धरानमा जेन-जीका नाममा आगजनी र लुटपाट गर्ने पाँचजना पक्राउ « Khabarhub

धरानमा जेन-जीका नाममा आगजनी र लुटपाट गर्ने पाँचजना पक्राउ

छ जनाले दिए किटानी जाहेरी



सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते निजी घर र सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्ने मध्ये पाँच जना पक्राउ परेका छन् । 

धरानस्थित इलाका प्रहरी कार्यालयले धरानमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको पहिचान गर्ने र नियन्त्रणमा लिने कार्य भइरहेको जनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश जवेगुकाअनुसार बिहीबारसम्ममा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको छ । 

उनले भने, ‘किटानी जाहेरी परेपछि घटनाको विभिन्न भिडियो फुटेज, फोटोहरू सङ्कलन गरेर विश्लेषण गर्ने काम भइरहेको छ । पाँच जनालाई नियन्त्रणमा लिएका छौँ । लुटपाट, तोडफोड र आगजनीका घटनामा संलग्नहरूको प्रमाणहरू विश्लेषण गर्ने काम भइरहेको छ ।’ 

पक्राउ परेका पाँच जनाको नाम भने प्रहरी र जाहेरी दिने पीडित पक्षबाट सार्वजनिक गरिएको छैन । भदौ २४ गते साँझ ६ बजेदेखि राती साढे ९ बजेसम्म धरानमा हाते माइक लिएर करिब दुई दर्जन युवाहरू मोटरसाइकलमा घुम्दै छानी छानी स्थानीय व्यक्तिहरूको घर तोडफोड, आगजनी र लुटपाट मच्चाएका थिए ।

लुटपाट र आगजनी गरेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । अधिकाधिक अनुहार र आवाज चिनिने भएकाले प्रहरीले ती फुटेजहरू धमाधम सङ्कलन, विश्लेषण गरिरहेको छ । 

धरानको भानुचोकमा जेन-जीको औपचारिक कोणसभा समापन भएको दुई घण्टा पछि अराजक समूहले धरानमा वितण्डा मच्चाएको थियो ।

यसैबीच बिहीबार नै धरानकी पुर्वउपमेयर एवं एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीका श्रीमान् तथा एमाले नेता मुरारी सुवेदी, पूर्व संघीय सांसद जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङ र पुर्वउपमेयर भण्डारीको घरमा भाडामा बस्ने सुनिता पोखरेलले पनि किटानी जाहेरी दिएका छन् । 

उनीहरूले आफ्नो घर तोडफोड, लुटपाट र आगजनी गर्नेहरूलाई तत्काल पक्राउ गरी कानुनी सजाय दिलाउन र क्षतिपूर्तिको बिगो तिराउन माग गरेका छन् । 

पूर्वउपप्रमुख भण्डारीले पूर्व जनप्रतिनिधिहरूका घरमा सुनियोजितढंगले तोडफोड, लुटपाट भएको बताइन् । 

जाहेरी दिन इलाका प्रहरी कार्यालयमा पुगेकी उनले भनिन्, ‘मेयर साम्पाङकै दाँयाबाँया रहने प्रमुख व्यक्तिहरूकै नेतृत्वमा तोडफोड, लुटपाट र आगजनी भएकोले नगरवासीहरूले असुरक्षित महसुस भएको छ । स्टाटस लेख्न माहिर भए पनि नगर प्रमुखले यहाँका जनताको घर, व्यापारिक प्रतिष्ठान जलिरहँदा भने मौन बसेका छन् ।’ 

कांग्रेस महामन्त्री थापाले घरमा तोडफोड र लुटपाट गर्न आएका व्यक्तिहरूको पहिचान हुने गरी विभिन्न भिडियो फुजेट, फोटोहरू संलकन गरेको पेनड्राइभ प्रहरीलाई बुझाएका छन् । 

महामन्त्री थापाले भने, ‘यस्तो बेला स्थानीय सरकारले पीडितहरूलाई आडभरोसा दिनुपर्नेमा नगर प्रमुख हर्कराज राईले उल्टै आपराधिक कार्य गर्नेहरूको बचाउ गरिरहेका छन् । उल्टै हामी पीडितहरूलाई धम्कीपूर्ण अभिव्यक्ति दिएका छन् । उहाँसँग हिँडेका सबै सञ्जन र विद्धान छैनन् । खराब छ भने प्रहरी प्रशासनलाई सहयोग गर्नुपर्नेमा खबरदार भनेर धम्की दिइरहनुभएको छ, यसले पक्कै पनि धराने जनतालाई राज्यविहिन, सरकारविहिन भएको अनुभव भएको छ, । यो कुरामा डटेर राज्य सरकार छ भन्ने महसुस गराउनुपर्छ ।’ 

तीनदिन अघि धरान–८ बरगाछीस्थित आफ्नो घर र होटल कञ्चनजंघामा भएको तोडफोड, आगजनी र लुटपाटविरुद्ध पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले उजुरी दिइसकेका छन् । 

उनको घर र होटलमा तोडफोड, आगजनी र लुटपाट गर्ने मध्ये दुई जनाले लुटेको रकम र सुनको गहना फिर्ता गर्दै सजायको भागिदार बन्ने भन्दै आत्मसमर्पण गरेका थिए ।

धरानका राजनीतिक दलहरूले पनि पार्टी कार्यालय तोडफोड, आगजनीविरुद्ध किटानी जाहेरी दिने तयारीमा छन् । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ४ : ५१ बजे

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन

चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

झापा – मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला