काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको नयाँ विद्यालय भवन बिहीबार उद्घाटन गरिएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा उक्त भवन उद्घाटन गरेका हुन् ।
विद्यालय भवन तथा अन्य सहयोगी संरचनाहरू उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको भारतीय दूतावासले जनाएको छ । उक्त परियोजनाको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत् गरिएको हो ।
सन् १९६२ मा स्थापना भएको दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ ।
नयाँ पूर्वाधार निर्माणसँगै विद्यालयको भौतिक अवस्था सुदृढ हुने र सिकाइ वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ ।
कार्यक्रमका क्रममा चिचिला गाउँपालिका, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरेका छन् ।
उनीहरूले नयाँ भवनले यस क्षेत्रको शिक्षा प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । नजिकका छिमेकी राष्ट्र भारत र नेपालबीच बहुआयामिक तथा बहुक्षेत्रीय सहकार्य जारी छ ।














प्रतिक्रिया