काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक आचारसंहिताको उल्लङ्घन बढिरहेको बारे गम्भीर चिन्ता व्यक्त गरेकी छन्।
राजनीतिक दलका नेताहरूले प्रयोग गरेका द्वेषपूर्ण अभिव्यक्ति र हेट स्पीचले देशको राजनीतिक र सामाजिक वातावरण प्रदूषित बनेको उनको टिप्पणी छ।
राजनीतिक दलहरूसँग गरिएको संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले निर्वाचनको वातावरण बिगार्न सक्ने यस्तो भाषिक व्यवहार तत्काल रोकिनुपर्ने बताइन्।
‘हाम्रा शब्दहरूको मर्यादा कायम गर्नुपर्छ। राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य छ,’ उनले भनिन्।
हेट स्पीच र द्वेषपूर्ण वक्तव्य निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएकाले सरकारले निर्वाचन आयोगलाई त्यस्ता अभिव्यक्तिविरुद्ध तत्काल र सार्वजनिक कारबाही गर्न पूर्ण सहयोग गर्ने उनले बताइन्।
उनले यस्ता क्रियाकलापलाई सामान्य राजनीतिक प्रतिस्पर्धा नभई लोकतान्त्रिक प्रक्रियामै आघात पुर्याउने व्यवहारका रूपमा व्याख्या गरिन्।
यससँगै उनले अराजकता र भड्काउने गतिविधिबारे पनि कडा चेतावनी दिइन्। अस्थिर वातावरणको फाइदा उठाउने समूह वा भागेका कैदीबन्दीका कारण हुन सक्ने सम्भावित उपद्रवलाई रोक्न अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको जानकारी उनले दिइन्। राजनीतिक हिंसा र टकराव नियन्त्रण गर्न सबै पक्षसँग ट्रयाक–टु संवाद अघि बढिरहेको पनि उनले बताइन्।
प्रधानमन्त्री कार्कीले चुनाव नजिकिँदै गर्दा भाषिक मर्यादा, जिम्मेवारी र सुरक्षा दुवै पक्षलाई कडा रूपमा पालना गरिने बताइन् । ‘निर्वाचनको सँघारमा हामीले राजनीतिक आचार र अभिव्यक्तिमा पनि ध्यान दिनु आवश्यक छ’, उनले भनिन्, ‘केही नेताहरूले प्रयोग गर्नुभएका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनाएका छन्।’
उनले तिनलाई आचारसंहिताको गम्भीर उल्लङ्घन मान्दै त्यस्ता द्वेषपूर्ण अभिव्यक्ति र हेट स्पीचविरुद्ध तत्काल र सार्वजनिक कारबाही थाल्ने बताइन् । ‘हामीले हाम्रा शब्दहरूको मर्यादा कायम गर्नुपर्छ, किनकि राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य छ’, उनले भनिन् ।
अराजकता नियन्त्रणमा पनि सरकारको ध्यान पुगेको उनले बताइन् । ‘तरल र अनिश्चयपूर्ण वातावरणको फाइदा उठाउन भड्काउयुक्त क्रियाकलापमा लागेका समूह वा भागेका कैदीबन्दीहरूबाट हुन सक्ने कुनै पनि उपद्रवलाई कानुनी व्यवस्थाको विषय मानी अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको छ’, उनले थपिन्, ‘राजनीतिक हिंसा र टकरावलाई नियन्त्रण गर्न हामी सबै पक्षसँग ट्रयाक-टु वार्ता र संवादको पहल पनि गरिरहेका छौँ।’













प्रतिक्रिया