नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै « Khabarhub

नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन धनतेरस पर्व मनाइँदै छ । 
    
सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर पूजाआराधना गरी यो पर्व मनाइन्छ । यसरी ल्याइएको भाँडाकुँडामा धेरैले कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्छन् । 

केहीले भने आजै बेलुकी धनतेरस पूजा गर्छन् । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दु धर्मावलम्बीको विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।
  
आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामलेसमेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा सजायर राखिएका छन् ।  

यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान सुरु गरिँदै छ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए । आज धनका अधिपति देवताका रूपमा पूजिने कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधना गरिन्छ । केहीले कुबेरको आज र केहीले लक्ष्मीपूजाकै दिन पूजाआराधना गर्छन् ।
 
दीपावली, तिहार, यमपञ्चकजस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रूपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ । यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

धनवन्तरी जयन्ती पनि आइतबार नै मनाइन्छ । नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज धनतेरस पर्व मनाइनुका साथै यमदीपदानसमेत सुरु गरिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १२ : २४ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र