चैतभित्र महाधिवेशन सक्नै पर्ने दबाबमा कांग्रेसका भ्रातृसंगठन | Khabarhub Khabarhub

चैतभित्र महाधिवेशन सक्नै पर्ने दबाबमा कांग्रेसका भ्रातृसंगठन

पार्टीको निर्देशनअनुसार दुइटामा मात्रै नयाँ नेतृत्व


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले आगामी चैत मसान्तभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएपछि पार्टीका भ्रातृ संगठनहरू चलायमान देखिएका छन् ।

कांग्रेसले महाधिवेशन नगरेकाहरूलाई म्याद थप नगर्ने भनेपछि लामो समयदेखि तदर्थवादमा चल्दै आएका भ्रातृ संगठनहरू चलायमानजस्ता देखिएका हुन् ।

कांग्रेसले फागनु १ गते भातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक र भ्रातृसंस्थाका अध्यक्षहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आगामी चैत मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको थियो ।

पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू सहभागी बैठकले अधिवेशनका लागि म्याद थप नहुने स्पष्ट पार्दै जसरी पनि चैत महिनाभित्र सबै भ्रातृ संस्थाहरूले महाधिवेशन गरिसक्न भनेको थियो ।

कांग्रेसका १३ भ्रातृ संस्थाहरूमध्ये अहिलेसम्म दुईले मात्रै महाधिवेशनबाट नयाँ नेतृत्व चुनेको छ । नेपाल मुस्लिम संघ र नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघ कांग्रेसका महाधिवेशन गर्ने भ्रातृ संस्था हुन् ।

मुस्लिम संघले २०८० असोजमा महाधिवेशन गरेर अताबुल मन्सुरीलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो । यस्तै, गत असारमा सम्पन्न महाधिवेशनबाट आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तीमगर दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष भएका थिए ।

कांग्रेसको नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन सम्पन्न गर्ने तेस्रो भ्रातृ संगठन बन्न गइरहेको छ । सेनानी संघले प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंमा महाधिवेशन गर्दैछ ।

फागुन १० गतेसम्म हुन गइरहेको प्रजातन्त्र सेनानी संघको दोस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशन सम्पन्न गर्न सेनानी संघले गत माघ ३ र ४ गते केन्द्रीय कार्य समिति बैठकबाट मूल आयोजक समितिलगायत विभिन्न १५ उपसमिति बनाएको थियो ।

कांग्रेसको अर्को भ्रातृ संगठन नेपाल किसान महासंंघले केन्द्रीय महाधिवेशनका लागि जिल्ला सम्मेलनहरू गरिरहेको छ । किसान महासंघले फागुन ७ का लागि जिल्ला अधिवेशनहरू तोकेको थियो । प्रवक्ता रमेशबहादुर रावलले चैत महिनाभित्रै केन्द्रीय महाधिवेशन गर्ने तयारीका साथ किसान महासंघ अघि बढेको बताए ।

‘जिल्ला अधिवेशन आज बुधबारका लागि तोकेका थियौँ । धेरै जिल्लाले सम्पन्न पनि गरेका छन् । नभएकालाई अधिवेशन गर्नुस् भन्छौँ,’ रावलले खबरहबसँग भने, ‘सबै जिल्लाले अधिवेशन गरिसकेपछि प्रदेश र केन्द्रको अधिवेशनको मिति तोक्छौँ । चैत महिनाभित्रै सक्ने गरी अघि बढेका छौँ ।’

कांग्रेसका भ्रातृसंगठनको अवस्था

नेपाल विद्यार्थी संघ (नेविसंघ) : कांग्रेसको नर्सरी भनिने नेविसंघको २०७३ पछि महाधिवेशन हुन सकेको छैन । महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरको राजीनामापछि २०७६ माघ १६ मा कांग्रेसले राजीव ढुंगानाको संयोजकत्वमा तदर्थ समिति बनाएको थियो ।

ढुंगाना १४ औँ महाधिवशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा दुजाङ शेर्पाको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति बनाएका थिए । शेर्पा नेतृत्वको नेविसंघको तदर्थ समिति ७५२ सदस्यीय छ ।

तरुण दल : कांग्रेसका भ्रातृ संस्थाहरूमध्ये तरुण दललाई महत्वपूर्ण भ्रातृ संस्थाका रुपमा हेरिन्छ । तरुण दलको पनि २०७३ पछि नियमित अधिवेशन हुन सकेको छैन ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेत पार्टीको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सभापति देउवाले २०७८ चैत ९ मा तत्कालीन कोषाध्यक्ष विद्वान गुरुङलाई केन्द्रीय तदर्थ समितिको अध्यक्ष बनाएका थिए । तरूण दल अहिले ४०१ सदस्यीय छ ।

नेपाल महिला संघ : महिला संघमा पनि २०७३ पछि महाधिवेशन हुन सकेको छैन । अध्यक्ष उमा रेग्मीलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेसँगै महिला संघ पनि नेतृत्वविहीन अवस्थामा थियो ।

महिला संघ नेतृत्वविहीन भएपछि देउवाले २०७९ साउन २६ गते सिरहाकी उषा राउत मिश्रलाई अध्यक्षमा मनोनित गरेका थिए । अहिले महिला संघको ५३ सदस्यीय केन्द्रीय तदर्थ समिति छ ।

नेपाल प्रजातन्त्र सेनानी संघ : नेपाल प्रजातन्त्र सेनासी संघको २०६४ मा महाधिवेशन भएको थियो । २०६९ मा महाधिवेशनका लागि टंकप्रसाद शर्मा कँडेल नेतृत्वको तत्कालीन कार्यसमितिले तयारी गरे पनि अन्तिम अवस्थामा रोकिन पुगेको थियो ।

त्यसयता महाधिवेशन हुन सकेको थिएन । हाल बालकृष्ण दाहालको अध्यक्षतामा रहेको सेनानी संघको तदर्थ केन्द्रीय समितिले फागुन ७–१० सम्म काठमाडौंमा महाधिवेशन आयोजना गरेको छ ।

नेपाल किसान महासंघ : कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासंघ (तत्कालीन नेपाल किसान संघ) को पनि २०६४ पछि महाधिवेशन हुन सकेको छैन । उक्त महाधिवेशनबाट चयन कार्यसमितिले समयमा महाधिवेशन गर्न नसकेपछि भानुभक्त सिग्देलको संयोजकत्वमा तदर्थ समिति बनेको थियो ।

हाल गणेशचन्द्र तिमल्सिनाको संयोजकत्वमा किसान महासंघको दोस्रो तदर्थ समिति गठन भएको छ । ४६ सदस्यीय तदर्थ समिति रहेको किसान महासंघको पनि महाधिवेशनको कुनै टुंगो छैन ।

नेपाल दलित संघ : नेपाल दलित संघको तदर्थ केन्द्रीय समितिको अध्यक्षको जिम्मेवारी लोकबहादुर विश्वकर्मालाई दिइएको छ । २०६९ पछि यो संस्थाको पनि महाधिवेशन हुन सकेको छैन ।

नेपाल भूतपूर्व सैनिक संघ : सैनिक संघले पनि २०७३ पछि महाधिवेशन गर्न सकेको छैन । पार्टीले मेघराज टण्डनलाई सैनिक संघको तदर्थ समिति अध्यक्ष मनोनित गरेको छ ।

नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघ : कांग्रेसले भ्रातृ संस्था आदिवासी जनजाति संघको नाम परिवर्तन गरेर लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनाएको छ ।

महासंघले गत असार ११ देखि १३ सम्म काठमाडौंमा महाधिवेशन गरेर ओमबहादुर घर्तीमगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो । यसको एक सय सात सदस्यीय कार्यसमिति छ ।

आदिवासी जनजाति महासंघमा यसअघि पनि घर्तिमगर नै अध्यक्ष थिए । महासंघले २०६४ बाट महाधिवेशन गर्न सकेको थिए ।

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ : २०६६ मा मान्यता पाएको संघको अधिवेशन नै हुन सकेको छैन  । पछिल्लो समय प्रकाश पन्थको अध्यक्षतामा कांग्रेसले तदर्थ समिति बनाएको थियो ।

नेपाल मुस्लिम संघ : नेपाल मुस्लिम संघ कांग्रेसका महाधिवेशन गर्ने भ्रातृ संस्थामा पर्दछ । २०८० असोजमा सम्पन्न महाधिवेशनबाट अताबुल मन्सुरी निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न तेस्रो महाधिवेशनले मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

यसअघि मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार १४ औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि स्वत: पदमुक्त भएका थिए । उनी २०७५ वैशाख १५–१६ मा सम्पन्न मुस्लिम संघको दोस्रो महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका थिए ।

नेपाल ठाकुर समाज : २०७९ साउनमा नेपाल ठाकुर समाजको महाधिवेशन भएको थियो । निर्धारित अवधिमा महाधिवेशन सम्पन्न जिम्मेवारी निर्वाह गर्न नसकेपछि कांग्रेसले केन्द्रीय समितिले विघटन गरेर अनिरुद्रप्रसाद ठाकुरको संयोजकत्वमा तदर्थ समिति बनाएको छ ।

नेपाल थारू संघ : नेपाल थारु संघ कांग्रेसको नयाँ भ्रातृ संस्थामध्येमा पर्दछ । यो संस्थाले २०७९ साउनमा मातृ पार्टीको केन्द्रीय कार्यसमितिबाट नयाँ मान्यता पाएको हो ।

हाल शिवनारायण महतो गुरौको अध्यक्षतामा थारु संघको केन्द्रीय तदर्थ कार्यसमिति छ । सभापति देउवाले विभिनन जिल्लाबाट ९८ जना व्यक्तिहरूलाई थारु संघको सदस्यमा मनोनयन गरेका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ : यो संस्था पनि कांग्रेसको नयाँ भ्रातृ संस्था हो । यसलाई पनि २०७९ साउनमा बसेको केन्द्रीय कार्यसमिति बैठकले भ्रातृ संस्थाको मान्यता दिएको थियो । देवेन्द्रकुमार शेरचनको अध्यक्षमा यसको केन्द्रीय तदर्थ कार्यसमिति छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : ३३ बजे

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा

दक्षिण एसियाली कराँतेमा नेपाल पहिलो

धनगढी – दक्षिण एसियाली अन्तराष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपाल पहिलो