वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्न लामो समयदेखि चलिरहेको प्रयासको हिस्साका रूपमा सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्ने भएका छन् ।
ट्रम्पले अमेरिकी चुनाव अभियानका क्रममा पदभार ग्रहण गरेको एक दिनभित्रै द्वन्द्व रोक्ने वाचा गरेका थिए तर उनको कूटनीतिक प्रयासले अहिलेसम्म थोरै प्रगति हासिल गरेको छ ।
रुस र युक्रेनका प्रतिनिधिमण्डलहरूले लगभग तीन वर्षमा पहिलो पटक गत हप्ता इस्तानबुलमा प्रत्यक्ष वार्ता गरे, तर वार्ता युद्ध विरामको प्रतिबद्धता बिना समाप्त भयो ।
दुवै पक्षले एक अर्कामाथि आरोप लगाए । युक्रेनले मस्कोलाई कम–स्तरका अधिकारीहरूको ‘नक्कली’ प्रतिनिधिमण्डल पठाएको आरोप लगायो ।
वार्तापछि ट्रम्पले युक्रेनमा भएको ‘रक्तपात’ अन्त्य गर्न रुसी राष्ट्रपतिसँग फोनमा कुरा गर्ने घोषणा गरे । रुसले युक्रेनको ठूलो भागलाई ध्वस्त पारेको छ र लाखौँ मानिस विस्थापित भएका छन् ।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र नाटो अधिकारीहरूसँग पनि कुरा गर्ने बताए र ‘युद्धविराम हुने र यो अत्यन्त हिंसात्मक युद्ध… अन्त्य हुने’ आशा व्यक्त गरे ।
जनवरीमा पदभार सम्हालेयता ट्रम्पले द्वन्द्व अन्त्य गर्न चाहेको कुरा पटक–पटक जोड दिनुभएको छ र हालै बिना सर्त ३० दिने युद्ध विरामको आह्वानलाई समर्थन गरेका छन् ।
अहिलेसम्म उनले मुख्यतया युक्रेनमाथि दबाब बढाउनमा ध्यान केन्द्रित गरेका छन् र पुटिनको आलोचना गर्नबाट टाढा रहेका छन् ।यसअघि मस्को र वासिङ्टन दुवैले पुटिन र ट्रम्पबीचको द्वन्द्वमा बैठकको आवश्यकतामाथि जोड दिएका थिए ।
अमेरिकी राष्ट्रपतिले पुटिनलाई आमनेसामने नभेटेसम्म द्वन्द्वमा ‘केही हुने छैन’ भन्ने तर्क पनि दिएका छन् ।
प्रतिबन्धका लागि दबाब
अमेरिकी अधिकारीहरूसमेत उपस्थित भएको इस्तानबुलमा भएको वार्तामा कुनै ठोस प्रस्तावबिना रुस र युक्रेनले प्रत्येक एक हजार कैदी आदान–प्रदान गर्न र सम्भावित युद्धविरामबारे विचारहरू साटासाट गर्न सहमत भएका थिए ।
युक्रेनका प्रमुख वार्ताकार रक्षामन्त्री रुस्तम उमरोभले ‘अर्को कदम’ पुटिन र जेलेन्स्कीबीच बैठक हुने बताए । रुसले यो अनुरोधलाई ध्यानमा राखेको बताएको छ । ‘हामी यसलाई सम्भव ठान्दछौँ, तर कामको परिणाम र दुई पक्षबीचको सम्झौताका रूपमा निश्चित परिणामहरू प्राप्त गरेपछि मात्र’, क्रेमलिनका प्रवक्ताले भने ।
युक्रेनका पश्चिमी सहयोगीहरूले त्यसपछि पुटिनमाथि युद्ध विरामको आह्वानलाई जानाजानी बेवास्ता गरेको आरोप लगाएका छन् र रुसविरुद्ध नयाँ प्रतिबन्धहरूका लागि दबाब दिएका छन् ।
बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले आइतबार ट्रम्पसँग फोनमा कुराकानी गरेका थिए ।
‘राष्ट्रपति पुटिनसँग राष्ट्रपति ट्रम्पको भोलिपल्टको कुराकानीलाई ध्यानमा राख्दै नेताहरूले बिना सर्त युद्ध विरामको आवश्यकता र राष्ट्रपति पुटिनले शान्ति वार्तालाई गम्भीरताका साथ लिनका लागि छलफल गर्नुभयो’, बेलायती प्रधानमन्त्री किर स्टार्मरका प्रवक्ताले भने, ‘यदि रुस युद्धविराम र शान्ति वार्तामा गम्भीरताका साथ संलग्न असफल भएको अवस्थामा प्रतिबन्धको प्रयोगबारे पनि उहाँहरूले छलफल गर्नुभयो ।’
जेलेन्स्कीले आइतबार भ्याटिकनमा पोप लियोको उद्घाटन समारोहपछि भएको भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग सम्भावित प्रतिबन्धबारे पनि छलफल गरेका थिए ।
‘हामीले इस्तानबुलमा भएको वार्ताबारे छलफल गर्यौँ, वार्तामा रुसीहरूले कुनै निर्णय गर्ने अधिकार नभएको तल्लो–स्तरको प्रतिनिधिमण्डल पठाए’, बैठकपछि जेलेन्स्कीले टेलिग्राममा लेखे, ‘हामीले रुसविरुद्ध प्रतिबन्धको आवश्यकता, द्विपक्षीय व्यापार, रक्षा सहयोग, युद्ध मैदानको अवस्था र भविष्यमा कैदीहरूको आदानप्रदानबारे पनि कुरा गर्यौँ ।’
राष्ट्रपति कार्यालयबाट एका वरिष्ठ युक्रेनी अधिकारीले नाम नछाप्ने सर्तमा जेलेन्स्की र भान्सले ट्रम्प र पुटिनबीच सोमबारको टेलिफोन कुराकानीको तयारीबारे पनि छलफल गरेको बताए । –रासस
प्रतिक्रिया