काठमाडौं- नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश बनाउन हिँडेको बताएका छन् ।
प्रेस चौतारी नेपालले आइतबार गरेको सम्पादकसँगको छलफलमा बोल्दै ओलीले विदेशीले चलाएका कठपुतलीसँग आफू अँध्यारो मुख लगाएर नहिँड्ने बताए ।
उनले अहिलेको सरकारले आफूलाई देश भित्र हिँडडुल गर्नसमेत रोक लगाउने निर्णय गरेको बताउँदै यो कस्तो सरकार भन्दै प्रश्न गरेका छन् ।
आफूमाथि सुरक्षा चुनौती भएको बेला सरकारले सुरक्षाकर्मी फिर्ता लिएको ओलीले बताए । सरकारले आफ्ना गिरोहका मानिसहरूको सुरक्षा बढाएको र आफ्नो सुरक्षा हटाएको उनको भनाइ छ । ओलीले वडाध्यक्षदेखि स्थानीय तहका जनप्रतिनिधिलाई सुरक्षा बढाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलक्षित कटाक्ष गरे ।
भोलि आफूलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने माग आउने भन्दै त्यो कुरा सम्पादकले नै भन्न बाध्य हुने ओलीको दाबी छ । ‘तपाईँहरूले सम्पादकीय लेखेर भन्नु हुने छ केपी ओली फिर्ता लाउनु पर्छ, विशेष सम्पादकीय लेखेर भन्नु हुने छ’, उनले भने ।
ओलीले भदौ २३ को घटनामा गोली चलाउने आदेश आफूले नदिएको र त्यो आदेश दिने अधिकार प्रधानमन्त्रीको नभएको बताए । आफूले दिँदै नदिएको आदेशको जिम्मा लिन नसक्ने ओलीले स्पष्ट पारे । ‘मेरै घर जलाइएको छ, मेरै बाउको घर जलाइएको छ, म जिम्मेवार हुनु पर्ने ? मेरो घर मैले नै जलाएँ त ?’, उनले प्रश्न गरे ।
जेन-जी आन्दोलनका नाममा आपराधिक क्रियाकलाप भएको बताउँदै उनले त्यसविरुद्ध पत्रकारहरू समेत बोल्न नसकेको ओलीले गुनासो गरे । ‘यो नराम्रो काम भयो भनेर हाम्रो मिडियाले बोल्नु पर्छ, लेख्न सक्नु पर्छ’, उनले भने ।
संसद् स्थापना बाहेक अरू कुनै विकल्प नरहेको बताउँदै ओलीले त्यो विषयको सम्पादकहरूले पनि समर्थन गर्नुपर्ने बताए ।
आफूले संसद् विघटन गर्दा प्रतिगमन भयो भन्ने सम्पादकहरूले अहिले संसद् विघटनको समर्थन जनाउन आश्चर्यजनक भएको उनले सुनाए ।
निर्वाचनबाट छानिने कुरा आफूलाई प्यारो भए पनि अपराधी र बन्दुक बाहिर राखेर चुनाव हुन नसक्ने ओलीले बताए ।
एमालेले चुनाव बहिष्कार गर्न खोजेको नभई यो सरकारले चुनाव नै गराउन नसक्ने दाबी ओलीले गरेका छन् ।
प्रतिक्रिया