कहिल्यै आएन पिठो सस्तिने शासन « Khabarhub

कहिल्यै आएन पिठो सस्तिने शासन

माड र जाँड जोहोको राजनीति त्याग्ने कि ?



कहालीलाग्दो विनासको छायाँ ओझेल नपर्दै राजनीतिभित्र मानवता खरानी बनाउने तमासा देखिन थालेको छ । जनता दुखेका बेला नेताहरु भित्रभित्रै कुर्सीको परेड खेल्न थालेका छन् । बाल बाल बचेको थिलथिलो मल्हमपट्टी खोजेको शरीर नतङ्ग्रिदै पद, पैसा र पाखुरी प्रदर्शनका जग हँसाउने लीला देखिन थालेका छन् ।

दुख, पीडा, अभाव, गरिबी भाइरलमा अनुवाद भएका छन् । आँखाको आँसु, चाउरिएको निधार, फाटेको मजेत्रो, काटेको घाउ कमेडी निर्माणका ‘हटकेक प्लट’ भएका छन् । सबै सकिएको भनिएका शेरबहादुर देउबा झन् शानदार गाडी चढेर निस्किएका छन् । महेश बस्नेतको राडारमा बास बस्न भक्तपुरको गुण्डु पुगेको केपी ओली ‘टोलेडन’को अभ्यासमा देखिन थालेका छन् । आफू अगाडि डमी नै किन नहोस् ठडिएको देखेपछि ओली पुराणमा पूर्णविराम लाग्ने अवस्थै रहेन ।

एउटाको कलेजो रेटिएको दृश्य अर्काका लागि माड र जाँड जोहो गर्ने साधन बनेको छ । हेर्दा सबै छन् तर सबैभित्र एक्लो बाँच्नु नेपाली नियति बनेको छ । सीताका संरक्षक राम थिए, अपहरित हुँदा एक्लै थिइन । द्रौपदीका पाँच पति थिए , निर्वस्त्र हुँदा कोही थिएनन् । राजा दशरथका चार पुत्र थिए, सास जाँदा पुत्रविहीन रहे । रावणको लङ्का राज्य समृद्ध थियो । सेना बलशाली थिए । सुनैसुनको भण्डार थियो । तर लङ्का खरानी हुन कसैले रोकेन । अभिमन्यू राजखलकका थिए । तर चक्रव्यूहबाट छुटाउने कोही भएन ।

हो, नेपालमा तीन करोड जनता छन् । घरैपिच्छे नेता छन् । सामाजिक सञ्जाल हेर्ने हो भने घरलौरी कलाकार, पत्रकार र न्यायाधीश छन् । एकाध किलोमिटरमा प्रदेश छन् । वडा सदस्यदेखि मुलुकको कार्यकारी तहमा रहेका हेडसरहरुको हातमा आईफोन, आईप्याड छ । गाडीघोडा छन् । निजी सचिव छन् । प्रेस सल्लाहकार छन् । माथिदेखि तलसम्म दिनरात बैठक बसेको बसेकै छ । निर्देशन दिने काम तीव्र भएकै छ । आकाश पाताल जोड्ने योजना छन् । सरकार ढाल्ने र बनाउने पासा मिल्काइएका छन् ।

आन्दोलनमा शहादत प्राप्त गरेका निहत्था नवयुवाको लासबाट वायुमण्डलमा उडेको धुवाँले आकास धर्ती रङ्गिरहँदा सत्ताको छिनाझम्टी चल्न छोडेको छैन । प्रधानमन्त्री हुन पूर्वप्रधानमन्त्रीहरु नै धुलो टक्टक्याएर लाइनमा छन् । वस्तुनिष्ठ कुनै योजना छैन, विचार छैन । भद्दा आत्मरति उस्तै छ । यत्रा मानिसले ज्यान दिएको आन्दोलनप्रति सम्यक विवेचना छैन् । समयको सन्देश बुझ्नु छैन । थोरै कतै नैतिकताको राग भेटिदैन ।

ठेगानाबिनाको चिट्ठीजस्तै लक्ष्यविहीन भागबण्डा छ । फेरि त्यो कुर्सीमा जानुपर्ने औचित्यको पुष्टि छैन । देश खरानी बनाएर सफल बनेको भनिएको आन्दोलनको स्वामित्व लिन कुनै एउटा सग्लो पात्र तयार छैन । बेथिति विरुद्धको आन्दोलन संस्थागत हुने सम्भावन शून्य प्रतिशत देखिँदै गएको छ । एकथान कुर्सीका लागि फेरि भजनमण्डलीमा निर्लज्ज अभ्यास शुरु भएको छ । सबैलाई थाहा छ– नेपालमा ठूलो मानिस बन्नु भनेको मालिक हुनु हो । कुर्सी कर्तव्य नभएर मनोरञ्जन हो । अरु देशका राजनेता कुर्सीमा पुगेपछि दुब्लाउँछन् । यहाँ कोमामा पुगेकालाई कुर्सी थमायो भने चोला फेर्छन् ।

चार दशकदेखि एउटै पुस्ताका नेताहरुको राजनीतिक म्युजिकल चियर्समा अविराम सहभागिता छ । जेलनेल, तोडफोड, हत्याहिंसा, लुटपाटको सफल नेतृत्व सत्ता सञ्चालकका न्यूनतम योग्यताभित्र पर्छ । उनीहरुलाई चीन, रुस, अमेरिका, क्यूवा, पेरुका राजनीतिक इतिहास कण्ठ छ । मार्क्स, लेनिन, माओका दर्शन घाँटीघाँटीसम्म अक्षरशः ज्ञान छ । तर जन्म दिने बाउको धोतीटोपी कुन रङ्गको पत्तो छैन । आमाले वर्षौंदेखि भोगिरहेको दमव्यथा र गानोगोलाको हेक्का छैन । छोराको सपना थाहा छैन । नातिपुस्ताको भविष्यसँग दरकार छैन । तीनपुस्ताको भविष्यप्रति सचेतता र सजगता नै राजनीतिको पहिलो र अन्तिम गन्तव्य हो भन्ने नर्सरी ज्ञान उनीहरुलाई छैन ।

नेता भनेको सम्पूर्ण नागरिकको व्यवस्थापक हो । उसले आफ्नो छोराजस्तै सबै युवालाई शिक्षित र समृद्ध बनाउने बाटो खन्नुपर्छ । नेता नभई राजनेता बन्नुपर्छ । राजनेताले देशको भविष्य हेर्छ, नेता चुनावको भोटमा खुम्चिएको हुन्छ । धानमीलको फित्ता घुमेजस्तै एउटै मनचिन्ते इतिहास बोक्नु भनेको असफल क्रान्ति हो ।

महात्मा गौतम बुद्धले भन्नु भएजस्तै तीनथरि मानिसलाई कहिल्यै बिर्सनु हुँदैन । पहिलो, जसले सङ्कटको बेला साथ दिन्छ । दोस्रो, जसले संकटका बेला साथ छोड्छ र तेस्रो, जसले तपाईंलाई सङ्कटसम्म पुर्‍याउँछ । जग रोएका बेला हाँस्नेहरुको भाग्य कस्तो लेखिएको हुन्छ ? चरम भोकले तड्पिएर मर्न आँटेकी बालिकाको मृत्यु पर्खिएर बसेको एउटा गिद्धको फोटो सबैले देखेको हुनुपर्छ । यो फोटो यस शताब्दीकै चर्चित फोटोग्राफी हो । सन् १९९३ मा सुडानमा लिइएको यो तस्वीर उतार्ने फोटो पत्रकार थिए– केविन कार्टर । फोटो सार्वजनिक भएपछि उनी चर्चाको शिखरमा रहे । यही फोटोले उनलाई पुलित्जर पुरस्कार दिलायो । कार्टरले त्यो सम्मानको आनन्द धेरै समय लिन पाएनन् । फोटो खिचेको केही महिनामा ३३ वर्षको उमेरमा उनले आत्महत्या गरे ।

दुनियाँभर केविनको ख्याती चलिरहेकै बखत उनलाई फोन गरेर कसैले सोध्यो– ‘फोटो खिचेपछि त्यो बालिका कुन अवस्थामा थिइन् ?’ उनले जवाफ फर्काए– ‘खै, थाहा भएन किनकी मेरो फ्लाइट ढिला हुँदै थियो ।’ यो जवाफपछि प्रश्नकर्ताले जङ्गिदै भने– ‘त्यसदिन त्यहाँ दुईवटा गिद्ध थिए । जसमध्ये एउटाको हातमा क्यामेरा थियो ।’ फोटो पत्रकार कार्टरलाई यो संवादले यति विचलित बनायो कि अन्त्यमा आत्महत्या रोजे । कामना गरौँ– आन्दोलनले नेताहरुको घर खरानी भयो, मानव चोला त्यसो नहोस् ।

बिग्रिएको घडीले दिनको दुईपल्ट एकुरेट समय बताउँछ । तर बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन् । तीनवटा प्राइभेट लिमिटेड पार्टीका मालिकहरुले सहमतिको आवरणमा तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काउँदा देश अराजकताको भुमरीमा फसेको तथ्य कतै छिपेको छैन । नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टी नेताले घोषित अघोषित शैलीमा सघाएका छन् । यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् त कसैले मौन बसेर ।

बीपी– जीपी, केपी–पीके, मनमोहन–माधव, झलनाथ, बाबुरामदेखि यादवहरुसम्म यस कटु सत्यका पारंगत पात्रहरु हुन् । सत्ता टिकाउन आफूलाई कति बिकाउनु पर्छ भन्ने सत्यबाट कोही अछुतो छैनन । तर यो विषयलाई उनीहरुले फगतः कम्बल ओढेर घिउ खाने माध्यम मात्र बनाए ।

अरु त अरु कम्युनिष्ट पृष्ठभूमिका नेताहरु कुरामा क्रान्तिकारी, आदेशका चरम आज्ञाकारी निस्कँदा राजनीतिक परिवर्तन एउटा ठट्टामा सीमित बन्दै गयो । नेपालमा चेतनाभन्दा उत्तेजना, विवेकभन्दा आवेग बढी विक्री हुन्छ । अङ्कमा केपी ओली नेतृत्वमा दुई दुई पटक इतिहासकै शक्तिशाली सरकार बन्यो । तर त्यसको सामर्थ्य परालको खुट्टाजति पनि भएन । यसबाट प्रमाणित हुन्छ कि नेपालमा जनमतले नभएर कनेक्सन शक्तिशाली हुन्छ ।

नेपाल मात्र नभएर विश्वमै यो श्रृङ्खलाले निरन्तरता पाएको देखिन्छ । चार दशकअघि विश्व शीतयुद्धतर्फ अघि बढिरहँदा विश्वका आधाजति मुलुकमा कम्युनिष्ट शासन थियो । जति देशमा कम्युनिष्ट शासन थियो, अरु देशको तुलनामा विकासका दृष्टिले ती देश पछि परिरहे । पेरु, कम्बोडिया, फिलिपिन्स, अफ्रिकाका दर्जन मुलुक युद्धमै अल्झिए । उनीहरुले सबै वर्गलाई उचाले । जब तिनीहरुको उपयोगिता सकियो, थचक्कै थेचारे । कम्युनिष्ट शासन आएपछि खै त स्कुल कलेजको शुल्क घट्यो ? उपचार सहज भयो ? हामीले खाने पीठो सस्तियो त ?

सातु खाएर जनयुद्ध लडेको गौरव गरेका तिनै नेता एकाध वर्षमै ब्ल्याक लेबल, ब्लु लेबलदेखि बटरफ्लाई ब्राण्डका पारखी हुन पुगे । तर, सिसाको गिलासमा खाँदा रहस्य खुल्ने डरले स्टीलको गिलासमा खाएर जनताको नाममा पाखण्ड ओकल्न भने उनीहरु अझै पछि पर्दैनन् । नेताहरुलाई आफू मालिक भएको भ्रम छ । हुन पनि पदमा आसीन हुनासाथ २, ३ सय किलोका माला लिएर कार्यकर्ता आरती उतार्न तयार हुन्छन् । नेपाली जनतामा यस्तो राजनीतिमेनिया छ कि चना चटपटे बेच्नेलाई पनि सिंहदरवारकै स्वाद छ । यस्तो महामारीमा पनि नेताकै नौटंकी विकेको छ ।

पत्रकारको ऊर्जा नेता पछ्याउनमै खर्च भइरहेको छ । घर बन्धकी राखेर खाडीमा बेल्चा चलाउन गएको एउटा श्रमिक युवा थप ऋण खेपेरै भएपनि नेताका नाममा टिकट किनेर पठाउँछ । विमानस्थलमा नेतालाई खादा ओढाउँछ । अन्तिममा नेतासँग कुम जोडेको फोटो फेसबुकमा अपलोड गरेपछि सन्तोषको सास फेर्दै मनमनै मख्ख पर्छ– ‘आफू नेता नभएर के भो, नेता त मैले चलाएको छु ।’

मोबाइल फोनको हरियो थिचे उठ्छ, रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएका नेताहरु आईफोनको पारखी भएका छन् । अरु त परै छाडौँ एउटा सामान्य म्यासेज पढ्न र पठाउने कला पनि उनीहरुमा देखिँदैन । हो, देश पनि तिनीहरुका लागि त्यही मोबाइल सेटजस्तै भएको छ । नजान्नेले मोबाइल थिचेर त्यसको प्याड थिलथिलो बनाए झैँ नेताहरुको प्रयोगले देशको आकार अमिबाजस्तै बन्न पुगेको छ । नेता कस्तो हुनुपर्छ ? जनताको कर्तव्य के हुन्छ ? एउटा जापानको प्रसङ्ग ।

स्वामी विवेकानन्द जापान भ्रमणमा थिए । शहर घुम्दाघुम्दै उनले स्याउ किने । स्याउ किनेर फर्किनै लाग्दा एउटा बालक आएर बाटो छेक्दै उभिएर स्वामीसँग भन्छ– ‘त्यो स्याउ मलाई दिनुस् । मसँग धेरै पैसा त छैन, तर पनि म तपाईंलाई परेको मूल्य चुकाउँछु ।’ स्वामी आश्चर्य पर्दै सोध्छन– ‘किन बाबु ?’ बालक जवाफमा भन्छ– ‘त्यो साहुले स्याउ बेच्दा केही बिग्रिएको स्याउ पनि हालेको छ । तपाईं हाम्रो पाहुना हो । भोलि आफ्नो देश गएर भन्नु हुनेछ– जापानी ठग हुँदा रहेछन् । म यसो हुन दिन्न । यसैले कृपया तपाईंसँग रहेको त्यो स्याउ मलाई बेच्न आग्रह गर्दछु ।’ बालकको अगाध देशभक्तिबाट ओतप्रोत विवेकानन्दले प्रतिज्ञा गर्दै भने– ‘होइन बाबु म त्यो भन्ने छैन । बरु आफ्नो देशभरि घुमेर भन्नेछु , जापानका साना साना बच्चामा समेत अगाध देशप्रेम हुँदोरहेछ ।’ हाम्रो राजनीतिले नयाँ पुस्तामा यो सन्देश भर्ने कहिले ?

माओ कि ट्रम्प ? यसो भनेर गाई त्रिशुल खेलाउने हो भने अधिकांश माओवादी कार्यकर्ताहरुको रोजाई ट्रम्प पर्नेमा शंका छैन । कार्यकर्ताहरुलाई मार्क्स, लेनिन, ख्रुश्चेभदेखि माओ नामको चालिसासम्म कण्ठ गराएका नेताहरुका लागि युरोप अमेरिकाबाहेक अरु मुलुक अछुतजस्तै हुने गरेका छन् । नेताहरुले कार्यकर्तालाई जिन्दगीभर उत्तर कोरिया, क्युबा र चिनियाँ सांस्कृतिक क्रान्तिको पाठ पढाएर जाँचमा भने अमेरिका, जापान, स्वीटजरल्याण्ड र दक्षिण कोरियाको प्रश्न सोध्ने गरेका छन् । त्यसैले त इमान्दार कम्युनिष्टहरु यसखाले पाखण्डको जामा लगाउन नसक्दा फेल भएर न हाँस, न बकुल्लाको चालमा बाँचिरहेका छन् ।

संसार कुन गतिमा अघि बढिरहेको छ ? अबको विकास मोडल कस्तो हुनुपर्छ ? नेपालको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय हुँदै विश्व अर्थतन्त्रमा कसरी जोड्न सकिन्छ ? यस्ता खालका चिन्तन राख्ने राजनीतिक प्राणीको सङ्ख्या पुरै शून्य छ । राजनीति इमान्दारी र नैतिकतामा फल्छ, फुल्छ । नेता पारदर्शी हुन्छ भने हाकिम अपारदर्शी । नेताले समन्वय गर्छ भने हाकिमले तोकादेश फर्माउँछ । यदि नेता हौसिएर हाकिम हुन खोज्यो भने उ त खरानी हुन्छ नै, देश पनि अबन्नतिको पातालमा भासिन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : ५० बजे

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै

‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख