व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण « Khabarhub

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसानले लिची र आँपका बोट लगाउन थालेका छन् ।

यस क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकैखेतीको तुलनामा फलफूलखेती बढी लाभदायक देखेपछि बारीका डिल, छेउछाउ तथा घर आँगनमै लिची र आँपका बिरुवा रोप्न थालेका छन् ।

गाउँभर अहिले लिची टिप्न किसानलाई भ्याइनभ्याइ छ । किसानहरु हरेक दिन भर्‍याङ ठड्याएर लिचीका दान चिप्ने चटारोमा देखिन्छन् । रामघाट– ११ की रूपा धौलाकोटीले लिची उत्पादनबाट वार्षिक लाखौँको आम्दानी गर्दै आइरहेको बताइन् । ४६ वर्षीया धौलाकोटीले करिब चार बिघा क्षेत्रफलमा ३० वटा लिचीका बोट र १५० वटा आँपका बोट रोपेकी छिन् । २५ वर्षअघि रोपेका लिची र आँप उनको आम्दानीको स्रोत हुन् ।

उनका अनुसार बोटमै प्रतिकिलो एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा लिची बिक्री हुने गरेको छ । ग्राहक स्वयं किसानको घरमै आइपुग्ने भएकाले बजार खोज्न जानु नपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘बाहिरबाट ल्याइने फलफूलमा विषादीको मात्रा बढी पाइने भएकाले पनि ग्राहकहरू बगैँचामै आउने गर्नुभएको छ, यसले बजार खोज्न जान परेको छैन र मूल्य पनि पाएका छौँ ।’

रूपा जस्तै रामघाट– ११ का किसान टेकबहादुर धमला अचेल लिची टिप्नमा व्यस्त छन् । पाँच रोपनी जमिनमा लिची खेती गर्दै आएका धमलाले यस वर्ष पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको बताए ।

धमलाका अनुसार लिची खेतीले राम्रो आम्दानी दिने देखिएको छ । उनले भने, ‘पानी, मल र समयमै हेरचाह गर्न सके राम्रो फलेर बजारमा राम्रै मूल्य पाइन्छ । अहिले त लिचीको माग पनि बढ्दो छ ।’

हाल रामघाटका किसानहरू आफ्नै क्षेत्रका बजार, वीरेन्द्रनगर, नेपालगञ्ज र दाङमा लिची बिक्री गर्दै आइरहेका छन् ।

भेरीगङ्गा नगरपालिका कृषि विकास शाखाका प्रमुख सुरज बिसीका अनुसार रामघाटको वडा नम्बर ११ र १३ लिची र आँप उत्पादनका मुख्य केन्द्र हुन् । उनले भने, ‘रामघाटको वडा नम्बर १२, ७ र ८ मा लिची उत्पादनका लागि वातावरणीय अवस्था उपयुक्त छ । यहाँको हावापानी र जमिनको बनावट फलफूल खेतीका लागि अनुकूल छ ।’

रामघाट क्षेत्रमा हाल फलफूलका विभिन्न जात व्यावसायिक रूपमा लगाइएका छन् । आँप २९.९ हेक्टर, सुन्तला ३.१ हेक्टर, केरा १६ हेक्टर, कागती ७.८ हेक्टर र लिची १३.५ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । रामघाट क्षेत्रको झण्डै ८० प्रतिशत भूभाग वडा नम्बर ११ र १३ ले ओगटेको छ ।

कृषि विकास शाखाका प्रमुख बिसीका अनुसार भेरीगङ्गा नगरपालिकाले किसानहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । उनका अनुसार कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा आँप, लिची र कागतीका बोटबिरुवा वितरण गरिने कार्यक्रम यस वर्ष पनि सञ्चालनमा छ । (रासस)

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : २६ बजे

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले