज अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ