काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला ? ठूला अक्षरमा लेखिएका तीखा हेडलाइन, चार पाँचवटा ‘स्प्लिट स्क्रिन’ मा देखा पर्ने गेस्ट, स्क्रिनको कुनै सीमित ठाउँमा लगातार दोहोरिरहने फुटेजको सानो टुक्रा, उग्र प्रस्तोता यस्तै, यस्तै । त्यसबाहेक हो-हल्ला, गालीगलौज, हिन्दू मुस्लिम आदि इत्यादि ।
भारतको एबीपी न्यूज टेलिभिजनमा ‘महादंगल’ नामक कार्यक्रम आउँछ । यो पनि अरू समाचार च्यानलमा देखिने आम कार्यक्रमजस्तै हो । गत साता एक दिन रोमाना इसार खानले महादंगल कार्यक्रम सञ्चालन गरिरहेकी थिइन् । भारत र पाकिस्तानबीच युद्धविराम थियो । कार्यक्रममा ५ जना पाहुना बोलाइएका थिए ।
कार्यक्रममा आई कांग्रेसका तर्फबाट महिमा सिंह, भारतीय जनता पार्टीका तर्फबाट अजय आलोक, अल इण्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनका तर्फबाट वारिस पठान पाहुना थिए । त्यसैगरी, लोकजनशक्ति पार्टी रामविलासका तर्फबाट धीरेन्द्रकुमार मुन्ना र ‘एक्सपर्ट’ का रुपमा अवकाशप्राप्त मेजर जनरल जीडी बक्सी र पूर्वकूटनीतिज्ञ दीपक बोरा पनि कार्यक्रममा पाहुना बनेर आएका ।
कार्यक्रममा रक्षा विशेषज्ञका रुपमा जीडी बक्सी सेतो सर्ट र कालो रंगमा पहेँलो छिर्केमिर्के देखिने टाइ लगाएका थिए । उनको पृष्ठभूमिमा भारतीय सेनाको राष्ट्रिय राइफल्सको लोगो थियो । कार्यक्रम चल्दै गर्दा कुनै कुनै समय बक्सीले यस्सो अलिकति उता फर्केर चम्चाले केही खाइरहेजस्तो पनि देखिन्थ्यो ।
कार्यक्रमको कुनै समयमा प्रस्तोता खानले बक्सीसँग भारतीय न्यूज च्यानलमा सोधिने ‘टिपिकल’ शैलीमा लामो प्रश्न गर्छिन्–
जनरल बक्सी, यहाँ एउटा कुरा भनिएको छ, साहेब, हाम्रो निशाना, अपरेसन सिन्दुर के थियो ? त्यो न्याय दिलाउनका लागि सञ्चालन गरिएको थियो, पहलगाम आतंकवाद हमला झेल्ने पीडितलाई … युद्ध हामीलाई लड्नु नै थिएन । त्यसोभए यो जुन पूराका पूरा माहोल थियो, यही समय सही समय, खण्ड खण्ड पाकिस्तान… मैले पनि बोलेकी थिएँ, सर । एबीपी न्यूजमा बसेर म पनि जब कभरेज गरिरहेकी थिएँ, मेरो मनमा पनि यो भाव आउँथ्यो कि यही समय हो, सही समय हो, अब छोड्नु हुँदैन । हाम्रो देश भावनाप्रधान हो सर । हामी भावनामा बगेका हौँ सर ?
बक्सीको जवाफ र जवाफ दिने शैली बडो रोचक छ ।
यस प्रश्नको जवाफमा जनरल बक्सी भन्छन्–
म तपाईँलाई अब फेरि थोरै तथ्य बताइदिऊँ, ‘बिटिया रानी !’ पाकिस्तानमा हाम्रा प्रधानमन्त्रीले भन्नुभएको थियो, जसले मारेका हुन्, एके ४७ ले निहत्थालाई मारेका हुन्, उनीहरूलाई मात्रै न्यायमा ल्याउने होइन, उनीहरूका पछाडि पाकिस्तानमा जो मालिकहरू छन्, उनीहरुलाई पनि न्यायमा ल्याउनेछौँ । अर्को प्रश्न, मालिक को हुन् ? प्रथम श्रेणीका मालिकलाई हामीले मार्यौँ ।ठीक छ ? प्रथम श्रेणीका मालिकलाई हामीले मार्यौँ ।… अब प्रश्न रह्यो, असली मालिक को हुन् ? असली मालिक पाकिस्तानको फौज हो । म तपाईंलाई अझै स्पष्ट पारिदिऊँ । यो निर्देशन कसले, पहलगाममामा भएको कारवाही कसले क्लियर गरेको थियो ?
बीचैमा प्रस्तोता खान प्वाक्क बोल्छिन्
जिहादी जनरलले
बक्सी फेरि बोल्न खोज्छन्
आईएसआईभित्र एउटा इण्डिया डेस्क छ । त्यहाँ एक ब्रिगेडियर…
शायद प्रस्तोताले बोलेको कुरा बक्सीको कानमा धेरै ढिलागरी पुगेको हुनुपर्छ ।
त्यसपछि बक्सी एक्कासी झोँक्किन्छन्–
के भयो ?
फेरि प्रस्तोता खानले प्रष्ट पार्छिन्–
जिहादी जनरलले सर ।
बक्सी केही भन्न खोज्छन्, फेरि केही सेकेण्ड अल्मलिन्छन् ।
अनि फेरि झोँक्किन्छन्–
सुन्नुहोस् न सुन्नुहोस् प्लिज । बीचमा नबोल्नुहोस् । आई एम सरी, म बूढो छु । म आफ्नो सोचाइको श्रृङ्खला भुल्छु । त्यसैले म तपाईंलाई आग्रह गर्छु है, ‘बेटा’ । मलाई आफ्नो कुरा भन्न दिनुहोस् । त्यसपछि म सुन्न रुचाउनेछु । थ्यांक यू ‘बच्चे’, थ्यांक यू ।
उनी अघि भन्छन्–
यिनीहरूको असली मालिक को हो ? पाकिस्तानको सेना, पाकिस्तानको आईएसआई । ‘बेटा’, जबसम्म हामी उनीहरुलाई… आफैँसँग झूठ नबोलौँ । डोन्ड लाई टू योरसेल्फ ! (एकदम कडा बोलीमा) ठीक छ ? डोन्ट टेक द काउन्सिल अफ योर फियर्स ! … हाम्रो एउटै गल्ती छ । पृथ्वीराज चौहानले पनि १७ पल्ट मोहम्मद गोरीलाई छोडिदिएका थिए । ठीक छ ? अब ‘बेटा’ समय आइसकेको छ । एकपल्ट यिनीहरुलाई ‘आडे हाथोँ’ लिइहाल्नुपर्छ । तपाईंलाई थाहा छ, ‘बिटिया’ यूट्युबमा गएर हेर्नुहोस्, पाकिस्तानले जितेँ भन्दै लण्डनमा खुशीयाली र्याली निकालेको छ । तुर्किएमा पनि पाकिस्तानको जितको खुशीयाली मनाइएको छ । चीन धेरै रिसाएको छ । चीनले पाकिस्तानलाई भन्यो– कुकुरहरू, हाम्रो खान्छौ, हाम्रा हतियारले लड्छौ, अनि अमेरिकाको वाहवाही गर्छौ ? हिजो पाकिस्तानले घोडा चढेर युद्धविराम उल्लंघन गरिदियो । यार, यसको के भरोसा छ ? यो ‘आस्तिन’ को सर्प हो । यो घाइते सर्प हो । घाइते सर्पलाई ‘बेटा’ भारतवर्षमा कहिले छाडिँदैन, यसको टाउको कुल्चिइन्छ । टाउको हो– (पाकिस्तानी सेनाप्रमुख) आशिफ मुनिर । (कडा झोँकमा) टिल हि डाइज, दिस डज नट स्टप । ओर हि इज ओभरथ्रोन । इट डज नट स्टप । (चिच्याएर) डोन्ट स्टप इट… डोन्ट स्टप इट । सुन्नुभयो, मैले ३७ वर्षदेखि सेनामा युद्ध लडेको छैन । मैले यिनीहरूलाई चिनेको छु, मैले पाकिस्तानका कुकुरहरूसँग लडेको छु, पाकिस्तानका सेनासँग । जबसम्म यिनीहरूलाई तह लगाइँदैन, तबसम्म हाम्रो समस्या सकिँदैन । भोलि फेरि ५–६–७ वटा अपरेशन सिन्दूर… के गर्न चाहनुहुन्छ ? …अर्जुन, युद्ध गर… हे अर्जुन, युद्ध गर, यो गीतामा लेखिएको छ । अब युद्धको समय छ, युद्ध गर्न दिनुहोस् । हामी युद्ध चाहँदैनौँ, तिमी युद्ध चाहँदैनौ, पाकिस्तान चाहन्छ । जबसम्म उसलाई युद्ध मिल्दैन, उसले मान्दैन । र, अंकल नभनुन्जेलसम्म लात भेट्नेगरी । … यू वान्ट टू डिएस्कलेट, देन एस्कलेट । एस्कलेट टू डिएस्कलेट…
हेर्नुहोस् भिडियो–
पाकिस्तानसँग हानाहान रोकिएको केही समयपछि आयोजना गरिएको कार्यक्रम तटस्थ दर्शकका लागि अत्यन्त रोचक, मनोरञ्जनात्मक र कुनै कुनै अवस्थामा हाँस्यास्पद समेत सुनिन्थ्यो । महादंगलमा औपचारिकताको कुनै संकेत थिएन । पाहुना बनेर आएका जीडी बक्सी व्यवसायिक समाचार प्रस्तोतालाई बारम्बार ‘बिटिया रानी’, ‘बेटा’, ‘बच्चे’ ‘बेटी’ जस्ता अनौपचारिक शब्दले पुकार्थे । कार्यक्रममा तथ्यभन्दा भावना धेरै रहेको भान हुन्थ्यो ।
भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको अपरेशन सिन्दुरको छेकोमा भारतीय मिडियामा यस्ता धेरै कार्यक्रम प्रस्तुत गरिए । यस्तो लाग्थ्यो, कि भारतीय सेनाले लडाकु जहाजबाट मात्रै होइन, मिडियाका कन्टेन्टले पनि पाकिस्तानविरुद्ध व्यापक आक्रमण गरिरहेका छन् । भारतमा न्यूजलण्ड्री नामक अनलाइन सञ्चालनमा छ । यो अनलाइन मूलधारका मिडियाभन्दा केही स्वतन्त्र मानिन्छ ।
त्यही न्यूजलण्ड्रीमा अतुल चौरसियाले ‘शिलाजीत पत्रकारिता और च्यवनप्राश खबरों वाला हफ्ता’ नामक शीर्षकमा टिप्पणी गरेका छन् । उनले भनेका छन्– ‘तमाम समाचार च्यानल धर्म, जात, सम्प्रदाय, प्रदेश, पार्टीका सबै मतभेद भुलेर एक भए । फेक न्यूज फैलाउन सबैबीच एउटा आमसहमति भयो । भारत र पाकिस्तानबीच अहिले रोकिएको युद्धमा हाम्रा समाचार च्यानलका लागि पछिल्लो साता फ्री फर अल रह्यो । पहिले आओ, पहिले पाओका आधारमा जसको मनमा जे आयो, त्यसले त्यही ठेलिदियो । फर्जी खबरको बाढी आयो ।’
उनी अघि भन्छन्– ‘हाम्रो टेलिभिजन मिडिया पहिले नै चुट्किला बनिसकेको थियो कि युद्धको गम्भीर माहोलमा आफ्नो सकिएको प्रतिष्ठा थोरै भएपनि बहाल गर्लान् भन्ने अपेक्षा थियो । तर होइन, उनीहरूलाई अझै बदनाम हुनु छ ।’ रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार भारतका २० करोड घरमा टेलिभिजन सेट छ । त्यहाँ समाचार प्रसारण गर्ने ४ सय ५० हाराहारीमा च्यानल छन् । यसअनुसार आमभारतीयका लागि अझै पनि सूचना प्राप्त गर्ने सहज माध्यम टेलिभिजन नै हो ।
यस्ता समाचार च्यानलमा फर्जी खबरको बाढी नै आएको थियो । अन्तर्राष्ट्रिय सम्बन्धका जानकार एवम् संयुक्त राष्ट्रसंघमा फ्रान्सेली सैनिक नियोगका पूर्वप्रमुख जनरल डोमिनिक ट्रिन्कान्ड द्वन्द्वको समयमा सैन्य तथ्य पुष्टि गर्नु सदैव चुनौतिपूर्ण हुने बताउँछन् । उनले एएफपीलाई भनेका छन्, ‘सैन्य तथ्य पुष्टि गर्नु जटिल हुन्छ, किनभने आक्रमणको तथ्य पुष्टि गर्नु कठिन त हुन्छ नै, त्यसमाथि सञ्चार युद्ध पनि चलिरहेको हुन्छ ।’
दर्शकलाई अवस्थाको गम्भीरताबारे बुझाउन कतिपय मिडियाले समाचारमा समेत साइरन बजाउन भ्याएका थिए । यतिमात्रै होइन, अझ कतिपय मिडियाले त इजरायलको भिडियो देखाएर त्यसलाई भारतमाथि पाकिस्तानले गरेको हवाइ आक्रमण भनेर समेत आँखामा छारो हालेका थिए ।
अपरेसन सिन्दुरका बेला भारतीय मिडियामा आएका केही झूठा समाचारका हेडलाइन हेर्नुहोस्–
न्यूज नेसनका हेडलाइन-
आईएनएस विक्रान्तले उडायो कराँची बन्दरगाह
पाकको चार फाइटर प्लेन सेनाले खसाल्यो
पाकिस्तानका पाँच शहर नक्साबाट गायब
भारतको कब्जामा पाकिस्तान अधिनस्थ कश्मीर
डराएर भागे शहबाज शरिफ र आसिफ मुनिर
म्याच हुनुभन्दा अगाडि उडाइयो पाकिस्तानको स्टेडियम
टीभी ९ का हेडलाइन–
भारतको पलटवार, पाकिस्तानका २५ शहर ध्वस्त
लाहौर इस्लामावाद र सियालकोटमा भीषण हमला
आईएनएस विक्रान्तले गर्यो कराँची बन्दरगाह ध्वस्त
बिहान बिहानै पाकिस्तानका छ शहरमा भारतीय सेनाको आक्रमण
जी न्यूजका हेडलाइन–
पाकिस्तानका कैयौँ शहरमा कब्जा, कराँची नक्सादेखि गायब
पाकिस्तानका सेनाप्रमुख गिरफ्तार, भयो सत्तापलट
पाकिस्तानको राजधानी इस्लामावादमा कब्जा
भारतदेखि डर… बंकरमा लुके शहबाज–हफिज, मिल्यो लोकेसन
बिहान बिहानै भारतले उडाइदियो पाकिस्तानका कैयौँ शहर
भारतीय सेनाले इस्लामावाद नै कब्जा गरेको समाचारप्रति न्यूजलण्ड्रीका अतुल चौरसिया व्यङ्ग्य गर्दै भन्छन्, ‘जति पनि मान्छेहरू यी च्यानलमा बसेर सारा समाचार लेख्दै पढ्दै थिए, उनीहरूको भूगोल ज्ञान निःसन्देह धेरै कमजोर छ । इस्लामावादमा कब्जाअघि लाहौरमा कब्जा गर्नुपर्ने हुन्छ । झूठ बोल्ने चाहना जतिसुकै तीव्र भए पनि लाहौरलाई छाडेर सीधै इस्लामावाद कब्जा गर्न सम्भव छैन ।’

अमेरिकन युनिभर्सिटीमा राजनीतिशास्त्रकी सहायक प्राध्यापक एवम् दक्षिण एशियामा मिथ्या सूचनाकी अध्येता डा. सुमित्रा बद्रिनाथन पछिल्लो समय परिचिति र विश्वसनीय पत्रकारले नै झूठा सूचना फैलाएको बताउँछिन् । उनले न्यूयोर्क टाइम्ससँग भनेकी छिन्, ‘यसअघि विश्वसनीय पत्रकार र प्रमुख सञ्चार माध्यमले नै सीधै फर्जी समाचार छापे ।’ उनका अनुसार यसअघि विश्वसनीय ठानिएको स्रोतले नै फर्जी समाचार छाप्दा त्यसले ठूलै समस्या निम्त्याउँछ ।
भारतमा सूचनाको तथ्य मापन गर्ने अल्ट न्यूज नामक प्लेटफर्मका संस्थापक प्रतीक सिन्हाले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘सूचना वातावरण बिग्रिएको छ ।’ आइतबार दिउँसो यो सामग्री तयार पार्दै गर्दा अल जजीराको ‘द लिस्निङ पोस्ट’ को नयाँ एपिसोड यूट्युबमा सार्वजनिक भएको छ । ‘इज इण्डियाज मेनस्ट्रिम मिडिया बिकमिङ अ लायबिलिटी फर मोदी ?’ शीर्षकको एपिसोडमा प्रस्तोता रिचर्ड गिजबर्ट भन्छन्, ‘भारत र पाकिस्तान युद्धको किनाराबाट जोगिएका छन् । दुवै देशका नेताले सैनिक र नैतिक विजयको घोषणा गरेका छन् । यद्यपि वास्तवमा के भएको थियो भन्ने पक्षको महत्वबारे अझै प्रश्न बाँकी नै छ ।’
उनका अनुसार भारतीय मिडिया वातावरण चर्को छ । त्यहाँ सयौँको सङ्ख्यामा रहेका मूलधारका समाचार च्यानलमध्ये धेरैजसो उग्रराष्ट्रवादी, सनसनीपूर्ण छन् । उनीहरू र घृणास्पद अभिव्यक्ति उत्पादन गर्ने क्षमणका कारण बदनाम छन् । सो एपिसोडमा भारतको वैकल्पिक म्यागजिन क्याराभानका कार्यकारी सम्पादक हरतोष सिंह बाल अविश्वसनीय रहेको थाहा हुँदा हुँदै पनि अधिकांश भारतीयहरू द्वन्द्वको समयमा सूचना प्राप्त गर्न मूलधारका मिडियामै भर पर्नुपर्ने अवस्था रहेको बताउँछन् ।
उनी भन्छन्, ‘यो हरेक भारतीयका लागि तनाव र चिन्ताको अवस्था थियो, यस अवस्थामा उनीहरू मिथ्या सूचना पाइरहेका थिए, झुक्याउने प्रयत्न गरिएको थियो । त्यस बखत टेलिभिजनमा युद्धको उत्सव मनाउने एक हिसाबको प्रदर्शनी, तमासा चलिरहेको थियो ।’
हुन पनि अपरेशन सिन्दुरका बेला भारतीय मिडियामा आएका मिथ्या सूचना दर्शक मात्रै होइन, भारतीय रक्षा संस्थापनका लागि पनि टाउको दुःखाइको विषय बन्यो । मे ९ का दिन भारतीय रक्षा मन्त्रालयले मिथ्या सूचना सम्प्रेषण नगर्न र आधिकारिक सूचनाका लागि सेनाको ‘ब्रिफिङ’ मा भर पर्न आग्रह गरेको थियो ।
मन्त्रालयका प्रवक्ताले ट्विटमा भनेका थिए–
सबै मिडिया च्यानल, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा बलको गतिविधि र रक्षा कारवाहीका बारेमा प्रत्यक्ष कभरेज र रियल टाइम रिपोर्टिङ नगर्न आग्रह गरिन्छ । यस्ता संवेदनशील र स्रोतमा आधारित सूचनाले सैन्य कारवाहीको प्रभावकारितामा हानि पुर्याउने र जीवनमा खतरा उत्पन्न गर्नसक्छ । कारगिल युद्ध, २६/११ हमला र कन्दाहार विमान अपहरणजस्ता विगतका घटनाले यस्ता असामयिक रिपोर्टिङको जोखिमलाई दर्शाउँछ । केबल टेलिभिजन सञ्जाल (संशोधित) नियम, २०२१ को धारा ६(१)(पी) अनुसार प्रतिआतंकवाद कारवाहीका क्रममा तोकिएका अधिकारीलाई मात्रै आवधिक ब्रिफिङ जारी गर्ने अधिकार दिइएको छ । सबै सरोकारवाला पक्षलाई देशको सेवा गर्न उच्चतम् मापदण्ड कायम गर्दै समाचार कभरेज गर्दा सतर्कता, संवेदनशीलता र जिम्मेवारी अपनाउन आग्रह गरिन्छ ।
हेर्नुहोस् ट्विट-
All media channels, digital platforms and individuals are advised to refrain from live coverage or real-time reporting of defence operations and movement of security forces. Disclosure of such sensitive or source-based information may jeopardize operational effectiveness and…
— Ministry of Defence, Government of India (@SpokespersonMoD) May 9, 2025
रविश कुमारले भारतमा स्वतन्त्र पत्रकारको छवि बनाएका छन् । रविश सन् २०२२ को अन्त्यतिर भारतका धनकुबेर गौतम अडानीले स्वामित्व ग्रहण गर्नुअघि एनडीटीभीमा काम गर्थे । आजकल उनी यूट्यूबमा समाचार पढ्छन् । उनी उनै पत्रकार हुन्, जसले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकार समर्थक मिडियालाई ‘गोदी मिडिया’ को उपमा दिएका थिए । ‘गोदी मिडिया’ शब्द अहिले भारतसहित विश्वभर आम भइसकेको छ ।
उनले गत ९ मेका दिन ‘आधा पाकिस्तान तबाह, कराची पर कब्जा, यह कैसी खबरें हैं मीडिया की ?’ शीर्षकको भिडियो यूट्युबमा हालेका थिए । त्यसमा उनी भन्छन्, ‘युद्धको समयमा समाचार माध्यमको विश्वसनियता उसै पनि सन्देहको दायरामा हुन्छ । तर, गोदी च्यानलहरूले खबर साँचो पनि हुन्छ भन्ने सन्देह नहोस् भनेर सबैभन्दा पहिले विश्वसनीयतालाई नै ध्वस्त पारिदिएका छन् । उनीहरूले बेलगाम भएर झूठ बोल्दा भारतीय राजदूतहरू र सरकारका प्रवक्ताको मिहिनेतमा पानी खन्याएजस्तो हुनसक्छ ।’
उनी अगाडि भन्छन्, ‘जसरी च्यानलहरुमा ब्रेकिङ न्यूजसँगै साइरन पनि बजाइएको छ, सम्भव छ कि यथार्थमा साइरन बज्दा जनता कन्फ्युज भएर विश्वास नगर्लान्, सोफामै बस्लान् ।’
प्रतिक्रिया