पृष्ठभूमि
नेपाली महिलाहरूको हक, अधिकार, न्याय, समानता, स्वतन्त्रता र सामाजिक रुपान्तरणको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आइरहेको महिलाहरूको गौरवशाली सङ्गठन हो अखिल नेपाल महिला सङ्घ (समाजवादी) ।
यो प्रगतिशील, देशभक्त र समाजवादी महिलाहरूको साझा र स्वतन्त्र सङ्गठन पनि हो । यो सङ्गठनले श्रमजीवि वर्गको, सबैखाले पेशा, व्यवसाय र समुदायआबद्ध जनताहरूको न्यायप्रेमी आन्दोलनसँग ऐक्यबद्धता जाहेर गर्दै साम्राज्यवाद, दलाल नोकरशाही पुँजीवाद तथा पितृसत्तात्मक उत्पीडनको विरुद्धमा महिलाहरूलाई जागृत, सङ्गठित र आन्दोलित गराउँदै अगाडि बढिरहेको छ ।
हजारौं कार्यकर्ताहरूको त्याग, बलिदान, निस्वार्थ भावना र योगदानबाट नेपाली महिलाहरूको बीचमा लोकप्रिय यो सङ्गठनले महिलाहरूमाथि हुने सबै प्रकारका शोषण, भेदभाव र हिंसाको अन्त्य गर्दै समानतामूलक समाज निर्माण समाजवादमा मात्र सम्भव छ भन्ने कुरामा स्पष्ट छ ।
आम महिलाहरूको स्वतन्त्रता र समानताको आकांक्षा पूरा हुने समाजवादी व्यवस्था, आमूल परिवर्तनकारी आन्दोलनबाट मात्र सम्भव छ भन्ने पनि हामीलाई राम्रोसँग थाहा छ । तसर्थ यो महिलामुक्ति आन्दोलनलाई ठोस, प्रभावकारी र वास्तविक बनाउन माक्र्सवाद–लेलिनवादको मार्गदर्शनमा आम महिलाहरूलाई व्यापक रूपमा गोलबन्द एवं सहभागी गराउँदै, समाजवादी क्रान्ति सम्पन्न गर्ने दृढ सङ्कल्पका साथ यो ऐतिहासिक राष्ट्रिय सम्मेलन हामी आयोजना गरिरहेका छौँ ।
हामी एउटा विशिष्ट परिस्थितिमा यो सम्मेलन गर्न लागिरहेका छौँ । यो वामलोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्ड मध्ये समाजवादी क्रान्तिको यो कालखण्डमा आजको समयको हाम्रो समाज चिन्ने, बुझ्ने र यसलाई समाजवादी रुपान्तरणमा लैजाने कार्यभार निक्र्योल गर्दै हामी यो सम्मेलनमा होमिएका छौँ ।
२००६ साल देखि लिएर ०६२–०६३ को ऐतिहासिक जनक्रान्तिसम्म आइपुग्दा नेपाली समाजको जनवादी क्रान्तिको कालखण्डमा नेपालको महिला आन्दोलनले खेलेको भूमिका गौरवपूर्ण छ । त्यसपछि हामीले बनाएको अहिलेको संविधान, यसले राखेको लोकतन्त्र, समाजवाद र समृद्धिको आकांक्षालाई अझ ज्यादा जिम्मेवारी बोधका साथ, अझ प्रष्ट कार्यक्रम र उद्देश्यका साथ, नेपाली समाजमा देखापरेका सबैखाले अन्तरविरोधहरूलाई बुझेर, हाम्रो भूराजनीतिक चुनौतीलाई समेत ध्यानमा राखेर हामीले आजको महिला आन्दोलनलाई अगाडि बढाउनुपर्नेछ ।
हाम्रो संविधानले हामीलाई समाजवादी बाटोमा अग्रसर हुन केही सहयोग त गरेकै छ । नेपालको वाम महिला आन्दोलनले यो संविधानलाई कार्यान्वयन गर्दै थप नयाँ अधिकार र स्वतन्त्रता प्राप्तिको दिशामा आफूलाई होम्नुपर्ने भएको छ । तर बेलाबखतमा यो संविधान नै तोडमरोड गर्ने, यसमाथि हमला हुने कुरामा भने नेपालको कम्युनिष्ट आन्दोलन, सिङ्गो वामलोकतान्त्रिक आन्दोलन, र महिला आन्दोलन सचेत हुनै पर्छ ।
विगतमा हामीले संविधान रक्षाका लागि नेपाली जनताका सामुन्ने जोडदार लडाइँ पनि गरेर आएका नै हौँ । यसरी, हामी हिँड्ने बाटो भनेको संविधानको प्रयोग र विकासको बाटो नै हो । यही बाटोलाई फराकिलो बनाउँदै हामी समाजवादसम्म पुग्नु महिला आन्दोलनको पनि आजको कार्यभार हो ।
तर, यसका लागि जिम्मेवार राजनीतिक दल र महिला सङ्गठन चाहिन्छ । तर हामीले यो पनि सम्झिनुपर्छ कि सबै राजनीतिक शक्तिहरू सधैँ एकै हिसाबले जिम्मेवार नहुन पनि सक्छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको चासो, देशभित्रका विभिन्न वर्ग त्यसले दिने दबाव पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । यसका लागि खासगरी आम न्यायप्रेमी देशभक्त तथा श्रमजीवि जनताको तहबाट पनि विभिन्न प्रकारको खबरदारी दबाव र जागरण आवश्यक छ । त्यसका लागि नेकपा एकीकृत (समाजवादी) र अनेमसङ्घ (समाजवादी) हरदम तयार रहनुपर्छ ।
समाजवादको निर्माण आधारभूत रुपमा वर्गसङ्घर्षको विषय हो । महिला आन्दोलन वर्गसङ्घर्षको महत्वपूर्ण पाटो हो । देशभित्रका वर्गहरू, उनीहरूका स्वार्थहरू, विश्व पुँजीवाद र त्यसले यहाँको वर्ग निर्माण र चेतनामा पार्ने प्रभाव, यी सबै कुराहरू हामी निकै नजिकबाट बुझ्ने प्रयत्न गर्नुपर्ने हुन्छ । यो बुझ्ने प्रक्रिया नेपाली समाज बदल्ने प्रक्रियासँग अन्योन्याश्रित हिसाबले गाँसिएको छ । हामी जति गहिरिएर हाम्रा अन्तर विरोधहरूलाई बुझ्छौँ, त्यति राम्ररी कार्यक्रम तय गर्न सकिन्छ । जति राम्रा कार्यक्रम तय हुन्छन्, त्यति राम्रोसँग त्यो लागू गर्न सकिन्छ । जति राम्ररी लागू गरिन्छ त्यति नै समाजवाद सन्निकट हुन्छ ।
यसरी यो प्रक्रियालाई बुझ्ने र लागू गर्ने सामुहिक सामथ्र्यको विकास आजको हाम्रो आवश्यकता हो । यो एक्लै, कुनै एक जनाले, छरिएर रहेका कुनै एक कम्युनिष्ट वा वामलोकतान्त्रिक पार्टीले मात्र गर्न सक्ने कुरा हैन । यो कामका लागि लागिपर्ने समस्त समाजवादी शक्तिहरू एकताबद्ध भएर, श्रमजीवि वर्ग जनता एकताबद्ध भएर गरिने सचेत र सामूहिक प्रयत्नले मात्र समाजवाद र समृद्धिको हाम्रो यात्रा सार्थक र फलदायी बन्छ ।
समाजवादका नाराहरू, सुशासन र भ्रष्टाचार विरोधि अभियानहरू मात्रले पनि समाजवाद लागू हुँदैन । समाजवाद निर्माण गर्दै प्रयोग गर्दै व्यवहारमा प्रमाणित गर्नुपर्ने विषय हो । हाम्रा बोली नारा र भाषाहरू एकातिर तर हाम्रा बानी व्यवहार र प्राथमिकता अर्कोतिर भएपछि समाजले प्रतिक्रिया दिन्छ । समाजले दिने प्रतिक्रियाको सन्देशलाई कम्युनिष्ट तथा बामलोकतान्त्रिक शक्तिहरूले सही दिशा दिन नसक्दा, सिङ्गो समाज गलत दिशामा जान्छ ।
मानव जातिको इतिहासमा यस्तो भएको छ । समाजवादको नाराको बाटोबाट सिङ्गो संसार फाँसीवादको कहरमा फसेको १०० वर्ष पनि भएको छैन । आज पनि फाँसीवादका नयाँ नयाँ चेहराहरूको प्रयोग जारी छन् । समाज फाँसीवादी दिशामा जाँदा सबैभन्दा प्रताडित हुने पिँधमा रहेको तप्का हो । यस अर्थमा आम श्रमजीवि महिला हो । तसर्थ समाजले दिने प्रतिक्रियालाई, समाजले रुपान्तरणको लागि राखेको आकांक्षालाई ठीक गति दिशा दिन यो महिला आन्दोलन अझ ज्यादा सुझबुझपूर्ण र एकताबद्ध हुन जरुरी छ ।
हामी यो प्रतिबद्धता राख्छौँ कि समाजलाई दक्षिणपन्थी फाँसीवादको बाटोमा जान दिँदैनौँ र यसलाई नवउदारवादी पुँजीवादको यथास्थितिमा रहन पनि दिँदैनौँ । हामी नेपालको महिला आन्दोलनलाई पहिलो पटक समाजवाद निर्माणको लक्ष्यलाई किटान गरेर सोअनुरुपको विचार, कार्यक्रम, सङ्गठन र नेतृत्व निर्माण गरेर यो ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न गर्छौँ ।
गरिबी, बेरोजगारी, अभाव, महँगी पछौटेपन, विदेशिनुपर्ने बाध्यता, हिंसा र अहिलेको पुँजीवादी समाजले समाजको सबै कुनामा थोपरेको अलगावको स्थितिलाई हामी स्पष्ट दृष्टिकोण कार्यक्रम योजना र सङ्घर्षका साथ त्यसको समाधान गर्नेछौँ । हामी पार्टीले निर्धारण गरेको ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारालाई कार्यान्वयन गर्ने सङ्घर्षको उद्घोष गर्नेछौँ ।
महिला आन्दोलनको इतिहास
वर्गीय समाजमा महिलाहरू निरन्तर आन्दोलनमा छन् । महिलामुक्ति आन्दोलनको पछिल्लो सङ्गठित इतिहासलाई चर्चा गर्दा आजभन्दा १०८ वर्ष पहिले अर्थात् वि.सं. १९७४ मा योगमाया न्यौपानेको नेतृत्वमा महिला जागृत सङ्गठन गठन भएको थियो । न्यौपानेसहित विद्या कोइराला, योगमाया सरदार लगायतका साहसी महिलाहरूले समाज सुधार, महिलाहरूलाई शिक्षा र सीप दिने र रोजगारी दिलाउने, विधवाले विवाह गर्न पाउनु पर्ने, सति प्रथाको अन्त्य र तत्कालीन राणा शासनका विरुद्धमा जनताहरूलाई गोलबन्द गर्ने उद्देश्यका साथ महिला जागृत सङ्गठन गठन भएको थियो । यसै गरी २००३ सालमा रेवन्ती कुमारीको अध्यक्षतामा आदर्श महिला समाजको स्थापना भयो ।
यो सङ्गठनको उद्देश्य राजनीतिक क्षेत्रमा महिलाहरूलाई जागृत गराउनु थियो । यही क्रममा २००४ मा मंगलादेवी सिंहको नेतृत्वमा नेपाल महिला सङ्घको स्थापना भयो । यो सङ्गठनको उद्देश्य विशुद्ध महिलाहरूका साझा समस्याका बारेमा वकालत गर्ने र सबै महिलाहरूको साझा सङ्गठन स्थापना गर्नु थियो ।
कुनै पनि राजनीतिक पार्टीको निर्देशन मान्ने र आस्था राख्ने भन्ने थिएन । तर न्यायप्रेमी वाम लोकतान्त्रिक महिला सङ्गठनको आवश्यकता महसुस गरी २००७ सालमा तारादेवी शर्माको नेतृत्वमा अखिल नेपाल महिला सङ्घको स्थापना भयो । यसरी २००७ सालको राजनीतिक परिवर्तनपछि महिला सङ्घ विभाजित भयो । यही क्रममा कम्युनिष्ट पार्टीसँगको सानिध्यतामा कामक्षादेवी बस्नेतको अध्यक्षतामा अखिल नेपाल महिला सङ्घ २००८ साल फागुन २४ गते (८ मार्च) का दिन स्थापना भयो । २००९ सालमा अखिल नेपाल भोलेन्टियर्स प्रिन्सेस शाहको नेतृत्वमा गठन भएको थियो ।
२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना क. पूष्पलाल श्रेष्ठको नेतृत्वमा भएको थियो । यसका संस्थापकमध्ये एक क. मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो । कम्युनिष्ट पार्टीको घोषणा–पत्रमा महिलालाई राजनीतिमा सशक्त बनाउने, आन्दोलित एवं सङ्गठित गर्ने, महिलाहरूलाई शोषणमुक्त गराउने उद्देश्य थियो ।
महिला आन्दोलन वर्गसङ्घर्षको एक अभिन्न अङ्गको रूपमा कम्युनिष्ट पार्टीले अङ्गिकार गरेको थियो । कम्युनिष्ट आन्दोलनको यही जागरणका कारणले समाजमा महिलाहरू जागरुक बन्दै थिए । यसै क्रममा २०१० सालमा भएको नगरपालिका निर्वाचनमा क. साधना अधिकारी पहिलो निर्वाचित नगरपालिकाको बोर्डको सदस्य हुनु भएको थियो । वहाँ तत्कालीन अखिल नेपाल महिला सङ्घको सचिव हुनुहुन्थ्यो ।
२०१६ सालको निर्वाचनमा द्वारिकादेवी ठकुरानी पहिलो मन्त्री हुनु भएको थियो । २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित संसद विघटन गरी सरकारलाई अपदस्त गरेपछि राजनीतिक दल, सङ्गठनहरू निरन्तर क्रियाशील हुन सकेनन् । २०३६ र २०३६ सालको विद्यार्थी आन्दोलनको रापतापले २०३६ सालमा क. शान्ता मानवीको अध्यक्षतामा अखिल नेपाल महिला सङ्घको पुनर्गठन भयो । तत्पश्चात् महिला नेताहरू बालबच्चा जनतालाई सुम्पेर सबै घरबार छाडेर कडा भूमिगत सङ्गठनको कार्यमा सङ्गठित रूपमा लागे ।
सामन्तवादको प्रतीक राजतन्त्रको अन्त्य गर्ने, सामन्तवादको जगमा अडेको पितृसत्ताको अन्त्य गर्ने, महिलामाथि भइरहेका सम्पूर्ण शोषण, विभेद, अन्याय, अत्याचार र हिंसाको अन्त्य गर्ने भनेर २०४६– ०४७ सालको राजतन्त्र विरोधी आन्दोलनमा महिलाको ठूलो शक्ति होमिएको थियो । यसै क्रममा धेरै महिलाहरू अपाङ्ग तथा घाइते भए भने कयौँले जेल जीवन भोगे । कष्टदायी यातना भोगे र कयौँ शहीद भए । राजतन्त्र फाल्न महिलाहरूको ऐतिहासिक र निर्णायक भूमिका थियो । २०४६–४७ सालको जनआन्दोलनपछि सबै पार्टी, सङ्गठनहरू खुल्ला भए ।
मुलुकमा बहुदलीय व्यवस्थाको स्थापनापछि स्वतन्त्रतापूर्वक सङ्घ सङ्गठनहरू निर्माण गर्ने वातावरण सिर्जना भयो । यसै क्रममा अखिल नेपाल महिला सङ्घको पहिलो सम्मेलन २०४७ साल जेष्ठ ३० गते क. अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन भएको थियो । यसरी नै दोस्रो सम्मेलन २०४८ कात्र्तिक २८–३० गते क. साधना प्रधानको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भयो । तत्कालीन नारा ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने थियो । २०६१ साल चैत्र ६–७ गतेसम्म भएको तेस्रो सम्मेलनबाट क. साहना प्रधानको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको थियो ।
उक्त सम्मेलनले राष्ट्रिय परिषद् गठन गर्यो । सो कमिटीले पैत्रिक सम्पत्तिमा समान अधिकार र राष्ट्रिय महिला आयोगको माग राख्दै देशभरीबाट ६ लाखको हस्ताक्षर सङ्कलन गरी तत्कालीन प्रधानमन्त्रीलाई बुझाएका थिए । २०६३ सालतिर सङ्गठन बलियो थियो । १० लाख महिलाहरू सदस्य बनिसकेका थिए । महिलाहरूको दह्रो शक्ति र कडा दबावका कारण जनकपुरमा बसेको नेकपा एमालेको राष्ट्रिय परिषद् बैठकले स्थानीय तहमा १६ प्रतिशत महिलाको सिट आरक्षणको व्यवस्था गर्ने निर्णय ग¥यो । २०६४ सालको स्थानीय निर्वाचनमा २० प्रतिशत महिलालाई अनिवार्य सहभागी गराउने निर्णय भयो । जसका कारण ४० हजार महिलाहरूले विभिन्न तहमा प्रतिनिधित्व गरे । यो महिलाका लागि ऐतिहासिक राजनीतिक निर्णय थियो ।
अखिल नेपाल महिला सङ्घले स्थापना कालदेखि आजसम्म आइपुग्दा अनेकौँ आरोह–अवरोह, टुटफुट र विभाजनको दुःखद् परिस्थिति झेल्दै आउनु पर्ने बाध्यता बन्यो । यही क्रममा २०६४ सालमा ने.क.पा. एमालेबाट फुटेर माले पार्टी बन्दा अ.ने.म. सङ्घ पनि विभाजन भयो । जसमा अखिल नेपाल महिला सङ्घको नेतृत्व क. विद्या भण्डारीले र अखिल नेपाल महिला सङ्घ (माले) को नेतृत्व क. साहना प्रधानले गर्नु भएको थियो । तर यो विभाजन धेरै समय रहेन ।
अन्ततः ४ वर्षपछि पार्टी एकतासँगै यो सङ्गठन पनि एकता भयो । २०६६ सालमा क. साहना प्रधानको नेतृत्वमा करिब ६०० महिलाहरू काठमाडौंबाट १२ दिनको यात्रा गरेर पूर्णागिरी पुगेर भारतले बनाएको बाँधका विरुद्धमा भारतीय सेनाको फायरिङका बावजूद पूर्णागिरीमा नेपालको झण्डा गाड्ने काम गरे जुन राष्ट्रका निम्ति ऐतिहासिक र साहसिक काम थियो ।
२०६२ सालमा एमाले र माले एकता भएपछि चौँथो राष्ट्रिय सम्मेलन क. विद्या भण्डारीको नेतृत्वमा ६२ जनाको कमिटी बनेको थियो । पोखरामा भएको छैटौँ राष्ट्रिय सम्मेलनबाट क. विद्या भण्डारीको नेतृत्वमा १२६ सदस्यीय कमिटी बनेको थियो । क. विद्या भण्डारी राष्ट्रपति भएपछि अनेम सङ्घको नेतृत्वमा क. गोमा देवकोटा र पछि संयोजकमा क. थममाया थापा हुनुभयो । सातौं सम्मेलनको तयारी हुँदै गर्दा बाम एकताको क्रममा २०७६ जेष्ठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो ।
पार्टीसँगै २ पार्टीका महिला सङ्गठनहरू पनि एकीकरण भई २०७६ सालमा क. अमृता थापा मगर संयोजक र क. जयन्ती राईको सह–संयोजकत्वमा ४७६ सदस्यीय अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को गठन भएको थियो । पछि नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतको फैसलाले नेकपा विभाजन भएपछि पुनः फेरि दुवै पार्टी पूरानै आ–आफ्नो पार्टीमा फर्किए अन्तत्वगत्वा हाम्रो सङ्गठन पनि फर्कियो ।
तर नेकपा एमालेभित्र चरम गुटबन्दी, दक्षिणपन्थी, तानाशाही, निरङ्कुशता, यथास्थितिवादी सोचले पार्टी सञ्चालन गर्ने, नीति प्रधानभन्दा नेता प्रधान, व्यक्ति पुजारी, अहङ्कारवादको हाबीका कारण कम्युनिष्ट सिद्धान्तको कुनै गुन्जायस नै रहेन र कम्युनिष्ट आन्दोलनमाथि नै सङ्कट हुने अवस्था रह्यो । त्यति मात्र होइन २–२ पटक संसद विघटन गरी संविधानलाई नै ध्वस्त पार्ने षडयण्त्रसमेत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट भयो ।
यो कार्य गलत थियो । गम्भीर त्रुटि थियो । यसलाई सच्याउन हामीले पटक पटक आग्रह गर्दा पनि उहाँको दम्भ झनै बढ्दै गइसकेपछि कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न, संविधान बचाउन पार्टीभित्र बढिरहेको विकृति, विसङ्गति र कम्युनिष्ट विरोधी आचरणको विरुद्धमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गनुपर्ने आवश्यकताको बोध गर्दै पार्टीभित्र विद्रोह भयो । जसको नेतृत्व क. माधवकुमार नेपाल र क. झलनाथ खनालले गर्नुभएको थियो ।
मिति २०७८ भाद्र २ गते विधिवत् रूपले निर्वाचन आयोगमा दर्ता भई नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापना भयो । तर अखिल नेपाल महिला सङ्घले पार्टी विद्रोह पूर्व नै मिति २०७७ साल चैत्र ६ गते शुक्रबारका दिन क. जयन्ती राईको अध्यक्षतामा ७ सदस्यीय पदाधिकारीसहित ४७६ जनाको समानान्तर केन्द्रिय कमिटी बन्यो । त्यसयता निरन्तर अनेमसङ्घ (समाजवादी) ले नेपालको महिला मुक्ति आन्दोलनलाई साङ्गठनिक, वैचारिक, सैद्धान्तिक र महिलाका विभिन्न सवाल एवं एजेण्डामा समन्वय र सहकार्य गर्दै वैचारिक नेतृत्व दिइरहेको छ ।
समय समयमा आइपर्ने विपद् जोखिमको अवस्थामा पीडितलाई सहयोग, स्वयंसेवी कार्य होस् वा पुँजीवादी समाजले महिलामाथि थोपरेका आर्थिक सामाजिक शोषण, विभिन्न प्रकारका हिंसाविरुद्ध सडक, समाज र सदनमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । हिजो सामन्ती निरङ्कुशताको समयमा स्थापना भएको अनेम सङ्घले नेपालमा सामन्तवाद र यसको नाइके राजतन्त्र ढाल्न महत्वपूर्ण भूमिका खेलेको नै हो । आज पुँजीवादको बहुआयामिक हमलालाई सामना गर्न र समाजवादी क्रान्तिलाई सन्निकट गर्न पनि महिलाहरूको सक्रिय र नेतृत्वदायी भूमिका उत्तिकै अपरिहार्य छ ।
महिलाहरूको वर्तमान अवस्था, राष्ट्रिय परिस्थिति
समाज विकासको क्रममा आदिम साम्यवादी, ढुङ्गे युग, दास युग, सामन्तवादी युग हुँदै यतिबेला हामी पूँजीवादी समाजमा प्रवेश गरिसकेका छौँ । हरेक समाजमा महिलाहरूले भोग्नु परेका शोषण, अन्याय, अत्याचार, विभेदका स्वरुपहरू समयअनुसार फरक फरक थिए । महिलामाथि हिंसा नभएको कुनै युग छैन । दिनप्रतिदिन अझ बढेर गएको छ । आजको पुँजीवादी समाजमा आइपुग्दा पनि महिलाहरू शोषण, हिंसा र दमनबाट मुक्त हुन सकेनन् । ठूलो सङ्ख्यामा महिलाहरू आफन्तबाटै बलात्कारको शिकार भएका छन्, कार्यस्थलमा सुपरभाइजर र हाकिमहरूबाट, चिनेजानेका नजिकका व्यक्तिबाट शोषणमा परेका धेरै घटनाहरू रेकर्डमा छन् ।
३ महिनाको शिशुदेखि ८० वर्षका वृद्धालाई समेत बलात्कार गर्ने, हत्या गर्ने, पे्रम गर्ने बहानामा बलात्कार तथा हत्या गर्नेजस्ता जघन्य अपराधहरू दिनप्रतिदिन जारी छन् । आज महिलाहरूमा कोहीसँग, कहीँ पनि, जुनसुकै उमेरमा पनि जीवनको असुरक्षाको डर जीवित छ । गरिब असाह्य र कामको खोजीमा रहेका युवाहरू ज्यादा जोखिममा छन् ।
आज केही महिलाहरूको सञ्चार, रोजगारी, उत्पादन र शिक्षाका क्षेत्रमा पहुँच देखिएकाले हिजोभन्दा फरक केही सहज जीवन भएको अवस्था भए तापनि समग्र महिलाहरूको अवस्था समाज विकासको गतिसँगै विकास हुन सकेको छैन । रोजगारी, तलबमान र कार्यघण्टासँग सम्बन्धित, कार्यस्थलको सुरक्षा र सुरक्षित कार्यसँग सम्बन्धित थुप्रै मुद्दाहरू पुँजीवादले हल गर्नु त परको कुरा बरु उल्टै नयाँ नयाँ स्वरुपको समस्या, हिंसा, बाध्यता र शोषण महिलाहरूमा थोपरेको छ ।
सुत्केरी आमाहरूलाई दिइनुपर्ने सामाजिक सुरक्षाहरू, स्वास्थ्य र शिक्षामा सहज पहुँच, बालबच्चाको हेरचाह, वृद्धवृद्धाको रेखदेखजस्ता कामहरूमा महिलाको ज्यादा जिम्मेवारी हुने सामाजिक बनौटको कारण आम महिलाहरू कुनै बेला ढाड सोझो गर्ने परिस्थितिमा छैनन् । अहिले पनि सामन्तवादका केही अवशेषहरू छन् ।
धर्म, संस्कृति, रुढीवादी परम्परा, मूल्य मान्यताका नाममा महिलाहरूमाथिको प्रताडना पनि जारी छ । विभिन्न प्रकृतिका हिंसा सहनु पर्ने, दाइजोको नाममा जिउँदै जल्नु पर्ने, बोक्सीको नाममा सामाजिक अपमान, हिंसा सहनु पर्ने, छाउपडीको नाममा बलात्कृत हुनुपर्ने, बालविवाह, अनमेल विवाहका कारण समस्याग्रस्त जीवन जीउनुपर्ने एउटै घटना पनि सभ्य समाजका लागि कलङ्क हो । बलात्कारजस्तो अपराधबाट गर्भ रहन गई जन्मेको बच्चाले जन्मदर्ता नपाउँदा, समाजको बोझ भएर बाँच्नु पर्ने, शिक्षा, नागरिकता र राज्यका अरु सुविधाबाट वञ्चित भई कुलतमा फसेर जीवन बर्बाद बनाइरहेको तीतो यथार्थका केही घटनाहरू छन् ।
आजको २१औं शताब्दीमा विज्ञान र प्रविधिको चरम प्रयोग भएको बेला गरिब तथा निमुखा महिलाहरूलाई बोक्सीको आरोपमा कुट्ने, मलमूत्र खुवाउने, दाइजोको नाममा जिउँदै जलाउने, एसिड प्रयोग गर्ने, आधुनिक प्रविधिको नाममा साइबर क्राइम, ब्लाकमेल, लिभिङ टुगेदरका कारण पनि कयौँ महिलाहरूलाई मर्न बाध्य बनाइएको छ । नयाँ नयाँ खाले सामाजिक अपराधलाई पुँजीवादले जन्म दिइरहेको छ र यसको चर्को मारमा आजका महिलाहरू छन् । यसले सभ्य समाजको व्यवस्थापन, मानव अधिकार र मान्छेको मुक्तिका आकांक्षामा नयाँ र डरलाग्दा चुनौती थपिरहेको छ ।
अर्कोतर्फ हेर्ने हो भने विश्वव्यापीकरण र पुँजीवादी समाजको प्रभावका कारण आफ्नो रूप र शरीरबाहेक अरु सम्पत्ति ठान्दैनन् । सबथोक पैसा हो भन्ने चिन्तनले पैसाका लागि जस्तोसुकै काम गर्न तयार हुने, फेसनका वस्तुहरू, सौन्दर्यका साधनहरू उपभोग गर्न विवश बनाउने, उपभोग्य साधन, विज्ञापनको साधन र पैसा कमाउने साधनको रूपमा प्रयोग गर्नेलगायतका बाध्यता छन् । यसले कामको क्षेत्रमा, जीवनयापनको क्षेत्रमा, खानपान, रहनसहन, नैतिकता र अन्य सांस्कृतिक क्षेत्रमा ल्याएको फेरबेदलले स्वास्थ्यमा समेत नयाँ नयाँ समस्या र आयामहरू देखापरेका छन् ।
नयाँ किसिमका मानसिक रोगहरू, एन्जाइटी, डिप्रेसनको शिकार युवा, प्रौढ वृद्ध र यसमा पनि खासगरी महिलाहरूमा यो प्रकट भइरहेको छ । आज प्रेम गर्ने, भोलि विवाह गर्ने र ६ महिना नपुग्दै सम्बन्धबिच्छेद गर्ने, लिभिङ टुगेदरमा रहने, बच्चा जन्माउने र उनीहरूको मन नमिलेपछि आरोप प्रत्यारोप गर्ने र बच्चाको समेत भविष्य अन्धकार बनाउने र सबै शत्रु भनेको पुरुषहरू नै हुन् भन्ने ठान्ने । यस्ता कुराहरूले अबको परिवार र समाज कस्तो बन्ला ? यो आधुनिक र सभ्य समाजका लागि प्रश्न हो ।
युवाहरू परिवार, समाज, राष्ट्र, संस्कृति र आफ्नै जीवनप्रति पनि जिम्मेवार देखिँदैनन् ।
पुँजीवादी समाजले सामूहिकता र जवाफदेहितालाई कहिल्यै मलजल गर्दैन । त्यसैले नेपाली समाजमा देखापरेका तमाम समस्याहरूले महिलाहरूको अवस्था थप जोखिम, असुरक्षा र अस्तव्यस्ततामा राखेको छ । यसको निकास वा समाधान फेरि पनि समाजवाद मात्र हो भन्ने कुरा यहाँ दोहोर्याउन चाहान्छु । तसर्थ नेपाली महिलाको अवस्था बदल्न समाजवाद निर्माणको क्रान्तिको यो चरणलाई थप सुुसूचित, जिम्मेवार र जवाफदेही महिला आन्दोलनको अगुवाइ गर्न अनेम सङ्घ (समाजवादी) ले सामूहिक सङ्कल्प गर्नु पर्नेछ । राष्ट्रकै अर्थतन्त्र दिन प्रतिदिन कमजोर बन्दै गएको छ । मुलुक पराधीन अर्थतन्त्रमा गुज्रिरहेको छ । भएका उद्योग, कलकारखानाहरू बन्द भएका र बन्द हुने स्थितिमा धरासायी बन्दै गएका छन् ।
रोजगारीका ढोकाहरू क्रमशः बन्द हुँदै छन् । दक्ष तथा अर्धदक्ष दुवैखाले जनशक्ति वैदेशिक रोजगारीका लागि विदेशिने क्रम कहालीलाग्दो छ । विश्वव्यापी वित्तीय पुँजीवाद जसले उद्योग र उत्पादनमूलक काममा लगानी नै गर्दैन र त्यसका दलालहरूले नेपालमा पनि विश्वपुँजीवादको अनुकूलका नीतिहरू लादेका कारण नेपालको उत्पादनको क्षेत्र धराशायी बनेको छ । यसले बेरोजगारीको चर्को अवस्था सिर्जना गरेको छ ।
बेरोजगारीले सिङ्गो समाजलाई लपेटेका कारणले महिलाको जीवन कष्टकर र भयावह छ । रोजगारीकै लागि विदेशिनु पर्ने बाध्यताले पुरुष सहकर्मी विदेशिँदा सिङ्गो घरपरिवार धान्ने, छोराछोरी र वृद्धवृद्धाको हेरचाह गर्ने लोड महिलामा मात्र खुम्चिन पुगेको छ । यसले समाजमा ल्याएको विकृति र अफ्ठ्यारो अर्कै किसिमको छ । पारिवारिक बेमेल र झैझगडाको कारण बनेको छ ।
रोजगारीको सिलसिलामा विदेशिन बाध्य महिलाहरू त झन् कठोर, अनिश्चित र असुरक्षित जीवन जिउन बाध्य छन् । यसले समग्र पारिवारिक, सामाजिक, आर्थिक, मानसिक जीवनलाई असर गरेको छ । यो परिस्थितिमा समग्र महिलाको अवस्था अझ कमजोर छ ।
उत्पादन, नियन्त्रण र वितरणमा महिलाको सहभागिता न्यून छ । दोस्रो महिलाले गर्ने श्रम त झन् ठूलो शोषणमा छ । यो कुरा भुल्न सकिन्न कि, मुलुकको अर्थतन्त्र निर्माणमा महिलाहरूको ठूलो योगदान छ । महिलाहरूको घरेलु श्रमको मूल्याङ्कन गर्ने हो भने कुल ग्राहस्थको ४० प्रतिशतभन्दा बढी रहेको छ ।
आम रूपमा पुरुषको तुलनामा महिलाले घरेलु श्रममा तीन गुणा समय बढी खर्च गर्दछन् । घरेलु श्रममा ७६ प्रतिशत महिला श्रमिक छन् । आज पनि एकै किसिमको काम र उति नै समय काम गर्दा २० प्रतिशत ज्याला पुरुषको भन्दा महिलाको कम छ । श्रम बजारमा पुरुषहरू ७४ प्रतिशत र महिलाहरू ४६ प्रतिशत मात्र छन् । यी समग्र विषयहरूको विश्लेषण गरेर हेर्दा महिलाको अवस्था निकै नै कमजोर छ ।
आखिर यो परिस्थितिको समाधान कतिपयले भनेजस्तो आजकै पुँजीवादी व्यवस्थाको सामान्य हेरफेर र सुधारबाट सम्भव छ त ? पुँजीवादबाट यो आर्थिक शोषणको अन्त्य किमार्थ हुँदैन, पुँजीवादकै अन्त्यबाट मात्र महिलामुक्ति सम्भव छ भन्ने कुरामा अनेमसङ्घ (समाजवादी) दृढसङ्कल्पित छ ।
राष्ट्रिय रूपमा यी विषयवस्तुमाथि राजनीतिक कारण र समाधानसहित अगाडि बढ्ने कुनै महिला सङ्गठन छैन । विभिन्न कम्युनिष्ट, कांग्रेस र अन्य पार्टीका महिला सङ्गठनहरू नवउदारवादी महिला मुद्दा र नाराभन्दा माथि उठ्न सकेका छैनन् । सिङ्गो समाजवादी महिला आन्दोलनका बारेमा निकै कम विमर्शहरू हुने गरेका छन् ।
हामीले समाजवादी महिला आन्दोलनलाई थप विस्तार गर्न नेपाली महिलाहरूका माझमा, विभिन्न समाजवादी विचारमा नजिक रहेकाहरूका बीचमा खँदिलो संवाद र छलफल गर्दै एकताबद्ध समाजवादी महिला आन्दोलनको निर्माण गर्न पहल प्रयत्न गर्नुपर्नेछ ।
अन्तर्राष्ट्रिय परिवेश
समकालीन विश्वमा श्रमजीवि महिलाहरूको आन्दोलन, केवल मजदुरी, अधिकार र श्रम सुरक्षा प्राप्तिको सवाल होइन । यो सत्ताको चरित्र, सामाजिक अन्याय र युद्धका विरुद्धमा उठेको सशक्त प्रतिरोध समेत हो ।
बङ्गलादेश, कम्बोडिया, भारतजस्ता मुलुकमा महिला कामदारहरू न्यून पारिश्रमिक, असुरक्षित कामको अवस्था र पुँजीवाद तथा पितृसत्ताको दोहोरो शोषणको विरुद्ध लडिरहेका छन् । यस्तै, रुस–युक्रेन युद्धले देखाएको छ कि सत्ताको भिडन्तको सबैभन्दा ठूलो भार श्रमिक वर्ग, विशेष गरी महिलाहरू, बोक्न बाध्य छन् । विस्थापनको शिकार महिला ज्यादा छन् । बेरोजगारीको मारमा महिला ज्यादा छन् ।
सामाजिक सेवाको खाडल र युद्धको मनोवैज्ञानिक पीडाले महिलामा ज्यादा असर गरेको छ । हालै भारत र पाकिस्तानबीचको सीमामा भएको झडपले पनि यही तथ्य उजागर गर्छ । दुवै देशका सैनिकहरू मारिए, तीमध्ये धेरै श्रमिक पृष्ठभूमिबाट आएका युवा थिए । जसका पत्नीहरू एक्कासी विधवा बने । यस्ता युद्धहरूबाट ज्यान गुमाएका निर्दोष सर्वसाधारणको घरमा महिलाको स्थिति नै अझ खराब गराएको छ ।
पुँजीवादले हरेक अन्तरविरोधहरूको समाधानका नाममा युद्ध थोपरेको यो चारसय वर्षमा बग्रेल्ती उदाहरण छन् । विश्वशान्तिको मानवीय चाहाना पुँजीवादमा सम्भव नै छैन, भएन । यस्तो युद्ध उन्मादी गतिविधिले सधैँ गरिब र श्रमिक समुदायलाई मर्न बाध्य बनाउँछ, र सीमापारका हतियार व्यापारीहरू भने हातेमालो गर्दै फाइदा उठाइरहेका हुन्छन् । यो परिस्थितिले पनि बालबच्चा वृद्ध र महिलाहरूमाथि ज्यादति थोपरिरहेको छ ।
त्यस्तै, अमेरिका र युरोपमा देखा परेको दक्षिणपन्थी राजनीतिक प्रवृत्तिले महिलाहरूका अधिकारहरूमा गहिरो प्रहार गरेको छ । प्रजनन् अधिकार खोसिँदै गएको छ । जसले महिला श्रमिकहरूको आत्मनिर्णय र स्वास्थ्यमाथि ठूलो चुनौती खडा गरेको छ । विचारको कुरा कति महत्वपूर्ण छ भने, कतिपय ठाउँमा स्वयम् महिला प्रमुख वा निर्णयकर्ता हुँदाहुँदै पनि श्रमिक महिलाहरू भने शोषण र विभेद खप्न अभिषप्त छन् ।
यी सबै द्वन्द्व र दमनका विरुद्ध उभिने महिलाहरू जसमा प्यालेस्टाइनकी आमाहरू विशेष उल्लेखनीय छन् । केवल आफ्नो परिवार होइन, पूरै समुदायको अस्तित्वको रक्षा गर्न सङ्घर्षरत छन् । उनीहरूको प्रतिरोध युद्ध, पुँजी सञ्चय र सत्ताको हिंसात्मक चरित्रविरुद्धको प्रतिवाद हो । यस्तो अवस्थामा, समाजवादी आन्दोलनमा लागेका हामीहरू जस्ता सङ्गठनले स्पष्ट रूपमा भनिरहेको छ — यस्ता युद्धहरू कुनै पनि न्यायपूर्ण होइनन् ।
यी युद्धहरू केही मुट्ठीभर मानिसलाई धनी बनाउने माध्यम हुन्, जसले श्रमिक वर्गका शवमाथि आफूलाई सुरक्षित बनाउँछन् । त्यसैले, अन्तर्राष्ट्रिय रूपमा श्रमिक महिलाहरूको आन्दोलन आजको दिनमा युद्ध, शोषण र असमानताको विरुद्धमा सर्वसत्तावादी संरचनाको भण्डाफोर गर्ने चेतनाको रूप बनेको छ ।
आज हाम्रो छिमेकी चीनविरुद्ध अमेरिका नेतृत्वको विश्वको साम्राज्यवादी शक्तिहरूले गर्न खोजिरहेका घेराबन्दीले नेपालसमेत संवेदनशील भूराजनीतिक चुनौतीको सामना गर्नुपर्ने परिस्थितिमा छ । यहाँ आइलाग्ने प्रत्येक चुनौतीले नेपाली महिला आन्दोलनलाई प्रभाव नपार्ने कुरै भएन । तसर्थ अन्तर्राष्ट्रिय रूपमा घटिरहेका युद्ध र हिंसाका घटनाहरू नेपाली महिला आन्दोलनले समेत गम्भीरताका साथ हेर्दै संसारभरका सबै शान्ति र समाजवादका लागि भइरहेका न्यायपूर्ण लडाइँप्रति अनेमसङ्घ (समाजवादी) ऐक्यबद्धता प्रकट गर्दछ ।
अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदनको सम्पादित अंश
प्रतिक्रिया