देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी | Khabarhub Khabarhub

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् ।

तिहारमा खेलिने देउसी भैलोसमेत हिन्दी, अङ्ग्रेजी गीतलाई खेल्न थालेपछि मौलिकता हराउँदै गएको भन्दै मौलिकता संरक्षणका लागि यहाँका विद्यार्थीले पहल थालेका हुन् ।

बागलुङ बजारको चोकचोक र मुख्य सडकमा देउसीभैलो खेल्ने समूहले मौलिकतालाई खास्सै चासो दिएको छैन । हिन्दी, अङ्ग्रेजी र र्‍याप गीत समावेश गरेर नृत्य प्रस्तुत गर्ने गरेका छन्।

मगर विद्यार्थीले हिन्दी, अङ्ग्रेजी गीतलाई स्थान दिएका छैनन् । उनीहरूले परापूर्वककालदेखि बागलुङमा प्रचलित मारुनी, सोरठी, कौरालगायत गीत र नाचलाई प्राथमिकता दिएका छन् । स–साना बालबालिकादेखि युवायुवतीले पुरानो भागा गाउँदै मगर वेषभूषामा नृत्य प्रदर्शन गर्दा बागलुङ बजारवासीको बढी ध्यान त्यतातिर गएको छ ।

मौलिक संस्कृतिको जगेर्ना र पुस्ता हस्तान्तरणका लागि नेपाल मगर विद्यार्थी सङ्घ जिल्ला कार्यसमितिले यस वर्ष देउसी खेल्न थालेको हो । बजारमा पश्चिमा संस्कृतिको हाबी हुँदै गएपछि त्यसलाई रोक्नका लागि आफूहरु मौलिक संस्कृतिलाई समेटेर देउसी खेल्ने थालेको जिल्लास्थित मगर विद्यार्थी सङ्घका अध्यक्ष कृष्ण अठारे मगरले जानकारी दिए।

पुर्खाहरूरुले तिहारका बेला गाउने र नाच्ने नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेपछि आफूहरू यसको संरक्षणमा जुटेको उनको भनाइ छ । खास गरी तिहारमा मारुनी, सोरठी नाच नाच्नुपर्ने भए पनि पछिल्लो समय हिन्दी र अङ्ग्रेजी गीतमा नाच्ने प्रचलन बढेको अध्यक्ष अठारेले बताए ।

मगर विद्यार्थी सङ्घले बूढापाकाबाट प्रशिक्षण लिएर मौलिक गीत र नाचमा देउसी खेलेको उनको भनाइ छ । युवा पुस्तामा पुरानो संस्कृति हस्तान्तरणका लागि पनि आफूहरू लागि रहेको अठारेले बताए ।

सोरठी र मारुनी नाच मगर समुदायको पहिचान भएकाले यसलाई सिकेर अन्य युवालाई सिकाउन थालेको सङ्घका सचिव प्रदीप थापामगरले जानकारी दिए । करिब चार वर्ष बूढापाकाबाट आफूले सोरठी र मारुनी सिकेको उनको भनाइ छ । गाउँका टीकाराम थापा, पदम श्रीसलगायतका बुढापाकाहरुबाट सोरठी सिकेपछि मगर विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीहरूलाई तालिम दिएर यसपाली देउसी खेल्न थालेको थापाले भने ।

देउसी खेलेर सङ्कलन गरेको रकमले सांस्कृतिक साँझ गर्ने मगर विद्यार्थी सङ्घले जनाएको छ । विद्यार्थी सङ्घले विभिन्न समयमा भाषा, कला र संस्कृति संरक्षणमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : ०० बजे

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको

प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर