हामीले जीवनमा कुनै अप्ठेरो परिस्थितिसँग जुध्नुपर्दा शरीरले देखाउने प्रतिक्रियालाई तनाव भएको भनिन्छ। यो स्वाभाविक प्रक्रिया हो। हामीले कुनै नयाँ कामको थालनी गर्दा, नयाँ ठाउँ जाँदा के होला, कस्तो होला ? भन्ने सामान्य तनाव जोसुकैले पनि भोगेको हुन्छ। तर लामो समय एउटै विषयमा धेरै तनाव लियौं भने त्यसले हामीलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा असर पु-याउने चिकित्सक बताउँछन्। लामो समयदेखि भइरहेको तनावले मानिस लागूपदार्थ सेवन गर्ने, स्वास्थ्यमा हानी, डिप्रेसन हुने, एन्जाइटी हुने, जीवनदेखि दिक्क लाग्ने वा आत्महत्याको सोचाइ आउने जस्ता जटिल समस्या निम्त्याउने चिकित्सकको भनाइ छ। तनावको व्यवथापन कसरी गर्ने ? तनाव हुने मुख्य कारण के हो ? तनावकै कारण देखिने समस्या के-के हुन् ? यिनै विषयमा ग्राण्डी अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. रामचन्द्र सुवेदीसँग गरिएको कुराकानी :
तनावको व्यवस्थापन कसरी गर्ने ?
सबैभन्दा पहिले तनाव के कारणले भइरहेको छ भन्ने थाहा पाउनुपर्छ। धेरैजसो पारिवारिक, सामाजिक, कार्यस्थलमा कामको प्रकृति लगायत विभिन्न कारणबाट तनाव हुने गर्दछ। ती समस्याको समाधान पहिले खोज्नु आवश्यक हुन्छ। ती बाहेक अन्य विकल्प ध्यान, योगा, आफूलाई कुन काममा रुचि छ, त्यसैमा व्यस्त रहने प्रयास गर्ने लगायतका कुराबाट तनावको व्यवस्थापन गर्न सकिन्छ।
तनावको मुख्य कारण के हो ?
तनाव हुने कारण धेरै छन्। ती मध्ये अहिलेको हाम्रो पारिवारिक संरचना नै मुख्य हो। जस्तै पहिले हामी सामूहिक परिवारमा बस्थ्यौं। जसमा तीन पुस्ता हजुरबुवा-हजुरआमा, आमा-बुवा, नाति-नातिना संगै हुन्थे। एक अर्काको भावना, समस्या साटासाट हुन्थे र समाधान गर्ने बाटो खोजिन्थ्यो। अहिले त्यो अवस्था छैन। परिवारमा श्रीमान-श्रीमती र छोरा’छोरी मात्रै हुन्छन्। त्यसमा पनि सबैको आ-आफ्नै जीवन हुन्छ। एक अर्काको कुरा सुन्ने समय नै कसैसँग हुँदैन। हुँदा हुँदा आफ्नै बारेमा सोच्ने समय हुँदैन। जसले गर्दा शारीरिक, मानसिक लगायत धेरै समस्या उत्पन्न हुन्छ। सबै घरपरिवार एउटै ठाउँमा बस्ने रमाउने गर्यो भने तनाव व्यवस्थापन गर्न सकिन्छ। तर एक्लै तनावको व्यवस्थापन सम्भव नै छैन।
तनाव जुनसुकै उमेरमा पनि हुनसक्छ। वृद्ध, वयस्क, बालबालिका लगायत सबै तहमा आआफ्नै तनाव हुन्छ।
तनावकै कारण कुन उमेरमा कस्ता मानसिक समस्या देखिन्छन् ?
तनाव जुनसुकै उमेरमा पनि हुनसक्छ। वृद्ध, वयस्क, बालबालिका लगायत सबै तहमा आआफ्नै तनाव हुन्छ। बालबालिकामा उनीहरुको मनोविज्ञानका हिसाबले हुने तनाव छुट्टै होला।जस्तै कक्षाकोठामा आफूले सोचे अनुसारको वातावरणको अभाव, पढ्ने अनुकूल अवस्था नहुनु, कुनै शिक्षकको व्यवहार मन नपर्नु जस्ता कारण बच्चामा तनाव हुन्छ भने युवावस्थामा आफूले चाहेको काम गर्न सकेन भने मैले केही गर्न सकिन, मेरो जिन्दगी नै बर्बाद भयो मैले सोचेजस्तो गर्न सकिन भनेर तनाव हुन्छ।
त्यस्तै वयस्कमा छोराछोरी प्राय सबैको विदेश जाने प्रवृत्ति अहिले छ। दुःख गरेर छोराछोरी हुर्कायौं, बढायौं अहिले आफूलाई हेर्ने कोही पनि छैन, एक्लै बस्नुपर्ने अवस्था आयो भन्दै मन दुखाउँछन् र तनाव लिन्छन्। त्यस्तै कसैलाई सुगर, क्यान्सर लगायतका दिर्घरोग छन् भने पनि त्यही अनुसारको तनाव हुने गर्दछ।
तनावकै कारणले देखिने समस्या के के हुन् ?
तनावका कारण धेरै समस्या देखिन्छन्। त्यसमध्ये धेरै चर्चा हुने र समस्या पार्ने कारण उल्लेख गर्नु उचित हुन्छ।
डिप्रेशन : तनावकै कारण देखिने मुख्य समस्या डिप्रेशन हो। जसमा निरन्तर बेखुशी भइरहने, शरीरमा इनर्जी नहुने, रुन मन लाग्ने जस्ता लक्षण देखिन्छन्।
छोराछोरी प्राय सबैको विदेश जाने प्रवृत्ति अहिले छ। दुःख गरेर छोराछोरी हुर्कायौं, बढायौं अहिले आफूलाई हेर्ने कोही पनि छैन, एक्लै बस्नुपर्ने अवस्था आयो भनेर अहिलेका अभिभावक मन दुखाउँछन् र तनाव लिन्छन्।
एन्जाइटी : तनावले एन्जाइटी बढ्दै जान्छ। मुटुको ढुकढुकी अचानक बढ्ने, सास फुल्ने, चिटचिट पसिना आउने, औडाहा हुने जस्ता लक्षणहरु देखिए भने एन्जाइटी हुनसक्छ।
साइकोसिस : तनावकै कारण देखिने अर्को समस्या साइकोसिस हो। जसमा भिन्न तरिकाको सोचाई हुन्छ। जस्तै नदेखेको कुरा देखेको जस्तो महसुस हुने, नभनेको कुराहरु सुन्ने, नकारात्मक सोच्ने लगायतका लक्षण देखिन्छन्। जसलाई हाम्रो समाजमा पागलपन भएको मानिन्छ।
तनावकै कारण हुने मानसिक समस्या लिएर कुन उमेर समूह उपचारका लागि आउने गर्छन् ?
उपचारमा धेरैजसो वयस्क तथा वृद्ध अवस्थाका बिरामी आउने गरेका छन्। साथै युवावस्थाका महिला पनि त्यत्तिकै मात्रामा आउने गरेका छन्। पुरुषप्रधान हाम्रो समाजमा आफूले भनेजस्तो जीवन निर्वाह गर्न नसकेका कारण महिलामा यस्तो समस्या धेरै हुने गरेको छ। जस्तै काम गरिरहेका महिला पनि बिहे गरेर बच्चा जन्मिसकेपछि काम छोडेर घरमा बस्नुपर्ने बाध्यता छ। उनीहरुको पनि आफ्नो जीवन हो। आफ्नो तरिकाले जीवन निर्वाह गर्न पाउनुपर्छ भन्ने हाम्रो समाजले सोच्दैन। जसका कारण उनीहरु तनावमा पर्छन् र विभिन्न समस्या देखिने गर्दछन्।
युवावस्थामा अहिलेको पुस्ता प्राय विदेश गइरहेको छ। यदि कोही युवा विदेश जान सकेन या सरकारी सेवामा लाग्ने प्रयास गर्दा त्यो पनि सफल हुन सकेन, पढेर सकियो जागिर पाइएन, बेरोजगार भएर बस्नुपरेको छ भने पनि तनाव हुन्छ र पछि यसैले डिप्रेशन हुने अवस्था आउन सक्छ।
वृद्धवृद्धामा प्राय धेरैका छोराबुहारी, छोरी विदेश जाने, कोही रोजगारीकै क्रममा शहर जाने गर्दछन्। घरमा बुवाआमा एक्लै हुन्छन्। त्यसमाथि दिर्घरोग लागेको हुन्छ। साथमा कोही भइदिए हुन्थ्यो भन्ने हुन्छ। यही चिन्ताले डिप्रेशनको रुप लिन्छ।
तनावबाट मुक्त हुन जीवनशैली कस्तो हुनुपर्छ ?
तनाव हुनुको कारण यदि आफूलाई थाहा छ भने सबैभन्दा पहिले त्यसको समाधान गर्नुपर्छ। जस्तै धेरै अभिभावकको तनावको कारण आफ्नो सन्तान टाढा हुनु नै हो। यसको लागि कसरी संगै बस्ने वातावरण मिलाउन सकिन्छ भन्ने तर्फ सोच्नुपर्छ।
युवाको तनावको कारण बेरोजगारी पनि हो। प्राथमिकताका आधारमा ३–४ वटा विकल्प हामीसँग हुनुपर्छ । एउटामा सफल भएन भने अर्कातिर जान सकियोस्।
युवाको तनावको कारण बेरोजगारी पनि हो। लोकसेवा होस् या अन्य कुनै क्षेत्रमा जागिर खाँदा यो भएन भने यसमा गर्छु भन्ने विकल्प पनि हुनुपर्छ। एउटैलाई मात्रै उद्देश्य बनाएर अघि बढ्यौं र केही गरी त्यसमा सफल भइएन भने तनाव हुन्छ। त्यसैले प्राथमिकताका आधारमा ३-४ वटा विकल्प पनि हामीसँग हुनुपर्छ । एउटामा सफल भएन भने अर्कातिर जान सकियोस्।
बालबालिकाको हकमा पनि आफूले सोचेअनुसार उनीहरुले पढ्नु पर्छ, आफूले सोचेकै जस्तो जागिर खानुपर्छ भन्दै उनीहरुलाई बाध्यकारी बनाउनु भएन। जस्तै खेलकुदमा इच्छा भएको बच्चालाई इन्जिनियर नै बन्नुपर्छ भन्नु हुँदैन। त्यस्तै राम्रो पढ्छ भन्दैमा सबैले डाक्टर बन्नुपर्छ भन्ने छैन। कसैलाई संगीत कलातर्फ रुचि छ भने उसले त्यही क्षेत्रमा पनि राम्रो प्रगति गर्नसक्छ। सबै कुराको समाधान पारिवारिक, सामाजिक रुपमा गर्नसक्यो भने मात्रै दीर्घकालीन समाधान आउँछ।
तनावकै कारण हुने मानसिक समस्याप्रति समाजमा कतिको सचेतना भएको पाउनुहुन्छ ?
मान्छे जति शिक्षित हुँदै गएको छ, त्यति नै हाम्रो समाजमा विभिन्न रोगप्रति सचेतना पनि विस्तारै बढ्दै गएको पाइएको छ। कति बिरामी गुगलमै आफ्नो समस्या पत्ता लगाएर समाधान खोज्न हामीकहाँ आउँछन्। तर अझै पनि मानसिक रोग लागेर औषधी खाइरहेको भन्दा मलाई गाउँ समाजले के भन्ला ? भन्ने डर पालेर उपचारमा नआउने बिरामी हाम्रो समाझमा छन्। त्यसैले यससँग सम्बन्धित निकाय र सरकारले पनि अन्य रोगजस्तै मानसिक समस्या पनि यौटा रोग हो। समयमै उपचार पाउँदा निको हुन्छ र नभएर विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्या निम्त्याउँछ भन्ने विषयमा सचेतना जगाउन जरुरी छ।
प्रतिक्रिया