ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता शरीफ उस्मान हादीको मृत्युपछि हिंसा भड्किएको छ। प्रदर्शनकारीहरूले बिहीबार राति देशको सबैभन्दा ठूलो अखबार डेली स्टार र प्रथम आलोको कार्यालयमा जबर्जस्ती प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन्।
यससँगै पूर्वराष्ट्रपति शेख मुजिबुर रहमानको निवास पनि तोडफोड गरिएको छ । शेख हसिनाको पार्टी अवामी लिगको कार्यालय प्रदर्शनकारीले जलाएका छन्।
उस्मान हादी शेख हसिनाविरुद्ध जुलाई सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका प्रमुख नेताहरूमध्ये एक थिए। उनलाई यही १२ डिसेम्बरमा चुनाव प्रचारका क्रममा टाउकोमा गोली हानिएको थियो।
त्यसपछि उनलाई राम्रो उपचारका लागि सिंगापुर लगिएको थियो। तर त्यसको ६ दिनपछि बिहीबार उनको उपचारका क्रममा मृत्यु भएको थियो।
पूरा नाम शरीफ उस्मान बिन हादी बंगलादेशका एक प्रमुख युवा नेताका रुपमा चर्चित थिए । सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलन (जुलाई विद्रोह) का अग्रणी नेता उनलाई लिएर बंगलादेशमा हिंसा भड्किएको हो । यो आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारलाई अपदस्थ गरेको थियो।

को थिए उस्मान ?
३२ वर्षी उनी इन्किलाब मञ्चका प्रवक्ता तथा संयोजक थिए, जुन आन्दोलनपछि गठित एक राजनीतिक-सांस्कृतिक प्लेटफर्मका रुपमा थियो । यो संगठनले अवामी लिगलाई प्रतिबन्ध लगाउने, भारत-विरोधी नीति अपनाउने र इस्लामवादी-राष्ट्रवादी एजेन्डा अघि बढाएको थियो।
हादी भारत-विरोधी कट्टर अभिव्यक्तिका लागि चर्चित थिए । उनले ‘ग्रेटर बंगलादेश’को नक्सा पनि वितरण गरेको आरोप लाग्ने गरेको थियो।
उनी लेखक पनि थिए । उनले बंगलादेशको संस्कृति तथा राजनीतिमा किताबहरू लेखेका थिए।

मृत्यु र हिंसाको कारण
डिसेम्बर १२, २०२५ मा ढाकामा मस्जिदबाट बाहिरिने क्रममा अज्ञात आक्रमणकारीहरूले उनलाई टाउकोमा गोली हानेका थिए। यो घटना चुनावी अभियानका क्रममा भएको थियो । उनी आफैं ढाका-८ बाट स्वतन्त्र उम्मेदवार बन्न लागेका थिए ।
गोली लागेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि सिंगापुर लगिएको थियो, जहाँ बिहीबार उनको मृत्यु भयो।
उनको मृत्युपछि बंगलादेशमा व्यापक हिंसा भड्किएको छ । प्रदर्शनकारीले भारतीय दूतावास/उप-उच्चायोगलक्षित प्रदर्शन गरेका छन् । उनीहरूले भारत-विरोधी नारा पनि लगाएका छन् ।
अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले उनलाई शहीद घोषित गरेका छन् । उनले राष्ट्रिय शोक दिवस घोषणा गरेर हिंसालाई नियन्त्रण गर्न अपील गरेका छन्।
हादीको मृत्युले बंगलादेशको राजनीतिक अस्थिरतालाई थप बढाएको छ । विशेष गरी आगामी चुनावअघिको यो तनावले थप मुस्किल बढाएको छ।
उनी शेख हसिना-विरोधी आन्दोलनका प्रतीक थिए, उनको हत्याले पुरानो शक्ति र नयाँ उदीयमान कट्टर राष्ट्रवादी समूहबीचको तनावलाई झन् व्यापक बनाएको छ।
तत्कालीन प्रधानमन्त्री शेख हसीनाको १५ वर्ष लामो सत्ता ढाल्न नेतृत्व गरेका उनी चुनावी अभियान चलाइरहेका बेला मारिएका छन् ।
उनको मृत्युले बंगलादेश भित्र ठूलो विरोध र असन्तुष्टि निम्त्यायो। हजारौं समर्थकहरूले सडकमा प्रदर्शन गरेका छन् । धेरै स्थानमा आगो लगाइएको छ । केही प्रदर्शनकारीहरूले भारतीय अधिकारीको घरमा पनि ढुंगामुढा गरेका छन् ।
अहिले राजधानी ढाका लगायत अन्य शहरहरूमा हिंसात्मक प्रदर्शन फैलिएको छ । बंगलादेशमा वर्तमान राजनीतिक अस्थिरता र आगामी चुनावको पूर्वसन्ध्यामा तनाव अझै बढेको छ।













प्रतिक्रिया