शानदार म:मका चार श्रमिकको मृत्युले उठाएको प्रश्न- बीमा नगरी काम खान पाइन्छ ? | Khabarhub Khabarhub

जलनको सकस

शानदार म:मका चार श्रमिकको मृत्युले उठाएको प्रश्न- बीमा नगरी काम खान पाइन्छ ?


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


474
Shares
  • change font
  • change font
  • change font


यही फागुन ३ गते शनिबार पोखरामा ग्यासले भरिएको बेलुनको झुप्पो पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। सोही कार्यक्रममा घाइते पोखरा महानगर प्रमुख धनराज आचार्यको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा कार्यक्रममा मञ्चमा बालिएको क्यान्डलको झिल्का लागेर बेलुनको झुप्पा पड्किँदा उनीहरु घाइते भएका थिए। घटनालगत्तै पोखराको गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारपछि थप उपचारका लागि भन्दै हेलिकोप्टरमार्फत उनीहरुलाई राजधानी ल्याइएको थियो।

अस्पतालमा उनीहरुको उपचार चलिरहँदा यता संसदमा घटनाबारे खालखालका आवाज उठे। सांसदले काठमाडौंको कमलपोखरी स्थित शानदार म:म पसलका घाइतेको उद्धारमा पिकअप भ्यान प्रयोग गर्दा मन्त्रीलाई हेकिोप्टरबाट उद्धार गरिएको भन्दै कटाक्ष गरे।

जलन क्षेत्रमा वर्षौंदेखि स्वयंसेवा गर्दै आएका अभियन्ता उज्वलविक्रम थापा भने सत्यतथ्य नबुझी यसरी सामाजिक सञ्जालमा तथानाम बोल्दै उफ्रिनु गलत भएको टिप्पणी गर्छन्। खबरहबसँग कुरा गर्दै थापाले भने, ‘प्रतिशतका हिसाबमा मन्त्री तथा मेयर कम जल्नुभएको थियो र चाँडै निको हुनुभयो। तर शानदार ममको सबैभन्दा कम जलेको मान्छे २१ प्रतिशत र सर्वाधिक जलेको प्रतिशत ६० थियो। ती मध्ये २ जना अहिले पनि आईसीयूमै छन्।’

अहिले समाचारमा आएको जस्तो नेताले मात्रै भव्य उपचार पाउँछन् भन्नु गलत भएको उनले बताए। उनका अनुसार जुन बेडमा मन्त्रीको उपचार भइरहेको थियो, त्यसको छेउमै रहेको बेडमा शानदारका घाइतेको उपचार भइरहेको छ भने अर्को बेडमा मेयरको उपचार भइरहको छ। उनीहरु सबैलाई उपचार गर्ने नर्स, डाक्टर एउटै हो। उनीहरुलाई दिइने औषधी पनि उही नै हो। अनि कसरी हुन्छ उपचारमा भेदभाव ? उनले प्रश्न गरे।

शानदार म:म ग्यास विष्फोट घटना र घाइतेको अवस्था
गत माघ २४ गते शानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए। जसमध्ये १८ वर्षीय रविन राई, २२ वर्षीय प्रदीप तामाङ, २५ वर्षीय भीमबहादुर घले र २५ वर्षकै छिरिङ लामा गरी ४ जनाको कीर्तिपुर असपतालमा उपचार क्रममा मृत्यु भइसकेको छ। यसैगरी १८ वर्षीय मनीष पोखरेल, वर्ष १९ का यशकुमार घले मगर, वर्ष १९ कै तीर्थ मगर, १८ वर्षीय रोहन लामा, १८ वर्षीय आयुष मगर, १८ वर्षीय धनबहादुर तामाङ र सञ्जोग राना मगरको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

उनीहरू सबै शानदार म:म पसलका श्रमिक हुन्। घाइते सबैको अवस्था गम्भीर रहेको दुई जनाको श्वासप्रश्वासमै समस्या देखिएकाले आईसीयूमा उपचार भइरहेको सामाजिक अभियन्ता थापाले बताए। बाँकी पाँच जनाको जनरल वार्डमा उपचार भइरहेको छ।

सामाजिक सञ्जालमा चासो- पिकअप भ्यानमा किन लगियो ?
सामाजिक अभियन्ता थापा भन्छन्, ‘अनुभव नभएर सामाजिक सञ्जालमा उफ्रिन सजिलो छ। तर जलनको पीडा हुँदा मान्छे आफैँ सुरक्षित ठाउँमा आइपुग्छ। पिकअपमा किन पठाएको भन्दै प्रहरीलाई गाली पनि गरे। यो दुर्भाग्य हो तर बलिउडका अर्बपतिलाई छुरी लाग्दा उनी ट्याम्पो चढेर अस्पताल गएका उदाहरण छन्।’

आपतकालीन अवस्थामा जे सवारी साधन अगाडि पर्छ त्यसैको प्रयोग गर्नु उत्तम विकल्प भएको र यो घटनामा पनि त्यही गरिएको उनले बताए। संकटको अवस्थामा पहिलो र अन्तिम उद्देश्य अस्पताल पर्ने उनले सुनाए। त्यसैले मन्त्रीलाई हेलिकोप्टरमा ल्याए। सर्वसाधारणलाई पिकअपमा ल्याइयो भन्ने विषयमा रोइलो गर्न आवश्यक नभएको उनले टिप्पणी गरे।

‘यसअघि धेरै जलनमा परेका सुरक्षा निकायका पदाधिकारी र धेरै सर्वसाधारण घाइतेलाई हेलि उद्धार गरिएको छ। किनकी यो दुर्घटनाको अवस्था र स्थानले निर्धारण गर्ने कुरा हो’, उनले भने, ‘कतिपय बिरामीको केशमा अस्पताल आइपुग्दा मात्रै थाहा हुन्छ।’

यस्तो संवेदनशील दुर्घटनामा हामीले नकारात्मक फैलाउने काम गर्नु भनेको समाजको यौटा ठूलो कमजोरी भएको उनले औंल्याए। ‘पोखरामा मात्रै होइन हामीले डोल्पाबाट अनेकौ हवाई उद्धार गरेका छौं। त्यो समाजले किन देख्दैन ?’, उनले प्रश्न गरे। यस्ता कुविचारहरुले यो क्षेत्रमा सामाजिक काम गर्नेमाथि पनि प्रश्नचिन्ह खडा गरेको उनले बताए।

कमलपोखरीस्थित म:म पसलको ग्यास विष्फोटका घाइतेलाई भ्यानमा राखेर अस्पताल पुर्याउनु, त्यो पिकअपको भ्यान चालकको ठूलो बहादुरी भएको उनले बताए। ११ जना जिउँदै जलेका मान्छे चिच्याउँदा कराउँदा पनि त्यो चालकले कमलपोखरीदेखि कीर्तिपुर अस्पतालसम्म पु-याउनु चानचुने कुरा होइन उनले भने।

जसले बेहोर्छ उसको पनि संवेदनशिलतालाई हामीले याद गर्नुपर्छ। सामाजिक सञ्जालभर यसरी गाली गलौज गर्दा त्यो चालकको मन पनि दुख्यो होला। उसले त आफ्नो कर्तव्य सम्झेर जतिसक्दो चाँडो अस्पताल पु-यायो र पो उपचार हुन पायो। नभए त्यो बेलामा एम्बुलेन्स कुर्न थालेको भए कति घाइतेले त्यहीँ ज्यान गुमाउनुपर्ने अवस्था आउँथ्यो। ट्याक्सी बोलाउँदा एउटाले हुँदैनथ्यो। यसतर्फ पनि हाम्रो ध्यान जान जरुरी रहेको उनले बताए। जलनमा परेका शानदारका मजदुरको अवस्था नै गम्भीर भएकाले अवस्था जटिल हो। उपचारमा कुनै कमी कमजोरी नभएको थापाको दाबी छ।

श्रमिकको बीमा अनिवार्य
प्रक्रियागत रुपमा ग्यास र बेलुन विष्फोट हुनुलाई सरकारले कानुनी रुपले कसरी लिएको छ त्यसबारेमा आफूलाई केही जानकारी नभएको बताउँदै थापाले बेलुन विष्फोटको घटना नयाँ भएको बताए।

बेलुन विष्फोट हुनु दुई दिनअघि भक्तपुरमा ग्यास लिक भएको थियो। जसमा ३७ र ३८ वर्षीया दुई महिला सामान्य घाइते भएका थिए। बेलुन विष्फोट जीवनमा पहिलोपटक सुनेको घटना भएकाले यसबारे छानबिन हुनु स्वाभाविक रहेको थापाको जिकिर छ। तर शानदारको जस्तो ग्यास विष्फोट त पटक पटक देशभर भइरहेका छन्। यसमा स्थानीय निकायको आफ्नै भूमिका होला गृह मन्त्रालय वा सम्बन्धित निकायको आफ्नै भूमिका होला। तर जहाँसम्म मलाई लाग्छ ग्यासको छानबिन नहुने होइन। घोषणा भएको छ, छैन त्यसबारेमा आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ।

अस्पतालमा उपचाररत जलनका घाइतेलाई भेट्न म:म पसलका मालिक पनि आउँछन्। अस्पताल प्रशासन र उनीहरुबीच उपचार खर्चको विषयमा कुरा भएको होला। तर के भने अहिले यो घटनामा ज्यान गुमाएका सवै श्रमिक युवा हुन्। ‘श्रमिकको बीमा नहुनु यो देशमा दुर्भाग्यपूर्ण हो। यस्ता मजदुर तथा श्रमिकको कुनै पनि ट्रेड युनियनले बोलेको सुनिदैन’, उनले भने।

सामाजिक सञ्जालमा आइरहेका कुराप्रति आक्रोश व्यक्त गर्दै थापाले भने घटना घटिसकेपछि हामी उफ्रेर हुँदैन, समाधान पनि त खोज्नुपर्यो। दुर्घटना कसैले पनि जानेर गर्दैन। चाहे त्यो बेलुन होस् या ग्यास होस्। तर त्यो दुर्घटनाको जोखिममा रहेका व्यक्ति जस्तै आगो तथा ज्वलनशील पदार्थ वरपर काम गर्ने श्रमिकको बीमा गरिदिने हो भने दुर्घटना हुँदा यस्ता प्रश्न उठ्दैनथे।

यसो गर्दा रोजगारदातालाई पनि भार कम हुन्छ। अहिले शानदार म:मको मालिकलाई आर्थिक भार सामाजिक भार सबै परेको छ। दुर्घटना त हो त शानदार म:म घटनाबाट हाम्रो स्थानीय निकायले के सिक्नुपर्छ भने जहाँ कुनै पनि भेन्टिलेसन छैन, त्यस्ता स्थानमा ग्यासको भण्डारण या ग्यास चलाउनलाई भान्सा आदि इत्यादि अन्यत्र पनि भएको छ भने यसलाई यथाशीघ्र निलम्बन गरेर रोक्नैपर्छ। कुनै पनि ग्यास सिलिण्डर वा ग्यासयुक्त वस्तु भेन्टिलेसन नभएको ठाउँमा राख्नु हुँदैन । यो भनेको हामीले दुर्घटना कुरेकै संकेत हो।

अन्र्तर्राष्ट्रिय विमानस्थल भएका स्थानमा जलन अस्पताल नहुनु दुर्भाग्य
जलनको उपचारका लागि पर्याप्त अस्पताल नहुनु सरकारको कमजोरी रहेको बताउँदै सामाजिक अभियन्ता थापाले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल भएको सहरहरु काठमाडौं बाहेक पोखरा र भैरहवामा जलन अस्पताल नहुनु भनेको अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्ड विपरित हो।’

त्यसैले यो घटनाले एकपटक फेरि सरकारलाई झकझक्याउने काम गरेको उनले बताए । अन्तर्राष्ट्रिय विमानस्थलमा दमकल मात्रै किनेर पुग्दैन दुर्घटना भएको खण्डमा आगलागी भयो भने जलन अस्पताल पनि चाहिन्छ भनेर यो घटनाले घचघच्याएको उनको भनाइ छ । यसपटकको घटनामा नगर प्रमुख नै परेकाले सायद यसको महत्त्व बुझ्छन् कि भन्नेमा आफू आशावादी रहेको उनले सुनाए ।

‘जलन दुर्घटना साइत हेरेर आउँदैन। जसलाई जहाँ पनि पर्नसक्छ। यसले धनी, गरिब, ठूलो सानो केही भन्दैन। उपचार पनि सबैको त्यसरी नै गर्ने हो। फरक यत्ति हो कि भुइँमान्छे भन्दा भीआईपीलाई भेटघाट गर्न धेरै मान्छे आउने भएकाले उनीहरुलाई राखेको ठाउँमा भेटघाट रोक्न सुरक्षा परिचालन गरेको हो’, उनले भने । सामाजिक सञ्जालमा आएको जस्तो भुइँमान्छेको उपचारमा कुनै लापरबाही नभएको दाबी गर्दै अस्पताल आइसकेका सबैले समान उपचार पाएको थापाले प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ९ : ५४ बजे

चालक मजदूर संघद्वारा ताप्लेजुङ बन्दको घोषणा

ताप्लेजुङ – पाथीभरा क्षेत्रमा तनाव बढ्दै गएपछि सवारी चालक मजदूर

प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न पत्राचार

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा

रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा राष्ट्रिय तथा

दूरसञ्चारको नीति र ऐन परिमार्जन आवश्यक छ : सञ्चारमन्त्री गुरुङ

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दूरसञ्चारको

संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक

भक्तपुर – गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानलाई असफल पार्ने छुट