वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुट्ने पाण्डे चितवन-२ मा रविविरुद्ध चुनाव लडेर लागेका थिए रास्वपातिर | Khabarhub Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुट्ने पाण्डे चितवन-२ मा रविविरुद्ध चुनाव लडेर लागेका थिए रास्वपातिर


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत पुस २ गते जिल्ला अदालत काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट आरोपमा पक्राउ परेका तीनमध्ये एकजना राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता रहेको खुलेको छ ।

त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा भएको हातपात प्रकरणमा पक्राउ परेका दोस्रो व्यक्ति रास्वपा कार्यकर्तासँगै सभापति रवि लामिछानेका खास कार्यकर्ता रहेको खुलेको हो ।

शनिबार पक्राउ परेका हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बस्ने महानन्द जैसी रास्वपाका खास कार्यकर्ता हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जैसीको विस्तृत विवरण सार्वजनिक गरेको छैन । जैसीले आफूलाई महानन्द पाण्डेका नामबाट पनि चिनाउने गरेका छन् ।

जैसीलाई प्रहरीले काठमाडौंकै टोखा नगरपालिका-३ बाट शनिबार पक्राउ गरेको थियो । उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

एकजना प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रभावित पार्न पाण्डेले अनौठो आइडिया निकालेका थिए । वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटेपछि प्रहरीले पक्राउ अभिायन चलाउनुअघि नै उनले फेसबुकमा अरुलाई झुक्याउने गरी स्टाटस लेखेका थिए ।

त्रिपाठीलाई कुटिसकेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा कुटपिटमा उत्रिनु गलत भएको भन्दै ब्याख्यासहित विचार हालेका थिए । ‘लोकतन्त्रमा विरोध गर्न मिल्छ । तर कसैको विरोध गर्दैमा, विपक्षमा उभिँदैमा भौतिक आक्रमण गर्नुलाई राम्रो मान्न सकिँदैन’, उनै पाण्डेले फेसबुकमा लेखेको कुराको सार हो यो ।

ठगी मुद्दा खेपिरहेका रास्वपा सभापति लामिछानेको मुद्दामा विपक्षमा बहस गरिरहेका अधिवक्ता त्रिपाठीलाई गत बुधबार बबरमहलस्थित जिल्ला अदालत काठमाडौं परिसरमा कुटपिट भएको थियो।

त्यस प्रकरणमा अहिलेसम्म दोलखाको तामाकोशी गाँउपालिका वडा नं. १ स्थायी ठेगाना भइ ललितपुरको महालक्ष्मी नगरपलिका वडा नं. ५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी पक्राउ परेका छन् । त्यसैगरी प्रहरीले झापाको बुद्ध शान्ति गाउँपालिका- ४ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईलाई पनि आइतबार पक्राउ गरेको छ ।

राईबारे पनि अहिले अनुसन्धान चलिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी रास्वपा काठमाडौं ३२ नम्बर वडाकी उपसभाति रहेको जानकारी आए पनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको एक प्रहरी अधिकारीले बताएका छन् ।

पक्राउ परेका तीनैजनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनीहरू तीनैजनालाई अहिले सिंहदरबार प्रहरी बृत्तको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले हाल हिरासतमा रहेका हुम्लाका पाण्डेले आफूलाई रास्वपा हुम्लाको उपसभापति भनिरहेका छन् । यता रास्वपाका एक नेताले पनि भने उनी जिल्ला उपसभापति नभएको जिकिर गरेका छन् ।

अहिले हुम्लामा रास्वपा उपसभापति लक्ष्मण ऐरी छन् । तर पाण्डेसहितकै पहलमा हुम्लामा रास्वापाको संगठन विस्तार भएको हो । हुम्लामा रास्वपा समर्थकहरू संगठित हुँदा पाण्डे पनि जिल्ला समितिमा समेटिएका खुलेको छ ।

त्यसबेला रास्वपाले आधिकारिक रुपमा संगठनलाई मान्यता दिइनसक्दा स्थानीय युवाहरूले बनाएको जिल्ला समितिमा पाण्डे पनि उपसभापति तोकिएका थिए । रास्वपाले संगठन विस्तारका क्रममा भने लक्ष्मण ऐरीलाई जिल्ला उपसभापति बनाएको थियो ।

यता हिरासतमा रहेका पाण्डेले भने आफैं हुम्ला जिल्ला उपसभापति रहेको बताइरहेका छन् । उनी आधिकारिक जिल्ला उपसभापति नभए पनि रास्वपाका कार्यकर्ता भने हुन् । उनी आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता पनि भन्दै हिँड्ने गरेका छन् ।

उनी धेरै समय काठमाडौंमै बस्ने गरेका थिए । काठमाडौंमा रहँदा पाण्डे च:मतीस्थित रास्वपाको कार्यालयले उपस्थित भइरहने कार्यकर्तामध्ये एक हुन् । रास्वपाका एक नेताका अनुसार पाण्डेको सभापति रविसम्मै पहुँच छ । उनलाई रास्वपामा रविनिकट भनेरै चिनिन्छ ।

रविलाई आफ्नो आइडियल मानेर हिँड्ने उनी त्यहीकारण काठमाडौं जिल्ला अदालत अगाडि वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध कुटपिटमा उत्रिएका खुलेको छ । आफ्ना नेताविरुद्ध अदालतमा बहस गरेको थाहा पाएपछि रविका फ्यानहरूले त्रिपाठीलाई मुक्का र लात्ती बर्साएका थिए ।

रविविरुद्ध नै चुनाव लडे

तर, यहाँनिर अर्को अनौठो र रोचक कुरा के छ भने रविविरुद्ध बहस गर्ने वकिललाई मुक्का हान्न उत्रिएका उनै पाण्डे चितवन २ को उपनिर्वाचनमा उठेका थिए ।

२०८० वैशाख १० गते भएको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उनले रविविरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दिएका थिए ।

उनले त्यसबेला रविविरुद्ध उम्मेदवारी दिने क्रममा राजमुको घर चुनाव चिह्नबाट केबल १८ मत ल्याउन सफल भएका थिए ।

रोचक त के छ भने रास्वपामा सक्रिय हु्नुपहिले उनी राजमोका नै थिए । उनी राजमुमा हुँदा पार्टीले उनलाई कर्णाली प्रदेश इन्चार्जसमेत बनाएको थियो ।

तर १८ भोट ल्याएका पाण्डेले चितवन २ मा रविप्रतिको जनलहर देखेपछि रास्वपातिर जाने निर्णय गरे । चितवन २ को उपनिर्वाचनमा लामिछानेले ५४ हजार २७६ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत ल्याए ।

पाण्डे रास्वपामा लागेपछि पनि आफूखुसी अनेक उत्पट्याङ काम गर्दै हिँडिरहन्छन् । उनी कुनै बेला देशमा निलो क्रान्ति चलाउने भन्दै माइतीघर मण्डलमा धर्नासमेत बसे ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि गत मंसिर १६ गते उपनिर्वाचन हुने भएपछि जिल्ला फर्किएका उनले त्यहाँ पनि भाँडभैलो मच्चाए । उनी त्यहाँ पुगेर आफ्नै पार्टीका नेता-कार्यकर्तासँग झगडामा उत्रिएका थिए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : २३ बजे

आन्दोलनरत शिक्षक महासंघले बोलायो बैठक

काठमाडौं– सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा

सत्तासाझेदारीमा कुनै समस्या छैन : गृहमन्त्री 

गण्डकी– गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल

स्थानीय निकायबीच समन्वय हुनुपर्छ : चिरीबाबु महर्जन

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारका असल अभ्यास

तातोपानी नाका व्यवस्थित बनाउन परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप

१३ वर्षीया बालिकामाथि घरबेटीको गिद्धेदृष्टि : आरोपित प्रहरीको नियन्त्रणमा

काठमाडौं – सुनसरीको बराहक्षेत्र–७ स्थित ढिकझोरामा १३ वर्षीया बालिकालाई जबरजस्ती