जेन–जी आन्दोलनका नाममा विध्वंश मच्चाउनेलाई छाडिन्न « Khabarhub

जेन–जी आन्दोलनका नाममा विध्वंश मच्चाउनेलाई छाडिन्न



काठमाडौं- सुशासनको माग गर्दै शुरु भएको शान्तिपूर्ण जेन–जी आन्दोलन एकाएक विध्वंशमा परिणत भयो । ‘नेपो बेवी किड’ माथि केन्द्रित गरिएको आन्दोलनले अचानक सत्ता परिवर्तन गर्ने स्थिति पैदा गर्‍यो । शान्तिपूर्ण विरोध प्रदर्शन गरेका जेन–जीसँग ब्यानरसम्म थिएन । तर आन्दोलनमा गोली चल्यो । आन्दोलनको पहिलो दिन २१ जनाले ज्यान गुमाए ।

त्यसैको आक्रोश स्वरुप आन्दोलनको दोस्रो दिन कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका खरानी बनाइयो । प्रधानमन्त्री, गृहमन्त्री र पार्टीका शीर्ष नेतादेखि राजनीतिक दलका कार्यकर्तासमेत ज्यान जोगाउन भाग्नुपर्ने स्थिति आयो । वास्तविक जेन–जीलाई पाखा लगाउँदै स्वार्थ समूहले आन्दोलन ‘हाइज्याक’ गरेको टिकाटिप्पणी भयो ।

भदौ २४ को विध्वंश २३ गते प्रहरीको निर्मम दमनको परिणाम हो भन्ने तर्क एक पक्षको छ । अर्को पक्षले आन्दोलनको नाममा अन्य समूहले स्वार्थको रोटी सेक्न खोज्दा परिस्थिति प्रतिकूल बनेको मत राख्दै आएको छ ।

जेन–जी आन्दोलनमा विद्यार्थीमाथि प्रहरीले निर्ममतापूर्वक किन गोली चलायो ? भीड नियन्त्रण गर्न अन्य बाटा बन्द भएको अवस्था थियो ? घुसपैठमा अरुले गोली चलाएर प्रहरी बदनाम भएको पो हो कि ? आन्दोलनमा त्यतिका विधि क्षति कतै सुरक्षा निकाय चुकेर भएको त हैन ? यिनै विषयमा रहेर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेसँग गरिएको कुराकानीः

अहिलेको अवस्थामा देशभरकै शान्ति सुरक्षाका चुनौती के–कस्ता छन् ?

शान्ति सुरक्षा भन्ने कुरा जहिले पनि चुनौतीपूर्ण हुन्छ । सुरक्षा कतिबेला र कहाँनिर बिग्रन्छ भन्ने यकिन हुन्न । जतिबेला पनि हुन सक्छ । सामान्य अवस्थामा दुर्घटना भएर मान्छेको ज्यान जान्छ । त्यहाँ सुरक्षा स्थिति बिग्रिएको बुझ्नुपर्छ । भदौमा जुन जेन–जी आन्दोलन भयो । दोस्रो दिनको आन्दोलनमा ठूलो सङ्ख्यामा कैदीहरु कारागारबाट भागे । खुङ्खार कैदी जो कारागारमै रहनुपर्ने थियो, तिनीहरु यतिबेला बाहिर छन् । हातहतियारहरु लुटिएका छन् । त्यसले गर्दा प्रशासनलाई थप चुनौती थपिएको छ । तर, जस्तोसुकै चुनौतीको समाधान हुन्छ ।

सुरक्षा प्रत्याभूतिका लागि प्रहरीले ‘विशेष सुरक्षा रणनीति’ बनाएको छ । काठमाडौं उपत्यका लगायत सातै प्रदेशमा विशेष डेस्क खडा गरी टोली परिचालन गरिएको छ । त्यही टोलीले एक महिनामा नौ हजार फरार कैदी पक्राउ गरिसकेको छ । नागरिक तहको सहयोगमा उनीहरुलाई पक्राउ गर्न सफलता मिलेको हो ।

बाँकी अझै ५६ सय कैदी पनि छिटै पक्राउ गरिन्छ । भदौ २४ गतेको दिन प्रहरीको जुन अनुपस्थिति भयो, अभावलाई मध्यनजर गर्दै नागरिकले फुटेका सीसा, भत्केका घर, जलेका विस्तारा सबै आफ्नो तर्फबाट व्यवस्था गरिदिनुभयो ।

आन्दोलनमा प्रहरीको मृत्यु भयो र धेरै घाइते भए । फिल्डमा खटिने प्रहरी सन्त्रासमा छन् । उनीहरुको मनोबल बढाउन के गरिएको छ ?

३ जना प्रहरीको ज्यान गयो । १९ सय माथिको सङ्ख्यामा घाइते भए । १० जना अझैपनि अस्पतालमा उपचाररत छन् । त्यसकारण नागरिक स्तरमा प्रहरीको मनोबल खस्किएको होला भन्ने लाग्न सक्छ । ७०औं प्रहरी दिवस सम्पन्न भएको सन्दर्भमा सात दशकको इतिहासमा प्रहरीले यस्ता थुप्रै राजनीतिक उतार चढाव भोगिरहेको छ ।

जेन–जी आन्दोलन भन्दा कयौँ गुणा विध्वंश देख्यौं र भोग्यौँ । ०१७ सालको आन्दोलनदेखि ०४६ सालको आन्दोलन र दश वर्षे सशस्त्र द्वन्द्वसम्म अग्रपङ्तिमा रहेर कार्य गरेको छ । सबै आन्दोलनमा नेपाल प्रहरी आफ्नो कर्तव्य पालनामा चुकेको छैन ।

आन्दोलनमा मान्छेको ज्यान गएको छ । घाइते भएका छन् । भौतिक पूर्वाधार नष्ट भएको छ । यसले केहीदिन अन्यौलको स्थिति सिर्जना हुन स्वाभाविक हो । तर महिनादिनसम्म प्रहरी मनोबल खस्क्यो भनेर बसेको छैन । प्रहरी उच्च मनोबल लिएर काममा खटिएको छ । यतिबेला प्रहरीलाई झनै प्रेरणा मिलेको छ ।

हिजोका दिनमा नागरिकले जुन सम्मान दिएका थिए, यो आन्दोलनपश्चात् थप माया र सम्मान दिएको पाइएको छ । रातको समयमा टोल सुधार समितिले समेत गस्ती गरेर शान्ति सुरक्षामा हातेमालो गरिररहेका छन् । चाडपर्व लक्षित सुरक्षा नीति तयार भइसकेको छ । पटाका, जुवातास, मादक पदार्थ सेवनदेखि सम्पूर्ण कुराहरुमा कडाइ गरिनेछ ।

हतियारदेखि प्रहरीको बर्दीसमेत लुटिएको थियो, त्यसको अभावमा ड्यूटीमा खटिन कति कठिन भयो ?

बर्दी केही फिर्ता आएका छन् । तर अरुले लगाइसकेको पुनः लगाउने कुरा भएन । केही दिन बिना बर्दी पनि प्रहरीले काम गर्नुपर्‍यो । तर बर्दी नभएर भन्दा पनि सुरक्षाको दृष्टिकोणले नलगाएको हो । बर्दी भण्डारमा स्टक थियो । लुटिएकाहरुलाई तत्कालै वितरण गरियो । हाल सबै कर्मचारीसँग बर्दी उपलब्ध छ ।

आगलागी तथा तोडफोड भएका प्रहरी कार्यालय कसरी सञ्चालन गर्ने सोच छ ?

अधिकांश प्रहरी कार्यालय पुननिर्माण भइसकेको छ । सर्वसाधारणको सहयोगले नै आगलागी भएका ४१० प्रहरी कार्यालय सञ्चालनमा आइसकेका छन् । सानो इकाई कार्यालय जहाँ थोरै प्रहरी हुन्छन् , तिनीहरु निर्माणको चरणमा छन् ।

हराएका १२ सय हातहतियारमा साढे पाँचसय नियन्त्रणमा आइसकेको छ । त्यसमा केही हातहतियार आगजनीमा पनि परेको छ । त्यसकारण यकिन सङ्ख्या तोकेर भन्न सकिने अवस्था छैन ।

गाउँ–टोलमा फरार कैदी पुगेका छन्, चाडपर्वमा मानिस झनै डराएका छन्, प्रहरीले कस्तो सुरक्षा व्यवस्था अपनाएको छ ?

आन्दोलनका क्रममा जब कैदीहरु भागे । हामीलाई सबैभन्दा बढी डर उनीहरुले प्रतिवादीलाई प्रहार गर्छन् भन्ने थियो । बदलाबको भावले जाहेरीकर्तामाथि हमला गर्न सक्छन् भन्ने कुरालाई ख्याल गर्दै सबै जिल्लामा पत्राचार गर्‍यौं । जिल्लाले तल्लो तहसम्म सूचना सम्प्रेषण गर्‍यो ।

नागरिक तहमा पनि शंकास्पद व्यक्तिको निगरानी गर्न आह्वान गरिएको थियो । ह्वासएप ग्रुप बनाएर काम गरेका छौं । त्यो कारणले पनि कैदी गाउँमा पुग्न सकेनन् । एउटा घट्ना हुन नदिने रणनीतिले काम गर्दा पनि एक दुई घटना भने भए । अहिले नागरिक र प्रहरी दुवैले राती ड्युटी गरिरहेका छन् ।

एकातिर प्रहरीले विध्वंश मच्चाउनेलाई पक्राउ गर्ने भनेर आसश्वासन दिने अर्कातिर गृहमन्त्री ओमप्रकाश अर्यालले क्रान्तिबाट बनेको सरकार भएको हवाला दिँदै अपराधी जोगाउने ।

यो दोहोरो नीतिले जनतामा भ्रम छर्ने काम भएन ?

प्रहरी देशको निश्चित संविधान, ऐन र कानुन मानेर काम गर्छ । यस्ता किसिमका आपराधिक क्रियाकलापमा संलग्न हुनेलाई पक्राउ गर्न प्रहरीले आफ्नो काम सुरु गरिसकेको छ । केहीलाई कानुनी दायरामा ल्याइसकेको छ ।

त्यो आन्दोलनको मर्म विपरीत भएका आपराधिक क्रियाकलापमा संलग्न जस्तै हतियार लुट्ने, आक्रमण गर्ने, आगो लगाउने र प्रहरीलाई मार्नेहरु पक्राउ परिसकेका छन् । त्यो प्रहरीको कर्तव्य हो ।

आन्दोलनमा मृत्यु र घाइते प्रहरीको क्षतिपूर्ति कसरी हुन्छ ?

घाइतेहरु प्रहरीको आफ्नै अस्पतालमा उपचार भइरहेको छ । १० जना अझै अस्पतालमै उपचाररत छन् । नेपाल सरकारले मृतकहरुको परिवारलाई अन्यलाई जति र जे जसरी क्षतिपूर्ति दिन्छ, प्रहरीलाई पनि त्यही हो । घाइते पाउने पनि त्यही हो । थप सेवासुविधाको लागि संगठनले पनि हेर्छ ।

भदौ २३ गते २१ जना विद्यार्थीमाथि गोली चल्यो । नेपाल प्रहरीमाथि दाग लाग्यो नि ?

उक्त दिनको आन्दोलनमा बल प्रयोगको विषयमा कुरा गर्दा आन्दोलनकारीबाट के–कस्ता गतिविधि भए र प्रहरीबाट पनि के–कस्ता गतिविधि भए । त्यहाँ अन्य समूहको घुसपैठ भयो कि ? यी यावत कुराहरुको छानविनको लागि सरकारले ‘उच्च स्तरीय न्यायीक छानविन समिति’ गठन गरेको छ । समितिले प्रतिवदेनमा सत्यतथ्य सम्प्रेषण गर्छ नै । त्यसकारण यो वा त्यो भन्नु उचित नहोला ।

अन्तिममा, आन्दोलन भन्दा अगाडि पनि प्रहरीमा जागिर छोड्नेको लहर थियो । जेन–जी आन्दोलन पश्चात् त्यो लहर झनै बढेको होला नि ?

आन्दोलन अगाडी पनि प्रहरीले जागिर छोडे भन्ने भाष्य बनाइएको छ, त्यो गलत हो । एक दुईजनाले छोड्छन्, त्यो म मान्छु । तर पेन्सन पाकिसकेपछि राजिनामा दिने हुन् । २० वर्षको उमेरमा जागिर खान पाइन्छ र अर्को २० वर्षमा पेन्सन पाक्छ । पेन्सन पाकिसकेपछि किन बस्ने ?

आफ्नो बाँकी समय अन्य काममा लगाउँछु अथवा बेटर कामका लागि छोडेका हुन्छन् । प्रहरी तलब निकै थोरै छ । तलब धेरै आउने काममा जानको लागि उसले जागिर छोडेको हुन्छ । उ थप अवसरमा हिँडेको हो । अब यो आन्दोलनको असरले जागिर छोड्ने हालसालै कोही देखिएको छैन । तिहारपछि के हुन्छ, हेरौँ ।

अडियो सुन्नुहोस्-

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ५ : ४९ बजे

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल

सोमबारदेखि मानव अधिकार महाभेला

पाटन– मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट