काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।
महासंघ र विश्वविद्यालयबीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, तालिम कार्यक्रम र संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययनलगायत विषयमा काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष ढकाल र विश्वविद्यालयका तर्फबाट रजिष्टार डा. सूर्यराज आचार्यले हस्ताक्षर गरे।
पाँच वर्षसम्म कायम रहने सो समझदारी पत्रमा दुवै पक्षले पाठ्यक्रम विकास, संयुक्त अनुसन्धान र नवप्रवर्तन, उद्यमशीलता विकास, विद्यार्थीको इन्टर्नशिप तथा रोजगारीका अवसरहरू सिर्जना गर्ने विषयहरू समावेश गरिएको छ।
यस अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले युवा जनशक्ति विदेश पलायन भएको अवस्थामा यो समझदारीले देशमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताए।
‘उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ। आउने दिनमा पनि यस्तो सहकार्यका लागि हामी सकारात्मक छौँ,’ उनले भने।
विश्वविद्यालयका कुलपति डा विन्दुनाथ लोहनीले महासंघसँग भएको समझदारीले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
‘हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानमात्र नभई व्यवहारिक सिप र उद्यमशीलताको भावना प्रदान गर्नु हो। महासंघसँगको सहकार्यले त्यो लक्ष्य प्राप्तिमा ठूलो योगदान दिनेछ भन्ने हाम्रो विश्वास हो,’ डा लोहनीले भने।
यस्तै, विश्वविद्यालयका उपकुलपति डा अर्जुन कार्कीले सिपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै त्यसको लागि महासंघसँगको सहकार्य सहयोगी हुने बताए।
यस्तै, विश्वविद्यालयका रजिस्ट्रार डा सूर्यराज आचार्यले पुराना विश्वविद्यालयबाट उत्पादित जनशक्तिले बदलिएको समाजको आवश्यकता पूरा गर्न नसकेको अवस्थामा समाज र श्रम बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको बताए।
गत जेठ महिनामा महासंघ र विश्वविद्यालयबीच विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सिप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा प्रारम्भिक छलफल भएको थियो।













प्रतिक्रिया