काठमाडौं- निवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष केपी शर्मा ओलीको टीमका गुरुङले पाँच उपाध्यक्षमध्ये १७ सय ३७ लोकप्रिय मत ल्याएर प्रथम भए । आदिवासी जनजाति समुदायबाट सुवासचन्द्र नेम्वाङपछि उनी नै पहिलो उपाध्यक्ष बनेका छन् ।
गुरुङ केही समयअगाडि ईश्वर पोखरेल प्यानलमा देखिए पनि अन्तिममा ओली समूहमा खुलेका थिए । ओली टीमबाट निर्वाचित भए पनि उनी ईश्वर पोखरेललाई चिढ्याउने पक्षमा छैनन् । निर्वाचित टीमले ईश्वर पोखरेललगायत नेताहरूलाई सँगै समेटेर अगाडि बढ्ने उनको विश्वास छ ।
उनी पोखरेल समूहबाट पनि दुईजना नेता पदाधिकारीमा आएको बताउँछन् । अन्य थुप्रै नेताहरू केन्द्रीय कमिटीमा आएकाले एमालेको यो महाधिवेशनले लोकतन्त्रलाई थप बलियो बनाएको उनको व्याख्या छ। । ओलीसँग पोखरेलको असन्तुष्टि रहे पनि पार्टी नै फुटाएर नजाने बरू वाम एकताको पक्षमा उभिने दाबी गर्छन् । पूर्वसञ्चारमन्त्रीसमेत रहेका गुरुङसँग खबरहबले एघारौँ महाधिवेशन र एमालेको आगामी रणनीतिबारे केन्द्रित भएर छोटो कुराकानी गरेको छ ।
बधाई छ यहाँलाई, उपाध्यक्ष निर्वाचित हुनुभयो….
बन्न त म महासचिव नै बन्ने थिएँ । तर पार्टी एक भएर जाने कुराले गर्दा मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हो । निर्वाचित पनि भएँ । अबकामगर्ने हो ।
दुई जनाबाहेक सबै पदाधिकारी ओली प्यानलबाट आउनुभयो होइन ?
जुन किसिमले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रहार भएको थियो । उहाँ पार्टीका लागि चाहिने नेता हो भन्ने कुरा पुष्टि भएको छ । पार्टीमा उहाँको विकल्प खोज्ने बेला भएको रहेनछ, उहाँले गरेका कामहरू राम्रा रहेछन् भन्ने पुष्टि भयो । पार्टीले उहाँ अझै पनि चाहिन्छ भन्ने कुरालाई छर्लङ्ग देखिएको छ ।
अर्को कुरा ओलीलाई पछार्न खोज्ने र एमाले फुटाउन खोज्नेहरूलाई सन्देश दिएको छ । राम्रो कुरा चाहिँ पार्टीमा नवयुवाको सहभागिता बढेको छ ।
अब एमाले कसरी अगाडि बढ्छ ?
एमालेले अब निर्वाचित र पराजित सबै नेता तथा कार्यकर्तालाई समेटेर एक ढिक्का भएर काम गर्छ । यो या त्यो नभनी देश र पार्टीको आवश्यकता अनुसार काम गर्छ । युवाको भावना समेटेर पाकाको सम्मान गर्दै अगाडि जान्छ ।

पराजित ईश्वर पोखरेल पक्षले एमाले फुटाउने हो कि भन्ने पनि रहेछ नि ?
उहाँहरूले फुटाउनुहुन्न । किनभने उहाँको टीमबाट पनि दुई जना सक्षम नेताहरू विजेता हुनु भएको छ । यो उहाँहरूको सफलता हो । ईश्वर कमरेड जहिले पनि पार्टी र जनताको पक्षमा भएको मान्छे हो । उहाँले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने भन्नु भएको छ । उहाँको मुद्दा त हाम्रो पनि मुद्दा हो नि । ईश्वर कमरेडबाट पनि दुई जना निर्वाचित हुनु सकारात्मक कुरा हो । पार्टीलाई यी कुराहरूले एक मन एक चित्त भएर लान्छ ।
ढुक्क हुँदा हुन्छ एमाले फुट्दैन?
हो, फुट्दैन । ओलीले उहाँलाई भीम रावलजस्तो बनाए भन्ने खालको प्रश्न र हल्ला सुनिन्छ । तर यो गलत छ । उहाँले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउनुभएको हो । उहाँहरू सबैले हारेको भएचाहिँ पार्टी फुट्छ कि भन्ने चिन्ता हुने थियो । तर ईश्वर कमरेड पार्टी फुटाउने, एमाले छाडेर जाने मान्छे होइन । उहाँ पार्टी राजनीतिबाट केही विश्राम लिने पक्षमा नै हुनुहुन्थ्यो तर केपी ओलीले एकात्मकता गर्नुभयो भनेर नै उहाँले लोकतान्त्रिक अभ्यास अपनाउनु भएको हो ।
अध्यक्षज्यूले पनि गल्तीहरूलाई सच्चाउनुपर्छ भन्ने हाम्रो कुरा छ । तर एमालेमा अहिले पुनःओली नै चाहिने भएर उहाँ आउनुभयो । मलाई लाग्छ ईश्वर कमरेडमा पार्टी फुटाउने झोँक छैन । ओलीसँगको असन्तुष्टि मात्र हो । उहाँ त पार्टी बलियो र प्रभावशाली बनाएर जनतामाझ जानुपर्छ भन्ने पक्षको मान्छे हो । एकताको पक्षमा हुनुहुन्छ वामपन्थीहरू ।
एमाले अब कसरी अगाडि बढ्छ, यथास्थितिवादी नेतृत्व आएपछि ?
यथास्थिति भन्नाले नेतृत्व मात्रै यथास्थितिमा छ । अरू तल त सबै समेटिनुभएको छ । भदै २३ र २४ को जेन-जी आन्दोलनपछि जुन किसिमले पार्टीमा युवा सहभागिता बढाउनुपर्ने कुरा आएको थियो त्यसको सम्बोधन भएको छ । पार्टीमा जेन-जीवाला नै १०, १५ जना आउनुभएको छ । परिवर्तन भएको छ । केन्द्रिय कमिटीमा नयाँ अनुहार आउनुभएको छ । यस्तै सचिवालयमा पनि नयाँ हुनुहुन्छ । समग्रमा हेर्दा पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मको को-अर्डिनेशन राम्रो भएको छ ।
तर, हारेका टिमलाई ओलीले प्रतिशोध राख्न शुरू गर्नुभयो रे भन्छन्, हिजो शपथमा पनि बोलाउनु भएनछ नि ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई ?
त्यहाँ हामी पनि छौँ । त्यसो हुन दिने छैनौँ । नियतवश नबोलाएको होइन होला । हतार पनि भयो । यसबारे मैले बुझेको छैन ।
तर एमालेप्रति जनताको असन्तुष्टि महाधिवेशनले तोड्यो त ?
तोड्नुपर्छ । तर कुरा के बुझ्नुपर्छ भने ईश्वर कमरेडले पार्टी खोल्नका लागि निर्वाचन लडेको होइन । जनताले पनि एमालेले नयाँ कार्यनीति बनाओस् । पार्टीलाई केही व्यवस्थित गरोस् भनेको हो । हामी त्यो एजेन्डामा जान्छौँ नि । हामीले त पार्टी जनतामुखी हुनुपर्छ भनेकै छ नि । अब उहाँहरूको भावना समेटेर काम पनि हुन्छ । अगाडि पनि नगरेको होइन तर एकल सरकार नभएकाले चाहेको करा पनि गर्न पाइएको थिएन ।
अन्त्यमा, अब एमाले निर्वाचनमा जान्छ कि प्रतिनिधिसभा पुनःस्थापनामा ?
एमालेले दुवै कुराको तयारी गर्नुपर्छ र गर्छ । किनभने प्रतिनिधिसभा विघटन पनि संविधानसम्मत थिएन । अर्को कुरा, निर्वाचन पनि एमालेले फेस गर्छ । तर देशको स्वाधीनता र संविधान जोगाएर जाने कुरामा पनि एमाले तयार छ र हुनुपर्छ । महाधिवेशनले एमाले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डासँगै निर्वाचनमा पनि केन्द्रित हुनुपर्छ भन्ने म्यान्डेट दिएको छ ।













प्रतिक्रिया