भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट | Khabarhub Khabarhub

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न गठित उपसमिति सुरूमै विवादमा परेको छ ।

भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धनमा तानिएकी नेपाली कांग्रेसकी समानुपातिक सांसद मञ्जु खाँणलाई संयोजक बनाएसँगै उपसमिति विवादमा परेको हो ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आइतबार खाँणलाई भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारको खोजबिन गर्ने उपसमितिको संयोजक चयन गरेको थियो ।

तर उक्त उपसमितले पूर्णता पाएलगत्तै विवादमा परेको हो । आइतबार बसेको लेखा समितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकणमा समेत विवादमा तानिएकी खाँणलाई संयोजक बनाएसँगै असन्तुष्टि देखिएको हो ।

आइतबारको बैठकमा यसअघि उक्त उपसमितिको संयोजक प्रस्ताव गरिएका नेकपा एमालेका सचिव योगेकुमार भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह पनि अनुपस्थित थिए ।

उनीहरू तीनैजना अनुपस्थित भए पनि समितले उपसमिति सदस्यका रुपमा राखिसकेको छ । खाँण संयोजक रहेको उपसमिति सदस्यमा एमालेका भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनालीलाई राखिएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे पनि समिति सदस्यमा छन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे र स्वतन्त्र सांसद सिंहलाई उपसमितिमा राखिएको छ ।

योगेश र अमरेश नबस्ने

समितिको आइतबारको बैठकमा सहभागी नभएका योगेश र अमरेश दुवैजनाले विवादित व्यक्तिको नेतृत्वमा बनेको उपसमितिमा नबस्ने घोषणा गरेका छन् ।

एमाले सांसद भट्टराईले यसअघि नै आफूले उक्त उपसमितिको संयोजकमा नबस्ने घोषणा गरिसकेको स्मरण गराए ।

यसअघि भट्टराईलाई संयोजकको जिम्मेवारी दिने प्रस्ताव सार्वजनिक लेखा समितिका सभापति एवम् एमाले सांसद ऋषिकेश पोखरेलले गरेका थिए । तर भट्टराईले अस्वीकार गरेपछि खाँणलाई कांग्रेस प्रमुख सचेतकसमेत रहेका घिमिरेको पहलमा संयोजक बनाइएको हो ।

भट्टराईले अस्वीकार गरेपछि गत वैशाख २७ गते बुधबार प्रमुख सचेतक घिमिरेको पहलमा सार्वजनिक लेखा समितिका सदस्यहरूको छलफल राखिएको थियो । उक्त छलफलबाट नै खाँणलाई भैरहवा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको खोजबिन गर्ने उपसमितिको संयोजक बनाउने वातावरण बनाइयो ।

वैशाख २७ मा घिमिरेको पहलमा खाँणलाई संयोजक बनाउने बुझिसकेपछि एमाले सचिव भट्टराईले अब उक्त उपसमितिको सदस्यमा पनि नबस्ने जनाउ दिइसकेका थिए ।

सभापति ऋषिकेश पोखरेलले यसअघिको बैठकमा एमाले सांसद अच्युतप्रसाद मैनालीको नाम पनि संयोजकमा प्रस्ताव गरेका थिए । तर सहमति नभएपछि आइतबारको उपसमिति बैठकले खाँणलाई संयोजक बनायो ।

‘मैले यसअघि नै उक्त उपसमितिको संयोजक पद अस्वीकार गरिसकेको थिएँ’, एमाले सचिव भट्टराईले खबरहबलाई भने, ‘संयोजकमा नबस्ने भइसकेपछि अब समितिको सदस्यमा पनि मेरो भूमिका हुने छैन । मैले यसबारे पहिले पनि भनिसकेको छु, म सदस्यमा पनि बस्दिनँ ।’

उता स्वतन्त्र सांसद डा. सिंहले पनि आफू व्यस्त भएका कारण उक्त उपसमितिको सदस्यमा नबस्ने बताए । ‘म उक्त उपसमितिमा बस्दिनँ’, उनले भने, ‘म अहिले व्यस्त भएकाले समय दिन सक्दिनँ । जिल्लातिर पनि धाइरनुपर्ने भएकाले म समय निकाल्न नसक्ने अवस्थामा छु ।’

तर, सिंहनिकट स्रोतका अनुसार खाँणलाई उपसमिति संयोजक बनाउने भएपछि असन्तुष्टि जनाइसकेका थिए । यसअघि नै खाँणको नाम समिति संयोजकमा पक्का भएको सूचना पाएपछि उनी आइतबार सार्वजनिक लेखा समितिको बैठकमा पनि सहभागी भएनन् ।

‘मेरो नाम पनि उपसमिति सदस्यमा छ भन्ने सुनेको छु । तर म आइतबारको बैठकमा जाँदै गएको थिएन’, उनले भने, ‘किन नबस्ने कारणबारे अहिले केही भन्नु छैन । तर म उक्त निर्णयको माइन्युटमा पनि हस्ताक्षर गर्ने पक्षमा छैन । मेरो निर्णय यही हो म उक्त उपसमितिमा बस्न भ्याउँदिनँ ।’

स्रोतका अनुसार सिंहले खाँणमाथि अख्तियारले छानबिन गरिरहेको भन्दै उनकै नेतृत्वमा भ्रष्टाचार र अनियमितता खोज्ने कुरा गलत हुने धारणा राख्दै आएका छन् ।

सिंहले विवादित पात्रलाई संयोजक मानेर आफूलाई जनताले दिएको मतको अपमान गर्न नसक्ने भनाइ निकटस्थसँग राखिरहेका छन् । उनले जनमतको अपमान हुने यस्तो कार्यमा आफ्नो संलग्नता नहुने जनाउ पनि समिति सभापति पोखरेललाई यसअघि नै दिइसकेका छन् ।

मनिष भन्छन्- सेटिङ भयो, पहिलो बैठकमा जान्छु

उपसमितिको सदस्यमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि छानबिनका नाममा सेटिङ भइरहेको जानकारी आफूलाई पहिले नै थाहा भएको बताएका छन् ।

‘गत वैशाख २७ गते नै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको पहलमा मञ्जु खाँणलाई उपसमिति संयोजक बनाउने वातावरण तयार पारिएको थियो’, उनले भने, ‘भैरहवा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिनका नाममा अर्थोक नै भइरहेको हामीले बुझिसकेका थियौँ । अब उपसमितिमा बस्ने-नबस्ने कुरा कांग्रेस-एमालेको व्यवहारमा पनि भर पर्छ ।’

आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा आफू सहभागी नभए पनि उपसमिति सदस्यमा नाम राखिएको जानकारी पाएको उनले बताएका छन् ।

‘उपसमिति सदस्यका रुपमा मेरो नाम पनि राखिएको थाहा पाएँ । तर म आइतबारको बैठकमा सहभागी थिइनँ’, उनले भने, ‘नाम राखिसकेकाले उपसमितिको पहिलो बैठकमा गएर म मेरा कुरा राख्छु । त्यसरी कुरा राख्दा हाम्रो शंका निवारण हुने भयो, हामीले शंका गरे जस्तो नहुने भयो भने उपसमितिमा बसेर काम गर्न सकिन्छ । होइन, दुई दलले पुरानै रवैया देखाए भने अर्को निर्णय लिनुपर्ने हुन्छ ।’

झाले भैरहवा विमानस्थलमा भ्रष्टाचारको छानबिनका नाममा सेटिङ चलिरहेको खबर पहिले नै प्राप्त भएको पनि बताए । उनले साँच्चिकै छानबिन हुने अवस्था भएमा उपसमितिमा बसेर आलोचनात्क धारणासहित काम गर्ने पनि बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदा त्रुटि भेटिएको उजुरी परेको जनाउँदै संसदीय समितिले छानबिनका लागि उपसमिति बनाएको थियो ।

भैरहवासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न राप्रपा अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको उपसमितिले प्रतिवेदन नै बुझाइसेको छ।

उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा १० अर्ब भ्रष्टाचार भएको प्रतिवेदन दिइसकेको छ । उपसमितिले यसअघि नै हिनामिनामा संलग्नलाई कारबाही सिफारिससहित प्रतिवेदन लेखा समितिलाई बुझाएको हो ।

विवाद

भैरहवा विमानस्थल निर्माणका क्रममा २२ सय घरधुरीलाई २३ अर्ब रुपैयाँ मुआब्जा बाँडिएको थियो । मुआब्जा वितरणकै बेलादेखि यहाँ हिनामिना भएको आशंका छ । भैरहवा विमानस्थलको सुरुवाती लागत अनुमान ६ अर्ब २२ करोड रुपैयाँ थियो । तर निर्माण पूरा हुँदा बढेर ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो ।

संयोजक बनेकी मञ्जु नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणकी पत्नी हुन् । खाँण आफैँ नक्कली शरणार्थी प्रकरणमा जेल चलान भएर छुटेका व्यक्ति हुन् ।

मञ्जु पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकी थिइन् । खाँण र एमाले सचिव टोपबहादुर रायमाझी उक्त प्रकरणमा ठगी र राज्यविरुद्धको कसुरमा जोडिँदा मञ्जुमाथि पनि अनुसन्धान भएको थियो ।

उनी त्यसबेला लामो समय संसद्मा समेत देखिइनन् । नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण र मञ्जु दुवैमाथि अख्तियारले छानबिन गरेको थियो । २०७९ को निर्वाचनमा खाँण रुपन्देहीमा हार्न पुग्दा पनि पत्नी मञ्जुलाई समानुपातिक सांसद बनाएका थिए ।

नक्कली शरणार्थी प्रकरणमा सार्वजनिक एक अडियो रेकर्डिङमा मञ्जु खाँणलाई ६ करोड रुपैयाँ दिएको दाबी गरिएको थियो । उक्त अडियोमा एक पीडित र गिरोहका सदस्यबीचको संवाद रहेको बताइएको थियो । जसमा मञ्जु खाँण र आरजु राणा देउवालाई रकम दिइएको बताइएको थियो ।

तर मञ्जु खाँणको सचिवालयले उक्त अडियो रेकर्डलाई नक्कली भन्दै खण्डन गरेको थियो । उनीहरूले प्रेस काउन्सिलमा उजुरी दर्ता गराई कारबाहीको मागसमेत गरेका थिए ।

यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायतका उच्च पदस्थ व्यक्तिहरू पनि मुछिएर अहिले जेलमा छन् ।

मञ्जुको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पनि हालसम्म उनीविरुद्ध ठोस प्रमाण सार्वजनिक भएको छैन । तर उनीमाथि राज्यका निकायले अनुसन्धान र निगारी गरिरहेका थिए । अख्तियार र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसहितले यसबारेमा अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  २ : ०३ बजे

सिंहदरबारकै धारामा मेलम्चीको पानी झर्न लाग्यो तीन वर्ष !

काठमाडौं- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुग्ने सेवाग्राहीको प्यास मेटाउन

एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी 

काठमाडौं– एनसेलले अपाङ्गता भएका व्यक्तिको डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री

काठमाडौं– युवा तथा खेदकुदमन्त्री तेजुलाल चौधरीले आगामी दिनमा अपाङ्गमैत्री रङ्गशालाको

रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर

चीनसँग डेनमार्कको ‘खुला’ छलफल

बेइजिङ– डेनमार्कका विदेशमन्त्रीले रुसलाई बेइजिङको समर्थन र युक्रेनमा जारी युद्धका