'लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्छ' | Khabarhub Khabarhub

‘लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्छ’


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गरेका छन् ।

संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा कुरा गर्दै पूर्वराष्ट्रपति डा यादवले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्ने बताए । 

सबै नेपाली मिल्नुपर्ने र गल्ती गर्नेलाई सजाय हुनुपर्नेमा जोड दिँदै उनले अहिले आन्दोलन गर्ने पुस्ता तथा सबैलाई वर्तमान चुनावी सरकारलाई साथ र सहयोग गर्न पनि आग्रह गरे । 

पूर्व राष्ट्रपति डा यादवसँगको कुराकानीको पूर्ण विवरण यस प्रकार छ:

‘आज संविधान दिवस । हामी सबै नेपालीहरूका लागि आजको दिन ऐतिहासिक दिन हो । यो संविधान, हामीले दुई–दुईपटक भएको संविधानसभाको निर्वाचनबाट ल्यायौँ । यो संविधानको पृष्ठभूमिबारे मैले सधैँ भन्दै आएको छु, यो नेपाली जनताको ८०/९० वर्षको आन्दोलन र सङ्घर्षको उपलब्धि हो ।

यो संविधान संस्थागत रूपमा विभिन्न राजनीतिक पार्टीहरूले २००७, २०४६ साल र २०६२÷६३ सालमा गरेका आन्दोलनको योगदानको प्रतिफल हो । त्योभन्दा पहिलेदेखि नागरिक स्वतन्त्रता र सर्वोच्चताका लागि नेपाली जनताले एक शताब्दी नै लड्यो । त्यसपछि यो संविधान पाएका हौँ ।

यो संविधान धेरै कष्ट, बलिदान र ठूलो सङ्घर्षले ल्याएका हौँ । नेपालको सबै शक्तिले यसलाई स्वीकार गर्दै चुनावी प्रक्रियामा भाग लिँदै आएको छ । यो संविधानलाई लागू गर्ने क्रममा केही त्रुटिहरू पनि भएका छन् । त्यसलाई समय क्रममा संशोधन गरेर लैजानुपर्छ । वास्तवमा राजनीतिक दलहरू संविधान र लोकतन्त्रका खम्बा हुन् ।

अहिले नयाँ पुस्ताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त देशको आकाङ्क्षासहित जुन आन्दोलन गर्नुभयो, त्यसले सुन्दर र स्वास्थ्य नेपाल बनाउने, रोजगार, शिक्षा र स्वास्थ्यलगायत सबै राम्रो होस् भन्ने देखिन्छ । उहाँहरूको आन्दोलन सही थियो । तर तत्कालीन सरकार र सुरक्षा प्रशासनले त्यसलाई ‘कमान्ड’ गर्न सकेन ।

युवाहरूले शहादत दिए, प्रदर्शनमा नरसंहार भयो । त्यसको जति आलोचना गरे पनि कमै हुन्छ । आन्दोलनको दोस्रो दिन विध्वंशकारी एजेन्टहरु पसे । विध्वंशकारी गतिविधिले राष्ट्रिय सम्पत्तिदेखि लोकतन्त्रका तीनै अङ्ग कार्यपालिका, न्यायपालिका र विधायिकादेखि राष्ट्रपतिको कार्यालयमाथि पनि आक्रमण भयो । देशको सार्वजनिक सम्पत्तिलाई ध्वस्त पारेर व्यावसायिक क्षेत्रका संस्थानमाथि पनि आक्रमण भयो । यस्तो काम अराजक तत्त्वले मात्र गर्न सक्छ । राष्ट्रको हित सोच्ने नेपाल आमाका सन्तानले यस्तो जघन्य अपराध गर्न सक्दैन । बदमासी गर्नेलाई कानुनले सजाय दिनुपर्छ । तर यसका नाममा राष्ट्रिय एकता खलबल हुनु हुँदैन । हामी सबै मिलेर अगाडि बढौँ ।

यस आन्दोलनका क्रममा भएका जघन्य अपराधहरूको न्यायिक जाँचबुझ गरेर कानुनसम्मत कारबाही हुनुपर्छ । जहाँसम्म अब कसरी अघि बढ्ने भन्ने कुरा छ, स्वच्छ छवि भएका पूर्वप्रधानन्यायाधीश (न्यायमूर्ति) सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ । सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले निकास दिनुभएको छ । सोही अनुसार हामीले यही संविधानलाई आधार मानेर आगामी दिनमा राजनीतिक दलहरूले र नयाँ पुस्ताले आफ्नो दल बनाउन पाउँछ । त्यसका लागि सबैले जनताबाट ‘फ्रेस म्यान्डेट’ लिएर आउन पाउँछ ।

‘फ्रेस म्यान्डेट’ लिएर आएर यही सदनबाट संविधानमा कहाँ कहाँ संशोधन गर्नुपर्ने हो, समयसापेक्ष रूपमा संशोधन गरेर अघि बढेर यो संविधानलाई बचाउनुपर्छ । वास्तवमा यो संविधान लोकतान्त्रिक र गणतान्त्रिक छ । सङ्घीयता आफैँमा समावेशी छ, यो धर्मनिरपेक्षतासहितको छ । यसलाई कसरी हामीले समयसापेक्ष  राष्ट्रको एकतालाई मजबुत गर्दै र देशलाई सबै नेपालीको भावनाबमोजिम संविधानसभाबाट ६०१ प्रतिनिधिले  भौगोलिक, सांस्कृतिक र सामाजिक विविधतासहितको संविधान ल्याएका हुन् । यही संविधानमार्फत हामीले अबका दिनमा बाटो कोर्नुपर्छ ।

अब चुनावभन्दा दायाँबायाँ जानु हुँदैन । लोकतन्त्रमा जनताको अधिकार जनतामा छ । जनता यो देशको मालिक हो । संविधानले सार्वभौमसत्ता, राजकीयसत्ता र शासन सत्ता जनतामा निहित राखेको छ । यसै मार्फत भविष्यको बाटो कोरेर जाऔँ भन्ने देशवासीमा नम्र अनुरोध गर्दछु ।’ रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : ३६ बजे

हजारौँ हात, आँसु र प्रेरणासँग फेरि उठ्नेछौँ : भाटभटेनी सुपरस्टोर 

काठमाडौं– प्रतिष्ठित चेन स्टोर भाट-भटेनीका २१ वटा स्टोरमा भएको आगलागी,

जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा)

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने

सिंहदरबार र अदालत जलाउनेलाई कांग्रेसले दियो आपराधिक र अराजकको संज्ञा

काठमाडौँ- देशकै ठूलो दल नेपाली कांग्रेसले सिंहदरबारसहित लोकतान्त्रिक शासन व्यवस्थाको

जेन-जीको आक्रमणमा घाइते देउवाको गर्दनमाथि १२ टाँका, अझै हिँडडुल गर्न समस्या

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास