काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते आगजानी, लुटपाट र तोडफोड गर्न भदौ २३ गते हिंसात्मक घटना गराइएको दाबी गरेका छन् ।
आइतबार सम्पादकहरूसँग अन्तरक्रियामा पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ गतेको जेन-जी आन्दोलन शान्तिपूर्ण हुने भनेर सुरक्षा निकायले आफूलाई रिपोर्टिङ गरेको स्पष्ट पारेका छन् ।
अघिल्ला दिनहरूजस्तो भदो २३ गते संसद् भवनमा सुरक्षा व्यवस्था मजबुद पनि नपारिएको उनको दाबी छ ।
‘१० हजार विद्यार्थी जम्मा हुने कुरा छ। हामी त्यहाँ रोक्छौँ उनीहरूले छाड्छन् । शान्तिपूर्ण जुलुस हुन्छ भन्ने ब्रिफिङ मैले २२ गते राति सुरक्षा समितिको बैठकमा गरिएको थियो’, उनले भने, ‘शान्ति सुव्यवस्था कायम गर्न खटाइएका प्रहरीसँग त्यो बन्दुक हुँदैन। कुनै विशेष टास्क फोर्स राख्नु र त्यहाँ हुनु बेग्लै कुरा हो। तर सडकमा शान्ति व्यवस्था कायम राख्न एसएलआरजस्ता बन्दुक र गोलीगठ्ठा दिइएको हुँदैन ।’
नक्कली जेन-जीहरूले हिंसा भड्काएको उनले दाबी गरेका छन् । सक्कली जेन-जीले त्यस्तो गलत काम गर्नै नसक्ने उनले बताए ।
‘सक्कली-नक्कली, नक्कली-सक्कली हुन्छ। साँच्चै गर्यो भने कहिले त्यो सुटिङ हुन्छ। कहिले रियल भइदिन्छ। के बनाउनुपर्ने हो त्यो हुन्छ। त्यो बेला नक्कली हतियारको सुटिङ हुँदैथ्यो र नेपालमा ?’, उनले भने, ‘त्यस्ता खालका मान्छे आए र ब्यारिकेड तोड्न खोजेपछि जेन-जीले माइकिङ गरेर भनेका थिए ।’
अन्तरक्रियाका क्रममा उनले आफ्नो सम्पत्ति छानबिन गर्न भनेका छन् । तर, केपी ओली जसले जहाँ बोलाउँछ त्यहीँ भने नजाने उनले चेतावनी दिएका छन् ।
उनले भविष्यमा सम्पदकहरूले नै केपी ओलीलाई फिर्ता ल्याऊँ भनेर विशेष सम्पादकीय लेख्ने दिन आउने पनि बताए । उनले अहिले देशमा अराजकता चलिरहेको बताएका छन् । यदि यो कायम रहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने दाबी उनले गरे ।
‘यस्तै भयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट हुने रहेनछ’, उनले भने, ‘यस्तो अराजकता रहिरहे तपाईंहरूले (सम्पादक) विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याऊँ भन्नु हुन्छ । नलेख्नुपर्ने कारण छन् भने भन्नुसु ।’
प्रतिक्रिया