काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाह र राजसंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीले हजार गल्ती गरिसकेको बताएका छन् ।
७५औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा शाहले जारी गरेको वक्तव्यले राजनीति तरंगित भइरहँदा मिश्रले १२ बुँदे टिप्पणी गर्दै यस्तो दाबी गरेका हुन् ।
प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको शुभकामना सन्देशबारे अहिले पक्ष विपक्षमा बहस जारी छ ।
यस्तो अवस्थामा मिश्रले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै ‘राजाको सन्देशमा : सबैले सबैका कमजोरीलाई क्षमा गर्दै नवीन समझदारीमा जाने मनसाय राखिएको’, बताएका छन् ।
यसअघि बुधबार नै नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेका उपलब्धी मास्न पूर्वराजालाई पञ्चाहरूले उचालिरहेको तिखो प्रतिक्रिया दिएका थिए ।
मिश्रको १२ बुँदे टिप्पणी
१. राजसंस्थाबाट गल्ती नै भएन भन्ने हुँदै होइन । राजसंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएका छन् । तर ती हजार गल्ती यति गम्भीर भए कि तिनले देशमा नैतिक संकट र ज्ञानको संकट चरम अवस्थामा पुर्याएर देशलाई नै अस्तित्वको संकटउन्मूख बनाइदिए ।
२. तसर्थ, देश बचाउन र बनाउन विगतका सम्पूर्ण त्रुटीबाट शिक्षा लिँदै राजा र राजनीतिक दलहरू एक ठाउँमा आउनु अत्यावश्यक छ । राजाको सन्देशमा ‘सबैले सबैका कमजोरीलाई क्षमा गर्दै नवीन समझदारी’मा जाने मनसाय भएको स्पष्ट भाव छ ।
३. राजाको आह्वानलाई ठूला दलहरूले पहिलेजस्तै अहम्पूर्ण ढङ्गबाट लिने र राजालाई तथानाम गर्ने हो भने अब नेपालको राजनीतिमा हुने सिस्टमेटिङ ओभरहलिङ पद्धतिपूर्ण र शान्तिपूर्ण हुने छैन । त्यो कसैका लागि पनि हितकर हुँदैन ।
४. ठूला दलका ठूला नेता राजाको प्रजातन्त्र दिवसको सम्बोधनप्रति सकारात्मक हुनु नितान्त जरूरी छ । राजाले त्यसै बोलेका छैनन् । सबै मिल्नुको विकल्प छैन ।
५. छिमेकी भारतले पनि नेपालबारेको आफ्नो दृष्टिकोणलाई समिक्षा गरी पुन: दुई खम्बे नीति (संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र) मा फर्किन जरूरी छ । विश्वको सर्वशक्तिमान बन्ने दिशामा रहेको भारतका लागि साँध जोडिएको शदियौँको छिमेकी कमजोर, अविश्वासिलो, अस्थिर र अन्तर्राष्ट्रिय भूराजनीतिको क्रीडास्थल हुनु राम्रो हुँदै होइन ।
६. जहाँसम्म देशभित्रका राज संस्थावादीहरूको कुरा छ, सबै राजसंस्थावादी पार्टी र समूहहरूले तत्काल आ-आफ्नो बैठक बोलाएर अब राजाको आह्वानमा कसरी परिणाममुखी ढङ्गबाट साथ दिने भनेर गहन छलफल गर्नु अत्यावश्यक छ ।
७. मैले पहिले पनि बोलेको र लेखेको हुँ : झण्डै ८० वर्ष पुग्न लागेका राजाले राजसंस्थाको गरिमालाई कायम राख्दै र देशभरी राजसंस्थाको पक्षमा माहोल बनाउँदै जाने र अपवादलाई छोडेर, हामी- झगडिया, स्वार्थी, पदलोलुप, घमण्डी, अहम्ले पूर्ण-राजसंस्थावादीहरूले चाहिँ त्यो माहोल बिगार्दै जाने काम निरन्तर रूपमा भएको छ । अब त्यो कार्य तत्काल रोकौँ । नत्र राजसंस्थावादीले अरू त कुरै छोडौँ, राजसंस्था पुनर्स्थापनाको श्रेय पनि पाउने छैनन् ।
८. ठूला दलहरूभित्र राजसंस्था फाल्नु गल्ती भयो भन्ने प्रशस्त साना/ठूला नेताहरू छन् । अब ती नेताहरूले कुरा नचपाई बोल्नु पर्छ ।
९. त्यस्तै अनौपचारिक भेटघाट-चिया गफमा राजसंस्था अत्यावश्यक भइसक्यो भन्ने तर ‘पश्चगामी’को ट्याग लाग्ला, विवादमा परिएला भनेर बाहिर चाहिँ शब्दहरू तौली-तौली बोल्ने कयौँ नागरिक समाजका अगुवा अब मौन बस्नु हुँदैन ।
१०. अनि राजालाई झापा गएर भेटेर ‘राजसंस्था पुनर्स्थापना गर्ने पार्टी स्थापना गर्दा ठूलै रकम लाग्छ, त्यो प्राप्त हुन्छ कि हुँदैन?’ भनेर राजासँग घुमाउरो प्रस्ताव गर्ने र रकम नआउने देखेपछि देशै हल्लाउने गरेर घनघोर गणतन्त्रवादी बन्दै पार्टी खोल्ने (हरू) ले अब के गर्ने हुन्, कुन्नि ! तिनको पनि बुद्धि फिरोस् भन्ने कामना गर्दछु ।
११. जसरी देशको भलाइका लागि अनगिन्ती कमजोरीका अलावा लोकतन्त्र जोगाउनु जनताको दायित्व हो । त्यसैगरी आ-आफ्ना विचारभन्दा माथि उठेर कयौँ कमजोरीका अलावा देशको भलाइकै लागि राजसंस्था जोगाउनु जनताकै दायित्व हो ।
१२. छिटै शान्तपूर्ण ढङ्गबाट नवीनसमझदारी र सिस्टमेटिङ ओभरहलिङको बाटोमा देश गएको देख्न पाइयोस् ।
प्रतिक्रिया