गभर्नर नियुक्तिमा रुमलियो वैशाखको शेयर बजार, ट्रेडरलाई मालामाल, लगानीकर्तालाई काल | Khabarhub Khabarhub

गभर्नर नियुक्तिमा रुमलियो वैशाखको शेयर बजार, ट्रेडरलाई मालामाल, लगानीकर्तालाई काल


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०८२ सालको नयाँ वर्ष शेयर कारोबारीको मुखमा एउटै कुरा झुण्डियो– गभर्नर !! गभर्नर !!!’ ।
नयाँ देखि पुराना सबै लगानीकर्ताको मुखमा थ्यो– ‘गभर्नर !

सदनदेखि सामाजिक सञ्जालसम्म गभर्नरको नियुक्तिलाई लिएर अनेक टिक्काटिप्पणी भए । गत चैत २४ गतेदेखि आफ्नो ५ वर्षीय कार्यकाल सकेर नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी बिदा भए । त्यसदेखि यता गभर्नरको चर्चा चलेको चलै छ ।

संघीय सरकारले नियुक्ति गर्नुपर्ने गभर्नर नियुक्त हुन सकेका छैनन् । दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार छ ।

सकारले गभर्नर नियुक्तिका विषयमा जसो–जसो भन्छ, शेयर बजारले पनि त्यसै–त्यसै गति लिँदै आएको छ ।

वैशाख यता २० दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भएको छ । २० दिन कारोबार हुँदा गभर्नरको सम्भावित व्यक्तिको जस्तो चर्चा चल्छ बजारले त्यस्तै ट्रेण्ड गर्दै आएको छ ।

वैशाखमा १ खर्ब ८० अर्ब बढीको कारोबार हुँदा नेप्से ४१ अङ्कले घट्यो । वैशाख महिना कारोबारका हिसाबले राम्रो देखियो । वैशाखमा ७ दिन बजार बढेको छ भने बाँकी १३ दिन बजार राताम्य भयो ।

नेप्से परिसूचक घटेको भए पनि कारोबार राम्रो हुँदा लगानीकर्ताले त्यसलाई सकारात्मक रूपमा लिएका छन् ।

चैतको अन्तिम दिन अर्थात् चैत ३१ गते आइतबार २६६२.०८ विन्दुमा रहेको नेप्से परिसूचक २० दिन भएको कारोबारमा ४१.८१ अङ्कले घटेर २६२०.२७ विन्दुमा आयो ।

एक महिनामा १ खर्ब ८० अर्ब ७० करोड ४ लाख ५२ हजार रुपैयाँ बराबरको ४४ करोड ४० लाख ६८ हजार २२५ कित्ता शेयर १६ लाख ३० हजार २६४ पटक किनबेच भयो ।

गभर्नरको नियुक्तिको चर्चाले बजारमा उतारचढाव आएको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।
गभर्नरको नियुक्तिसँगै बजेटका कारणले पनि नेप्से अहिले सामान्य रहेको पोखरेलको तर्क छ ।

‘बजेटले, मौद्रिक नीतिले र त्यसको समीक्षाजस्ता सानासाना कुराले पनि बजारमा असर पारिरहेको हुन्छ । त्यही सेन्टिमेन्टमा ठूला इन्भेस्टरले खेलिरहेका हुन्छन्’, पोखरेलले भनिन्, ‘कहिले क्यापिटल गेन बढाउने भन्ने सुनिरहेको हुन्छु कहिले के सुनिरहेको हुन्छ । यस्तै यस्तै कुराले पनि बजारलाई असर गरिरहेको हुन्छ ।’

नेप्सेमा सूचीकृत भएका धेरै कम्पनी बैङ्क तथा वित्तीय संस्था भएकाले गभर्नरको नियुक्तिले बजारलाई बढी प्रभाव पारेको पोखरेल बताउँछिन् ।

‘फेरि सरकार ढल्ने कुरा पनि आउँछ’, पोखरेलले भनिन्, ‘अब गभर्नरको कुरा मिलेन सरकार ढलिहाल्छ भन्ने खालका ‘हुइम’ ले गर्दा पनि बजार अस्थिर भएको हो ।’

बजार बढ्नु पर्ने भए पनि गभर्नरको नियुक्ति नहुँदा बजार ‘साइटवेज’मा बसेको शेयर विश्लेषक छोटेलाल रौनियार बताउँछन् ।
‘विगतमा गभर्नरले लगानीकर्तालाई ‘पेनिक’ बनाएकाले लगानीकर्ता डराएका छन्’, रौनियारले भने, ‘कस्तो गभर्नर आउँछ भनेर लगानीकर्ता पर्खेर बसिरहेका छन् ।’

गभर्नरको नियुक्ति ढिलाइले बजार बढ्न नसकेको भन्ने भनाइमा नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे पनि सहमत छन् ।

बजारमा अहिले गभर्नर नियुक्तिका विषयबाहेक अन्य त्यस्तो घट्नुपर्ने कारण केही पनि नभएको पाण्डेको बुझाइ छ ।
‘गभर्नर नियुक्ति एउटा निहुँ हो’, पाण्डे भन्छन्, ‘यो बजारमा कति बेला ‘बुम’ हुन्छ थाहा हुँदैन ।’

बजार घटे पनि कारोबारले साथ दिएकाले बजार ठीक लयमा चलिरहेको नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे बताउँछन् ।

‘नेपालको बजार नीतिले प्रहार गरेको बजार हो गभर्नरको नियुक्तिको विषयलाई लिएर बजार तलमाथि हुनु स्वाभाविक हो’, रजौरेले भने, ‘अहिले पुँजी बजारमा रियल इन्भेस्टरहरू आइहाल्ने अवस्था छैन ।’
लामो समयका लागि लगानीगर्नेहरू अहिले गभर्नरको नियुक्ति पर्खिएको रजौरे बताउँछन् ।

ट्रेडरलाई मालामाल हुँदा लगानीकर्तालाई काल

वैशाखको बजारलाई हेर्ने हो भने ३ पटकसम्म बजार उठ्न खोजेको देखिएको छ । तर, बजार उठ्न भने सकेको देखिँदैन । नयाँ वर्षको सुरुवातमा बजारमा हरियाली छाएको थियो । तर त्यसले निरन्तरता भने पाउन सकेन ।

वैशाख २ गतेदेखि ४ गतेसम्म नेप्से बढेर फेरि लगातार ४ कारोबार दिन राताम्य भयो । फेरि ४ कारोबार दिनपछि दुई दिन झिनो अङ्कले बढ्यो । तर, उता ५ कारोबार दिन भने उच्च अङ्कको गिरावट आयो ।

वैशाख २३ गते सामान्य र २४ गते बजारमा पूरै रौनक फर्कियो । तर, त्यसयता भने बजार पूरै राताम्य भयो ।

यो त बजारको कुरा मात्र हो । भित्र कतिपय कम्पनी भने बजार घट्दा पनि बढे । विशेष गरेर ट्रेडर हाबी भएका कम्पनी अहिले पनि बढिरहेकै छन् । नेप्सेमा सूचिकृत थोरै कित्ता भएका कम्पनीमा ट्रेडरको सदैव ध्यान हुन्छ ।

हाम्रो बजारमा ‘सर्ट सेलिङ’ छैन । त्यसले गर्दा बजार बढेपछि मात्र कमाउन सकिन्छ । बजारमा जति बढी उतारचढाव आयो त्यसको फाइदा बढी ट्रेडरलाई हुन्छ । गभर्नरको नियुक्तिको विषयले बजार सामान्य नै रहँदा पनि ट्रेडरले भने राम्रै कमाएको लगानीकर्ताहरू बताउँछन् ।

बियरिश बजारमा जहिले पनि ट्रेडरले नै कमाउने नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष रजौरे बताउँछन् ।

‘बजार बुलिस भएपछि बल्कमा शेयर होल्ड गर्नेले कमाउने हो’, रजौरेले भने । अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर एउटा कम्पनीको आफूले शेयर किनेर यति पुग्छ र उति पुग्छ भन्ने गरिएको रजौरे बताउँछन् ।

‘३ हजार पुग्छ भनेर हल्ला चलाउने अनि जसले ‘पम्प’ गरेको हुन्छ उसले २ हजार पुगेपछि बेचिदिने गर्छ’, रजौरेले भने, ‘जसले ५ हजार शेयर पुग्छ भनेर भनेका हुन्छन् उनीहरूलाई फसाउने खेल हो ।’

अहिले सीमित मान्छेहरूले कमाएको रजौरेको बुझाइ छ । ‘बजार धेरै घट्ने बित्तिकै डिमाण्ड आउँछ’, रजौरेले भने, ‘धेरै घटेपछि सेलरहरू कम हुँदै जान्छन् । ‘लो’ मूल्यमा बेच्न चाहाँदैनन् ।’

अहिले ट्रेडर हाबी भएको विषयमा विश्लेषक रौनियार पनि सहमत छन् । ‘डिम्याट खाता जतिको छ उनीहरूलाई सबै थाहा छैन । ‘टेक्निकल एनालाइजर’ ले पनि अहिले ट्रेडिङ गर्नका लागि प्रेरित गर्छन्’, रौनियारले भने, ‘अहिलेको सयमा ट्रेडरले कमाए पनि बजारले राम्रो गरेपछि लगानीकर्ताले पनि कमाउन सक्छन् ।’

बैङ्क तथा वित्तीय संस्थाले पनि राम्रो लाभांश नदिएका बेला बजारमा बढी ट्रेडरहरू नै हाबी हुने गरेको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेल बताउँछिन् ।

‘२० रुपैयाँ किन नहोस् ५ रुपैयाँ फाइदा किन नहोस् आफूसँग भएको शेयर बेची हालौँ भन्ने छ’, पोखरेलले भन्छिन्, ‘नीतिहरू राम्रो छैन सरकार कति बेला फेरिने हो भन्ने टुङ्गो पनि छैन । आफ्नो हातमा भएको लि’हालौँ भन्ने भएको छ ।’

अहिले लगानीभन्दा पनि ट्रेडको रूपमा नै बजारमा बढी पस्ने गरेको पोखरेल बताउँछिन् । ट्रेडले नाफा, लाभांश केही पनि नहेरी कम्पनी मात्र हेरेर कारोबार गर्ने पोखरेल बताउँछिन् ।

‘जे सुकै होस् ट्रेडरले त जस्तो बेलामा पनि कमाएका हुन्छन् । उनीहरूले कम्पनीलाई लिएर खेल्ने हो । ट्रेडरहरूले यता उता सरकार गभर्नर हेर्दैनन्’, पोखरेलले भनिन्, ‘उनीहरूले बस् कम्पनी मात्र हेर्छन् । इन्भेस्ट जसले गर्छ त्यसले मात्र हेर्ने हो ।’
ट्रेडरले बजारमा कुन कम्पनी चलेको छ, कुन कम्पनीले ‘सर्किट’ हानेको छ कुनमा ‘इन्साइड इन्फर्मेसन’ पाइएको छ, त्यहीमात्र हेरेर कारोबार गर्ने गरेको पोखरेल बताउँछिन् ।

‘अलि ठूला खेलाडीले आफूसँग भएको सूचनाको आधारमा खेल्ने भए’, पोखरेलले भनिन्, ‘साना र नयाँले जुन कम्पनीमा सर्किट लागिरहेको छ जुन कम्पनी बढी ट्रेण्ड भएको छ त्यसमा कारोबार गर्छन् ।’

अहिले नेप्से परिसूचक मात्र नबढेको तर कतिपय कम्पनी भने बढेकाले गर्दा ड्रेडरले कमाइ गरेको नेपाल शेयरधनी संघका अध्यक्ष पाण्डे बताउँछन् । ‘यो बेलामा पनि दुई चार वटा स्क्रिप्ट त राम्रो चलिरहेका छन्’, पाण्डेले भने, ‘ट्रेडरले कमाउन त कमाए, किन न कमाउनु र ?’

नेप्से परिसूचक नबढ्दा कम्पनीको वित्तीय विवरण हेरेर लामो समयका लागि लगानी गर्ने लगानीकर्ता मारमा परेको पाण्डे बताउँछन् । ‘फन्डामेन्टल राम्रो भएको कम्पनी बढ्नलाई इन्डेक्स बढ्नु पर्छ’, पाण्डेले भने, ‘चलखेल गर्ने खेलाडीको पछिपछि लाग्ने केहीले त पैसा कमाउन सक्ने नै भए ।’

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ५ : ५९ बजे

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको

स्कुटर दुर्घटनामा चालकको मृत्यु

मोरङ – विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कोशी प्रदेशसभा : प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस

विराटनगर – कोशी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज ‘कोशी

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : ईश्वर पोखरेल

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले