महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी | Khabarhub Khabarhub

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु भएको छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाउने तयारी छ ।

मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ समान जोडेर लक्ष्मीको आराधना गर्दै ‘धनतेरस’ पर्व मनाइने तयारी छ । सामान्यतया पाँच दिनको यो पर्व यसपालि तिथिको भोग घटबढले छ दिनको भएको छ । आज दिउँसो १३ः२३ पछि त्रयोदशी लाग्नेहुँदा यसै तिथिको साँझ आज ‘धनतेरस’ मनाइने भएको हो ।

आज दिउँसो १३ः२३ सम्म द्वादशी तिथिको भोग रहे पनि त्यसपछि त्रयोदशी तिथि सुरु हुने भएकाले आजै धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ । ‘धनतेरस’ लक्ष्मीकै आराधना भएको र यो सन्ध्याकालदेखि गरिने मैथिल चलन छ ।

मिथिलामा चाडपर्व र तिथि प्रयोजनसँग जोडिने कार्यहरू विद्यापति र मिथिला पञ्चाङ्गका आधारमा निर्णय गर्ने चलन छ । अपराह्न नै त्रयोदशी सुरु भएर आजै ‘धनतेरस’ मनाइए पनि यसै तिथिको कागपूजा भने भोलि आइतबार नै हुनेछ । यसैगरी लक्ष्मीपूजा र गाईपूजा पनि एकदिन अघिपछि परेको छ । सामान्यतया दिवालीको पहिलो दिन त्रयोदशी तिथिमा कागपूजा र धनतेरस एवं औँसीमा गाईपूजा र सन्ध्यापछि लक्ष्मीपूजा गरिने चलन हुन्छ । तर यसपालि रातको औँसी सोमबार नै परेको हुँदा सोही दिन लक्ष्मीपूजा गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित दिनेशकुमार झाले बताए ।

यसपालि तिथिको भोग घटबढले फरकफरक दिन (एकदिन अघिपछि) यी पर्वविधि गरिन पर्ने भएको हो । धनतेरस आज र भैयादूज (भाइटीका) आउने बिहीबार परेको हुँदा पाँच दिनको भनिने ‘यमपञ्चक’ यसपालि एक दिन बढेर छ दिनको भएको हो ।

कात्तिक कृष्ण त्रयोदशीको रात्रिकाल भोगको (सूर्यास्तपछि) दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका समान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ । आज अपराह्न त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा नक्षत्रादीको भोगले सन्ध्याकालमा धातुका नयाँ सामान किन्न शुभ हुने पं. झाको भनाइ छ । घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिनेछ ।

मिथिलामा धनत्रयोदशी पनि भनिने ‘धनतेरस’ आज मनाइने भए पनि त्रयोदशी तिथिमै मनाइने धन्वन्तरी जयन्ती र काक पूजा भने भोलि आइतबार मनाइने छ । यसैगरी औँसीको रातमा गरिने लक्ष्मी पूजा सोमबार र यसै तिथिमा गरिने गाई पूजा भने मङ्गलबार गरिने छ । ‘धनतेरस’ र लक्ष्मीपूजा सन्ध्याकालसँगै सुरु गरेर रातभरि गरिन्छ । तर गाईपूजा भने दिनको उज्यालोमा गरिने चलनले यो मङ्गलबार बिहान गरिने झाले स्पष्ट पारे ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुसी पार्न ‘धनतेरस’ पर्वको परम्परा चलेको पाका मैथिल बताउँछन् । मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ । सन्ध्याकालमा दीप प्रज्वलनसँगै ‘धनतेरस’ को पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ ।

पर्व विशेषका कारण तामा, पित्तल र काँस एवं सुनचाँदीका गहना बनाउने पसल एक दिन पहिलेदेखि नै झकीझकाउ बनाइएका छन् । मिथिलामा आज किनिएको समान शुभफल दिने, टिकाउ र नाफामूलक हुने जनविश्वास रहेको छ । (रासस)

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ८ : ३९ बजे

विश्वकप लिग–२ : युएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं – आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा

इजरायलद्वारा थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासद्वारा पुष्टि

गाजा शहर – इजरायलले शनिबार १५ प्यालेस्टिनीहरूको शव गाजालाई फिर्ता

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको