संसदीय अभ्यास : रास्वपालाई सिकाउने कि सिक्ने ? | Khabarhub Khabarhub

संसदीय अभ्यास : रास्वपालाई सिकाउने कि सिक्ने ?

कांग्रेस, एमाले र माओवादीले संसदमा के–के गरे ?


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत निर्वाचन (०७९) बाट नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो समय गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा बैठकमा अवरोध पुर्‍याउँदै आएको छ ।

गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि न्यायिक वा संसदीय समिति गठनको माग गर्दै संसदको चौथो ठूलो दल रास्वपा गत जेठ १३ गतेबाट संसदमा नाराबाजी गर्दै आएको हो ।

नेपाली राजनीतिका पुराना भनिने ती ठूला दलहरूभन्दा फरक ढंगले आफूलाई संसद्भित्र र बाहिर प्रस्तुत गर्दै आएको रास्वपाका सांसदहरू मंगलबार घाँटीमा नीलो रिबन (मफलर जस्तो देखिने बस्त्र) पहिरिएर संसदमा उपस्थित भए ।

संसद भवनको मुख्य प्रवेशद्वारमा उभिएर कैद गरिएको सामुहिक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै रास्वपा सांसद डा. तोसिमा कार्कीले ‘मानव बेचबिखन र मानव तस्करी विरुद्धको आवाज’, ‘पीडितप्रतिको ऐक्यवद्धता’ र ‘सुरक्षित समाजको प्रतिवद्धता’ स्वरूप नीलो रिबन घाँटीमा झुण्ड्याइएको बताएकी थिइन् ।

यस्तै रास्वपाका कार्यवाहक प्रवक्ता रहेका सांसद मनिष झाले पनि तस्बिर एक्स (ट्विटर) मा राख्दै लेखेका थिए, ‘मानव तस्करीविरूद्धको अभियानलाई विश्वब्यापी रूपमा नीलो रिबनको प्रतीकले जनाउँछ । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा नीलो रिवन लगाएर मानव तस्करीको विरोध गरेका छन् ।’

तर, प्रतिपक्षी रास्वपाका सांसदहरू नीलो रिबन पहिरिएर सदनमा उपस्थित भएको सत्ताधारी नेपाली कांग्रेसलाई पाच्य भएन । संसद् बैठकमा रास्वपा सांसद डा. चन्दा कार्कीलाई सभामुख देवराज घिमिरेले बोल्नका लागि उपलब्ध गराएको समय सकिने बित्तिकै कांग्रेसले नियमापत्ति जनायो ।

नियमापत्ति जनाउने क्रममा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नीलो रिबन पहिरिएर संसदमा उपस्थित भएका रास्वपाका सांसदहरूलाई बैठकबाट निष्कासन गर्न माग गरे । उनले प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ६ को ३० मा अभद्र व्यवहार नियन्त्रणको व्यवस्था रहेको स्मरण गराए ।

जसमा भनिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने छ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ ।’

घिमिरेले सोही धारामा टेक्दै भनेको थिए, ‘यो संसद्मा मर्यादित पोशाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ । यो नियमावलीमै गरिएको व्यवस्था हो । यो संसदमा अहिले केही माननीय सदस्यहरूले जुन स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ? र यसरी कोही भोलि हाफपाइन्टमात्रै लगाएर आउने, कोही जथाभावी ड्रेसमा आउने गर्न थाल्यो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?’

मंगलबारभन्दा अघिल्ला दिनका बैठकमा रास्वपाका सांसदहरूले प्रतिपक्षी दलका सांसदले रोष्ट्रममा गएर बोल्दा मौन रहने र सत्तापक्षका सांसद बोल्दा वेल घेराउ गरेर नाराबाजी गर्ने गरेको दृष्य संसदमा देखिएका थियो । यस्तै उनीहरू थकाइ मार्न बेला–बेलामा वेलमै पलेँटी कसेर बस्दै पनि आएका थिए ।

संसद्मा रास्वपाका सांसदहरूको ती दृष्यलाई लिएर सामाजिक सञ्जालहरूमा आलोचना भएको थियो । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले रास्वपाका सांसदहरू वेलमै पलेँटी कसेर बसेपछि ‘ब्रोइलर कुखुरा’ को संज्ञासमेत दिएका थिए ।

भिजिट भिसा प्रकरणको मुद्दालाई लिएर संसदमा गरिरहेको पछिल्लो गतिविधिप्रति ईंगित गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सांसद वर्षमान पुनले रास्वपामा अनुभवको कमी रहेको टिप्पणी गरे । उनले असार १ गते राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिने क्रममा रास्वपाका सांसदहरूलाई पुराना दलहरूबाट संसदीय अनुभव लिन सुझाव नै दिए ।

‘नयाँ दललाई अनुभवहरूको कमी छ । कतिपय संसदीय संघर्षहरूमा अनुभव नपुग्न सक्छ,’ सांसद पुनले भने, ‘त्यो अनुभव विगतमा यो आन्दोलनमा या सदनमा रहेका दलहरूसँगका अनुभव लिन रास्वपालाई अनुरोध गर्छु ।’ उनले प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुखर भएर उठान गरेको विषय एक ढंगले सम्बोधन भइसकेको पनि जिकिर गरे ।

‘चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीमा माननीयजीहरूलाई पनि म के अनुरोध गर्न चाहन्छु भने यहाँहरू नयाँ–नयाँ दल हुनुहुन्छ, कि हामीले उठाएको विषय एकढंगले सम्बोधन भएको छ,’ पुनको भनाइ थियो, ‘यो विषयलाई आत्मसात गर्दै बजेट विनियोजनका कुराहरू वार्षिक रूपले एक पटक आउने विषय हुन् । यो विषयमा तपाईंहरू आफ्नो दलका धारणा राख्न बरु समय लिनुस् ।’

सांसद पुनले सदनको रोष्ट्रममा उत्रिएर संसदीय अनुभवको कमी रहेको भन्दै आफूहरूबाट सिक्न सुझाव दिएपछि रास्वपा समर्थकहरूले सामाजिक सञ्जालमा माओवादीले विगतमा गरेको तोडफोडका तस्बिरहरू राख्दै खिसिट्युरी गरे ।

कुर्सी भाँच्ने माओवादीबाट के सिक्ने ?

माओवादी केन्द्र (तत्कालीन एकीकृत नेकपा माओवादी) का सभासदहरूले ०७१ माघ ५ को मध्यरातमा संविधानसभाभित्रै हुलहुज्जत गरेका थिए । उनीहरू तोडफोडमा उत्रिँदा संविधानसभाका कुर्सी र माइकहरु भाँचिएर छरपस्ट भएका थिए ।

माओवादी केन्द्रका सांसदहरूले संविधानसभामा देखाएको ताण्डवका तस्बिरहरू अहिले पनि बेलाबेला सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् । उनीहरू संविधानसभा बैठक स्थगनको घोषणा भइसकेपछि पनि आफूहरू बसेको कुर्सीमाथि चढेर तोडफोडमा उत्रिएका थिए ।

माओवादी सभासदहरुले कुुर्सीमाथि चढेर उपद्रो मच्चाउँदै तोडफोड गरिरहँदा शासनसत्ताको बागडोर समहाली सकेको पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई संविधानसभाभित्रै थिए ।

माओवादी केन्द्रका सांसदहरूले ०६७ मंसिर ३ मा बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको हातबाट ब्रिफकेस खोसेर बजेट वक्तव्य च्यातचुत पारेका थिए ।

माओवादी सांसदहरूले बजेट वक्तव्य च्यातेपछि सम्भावित भिडन्तलाई मध्यनजर गर्दै तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले संसद् बैठक स्थगित गर्नुपरेको थियो ।

तत्कालीन समयमा माओवादी र एमालेबीचको घम्साघम्सीका कारण केही सांसदको लुगा च्यातिएको थियो । तत्कालीन सरकारले संसद्मा तनाव सिर्जना भएपछि भोलिपल्ट अध्यादेशमार्फत् बजेट ल्याउनुपरेको थियो ।

एमाले पनि के कम ?

माओवादी केन्द्रले मात्रै नभएर अहिले शासन सत्ता सम्हालिरहेको एमालेले पनि विगतमा लामो समयसम्म संसद् अवरुद्ध गरेकोदेखि सदनमै बहालवाला मन्त्रीमाथि थप्पड हानेको तीतो सत्य नेपाली राजनीतिको छ ।

एमालेले ०७८ भदौ २३ देखि लगातार नौ महिनासम्म संसद्मा अवरोध पुर्‍याएको थियो । पार्टी विभाजन गरेर नयाँ दल दर्ताका लागि माधवकुमार नेपालले निर्वाचन आयोग जाने तयारी गरेको सूचना पाएपछि संघीय संसद् सचिवालयलाई पठाइएको पत्रको सुनुवाइ नभएको भन्दै एमालेले नौ महिनासम्म संसद्मा अवरोध गरेको हो ।

०७८ भदौ १ मा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित १४ जना सांसदलाई कारबाही गरिएको भन्दै बुझाइएको पत्रका आधारमा तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरिएको आक्रोश एमालेमा थियो ।

एमालेले पत्र बुझाएको भोलिपल्ट नेता नेपालको समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले ०७८ भदौ ९ गते नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी नामक दल दर्ता गरेको थियो ।

नयाँ दल दर्ता भइसकेपछि तत्कालीन सभामुख सापकोटाले भदौ १३ गते उक्त पत्रमाथि केही गर्नु नपर्ने भनेपछि एमालेले भदौ २१ देखि संसदमा लगातार नौ महिनासम्म अवरोध गरेको थियो ।

त्यसक्रममा एमालेका सांसदहरूले रोष्ट्रममा चढ्नका लागि मर्यादापालकलाई धक्का दिनेदेखि उनीहरूको काँधमाथि चढेको दृश्य संसद्मा देखिएको थियो ।

त्यसअघि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका बेला एमालेले संसद्का ५८ वटा बैठकमा पनि अवरोध गरेको थियो ।

एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गोल्चे सार्कीले संसदमै बहालवाला मन्त्रीमाथि झापड हानेको इतिहास पनि छ । उनले ०५० साउन ६ गते राष्ट्रियसभाको बैठकमा तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेल (वर्तमान राष्ट्रपति) लाई थप्पड हानेका थिए । संसद् बैठकमा हातपातमा उत्रिएका सार्की १५ दिन निलम्बनमा परेका थिए ।

कांग्रेसले पनि गरेको थियो अवरोध

सत्ता साझेदार नेपाली कांग्रेसले पनि रास्वपाका सभापति रवि लामिछाने संलग्न भनिएको सहकारी ठगी प्रकरणलाई लिएर २२ वटा संसद् बैठक अवरुद्ध गरेको थियो । कांग्रेसले तत्कालीन गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग अघि सार्दै संसद अवरोध गरेको हो ।

‘नेपाली कांग्रेसले सहकारीको छानबिनका लागि दुई महिनासम्म २२ वटा बैठक अवरोध गरेर कुनै प्रक्रिया अगाडि बढ्न दिएन । हामीले यो जेठ १३ र १४ गते सदन अवरोध गर्‍यौँ,’ रास्वपाका कार्यवाहक प्रवक्ता झाले जेठ २७ गते सामाजिक सञ्जालमा लेखेका थिए, ‘१५ गते बजेट प्रस्तुत गर्दा सहजतासहित सहभागी भयौँ । जेठ महिनाको २०, २१, २२, २३, २५ र २६ गते अवरोध भएको छ । तर हामी सदन अवरोधमा नेकपा एमाले र नेपाली कांग्रेससँग प्रतिस्पर्धामा छैनौँ । त्यहाँ सम्म पुग्न खोजेको हैन ।’

कांग्रेसले सहकारी ठगी प्रकरणमा मात्रै नभएर गुठी विधेयक फिर्ताको माग गर्दै ०७६ जेठमा संसद्मा अवरोध गरेको थियो । यस्तै सोही माघमा कांग्रेसले पार्टीका ततकालीन उपनेता विजयकुमार गच्छदारविरुद्ध अखितयार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक पूर्वाग्रह राखेर विशेष अदालतमा मुद्दा दर्ता गरेको भन्दै केही दिन संसद् बैठक अवरुद्ध गरेको थियो ।

रास्वपाको परीक्षा

प्रतिपक्षी रास्वपा भिजिट भिसा प्रकरणका छानबिनका लागि समिति गठन हुनुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राख्दै जेठ १३ गतेदेखि संसदमा अवरोध पुर्‍याउँदै आएको छ ।

रास्वपाले जेठ १३ देखि मंगलबारसम्म आइपुग्दा प्रतिनिधिसभाका १६ वटा बैठकहरूमा अवरोध गरिसकेको छ । जेठ १३ देखि २९ गतेसम्म प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको साथ पाए पनि त्यसपछिका बैठकहरूमा रास्वपा एक्लै भिजिट भिसा प्रकरणको विषय उठाउँदै आएको छ ।

तेस्रो ठूलो दल माओवादी केन्द्र सत्तापक्षसँग दुई बुँदे सहमति गरेर संसद्को गतिरोध खुलाउन सकारात्मक भएका कारण भिजिट भिसा प्रकरणमा रास्वपा एक्लिएको छ । यही विषयमा अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग मुद्दा मिले पनि दुई दलबीच सहकार्य देखिएको छैन ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन र गृहमन्त्री लेखकको राजीनामा माग्दै आएको राप्रपा बैठक बहिष्कार गरिहेको छ भने रास्वपा वेल घेराउ गरिरहेको छ । रास्वपा कहिलेसम्म संसद्मा अवरोध गरिरहन्छ भन्ने प्रश्न यतिबेला उब्जिएको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पार्टीले भिजिट भिसा प्रकरणको विषयमा अघि सारेको माग पूरा नहुँदासम्म संसद्को अवरोध जारी रहने बताए । ‘हाम्रो माग पूरा नहुँदासम्म आन्दोलन जारी रहन्छ,’ उनले खबरहबसँग भने ।

सांसदले ध्यान दिनुपर्ने कुरा

कानुनद्वारा सांसदका मर्यादा र सीमाहरू निर्धारण गरिएको छ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ४ र राष्ट्रियसभा नियमावलीको परिच्छेद ४ मा संसद्को बैठकमा हुने छलफलमा भाग लिने सांसदहरूले पालना गर्नुपर्ने नियमसम्बन्धी व्यवस्था गरिएको छ ।

बैठकमा सांसदहरूले पालना गर्नुपर्ने नियमहरू यस्ता छन्–

(क) सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नु पर्ने ।
(ख) सभामुखले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नु पर्ने ।
(ग) बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले
बैठक कक्ष छाड्नु पर्ने ।
(घ) सभामुखले समय दिएपछि मात्र बोल्नु पर्ने ।
(ब) बैठकमा भाग लिने सदस्यले बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नु पर्ने र सभामुखले अन्यथा आदेश दिएमा बाहेक तोकिएको स्थानमा उभिएर बोल्नु पर्ने ।
(च) सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नु पर्ने ।
(छ) सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने ।
(ज) सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने ।
(झ) कुनै सदस्यले बोलिरहेको समयमा वाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने ।
(ञ) बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने।
(ट) बैठक कक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने ।

छलफलका क्रममा सांसदले पालन गर्नुपर्ने नियमहरू-

(क) सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नु पर्ने।
(ख) सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने ।
(ग) संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने ।
(घ) अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने।
(ङ) बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : १४ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक