दुई महिनादेखि अस्पतालमै रेबिका, सातौँ पटक शल्यक्रिया गर्दा पनि निको भएन गोली लागेको खुट्टो « Khabarhub

राजावादी आन्दोलन

दुई महिनादेखि अस्पतालमै रेबिका, सातौँ पटक शल्यक्रिया गर्दा पनि निको भएन गोली लागेको खुट्टो

जीवन रक्षाका लागि सरकारसँग बुवाको हारगुहार


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीको आह्वानमा भएको हिंसात्मक प्रदर्शनको २ महिना हुन लागेको छ । चैत १५ गते दुईजनाको ज्यान जाने गरी भएको राजावादीको आन्दोलका क्रममा घाइते भएका सयौँ बिरामी निको भएर घर फर्किसकेका छन् ।

तर अनाहकमा कोठा छेउमै गोली खाएकी रेबिका खत्री अझै जीवन-मरणको दोसाँधमा एकपछि अर्को अस्पतालको सघन कक्षमा उपचाररत छिन् । दाजु दिनेश खत्रीसँगै रहेकी रेबिकालाई कोटेश्वरस्थित कोठामा छिर्नै लाग्दा तिघ्रामा गोली लागेको थियो ।

गोली लागेका उनका दाजु उपचारपछि घर फर्किसकेका छन् । तर गोली लागेर तिघ्राको भाग क्षतविक्षत भएकी रेबिका अझै सघन कक्षमा उपचाररत छिन् । खुट्टाको मुख्य नसामा गम्भीर चोट लागेकी रेबिकाको हालसम्म ७ पटक शल्यक्रिया (अप्रेशन) गरिएको उनका बुवा तुलसीराम खत्रीले बताए ।

उनी लामो समय निजामती कर्मचारी अस्पतालमा उपचाररत रहिन् । अहिले उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । बीचमा केही सुधार भए पनि अकस्मात रक्तश्राव उच्च भएपछि फेरि अर्को अप्रेशन गरिएको थियो ।

‘६–७ पटक अप्रेशन गर्दा पनि खासै केही सुधार आएको छैन । अब त खुट्टा बचाउने आशा कम हुन थालेको छ । सिभिलमा हुँदा केही सुधार आएको थियो,’ खबरहबसँग खत्रीले भने ‘तर सिभिलबाट टिचिङ अस्पतालमा ल्याएपछि बिरामी झन् गाह्रो भएको छ ।’

निजामती अस्पतालमा उपचार गराइरहेका बेला डाक्टर बाहिर जाने भएपछि घाइते छोरीलाई शिक्षणमा रेफर गरिएको खत्रीले बताए ।

‘यहाँ (निजामती अस्पताल) का डाक्टर १०–१२ दिनको लागि बाहिर जाँदै हुनुहुन्छ, तपाईंको बिरामीलाई डाक्टर चाहिरहन्छ, उपचारमा कमी हुनसक्छ, अहिले त्यहाँ (शिक्षण अस्पताल) पठाइदिन्छु, भोलिका दिनमा तपाईंलाई असहज भए फेरि बाहिरबाट आएर सिभिलमै ल्याउँछु भन्नुभयो,’ चिकित्सकका भनाइबारे खत्रीले सुनाए ।

खत्री आफूले चिकित्सकलाई ‘बरू डाक्टर यतै बोलाइदिनुस्, एक्कासि बिरामी बाहिर लैजाँदा मनोबल घट्नसक्छ’ भनेर अनुरोध गरे पनि चिकित्सकले नमानेको बताए ।

‘यही जेठ २ गते बेलुका टिचिङ ल्यायौँ । त्यसको २ दिनपछि ४ गते बेलुका अकस्मात रक्तश्राव भयो । त्यसपछि हतार हतार अप्रेशन गरेर मनमोहन भवनमा राखिएको छ,’ तुलसीरामले भने, ‘उपचारबारे आफूलाई त्यति जानकारी छैन । तर सेवासुविधा अस्पतालको व्यवस्थापन, नर्स र डाक्टरले बिरामीलाई गर्ने व्यवहार सिभिलमै राम्रो थियो ।’

अहिले शिक्षण अस्पतालमा बिरामीको चापले असहज भइरहेको खत्री बताउँछन् । ‘आफूलाई जति नै पीडा भए पनि छोरीको खुट्टा जोगाउन पाए केही चाहिँदैन, सरकारलाई मेरो अनुरोध छ, कहाँ लगेर हुन्छ मेरो छोरीको खुट्टा जोगाइदिनुस्’ खत्रीले अनुनयविनय गरे ।

सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने घोषणा गरेको थियो । तर सुरुवाती अवस्थामा खर्च भएको ६–७ लाख रुपैयाँ अहिलेसम्म फिर्ता नपाएको खत्रीको गुनासो छ ।

अस्पतालभित्र हुने मुख्य उपचार निःशुल्क भइरहेको छ । तर उपचारका क्रममा चाहिने औषधि उपकरणको भुक्तानी गरिरहेको खत्री बताउँछन् ।

‘घरी यो ल्याऊ, घरी त्यो ल्याऊ भन्दै पठाउँछन्, कति खर्च भयो त्यसको लेखाजोखा छैन,’ खत्रीले पिर पोखे, ‘यति लामो समयदेखि छोरी अस्पतालको आईसियूमा हुँदा घरमा कसलाई बस्न मन लाग्छ ? परिवार नै आउजाउ गर्दा यातायात खर्च, खान बस्न लाग्ने खर्च, के कति भयो त्यसको कुनै अनुमान छैन, अझै कति समय लाग्ने हो, खुट्टा बचाउन सकिन्छ कि सकिँदैन ।’

छोरी अस्पतालको शैय्यामा सुतेको झण्डै २ महिना बितिसक्दा पनि उपचारको जिम्मेवारी लिएको सरकार र सम्बन्धित निकायबाट कोही पनि नआएको खत्रीको गुनासो छ ।

कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकी आएर स्वास्थ्य मन्त्रालयमा उपचारका लागि पहल गरिदिने आश्वासन दिएको खत्रीले बताए ।

गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो । १ सय २९ जना घाइते भएका थिए । घाइते मध्ये २० जनालाई गोली लागेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : १५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको