काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/०८३ लागेयता नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८ पटकमा तीन खर्ब ८० अर्ब रुपैयाँ तरलता खिचिसकेको छ ।
तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले यसरी बारम्बार यसरी पैसा खिचिरहेको छ । एकातर्फ बैंकहरूमा पैसा थुप्रिरहँदा अर्कोतर्फ लगानीको वातावरण सुस्ताउँदै गएको देखिएको छ । व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन नगएपछि अहिले राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न पैसा खिचिरहेको हो ।
केन्द्रीय बैंकले साउन ४ गते ४२ दिनका लागि ५० अर्ब, साउन ७ गते ५६ दिनका लागि ८० अर्ब, साउन ११ गते २८ दिनका लागि ५० अर्ब, साउन १४ गते ४२ दिनका लागि २५ अर्ब रुपैयाँ बैङ्किङ प्रणालीबाट खिचेको थियो ।
त्यस्तै, साउन १९ गते ५० अर्ब रुपैयाँ ४२ दिनका लागि, साउन २१ गते ४० अर्ब रुपैयाँ ३५ दिनका लागि, साउन २८ गते २५ अर्ब २५ दिनका लागि र भदौ १ गते ६० अर्ब रुपैयाँ ३१ दिनका लागि खिचेको थियो ।
चाहिनेभन्दा बढी तरलता भए, त्यसले ब्याजदरलाई झन् तल लान सक्ने भएकाले पैसा खिच्ने गरिएको राष्ट्र बैङ्कको प्रवक्ता किरण पण्डित बताउँछन् ।
‘ऋणको माग भएन भने ब्याजदर तल जाने हुन्छ’, पण्डितले भने, ‘ब्याजदर धेरै तल पनि नजाओस् भनेर सिमाना राख्न खोज्छौँ । ब्याजदरले मुद्रा स्फीतिमा समेत असर गर्ने भएकाले त्यसलाई सन्तुलनमा राख्न हामी प्रयास गछौँ ।’
केन्द्रीय बैंकले ब्याजदरलाई सन्तुलनमा राखिरहन आवश्यक भएकाले बजारबाट पैसा खिच्ने गरेको पण्डित बताउँछन् । ‘हामीले दैनिक अनुगमन गरिरहेका हुन्छौँ’, पण्डितले भने, ‘दैनिक रिपोर्टिङ भइरहेको हुन्छ, त्यहीअनुसार आवश्यकता हेरेर तरलता खिच्ने काम हुन्छ ।’
मौद्रिक नीति वा त्यसको समीक्षामार्फत् बैंकहरूलाई तरलताको सीमा निर्धारण गरिएको हुन्छ, त्यो सीमाभन्दा बढी हुनेबित्तिकै राष्ट्र बैंकले बजारबाट पैसा खिच्ने पण्डित बताउँछन् ।
अर्थतन्त्रलाई गति दिने कि सुस्त बनाउने
बैंकहरूमा पैसा थुप्रिरहे पनि व्यवसायीहरू कर्जा लिन गएका छैनन् । अहिले कर्जा लिएर व्यवसाय विस्तार गर्ने भन्दा विगतको बाँकी रिकभरी गर्नेतर्फ उनीहरूको ध्यान केन्द्रित भएको छ ।
भदौका लागि वाणिज्य बैङ्कहरूको मुद्दतीको ब्याजदर घटाउँदा पनि कर्जा प्रवाह बढ्न सकेको छैन । गत आर्थिक वर्षमा समेत अधिकांश बैङ्कहरूको नाफा बढ्दा पनि कर्जा प्रवाह उल्लेख्य देखिएको थिएन ।
अहिले ब्याजदर कम भएको छ, विदेशी मुद्रा सञ्चिति पनि राम्रो छ । खराब कर्जा क्रमशः घट्दै छ, कर्जा असुली पनि बढ्दै छ । कर्पोरेट क्षेत्रको नाफा पनि बढ्दै छ । बैंकहरू र अन्य व्यवसायको नाफा पनि बढेको छ, सरकारको राजस्व पनि बढेको छ । निर्यातसमेत बढेको समग्र आर्थिक सूचकले देखाएको छ ।
देशको आर्थिक वृद्धि उपभोगमा आधारित भएकाले कर्जा प्रवाह नबढ्नुको कारणका रुपमा चित्रित गर्छन् बैंकिङविज्ञ अनलराज भट्टराई ।
‘आर्थिक वृद्धिलाई कुन क्षेत्रले नेतृत्व गर्छ ? कृषि क्षेत्रले हाम्रो कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा २५–२६ प्रतिशत योगदान गर्छ, तर त्यसको वृद्धि ३ प्रतिशतभन्दा कम छ । जलविद्युत क्षेत्रको योगदान १–१.५ प्रतिशत मात्रै छ, तर त्यसमा १३ प्रतिशत वृद्धि छ’, भट्टराईले भने, ‘निर्माण क्षेत्रको योगदान पनि १ प्रतिशत छ, त्यसमा ९ प्रतिशत वृद्धि छ । हामीले जीडीपीमा ठूलो योगदान गर्ने क्षेत्रमा माग सिर्जना गर्नुपर्छ । उत्पादन पनि बढाउनुपर्छ ।’
अर्थतन्त्रमा संरचनात्मक समस्या रहेको भट्टराई बताउँछन् । खर्चले माग सिर्जना गर्न र अर्थतन्त्रलाई गति दिन ठूलो भूमिका खेल्ने भए पनि हाम्रो पुँजीगत खर्च कम भएको भट्टराई बताउँछन् ।
‘पर्यटन क्षेत्रलाई अगाडि बढाउन हाम्रा विमानस्थलले १०–१२ लाख पर्यटकलाई पनि धान्न सक्दैनन् । हाम्रा सडक चौबीसै घण्टा चल्ने अवस्थामा छैनन् । ठूला राजमार्ग पनि बनेका छैनन्’, भट्टराईले भने, ‘पूर्वाधार चुस्त बनाउनुपर्छ । यो काम सरकारले गर्नुपर्छ । तर, सरकारसँग स्रोतको कमी छ । पारदर्शितासँगै लगानी पनि आवश्यक छ ।’
नेपालका नीति पनि व्यवसायी र जनशक्तिलाई विदेशिन बाध्य बनाउने भएकाले उपभोग घटेर त्यसको असर कर्जा प्रवाहमा परेको भट्टराईको भनाई छ ।
‘हाम्रा ३–४ लाख विद्यार्थी कक्षा १२ उत्तीर्ण गरेर आउँछन्, तर उनीहरूलाई पढाउने शैक्षिक संस्था र सिटहरू पर्याप्त छैनन्’, भट्टराईले भने, ‘यदि हामीले यहाँ मेडिसिन, आईटी लगायतमा सिट बढाउँदै गुणस्तरीय शिक्षा दिएमा युवाहरू यहीँ रोकिन्छन् । यसले माग सिर्जना गर्न भूमिका खेल्छ ।’
युवाहरू रोक्न सके उनीहरू दक्ष जनशक्तिका रुपमा उत्पादन हुने उनी बताउँछन् । त्यसो भएमा त्यो जनशक्तिले उत्पादनमा समेत योगदान दिने भट्टराईले बताए । ‘हाम्रो अर्थतन्त्रलाई शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रले ड्राइभ गर्न सक्छ’, भट्टराईले भने, ‘तर त्यहीअनुसार पूर्वाधारमा लगानी गर्न सक्नुपर्छ ।’
बैंकको कर्जा निर्देशित नीतिसमेत सही ठाउँमा नभएको भट्टराईको तर्क छ । ‘गलत कर्जा बाँडफाँटले उत्पादनशीलता र उत्पादकत्व बढ्ने क्षेत्रमा लगानी पुगेन’, भट्टराईले भने, ‘हामी व्यापार ‘ट्रेडिङ’केन्द्रित अर्थतन्त्र बन्यौँ, जसले धेरै रोजगारी सिर्जना गर्दैन । यहीकारण हाम्रो अर्थतन्त्रले अपेक्षित गति लिएन ।’
त्यही भएकाले राष्ट्र बैंकले अन्तिम उपायका रूपमा बजारबाट तरलता खिच्ने गरेको भट्टराई बताउँछन् ।
‘राष्ट्र बैङ्कको मुख्य काम बजारमा तरलता बढ्दा खिच्ने र कम हुँदा बजारमा पैसा थप्ने हो’, भट्टराईले भने, ‘केन्दीय बैंकले ब्याजदरलाई निश्चित सीमाभित्र राख्न खुला बजारमार्फत् बजारबाट पैसा झिक्ने वा थप्ने गरिरहन्छ ।’
प्रतिक्रिया