पञ्चमी बजारमा रोपिएको नवीन सपना, ‘ऊनको स्वीटर’मा साकार | Khabarhub Khabarhub

पञ्चमी बजारमा रोपिएको नवीन सपना, ‘ऊनको स्वीटर’मा साकार


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 11 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवीनको जन्म वि‍.सं २०५० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित सत्यरुपामा भएको हो ।

तीन दशकअघिको सत्यरुपामा अहिलेकोभन्दा स्वाभाविक फरक थियो । मोटर बाटो र बिजुली बत्ती थिएन । शिक्षाको पहुँच सहज थिएन । दैनिकी चलाउन बजार पुग्न एकदिन छुट्याउनु पर्ने बाध्यता थियो ।

नवीनकै भाषामा भन्ने हो भने- सत्यरुपा उनी हुर्कँदा बिल्कुल दुर्गम पहाडी गाउँ थियो । विकासका पूर्वाधारले त्यो गाउँलाई छोएकै थिएन भन्दा हुन्छ ।

नवीनले अनुभव गरेको बाल्यकाल र किशोरावस्थाको सुरुवाती केही वर्षले सत्यरुपाको दुर्गम पाटोको दृश्य पाठकको मनसपटलमा बन्न सक्छ ।

कारण– उनको जीवन भोगाइले साढे दुई दशकअघिको सत्यरुपाको थथार्थ झल्काउँछ ।

नवीनको स्कुले शिक्षा सत्यरुपामै केन्द्रित छ । जसबेला देशमा माओवादी जनयुद्ध थियो । सत्यरुपामा दुर्गम गाउँ भएकाले त्यहाँ माओवादी लडाकु हाबी थिए ।

नवीन भन्छन्, ‘यति धेरै माओवादीको बिगिबिगी थियो कि मेरो हुर्काइ नै उनीहरुसँग भयो भन्दा हुन्छ ।’

तीन कक्षासम्म पढाइ हुने स्कुल उनको घरबाट आधा घण्टाको पैदल दूरीमा थियो । ४ कक्षादेखि ५ कक्षासम्म पढ्न एक घण्टा पैदल छिचोल्नुपर्ने बाध्यता थियो ।

६ कक्षादेखि १० पढ्ने स्कुलको दूरी झन् लामो बन्यो । एक दिन स्कुल पढ्न ५ घण्टा पैदल हिँड्नुपर्‍यो ।

नवीन भन्छन्, ‘फाक्तेप गाउँमा स्कुल थियो । जाँदा उकालो पथ्र्यो । तीन घण्टा हिँड्नुपर्ने । फर्कदा ओरालो भएर दुई घण्टामा झरिन्थ्यो । एक दिन स्कुल पढ्न जम्मा पाँच घण्टा पैदल हिँड्नुपर्ने ।’

एसएलसीसम्मको पढाइ मट्टितेलवाला टुकीको उज्यालोमा पढ्ने समयको विद्यार्थी हुन्– नवीन ।

माओवादीको जनयुद्धले नवीनका बुवालाई वैदेशिक रोजगारी जान बाध्य बनायो । गाउँमै बसे जबरजस्ती माओवादी लडाकु बन्ने बाध्यता थियो । त्यसैले नवीन ४ मा पढ्दै गर्दा उनका बुवा विदेश हानिए ।

विदेशमा रहेका बुवासँग १५ मिनेट फोनमा बोल्न १८ घण्टा पैदल हिँडेको विगत उनीसँग छ ।

गाउँमा टेलिफोन पुगेको थिएन । टेलिफोन बुथ भएको नजिको स्थान सदरमुकाम फिदिम थियो । त्यहाँ पुग्न पैदल ९ घण्टा हिँड्नुपर्थ्यो । मोटरबाटो थिएन ।

नवीन भन्छन्, ‘ममी र म बिहान ४ बजे उठेर फिदिम जान्थ्यौं । दिउँसो २ बजेतिर पुगिन्थ्यो । बुथमा लाइन बसेर बुवासँग बोल्थ्यौँ । त्यो रात त्यहीँ बसेर भोलि बिहान घर फर्कने हो ।’

कृषक परिवारमा हुर्किएपछि गाई–वस्तु र घाँस–दाउरा त सामान्य भइहाले ।

तर, दुर्गम भए पनि नवीनका लागि जीवन कष्टकर मात्रै थिएन । यहाँका रमाइला पक्ष पनि थिए ।

घर छेउमा निबु खोला थियो । गर्मीमा पौडी खेल्न पाइन्थ्यो । नवीनसँग मनोरञ्जनको साधन रेडियो थियो । उनी आफू नियमित र गम्भीर स्रोता भएको बताउँछन् ।

भन्छन्, ‘मरो बाल्यकालमा मल्टिमिडिया भनेको रेडियो हो । यति लगाव दिएर रेडियो सुन्थेँ कि कति बेला कुन कार्यक्रम आउँछ समेत थाहा हुन्थ्यो । प्रायः सबै प्रस्तोताको नाम कण्ठ थियो ।’

उनको बाल्यकालक अर्को रमाइलो पाटो हो– लिम्बू संस्कृति । उनको गाउँमा लिम्बूको बाहुल्यता थियो । डेढ सय परिवार हाराहारी लिम्बू र दर्जन चौहान परिवार थिए ।

यतिसम्मकी नवीनको परिवार र अर्का लिम्बू परिवारको आँगन साझा थियो । नवीन भन्छन्, ‘मलाई सबैभन्दा सानोको कुरा के याद छ भनेर सोचेँ भने मस्तिष्कमा लिम्बू बाकोमा रक्सी पारेको दृश्य आउँछ ।’

लिम्बू संस्कारसँग परिचित भए धान नाच्ने उनको रुचिको विषय थियो ।

नवीन भन्छन्, ‘मलाई आफ्नोभन्दा लिम्बू संस्कृति बढी थाहा थियो । अर्काको संस्कृति मज्जा लाग्ने रहेछ । लिम्बूहरुको चाड आयो भने म बढी उत्साहित हुन्थेँ ।’

यसरी अन्तरजातीय संस्कृतिले नवीनको हुर्काइमा सौन्दर्य थपेको थियो ।

फिल्मसँग साक्षात्कार

बुवा विदेश गएपछि नवीन घरको एक्लो छोरा मान्छे भए । तर, उमेर किशोरावस्थामा प्रवेश गरेकै थिएन।

तर, बुवाले निर्वाह गर्दै पञ्चमी बजार धाउने जिम्मेवारी उनीमा आइलाग्यो । नवीनको गाउँबाट पसल भएको नजिकको स्थान पञ्चमी बजार नै थियो ।

फेरि पञ्चमी बजार पुग्न ५ घण्टा हिँड्नुको बिकल्प थिएन । त्यहाँ गएर घर चलाउन आवश्यक पर्ने नुन, तेल जस्ता बजारीया सामाग्री किनेर ल्याउने काम नवीनको भयो ।

उनले बुझ्ने भएर गाडी देखेको पनि त्यही पञ्चमी बजारमै हो । उनले त्यही पहिलो पटक फिल्म हेर्न समेत पाए । जसबेला उनी सात कक्षामा पढ्थे ।

पञ्चमी बजारमा एक भित्तामा उनको नजर पर्‍यो । त्यहाँ एक ‘फूलस्केप’ काजगमा ठूलो अक्षरमा लेखिएको थियो- नेपाली कथानक फिल्म ‘चित्कार’ प्रदर्शनरत छ ।

रेडियोमा फिल्म सुन्ने नवीनलाई हेर्न मन लाग्यो । उनी फिल्म देखाउने ठाउँ खोज्दै त्यहाँको स्थानीय स्कुलमा पुगे । त्यही स्कुलको एक कोठामा फिल्म देखाइन्थ्यो ।

१५ रुपैयाँ तिरेर उनी भित्र पसे । मुस्किलले ५० मान्छे अट्ने कोठा । त्यही रङ्गीन टीभीमा फिल्म देखाइँदै थियो ।

अघिल्लो साता देखाइएको पञ्चमी बजारका लागि नयाँ फिल्म ‘जिन्दगानीमा’ चलिरहेको थियो । उनले आधा हेरे । आधा फिल्म भएपछि कोठा भरियो । त्यसपछि सुरु भयो नयाँ फिल्म ‘चित्कार’ ।

नवीन भन्छन्, ‘फिल्म हरेपछि संसारकै अचम्मको र अद्भुत कुरा देखेको जस्तो भयो । रोएको छ, मान्छे मरेको छ, हिरो उडेको छ ।’

पहिलो फिल्म हरेपछि नवीनलाई छटपटी भयो । त्यो ‘अद्भुत’ कुराले उनलाई निदाउनसमेत समस्या भयो ।

उनलाई फेरि अर्को फिल्म हेर्न मन लाग्यो । पञ्चमी बजारको पर्खाइमा बस्न थाले । उही प्रक्रियामा उनले दोस्रो पटक फिल्म ‘गुन्यू चोलो’ हेरे ।

भन्छन्, ‘मलाई सुरुको तीन दिन सुत्नै समस्या हुन्थ्यो । दिमाखमा त्यही फिल्मका दृश्य खेलिरहन्थ्यो ।’

यसरी फिल्म हेर्न क्रम चलिरह्यो । फिल्म हेर्न मज्जा तर घर फर्कन समस्या । फिल्म हेरिसक्दा घाम डुब्ने समय हुन्थ्यो । ५ घण्टाको बाटो एक्लै फर्कन पर्ने । बीचमा जङ्गल र चिहान घारी ।

तर, फिल्म हेर्ने उत्साहले उनी चिहान घारीको बाटो एक्लै छिचोल्न आँट गर्थे । हुन पनि उनीसँगग फिल्म हेर्न यो आँट गर्नुको अर्को विकल्प थिएन ।

उनलाई अद्भूत लाग्नु कारण फिल्मप्रतिको बुझाइ हो । उनलाई टीभीमा देखेको कुरा सबै वास्तविक लाग्थ्यो । यसैले गर्दा उनलाई फिल्म हेरेको सुरुवाती तीन दिन निकै तनाव हुन्थ्यो ।

तर, एक दिन साथीले नवीनलाई ‘टीभीमा देखिएका फिल्म वास्तविक होइन, कलाकारले गरेको अभिनय हो’ भन्ने सुनाए ।

नवीन सहजै मान्न तयार भएनन् । घोत्लिएर सोचे, ‘कुरुक्षेत्र फिल्ममा मरेका नायक निखिल उप्रेती हामी तीन भाइमा जिउँदैछन् । वास्तवमा त यो नहुनु पर्ने हो ।’

यही सोचाइले उनलाई ‘फिल्म केबल अभिनय हो’ भन्ने साथीको दाबीमा सहमत गरायो ।

यो फिल्म हेर्ने बानीले नवीनको जीवनमा दुई भिन्नता ल्यायो । पहिलो- उनी फिल्म नहर्ने साथीभन्दा टाठो भए । रेडियोमा फिल्मको कुरा आउँदा बुझे जस्तो लाग्न थाल्यो ।

रेडियोमा कलाकारले अन्तर्वार्ता दिँदा पञ्चमी बजारको टीभीमा देखेको नायक–नायिका हुन् भनेर चिन्न मद्दत पनि गरायो ।

दोस्रो– पढाइ बिग्रियो । सधैँ पहिलो-दोस्रो हुने नवीन फिल्म हरेको पहिलो वर्ष सात कक्षाबाट आठमा जाँदा छैटौं स्थानमा पुगे ।

उनी भन्छन्, ‘अहिले पब्जी र मोवाइलको तलले बच्चा बिग्रिए भनेर गाली गर्छन् नि । मलाई त्यसरीले फिल्मले बिग्रियो भनेर घर छिमेकमा गाली गरे ।’

इलामको पढाइ

फिल्मले एक वर्षको पढाइ बिथोले पनि नवीनले पुनरागमन गरे । ०६५ सालमा उनले एसएलसीको फलामे ढोका सहजै पार गरे ।

अब थाहा पाउने हुने गरी पहिलो पटक बस चढेर उनी इलाम पढ्न झरे । इलाममा डेरा बसेर कमर्स पढ्न उनले घर छोडेका थिए ।

इलाम नवीनलाई विशाल सहर लाग्यो । सबै अपरिचित । नयाँ साथी । कलेजभरी विद्यार्थी । आफूभन्दा सुकिला मुकिला साथी ।
इलामको परिवेश नवीनका लागि नवीन कुरा थियो । यसैले उनको आत्मबल कमजोर बनायो ।

नवीन भन्छन्, ‘म गाउँबाट आएको केटा इलामको वातावरण घुलमिल हुन सहज भएन ।’

गाउँको फिल्म हेरेको टाठो केटो, पढ्न लेख्न जान्ने, स्कुलका कार्यक्रममा सक्रिय भएर सहभागी हुने नवीन इलामको कलेजमा निस्क्रिय भए ।

भन्छन्, ‘मलाई अरु साथीहरुसँग बोल्न पनि आँट चाहिने खालको भएँ ।’

११ कक्षा नवीनले निस्क्रिय भएर बिताए । मात्र पढे । १२ पुगेपछि उनलाई विद्रोह गर्ने सोच आयो ।

कस्तो बिद्रोह ?

नवीन भन्छन्, ‘म त्यो दुर्गम गाउँको केटोलाई इलाम अवसर हो । यसरी निस्क्रिय भएर हुँदैन । परिचय बनाउनुपर्छ । यसका लागि डर हटाउनुपर्छ । डर हटाउन विद्रोह गर्नुपर्छ ।’

त्यो विद्रोह सफल भएको उनलाई महसुस हुन्छ । नभन्दै १२ सक्दा उनी कलेजको सक्रिय विद्यार्थी निस्किए । कलेजमा रेडक्रस सर्कलको अध्यक्षसमेत बने ।

उनी भन्छन्, ‘मेरो सक्रियताले गर्दा अध्यक्षसमेत बनाइदिए । रेडक्रसको तदारुक्तामा कलेजसँग सहकार्य गरेर हाजिरी जवाफ, वक्तृत्वकला, वादविवाद, नाटक जस्ता कार्यक्रम आयोजना गर्न थालेँ । कार्यक्रम सञ्चालक पनि आफैँ बन्थेँ ।’

यो सक्रियताले उनलाई नाटकमासमेत प्रवेश गरायो । रेडक्रसको जिल्ला शाखाले उनलाई सडक नाटकमा अभिनयका लागि प्रस्ताव राख्यो ।

नवीन भन्छन्, ‘कलेजमा नाटक गरेकाले जिल्लाले मलाई थप कार्यक्रम गरौं भन्यो । कलेजका साथीहरु र अन्य बाहिरी कलाकार लिएर नाटक गर्न थाल्यौं । यसरी पूर्वका विभिन्न स्थानमा सन्देशमुलक सडक नाटक लिएर गयौं ।’

यथार्थको काठमाडौं

नवीन भन्छन्, ‘म गाउँमा हुँदा मेरो परिवार मध्यम वर्गीय लाग्थ्यो । इलामको बसाइले मलाई निम्न वर्गीय हुँ भन्ने महसुस गरायो ।’

पढ्न र डेराका लागि नवीनलाई सहज नै थियो । बुवाले खर्च पुर्‍याएकै थिए । तर, थोरै पैसा लाग्ने रहर र इच्छाका पूरा गर्न नपाएपछि उनलाई आफ्नो आर्थिक हैसियत थाहा भयो ।

भन्छन्, ‘राम्रो लागेको किन्न पाइएन । सधैँ खान मन लागेको किन्न सकिएन । अनि कसरी आफूलाई मध्यम वर्गीय परिवार भन्नु ?’

नवीनलाई इलामपछि काठमाडौं आउन मन लाग्यो । कारण– इलाममा नाटकका दौरान एक व्यक्तिले भनेका थिए, ‘तिम्रो अभिनय राम्रो छ । सडक नाटक पनि लेख्छौं । काठमाडौं गएर निर्देशन पढ ।’

काठमाडौं पढाउने बुवाले आर्थिक अवस्था नभएको नवीनले ती व्यक्तिलाई सुनाए ।

त्यसपछि ती व्यक्तिले अर्को व्यक्तिको नम्बर दिँदै भने, ‘यसले टेलिसिरियल बनाउँदैछ । उसले लेख्ने काम दिन्छ । तलब कम्तीमा ८ हजार दिन्छ ।’

यही जागिरको आडमा नवीन काठमाडौं आउन हौसिए । घरमा काठमाडौं पढ्न जाने इच्छा सुनाए ।

बुवाको जवाफ थियो, ‘तँलाई आँटले इलाम पठाएको हो । काठमाडौं पठाउन म सक्दिनँ ।’

जागिर दिने व्यक्तिको नम्बर कागजमा टिपेर हिँडेका नवीन के रोकिन्थे ?

बुवालाई ‘लेख्ने जागिर पाएको छु, गाडी भाडा मात्रै दिनु’ भनेर नवीन ०६८ सालमा काठमाडौं हानिए ।

जीवनमा पहिलो पटक काठमाडौं टेक । यहाँ आउने आँट कारण दुईवटा थिए ।

पहिलो– लेख्ने जागिर । दोस्रो– आँगन साझा भएका लिम्बू काका काठमाडौंमै थिए ।

नवीनसँग मोबाइल थिएन । यी दुईको सम्पर्क नम्बर कागजमा टिपेर उनी काठमाडौं आए ।

नवीन आएर लिम्बू काकाको डेरा चपली हाइटमा बसे । उनी म्यानपावरमा जागिरे थिए ।

उनी भन्छन्, ‘अब समस्या चाहिँ काकाको कोठामा विदेश जाने प्रक्रिया गर्न आएका ७ जना रहेछन् । ९ जना एउटा कोठामा बस्नुपर्ने अवस्था आयो ।’

आएको एक दिनपछि ती सात मध्ये एकले नवीनलाई भान्दाइले बोलाएको खबर पठाए ।

नवीनलाई लिम्बू काकाबाहेक आफ्नो आफन्त काठमाडौंमा अरु पनि छन् भनेर त्यहीँ थाहा भयो ।

नवीन भन्छन्, ‘भान्दाइलाई भेट्न गएँ । पढ्न आएको लिम्बू काकासँग बसेको छु । ९ जना एउटा कोठामा बसेको छौं भनेपछि दाइले यतै आएर बस् भन्नुभयो ।’

नवीनकै भाषामा भन्दा भान्दाइलाई उनको अवस्था सुनेर करुणा जाग्यो । अनि आफ्नैमा बस्न बोलाएका थिए ।

अब नवीनको बसाइ भान्दाइसँग भयो । काठमाडौंमा बस्न र खानको समस्या भएन ।

उनी भन्छन्, ‘दाइले आफैँ पढ्ने कलेज हाल्दिनु भयो । मेरो जीवन सहज बनाइदिनु भयो । स्नातक पढ्दाको मैले बिताएको सबैभन्दा सहज समय हो ।’

यता लेख्ने काम नि ?

भान्दाइको बस्न थालेपछि नवीनले ‘लेख्ने काम दिने’ भनिएका व्यक्तिलाई फोन गरे ।

‘ती व्यक्तिले ५० हजार मागे । भाइलाई कलाकारले बनाइदिन्छु । सिरियलमा लगानी गर पो भने,’ नवीन सुनाउँछन्, ‘आफूसँग काठमाडौं आउँदा १५ सय थियो । एक हजार लिम्बू काकाका भेटेका एक दाइले सापट लगिसकेका थिए । धन्न दाइ भेटेँ । नभए मेरो काठमाडौंमा बिचल्ली हुने रहेछ । गाउँ फर्कनुपर्ने अवस्था बन्ने रहेछ ।’

यो गाह्रो परिस्थितिमा आफ्नै भाइ जसरी काठमाडौंमा राख्ने भान्दाइको गुन नवीन सायदै बिर्सन्छन् ।

यो सामाग्रीमा पनि ती ‘भान्दाइ’को नाम नछुटोस् भनेर उनले पटक पटक भने, ‘उहाँ नाम गोपाल थापा हो है ।’

व्यक्त गर्न नसकेको इच्छा

काठमाडौंमा बस्न, खान र पढ्नका लागि खर्च जुटाउन संघर्ष गर्न नपरेपछि नवीन फुर्सदिला भए ।

इलाममा सँगै नाटक गर्ने साथी काठमाडौं आएर रङ्गमञ्चमा संघर्षरत थिए । उनकै सिफारिसमा उनी शिल्पी थिएटर पुगे ।

जसबेला शिल्पी थिएटर बन्दै थियो । उनले त्यहाँ केही भूमिका पाएनन् । तर आउजाउ भइरह्यो । ०७० सालमा संविधान सभाको दोस्रो चुनाव भयो । यो चुनावले भने उनलाई काठमाडौंमा पनि कलाकार बनायो ।

नवीन भन्छन्, ‘निर्वाचन आयोगको प्रोजेक्ट अन्तर्गत चुनावको विषय सन्देशमूलक सडक नाटक शिल्पी थिएटरले गर्ने भयो । अनि त्यहाँ धेरै कलाकार चाहिने भएर मैले पनि अवसर पाएँ ।’

यो नाटकमा अभिनय गर्न नवीन पश्चिमका विभिन्न सहर पुगेको बताउँछन् ।

चुनावपछि शिल्पी थिएटरको भवन ठडियो । पहिलो नाटक ‘कोमा’ मञ्चन हुने भयो । यस नाटकमा पनि साउन्ड अपरेटरको जिम्मेवारी पाएको नवीन बताउँछन् ।

यही नाटकले उनलाई एक गायक अंकित बाबु अधिकारीसँग परिचित गरायो । जो उक्त नाटकको साउन्ड विभागकै जिम्मेवारीमा थिए ।

तर, रङ्गकर्म उनलाई रोचक लाग्यो । त्यही उनले आफूले टीभीमा देखेका कलाकार, पत्रकार र बौद्धिक व्यक्तिहरुलाई आफ्नै आँखाले देखे ।

अरु नाटक पनि उनी स्वयंसेवक भएर जोडिएको बताउँछन् । तर कलाकार इच्छा भए पनि दृढ भएर लाग्ने हिम्मत भने नपालाएको उनी सुनाउँछन् ।

भन्छन्, ‘म कलाकार बन्छु भनेर कसैलाई भन्नै सकिनँ । मन भएर के गर्ने ?’

व्यवसायपछि निर्देशन

स्नातक सकेपछि नवीन व्यवसायमा होमिए । पढेकै क्षेत्रमा काम गर्ने सोच पलायो ।

उनले साथीहरुसँग मिलेर डेढ वर्ष ग्रीन टी, गुन्द्रक र सिन्कीको व्यापार गरे । व्यापार राम्रै फस्टायो । कमाइ पनि हुन थाल्यो ।
यसले नवीनमा अझ ठूलो व्यापारको स्केल बढाउन आँट आयो । लोकन्थलीमा अफिस पनि खोले ।

नवीन भन्छन्, ‘१२ बजे अफिस उद्घाटनको कार्यक्रम थियो । ११ : ५६ मा भूकम्प आयो । ०७२ वैशाख १२ दिनको कुरा हो यो ।’

भूकम्प लगत्तै भारतले नाकाबन्दी लगायो । यही दुई कारणले यो व्यापार असफल भएको नवीन बताउँछन् ।

नाकाबन्दी हटेपछि साथीसँगै नवीनले फेरि अर्को व्यसाय सुरु गरे । अब उनले छुर्पी व्यसायमा हात हाले ।

छुर्पी पूर्वमा उत्पादन हुन्थ्यो । नवीनका आफन्त यसका उत्पादक थिए । सोही कारण उनलाई यो व्यापार सहज भयो ।

नवीन भन्छन्, ‘यो व्यवसायले निकै राम्रो भयो । विदेशमा पनि निर्यात हुन थाल्यो । आर्थिक हैसियत पनि बढ्यो ।’

केही वर्ष गरेपछि नवीनलाई यो व्यवसायबाट पनि रहर पुग्यो । उनले व्यवसाय छोड्ने निर्णय गरे ।

व्यापार छोड्नुको कारणबारे नवीन भन्छन्, ‘भविष्यबारे सोच्दै थिएँ । मेरो रुचि त कला क्षेत्र हो फेरि यो व्यवासय गर्दैछु । यसरी हुँदैन भन्ने भयो । अनि व्यापार छोड्ने निर्णयमा पुगेँ ।’

कला क्षेत्रमा के गर्ने ?

यसको जवाफ नवीनले भेट्याएका थिए । सोहीकारण राम्रै आम्दानी भइरहेको व्यवसाय छाडे ।

नवीन भन्छन्, ‘अभिनय, लेखन र निर्देशन गर्ने मेरो क्षमता छैन । व्यवसायबाट कमाएको बचत छ । म्युजिक भिडियो उत्पादनको काम गर्छु । निर्माताका रुपमा काम गर्छु ।’

विपीनको त्यो सुझाव

व्यापार छोडेपछि नवीनले म्युजिक भिडियो उत्पादनको काम सुरु गर्न दौडधुप सुरु गरे ।

जुन काममा सहकार्य गर्न उनले चिनेका एकै व्यक्ति थिए, गायक ‘अंकितबाबु अधिकारी’ । जसो तसो कन्भिस गराएपछि उनी पनि सहकार्यका लागि तयार भए ।

नवीन भन्छन्, ‘नवीनजी तयार भएपछि आर्टमाण्डु कम्पनी खोलेर काम सुरु गरेको हो ।’

पहिलो गीत तयार भयो । गायक अंकित बाबु भएकाले गीत तयार गर्न समस्या भएन । तर, युट्युबमा हाल्न भिडियो बनेको थिएन । उनी म्युजिक भिडियो निर्देशकको खोजीमा लागे ।

नवीन भन्छन्, ‘धेरै निर्देशकलाई भेटे कसैले ६ महिनापछि समय दिए, कोहीले महँगो पारिश्रमिक भने । पैसा टन्न भएर त म यो क्षेत्रमा आएको थिइनँ । उनीहरुले मागे जति दिन सकिनँ ।’

६ महिनासम्म म्युजिक भिडियो बन्ने छनक नदेखेपछि उनी आफैँ निर्देशनमा हात हाल्ने तातो रिसको निर्णयमा पुगे ।

नवीन भन्छन्, ‘मैले जानेको केही होइन । पढेको पनि होइन । निर्देशक नपाएकै रिसमा मैले निर्देशन गर्ने निर्णय लिएँ ।’

नवीनले पहिलो म्युजिक भिडियो ‘सम्झनालाई’ निर्देशन गरे । यसबाट सकारात्मकभन्दा बढी नकारात्क प्रतिक्रिया पाए । त्यसपछि उनी निर्देशन नगर्ने सोचमा पुगे ।

तर, संयोगले एक गीत सुन्दा दिमाग कथा विकास भएकाले दोस्रो पटक उनी निर्देशनका लागि तयार भए ।

त्यो गीत थियो– लुकीछपी किन माया ।

यो म्युजिक भिडियो हिट भयो । तर, सम्पादनका क्रममा देखिएको अज्ञानताले उनी निर्देशनबाट बाहिरिने सोचमा पुगेका थिए ।

नवीन भन्छन्, ‘१२ मिनेटको फुटेज थियो । गीत ३ मिनेटको थियो । भिडियो गीतमा अटाउन सकिनँ । म्युजिक भिडियोका मोडल नायक मुकुन भुसालले अर्को सम्पादन खोजिदिएपछि उहाँबाट आइडिया लिएर त्यो भिडियोको सम्पादन गरेको हुँ ।’

यही कुराले ज्ञान नभएको क्षेत्रमा हात हाल्नु हुन्न भन्ने महसुस भएकाले निर्देशन नगर्ने निर्णयमा पुगेको उनी बताउँछन् ।

तर, अर्कै कुरा विकास भयो । गीतकार हर्क साउद ‘बटौली’ निर्देशनको प्रस्ताव लिएर आए ।

नवीन भन्छन्, ‘लुकीछपी किन मायामा हिट भएकाले उहाँले प्रस्ताव लिएर आउनुभएको थियो । मैले नाइँ भन्न सकिन । अन्तिम निर्देशन गर्छु भनेर छायाङ्कनमा निस्किएँ ।’

त्यस भिडियोको मोडल थिए- नायक विपीन कार्की । जो फिल्म ‘पशुपतिप्रसाद’ र ‘जात्रा’ हिटको रापतापमा थिए ।

छायाङ्कन सकेर फर्केने बेला नवीनले विपीनसँग भने, ‘दाइ मेरो अन्तिम म्युजिक भिडियो हो । अब निर्देशन गर्दिनँ ।’

तर, उनले विपीनबाट नसोचेको सुझाव पाए । विपीनको भनाइ उद्धृत गर्दै नवीन भन्छन्, ‘भाइ तिम्रो क्षमता छ । तिमी फिल्म पनि निर्देशन गर्न सक्छौं ।’

स्थापित नायकको सुझाव सुनेपछि नवीन सोच्न बाध्य भए । अब भने फिल्म निर्देशन गर्न हौसिए ।

नवीन थप्छन्, ‘स्थापित नायकले केही देखेरै मलाई यस्तो भन्नुभयो होला भन्ने लाग्यो नि ।’

काठमाडौं आएपछि दोस्रो म्युजिक भिडियोबाट ‘लुकीछपी किन माया’बाट नवीनले दुई अवार्ड समेत पाए ।

नवीन भन्छन्, ‘इमेज अवार्डमा म उत्कृष्ट म्युजिक भिडियो निर्देशक घोषित भएँ । उत्कृष्ट म्युजिक भिडियोको अवार्ड पनि त्यही भिडियो बन्यो ।’

यो अवार्डले नवीनलाई फिल्म निर्देशन गर्ने थप आँट दियो । तर, फिल्म निर्देशनमा हात हालिहालेनन् ।

किनकि उनले अज्ञानतामा निर्देशन गर्दा कस्तो हुन्छ म्युजिक भिडियोबाटै थाहा पाइसेकेका थिए ।

दर्जन हिट गीत निर्देशन गरेपछि अनुभव लिएर मात्रै नवीनले फिल्ममा हात हाले । गत वर्ष फिल्म ‘ऊनको स्वीटर’को छायाङ्कनमा निस्किए ।

गत वैशाखमा उक्त फिल्म प्रदर्शनमा आयो । अहिले दोस्रो महिनामा फिल्म प्रदर्शनरत छ ।

अहिल नै ‘ऊनको स्वीटर’ हिट बनिसक्यो । यसले पहिलो महिना १० करोडमाथि ग्रस कलेक्सन गरेको छ ।

नवीन भन्छन्, ‘म त्यो दुर्गम गाउँबाट आएको हो । तर, यो फिल्मको केही काम मैले मुम्बईमा गरेको हो ।’

पाँचथरको त्यो दुर्गम परिवेशबाट आएर सपनाको सहर मुम्बईमा फिल्मको काम लिएर जाने हैसियत बनाउनु एउटा सामान्य यात्रा होइन । नवीनले एउटा असमान्य यात्रा तय गरिसेकका छन् ।

‘ऊनको स्वीटर’को सफलता उनको डेब्यू निर्देशन मात्रै होइन । जीवन संघर्षको रोचक मोड बनेको छ । उनले फिल्म निर्देशकको नयाँ परिचय पाएका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ४ : २५ बजे

सुशासनका लागि स्थायी सरकार आवश्यक : सभापति खतिवडा

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासनका

नयाँदिल्ली हुँदै खाडीमुलुक जान लागेका पाँच जना नियन्त्रणमा

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै

एमालेलाई आत्मसमीक्षा गर्न सुझाउँदै प्रकाश पौडेल भन्छन्- भोलि ‘मरेँ मरेँ’ भन्दा पनि कार्यकर्ताले साथ नदेलान्

काठमाडौं- अनेरास्ववियुको २४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार प्रकाश पौडेलले

उदयपुरमा एक जना मृत फेला

उदयपुर– त्रियुगा नगरपालिका-११ गाईघाट बजारस्थित अपाच क्याफेमा काम गर्ने सोही नगरपालिका-१३ असारी

सुदूरपश्चिमका वनमन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर