गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन | Khabarhub Khabarhub

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, आपूर्ति व्यवस्थापन, अनुगमन निरीक्षण र कार्यक्रममा सहभागिता एवम् व्यवस्थापनलगायत विषयमा देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । 

मन्त्रालयले आज जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नुपर्नेलगायत व्यक्तिगत आचरणसमेतका विषयमा सजगता साथ सक्रिय एवम् प्रभावकारी भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा र विश्वास जागृत एवम् अभिवृद्धि गर्ने तथा नतिजा देखिने गरी प्रचलित कानुनले प्रदान गरेका जिम्मेवारी निर्वाह गर्ने क्रममा देहायबमोजिम गर्न र गराउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको हो । 

मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले शान्ति सुरक्षाअन्तर्गत जेन-जीको प्रदर्शनपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै जिल्लाभित्र शान्ति सुरक्षामा तत्काल र दीर्घकालमा असर पार्ने सुरक्षा चुनौतीहरू सतहमा आउनु पूर्व नै पहिचान एवम् विश्लेषण गर्दै त्यसका लागि सूचना सङ्कलन, विश्लेषण र उपयोगलाई समन्वयात्मक रूपमा प्रभावकारी बनाउनसमेत निर्देशन दिएको छ । 

त्यसैगरी मन्त्रालयले पछिल्लो परिवर्तनपश्चात् नयाँ सरकार गठन भई आम निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुने गरी शान्तिपूर्ण ढङ्गबाट अन्य पक्षलाई उत्तेजित नपार्ने एवम् उक्साहट नहुनेगरी पूर्वस्वीकृति लिएर मात्र सभा सम्मेलन गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ । 

जेन-जी पुस्ताको प्रदर्शनका क्रममा मुलुकका विभिन्न भागमा सुरक्षा निकायका साथबाट हराएका वा लुटिएका हातहतियार र खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायले कार्ययोजना बनाई संयुक्त रूपमा प्रभावकारी सेक्युरिटी अपरेशसन सञ्चालन गर्ने, अवैध हातहतियारको नियन्त्रण गर्न आवश्यक कार्य गर्नुपर्ने मन्त्रालयको निर्देशनमा उल्लेख छ ।

सरकारले जिल्लास्थित सबै सुरक्षाकर्मी तथा निजामती कर्मचारीको मनोबल बढाउने गरी छलफल, अनुगमन एवम् उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्न, कानुन कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्दै दण्डहीनताको अन्त्य गरी नागरिकमा स्थानीय प्रशासन एवम् सुरक्षा निकायप्रतिको विश्वास जागृत र अभिवृद्धि गराई सुरक्षा प्रत्याभूति गर्न तथा  कानुन विपरीतका कार्यमा संलग्न जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कारबाही गर्न र विस्थापित भएका सुरक्षा निकायका कार्यालय स्थानीय समुदायसँगको समन्वय एवम् सहयोगमा पुनः स्थापित गर्न र गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ । 

जिल्लाबाट शान्ति सुरक्षा, विपद् व्यवस्थापनलगायत तत्काल जाहेरीसमेतका विषयमा गर्नुपर्ने दैनिक प्रतिवेदन मन्त्रालयको दैनिक प्रतिवेदन प्रणालीबाट गर्ने, प्रतिवेदन गर्नुपर्ने उल्लेखनीय विषय नभए पनि दैनिक जानकारी गराउनुपर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव पार्ने, अपराध नियन्त्रण र शान्ति सुरक्षामा गम्भीर असर पुर्‍याउनेलगायत महत्त्वपूर्ण घटनाको सूचना तत्कालै मन्त्रालयसमक्ष प्रमुख जिल्ला अधिकारीले जाहेरी गर्नुपर्ने निर्देशनमा उल्लेख छ । 

मन्त्रालयले जिल्लाभित्रका गतिविधिका बारेमा नियमित प्रतिवेदन र जाहेरी गर्नुपर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको रहने भएकाले घटनाको प्रकृति तथा संवेदनशीलता विश्लेषण गरी यथाशीघ्र जानकारी गराउने र मन्त्रालयबाट आवश्यक छानबिन तथा कारबाहीका लागि लेखी पठाइएका विषयहरू प्राथमिकताका साथ फर्छ्यौट गर्नुपर्ने निर्देशन दिएको छ । 

सरकारले अपराध नियन्त्रण सम्बन्धमा जिल्लाभित्र घट्ने कुनै पनि घटनाको निरूपण, पीडितलाई न्याय र दोषीलाई कानुनको दायरामा ल्याउने कार्यमा नागरिकको आशा, विश्वास र भरोसामा अभिवृद्धि हुने गरी कार्यसम्पादन गर्ने, गराउन र छिमेकी मुलुकहरूसँग सीमा जोडिएका जिल्लाले सीमा सुरक्षा, सीमा स्तम्भको सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध तथा सीमापार अपराध नियन्त्रणका लागि सीमा क्षेत्रका गतिविधि नियमित रूपमा निगरानी गर्ने, जिल्ला सुरक्षा समितिका तर्फबाट सीमा निरीक्षण गर्ने, सुरक्षाकर्मीबाट एकल तथा संयुक्त गस्ती पट्रोलिङ गर्ने र आवश्यकताअनुसार समकक्षी बैठकसमेत आयोजना गर्न पनि निर्देशन दिएको छ । 

समकक्षी बैठकमा सहभागिता जनाउनु पूर्व मन्त्रालयको स्वीकृति लिने र त्यस्ता बैठकमा राष्ट्रिय हितका विषयहरू स्पष्टसँग उठाउनुपर्ने तथा  मन्त्रालयले स्पष्ट अधिकार दिएको अवस्थामा बाहेक लिखित सहमति नगर्ने साथै बैठक सम्पन्न भएपछि प्रमुख जिल्ला अधिकारीले सो बैठकका सम्बन्धमा मन्त्रालयलाई लिखित प्रतिवेदन दिन मन्त्रालयले निर्देशन दिएको छ । रासस

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ६ : २४ बजे

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन

रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ

काठमाडौं – संचारमन्त्री जगदीश खरेलको घडीबारे चर्चा भइरहेकै बेला शिक्षा,

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

गाजा – हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कैलाली – कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक