जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् ।
आज बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ प्रदेशसभा सदस्यको विश्वासको मत उनले प्राप्त गरेको उपसभामुख बविता राउत इशरले घोषणा गरे ।
नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धनमा जसपा नेपाल, जनमत, नेकपा (माओवादी केन्द्र), लोसपा, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले यादवलाई विश्वासको मत दिएको र प्रमुख प्रतिपक्षी एमालेबाहेक सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल सङ्घीय समाजवादी पार्टीले विश्वासको मत दिएको हो ।
गत मङ्सिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले गत मङ्सिर २१ गते पद तथा गोपनीयताका शपथ लिएका थिए । सोही दिन नेपाली कांग्रेस, जनमत र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गरेका थिए ।
उनलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका छन् । १०७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा सरकारको विश्वासको मतका लागि ५४ मत आवश्यक पर्छ ।
प्रदेशसभामा हाल नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका नौ, लोसपाका आठ, नेकपा एकीकृत समाजवादीका सात प्रदेशसभा सदस्य छन् । त्यसैगरी राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सदस्य रहेका छन् ।













प्रतिक्रिया