श्रम अभियानले विवादमा हर्क, डोर हाजिरी उठाएर समर्थकलाई नगरको पैसा बाँड्न खोज्दा तनाव | Khabarhub Khabarhub

श्रम अभियानले विवादमा हर्क, डोर हाजिरी उठाएर समर्थकलाई नगरको पैसा बाँड्न खोज्दा तनाव


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारी बजेट संस्थागत रुपमा खर्च नगरि आफू खुसी श्रम अभियान चलाउँदै आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) गम्भीर विवादमा परेका छन् ।

२०७९ सालको चुनावमा स्वतन्त्र उठेर मेयर जितेका उनले आफ्ना समर्थकलाई उतारेर धरानमा श्रम अभियान चलाउँदै आएका थिए ।

श्रम अभियान चलाउँदै दैनिक विकास निर्माणको काममा हात हाल्दै आएका मेयर साम्पाङले यसअघि नै भइसकेको काममा खर्च भएको रकम नगरपालिकाकै बजेटबाट वितरण गर्न खोजेपछि तीन दिनददेखि धरान तनावमा परेको छ ।

पछिल्लो पटक धरान–१६ स्थित बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माणमा संलग्न श्रम अभियन्ताहरूलाई उपमहानगरको कोषबाट रकम बाँड्न खोजेपछि विवाद भएको हो । यसबारेमा साम्पाङका समर्थक र उपमेयर अइन्द्रविक्रम बेघानिकट नेकपा माओवादी केन्द्रका कार्यकर्ता आमने सामने भएका छन् । यसका कारण धरान उपमहानगर कार्यालय परिसरमै मेयर र उपमेयरबीच हात हालाहालको अवस्था भयो । अर्कातिर समर्थक पनि चर्को नाराबाजी र गालीगलौजमा उत्रिएका छन् ।

धरानमा मेयरका समर्थकले उपमेयर बेघामाथि भौतिक आक्रमण नै गर्ने गरि उत्रिएका छन् । तर नगर प्रहरी र माओवादी कार्यकर्ताले उपमेयर बेघालाई जोगाइरहेका छन् ।

उपमेयर बेघामाथि आक्रमण प्रयासको खबरले उनका समर्थक र माओवादी कार्यकर्ता पनि उपमहागनर कार्यालय परिसरमा पुगेर नाराबाजी गरिरहेका छन् । त्यहीकारण अहिले धरान उपमहानगरको कार्यालय परिसर हुलहु्ज्जत गर्ने थलो बनिरहेको छ ।

उपमेयर बेघा र वडाध्यक्षहरले मेयर साम्पाङका समर्थकहरूले खुकुरी नै लिएर आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । मेयरले एक्लै चल्न खोज्दाको परिणाम अहिले निम्तिएको अराजकता भएको उपमहानगरका प्रवक्ता सूर्य भट्टराईले बताए ।

उपमेयर र वडाध्यक्षहरूले नि:शुल्क श्रमदानका नाममा मेयरले चलाएको अभियानमा सहभागीहरूलाई डोर हाजिरी फारम भरेर उपमहानरको कोषबाट रकम दिन खोज्नुलाई गैरकानुनी भनेका छन् । मेयरले समर्थक उतारेर आफूहरूलाई आक्रमण गर्न खोजेको उपमेयर बेघाले बताएका छन् ।

उपमहानगरले अहिले नयाँ आर्थिक वर्षको बजेट बनाइरहेको छ । बजेट निर्माणको काममा उपमेयर बेघा जुटिरहेका छन् । सोमबार नयाँ बजेटको सिलिङ तय गर्न बैठक भइरहेको समयममा मेयर साम्पाङका समर्थकहरू उपमहानगरको कार्यालयमै छिरे।

बजेटबारे छलफल चलिरहेका बेला पनि मेयरका समर्थकले उपमेयरमाथि आक्रमण गर्न खोजेका थिए । धरान–१६ स्थित बहुभाषिक पाठशाला परिसरमा हालिएको ग्याबिन जाली निर्माणमा संलग्न श्रम अभियन्तालाई डोर हाजिर उठाएर नगरपालिकाको बजेटबाट भुक्तानी दिन लागिएपछि विवाद बढेको हो ।

मेयर साम्पाङले यहाँ यही जेठमा श्रमदान अभियान चलाएका थिए । अनौठो के छ भने जेठ पहिलो साता सकिएको उक्त कामको रि-स्टिमेट मेयर साम्पाङले अहिले गराएका छन् । उनले उक्त कार्यका लागि धरान–१६ भन्दा बाहिरका बासिन्दाको उपभोक्ता समिति बनाएको भेटिएपछि वडाध्यक्षसहितका जनप्रतिनिधिले विरोध गरेका थिए । उनले धरान-१६ बाहिरका बासिन्दाको उपभोक्ता समिति बनाएर नगरपालिकामा बिल नै पेश गरेपछि तनाव भएको हो ।

मेयर साम्पाङले धरान-१६ बाहिरका उपभोक्ता राखेर बनाएको समितिको बिलको रकम दिन नसकिने अडान उपमेयरले राखेका थिए । उनले उक्त काम गैरकानुनी भन्दै योजना अनुमगनमा पनि नजाने बताए । त्यसपछि मेयर साम्पाङ उपमेयरलाई सामाजिक सञ्जालमा गाली गरिरहेका छन् भने समर्थकसमेत उतारेर आक्रमण प्रयास भएको छ ।

यसबारेमा धरान उपमहानगरपालिका- १६ का वडाध्यक्ष मुरारी भट्टराईले श्रम अभियानमा संलग्न हुने वडाभन्दा बाहिरका मानिस राखेर मेयर उपभोक्ता समिति बनाएको बताए । त्यसरी बनेको समितिका नाममा नगरको रकम निकासा गराउन खोजेको उनको भनाइ छ ।

धरान वडा नम्बर १६ मा अवस्थित पाठशालाका लागि मेयर साम्पाङले आफू समर्थक धरान–१४ का प्रसाद राई संयोजक रहेको उपभोक्ता समिति बनाएका थिए । एउटा वडाको संरचनाका लागि अर्को वडाका मानिसलाई उपभोक्ता समितिमा राखिएकोमा उपमेयरसहित वडाध्यक्षले पनि विरोध गरेका हुन् ।

मेयर साम्पाङले यसबारेमा आफ्नो अडान छाडेका छैनन् । धरान १६ को पाठशालाका लागि आफूले धरान १४ का मानिसलाई उपभोक्ता समितिमा राखेको स्वीकारेका छन् । उनले आफूसँग विचार नमिल्नेलाई उपभोक्ता समितिमा नराख्ने बताए । मंगलबार पत्रकार सम्मेलन नै गरेका उनले श्रम अभियानकै साथीलाई उपभोक्ता समितिमा राखेर काम गरेको बताए ।

मेयर साम्पाङले जहाँको बासिन्दा भए पनि आफूलाई सजिलोका लागि उपभोक्ता समितिमा राखेको बताए । सर्दुको बाढी पस्ने भएकाले पाठशालाका लागि जहाँको भए पनि उपभोक्ता समिति बनाउन सकिने तर्क उनको छ । साम्पाङले खोलो कुनै वडामा नपर्ने तर्क पनि झिकेका छन् ।

मेयरले यो लिँडेढिपी गरिरहँदा मेयरका श्रमदाताहरूलाई डोर हाजिरी उठाएर रकम भुक्तानी गर्न खोजेको भन्दै उपमेयरले आपत्ति जनाएका छन् । उनले त्यो योजना अनुमगन नगर्ने बताइसकेका छन् ।

उता मेयर साम्पाङले भने श्रमदान गर्दा हिसाब गरेर लागत निकाल्न डोर हाजिरी गराइएको जिकिर गरेका छन् । उनले पैसा बाँड्न भन्दा लागतको हिसाबका लागि डोर हाजिरी उठाइएको जिकिर गरेका छन् । तर त्यही डोर हाजिरीका आधारमा नगरबाट रकम भुक्तानी गर्न उपमेयर नमानेपछि मेयर साम्पाङ अहिले आक्रोशित छन् ।

उपमेयर बेघाले श्रमदानबाट काम सकिएपछि फेरि उपभोक्ता समिति बनाएर बिल पेश गर्नु नै गलत भएको बताए । उनले श्रमदानबाट सकिएको कामको रकम नगरबाट लान खोज्नुलाई कानुनविपरीत भनेका छन् । उनले उक्त गैरकानुनी कामको रकम भुक्तानी नदिने पनि बताए । कर्मचारीले पनि गैरकानुनी कामको रकम भुक्तानी नगर्ने बेघाले बताए । आफूले गैरकानुनी काम रोक्न खोज्दा समर्थक उतारेर आफूमाथि आक्रमण गर्न खोजिएको बेघाको गुनासो छ।

उता मेयर साम्पाङले आफ्नो श्रमदान अभियान रकम नगरबाटै भुक्तानी गरिनुपर्ने जिकिर गरेका छन् । उनले आफू धरानको नेतृत्वमा रहेकाले आफ्नो निर्णय लागु हने बताएका छन् । आफूले जनताको आदेश मानेकाले उक्त रकम पनि जनताकै लागि भुक्तानी गर्न खोजिएको उनले बताए ।

नेकपा माओवादी केन्द्रका नगरअध्यक्ष उद्धव लिम्बु मंगलबार बिहान मेयर साम्पाङको समूह डोजर, स्काभेटरको चाबी माग्न भन्दै उपप्रमुखको कार्यकक्षमा छिरेका थिए ।

उनले उनीहरूलाई प्रमुख साम्पाङले हुलहुज्जतका लागि बेघाको कार्यकक्षमा पठाएका आरोप लगाए । नगरपालिकाको डोजर र स्काभेटरको चाबी प्रमुख साम्पाङ, उपप्रमुख र कार्यालय स्टोरमा राखिने गरिएको छ।

उनले प्रमुख र उनका समर्थकले ती सामान मनपरी प्रयोग गरेपछि दुरुपयोग हुन नदिन आफूसँगको र कार्यालयको चाबी कसैलाई नदिएको बताएका छन् ।

उनका अनुसार प्रमुख साम्पाङका श्रमदाता समूह धरान उपमहानगरपालिका–१० नारायण पथमा स्काभेटर प्रयोग गर्न चाबी माग्दै आएका थिए । एउटा चाबी ‘मेयरसँग पनि रहेकाले मागिदिने जवाफ दिएको उनले बताए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  २ : ४५ बजे

इजरायल र अमेरिकालाई खामेनीको सन्देश- जबरजस्ती थोपरिएको युद्ध र शान्ति दुवै मान्दैनौँ

तेहरान– इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले बुधबार एक महत्त्वपूर्ण

राजुनाथलाई कारबाही नगर्न उच्च अदालतको आदेश 

काठमाडौं– काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन कार्यान्वयन

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं– देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य

बालुवाटारमा शीर्ष नेतृत्वबीच छलफल जारी

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतृत्वबीच

टम क्रुजले पाउने भए अस्कर अवार्ड

काठमाडौं – हलिउड नायक तथा निर्माता टम क्रुजलाई मानर्थ अस्कर