केराका थामबाट अतिरिक्त आम्दानी « Khabarhub

केराका थामबाट अतिरिक्त आम्दानी


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् । यहाँका धार्मिक, पारम्परिक र सांस्कृतिक पर्वका विधिमै कृषि उपजको महत्व जोडिएको छ । यहाँका पर्वमध्ये तिहार र छठमा त झन् थरिथरिका कृषि उपज पूजा सामग्रीमा प्रयोग हुन्छन् । यी मध्ये तिहारमा केरा फलमात्र नभएर कोथाहरू नै बिक्री हुने भएपछि यो खेतीका किसानलाई अतिरिक्त आर्जनको अवसर बन्दै आएको छ ।

तिहार र छठ दुवै पर्वमा केरा फल अनिवार्य चढाइने सामग्रीमा पर्छ । खासगरी छठमा त केराका घरी नै सूर्यदेवलाई अर्घ दिँदा देखाइने चलनले पर्वभरि यसको माग निकै हुन्छ । तिहारमा लक्ष्मीपूजाका दिन त व्यापारिक प्रतिष्ठानले लक्ष्मी प्रवेशद्वार बनाउन केराका थामको प्रयोग गर्छन् । यो चलनले जिल्लाका मुख्य बजारमा केराका थामको बजार जम्दै आएको विगत छ । कतिपय ब्यापारीले केही दिन पहिले नै थामबापतको अग्रिम रकम दिएपछि यो नगदले आफ्नो पर्वका सामग्री खरिदमा सहयोग पुगेको केराखेतीका किसान बताउँछन् ।

‘मैले त केराको थामबापत बैना रकम नै पाँच हजार लिइसकेको छु’, भङ्गाहा–४ थारूटोल बनराका किसान रामधारीसिंह थारू भन्छन् । तिहारको यो अवसर आफूहरूका लागि खनेर फालिने कोथाबाट रकम प्राप्त हुनेहुँदा यो बेला पर्खाइमा रहने गरेको उनले बताए ।

केराखेती गर्दा एक झ्याङ्मा तीनवटाभन्दा बढी कोथा बढ्न दिन नहुने किसानको अनुभव छ । ‘एक झ्याङमा तीनभन्दा बढी कोथा भए घरी राम्रो लाग्दैन, कोसा राम्रा हुँदैनन्’, अर्का किसान रामसुनरदेवी राय भन्नुहुन्छ, ‘यो त बढी भएका कोथा हामीले मजदुर लगाएर उखेलेर फाल्नुपर्दथ्यो, तर यो बेला कोथा बिक्री हुने भएर यो अवसर हाम्रो पर्खाइमा पर्छ ।’

पर्वको यो अवसरले उखाल्न लाग्ने खर्चको बचतसँगै कोथा बिक्रीबाट प्राप्त हुने रकम पुरस्कारजस्तै हुने गरेको राय बताउँछन् । यसै मौकामा केराको गोडमेल हुने गरेको किसानको भनाइ छ । यसैले यी पर्वलाई किसान केराको अमृत बेला भन्ने गर्छन् । पर्वका बेला केराका घरीले राम्रो दाम पाउने र उखालेर फाल्नुपर्ने कोथासमेत बिक्री हुनुले यो खास अवसर रहँदै आएको किसानको भनाइ छ ।

वर्षभरिमा एउटा केराको झ्याङमा पाँचसातवटासम्म फाल्नुपर्ने कोथा निस्कने किसान बताउँछन् ।  यसबेला स्वागतद्वारका लागि व्यापारीले लग्ने कोथा जोडीको तीन सयसम्म पाइने गरेको किसानको भनाइ छ । आफूले कोथा बेचेर नै तिहारमा पछिल्ला तीन वर्षयता सालाखाला १० हजार रुपैयाँ पाएको भङ्गाहा–६ सग्रामपुरका सुवालाल राय यादवले बताए ।

थामको स्वागतद्वार बनाउने चलन सहरबजार क्षेत्रमा भएको हुँदा जिल्लाका जलेश्वर, गौशाला, बर्दिबास, मटिहानी, रामगोपालपुर, मनरा र पिपरासहितका बजार क्षेत्रमा ठूलै मेला जम्छ ।

मिथिला क्षेत्रमा तिहार र छठका अवसरमा स्वागतद्वार बनाउन प्रयोग गरिने थाम शुभफलदायी मानिन्छ । केराका थामको स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् । वैदिककालदेखिकै यो परम्परा मिथिला लोकसंस्कृतिको अङ्ग बन्दै आएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।

हिन्दू परम्पराका सबैजसो चाडपर्वको अनिवार्य प्रसाद सामग्री बन्ने र स्वास्थ्यका लागि लाभदायी यो फल बजारमा बाह्रैमास बेचबिखन भए पनि यहाँ यसको खेती भने निकै कम छ । घरकरेसा बारीमा एकाध केराका बोट देखिए पनि यसको व्यावसायिकखेती भने दुई सय ८० हेक्टरमा मात्र भइरहेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ ।

जिल्लामा केराखेतीका लागि अनुकूल हावापानी र माटो रहेको हुँदा किसानले यो खेतीमा तत्परता देखाए कार्यालयले प्राविधिक सहयोगसँगै उन्नत जातका बिरुवा सुलभ मूल्यमा उपलब्ध गराउन पहलकदमी लिनसक्ने कार्यालयका कृषिविज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतोले बताए । (रासस)

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ७ : २० बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला