आदेश, अध्यादेश र सिध्यादेश ! | Khabarhub Khabarhub

आदेश, अध्यादेश र सिध्यादेश !



कुनै समय महिलाले आत्मरक्षाका लागि नङ पाल्थे । मजेत्रोमा खुर्सानीको धुलो बोकेर हिँड्थे । यही प्रयोजन खातिर पुरुष धनुकाँड बोक्थे । राज्यको अवधारणा आएपछि उनीहरूलाई खुर्सानीको धुलो र धनुकाँड बोक्न प्रतिबन्ध लगाउँदै भनियो – ‘तिमीहरूको सुरक्षा जिम्मेवारी राज्यले लिन्छ । आफूसँग भएका घरेलु हतियार बुझाऊ ।’

मानिसभित्रको चेतना, प्रज्ञा र विवेक उपयोग गर्दै लोककल्याणकारी काममा क्रियाशील गराउन विस्तारै नीतिहरू स्थापित भए । रुचिअनुसार मानिस कर्म, धर्म, मोक्ष, ज्ञान, विज्ञान, अर्थशास्त्र, राजनीतिशास्त्र, अस्त्रशस्त्र र शरीर विज्ञानका बाटोमा लाग्यो । रामायणमा उल्लेख भएको ‘लक्ष्मणरेखा’ राज्यका हकमा स्थापित गरियो । मानिसभित्रको चेतनामूलक आयाम फराकिलो र जिम्मेवारीपूर्ण बनाउन राज्य संयन्त्रभित्र कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बनाइयो ।

प्रकृतिले मानिसलाई नोटकापी झैँ जन्म र मृत्यु तोक्यो । बीचका पाना आफैँ लेख्न छाडिदियो । उसको परिभाषामा ज्ञान र विवेकको धुरी मस्तिष्क ब्राह्मण, संसार हेर्ने आँखा, सचेत गर्ने कान र कोमल अङ्गको रक्षक छाती क्षेत्रीय, पौरख गर्ने हात वैश्य र जमिनमा अड्याउने कम्मरमुनिको भाग शूद्र भएको छनक दियो ।

तर, मानिसले त्यो विशिष्टतालाई ‘जात’को जामा लगाएर राजनीति गर्‍यो । मानिसको साख उसको आचरणले निसृत गर्ने हो । सुनको व्यापार गर्नेका सन्तान चैतन्य र ज्ञानका साधक निस्किए भने त्यो ब्राह्मण अवतार हो । यसरी हेर्दा कुनै पनि व्यक्ति समग्रमा ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रको मिश्रण हो । तर, मानिस आफैँले निकालेको कुतर्कबाट पीडित बन्दै आएको छ ।

वेदका प्रवद्र्धकले जीवन दर्शन कोरिदिए । महाभारत ग्रन्थले राजनीतिमा गर्न नहुने कामको विधि तोकिदियो । रामायणले बन्धुप्रेमको शिखा बाल्दा राज्य प्रज्वलित हुने मन्त्र दियो । त्यसैले कुनै व्यक्ति जन्मको आधारमा नभइ कर्मले उत्तम हुने हो । विदुरनीतिले सचेत गराएकै हो – ‘विष पिउने एक्लै मर्छ । हतियारले एउटैलाई मार्छ । राष्ट्रियस्तरको गोपनीयता भङ्ग हुन गएमा राष्ट्र, जनता र सत्ताधारीहरू समेतलाई विनाश गर्दछ ।

विधि व्यवस्थापनका हकमा हामी कहाँ थियौं र कहाँ छौं भन्ने प्रश्नको उत्तर वि.सं. २००७ पछि स्थापित न्यायका मानक लर्बराउनुबाटै स्पष्ट हुन्छ

विधि व्यवस्थापनका हकमा हामी कहाँ थियौं र कहाँ छौं भन्ने प्रश्नको उत्तर वि.सं. २००७ पछि स्थापित न्यायका मानक लर्बराउनुबाटै स्पष्ट हुन्छ । न्यायालयका चारपासे राजहाँसले छुट्याएको दूधपानी अहिले डिजिटल प्रविधिका न्यायमूर्तिबाट खुटिन नसक्नुमा नीति नभएर नियतमै खोट छ । न्यायमा राजनीति र राजनीतिमा अपराध सँगसँगै बग्दा समस्या छिचोलिसाध्य नभएको हो । यही न्यायालयका कोसेढुङ्गा – पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले अदालतको मानहानीमा जेल हाले ।

‘ऋषिकेशको मुद्दा प्रधानन्यायालयबाट हेर्ने भनेको प्रधानन्यायाधीशले कानमा तेल हाली बसे । अहिलेसम्म मुद्दा किनारा भएन’ भनेर राष्ट्रिय कांग्रेसको बुलेटिनमा छापेकोमा मानहानी भयो भन्ने मुद्दामा राष्ट्रिय कांग्रेसका अध्यक्ष रेग्मी र प्रेस म्यानेजर केशव पाण्डेलाई ६,६ महिना कैद र पाँचसय रुपियाँ जरिवाना गर्ने आदेश भएको थियो ।

बीपी गृहमन्त्रीबाट हटेपछि उनलाई उपत्यका बाहिर जान राजा त्रिभुवनले प्रतिबन्ध लगाए । तर, तिनै प्रधानले व्यक्तिको हिँडडुल गर्न पाउने अधिकार कटौती गर्ने अधिकार सरकारसँग हुन सक्दैन भनेर हुकुम बदर गरिदिए । त्यसै मुद्दादेखि नेपालमा न्यायिक पुनरावलोकनको प्रथा सुरु भएको मानिन्छ । नागरिकतामा राष्ट्रप्रेमको गङ्गा बगाउनेहरूलाई घटनाले दिएको सन्देश ‘व्यवसायिक निष्ठा चिर्कटोमा नभएर नियतमा हुन्छ’ भन्ने हो ।

बीपीले प्रवासमा रहेर सशस्त्र विद्रोह रोजेपछि उनको नागरिकता खोस्ने सरकारी तयारीलाई राजाले नियुक्त गरेका महान्यायाधिवक्ता शम्भुप्रसाद ज्ञवालीले विफल पारिदिए । राजा महेन्द्रको जगजगी कालमा उनका ससुरा हरिशमशेर राणालाई मुद्दा हराउने फैसला लेखेका सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट राजाले दरबार बोलाउँदा थर्कमान हुँदै गोजीमा राजीनामा बोकेर गएका थिए । नेपाली सेनाको अतिरथीको मानपदवी पाएका शक्तिशाली व्यक्तित्व हरिशमशेरलाई हराउनु भनेको जोखिमको पनि उत्कर्ष थियो । उल्टो करेन्ट हिँडेका विष्टलाई उल्टै राजाले नगद पुरस्कार दिएर बिदाइ गरे । २०२७ सालमा पाँचौ प्रधानन्यायाधीशको इतिहास बनाए ।

तिनै महेन्द्रले बर्मा र भाक्सुदेखि नागरिक बोलाएर देशभर ‘बर्मेली टोल’ बनाए । पुनर्वासको योजनाभित्र मेची–महाकालीका नागरिक स्वेच्छिक बसाइँसराइ गरे । चोर र डाँकाको समेत मानवअधिकारमा राजा चुकेनन् । सेनाको सिपाही रुक्माङ्गद कट्वालले उडाइदिएको सुप्रिमो प्रचण्डको सातो अझै ठीक ठाउँमा आएको छैन । यो नैतिक मूल्यको जीत हो ।

सुशासन बहालीमा ‘को साधक ? को बाधक ?’ भनी खोज्ने हो भने हिमालमा यती र मैदानमा डाइनासोर भेटिएला, तर दोषको स्वामित्व लिन कोही तयार देखिँदैन

सुशासन बहालीमा ‘को साधक ? को बाधक ?’ भनी खोज्ने हो भने हिमालमा यती र मैदानमा डाइनासोर भेटिएला, तर दोषको स्वामित्व लिन कोही तयार देखिँदैन । सेवा निवृत्तहरू आफू पदबाट हटेसँगै रामराज्य खोसिएको दाबी गर्छन् । राजनीतिबाट नीति हराएर राजमात्र बाँकी छ । राष्ट्रसेवकबाट सेवा विरक्तिएको दशकौँ भइसक्यो । न्यायालय अघिल्तिर ‘अ’ थप्दा कसैलाई आपत्ति छैन । पुलिसको लोगोमा अङ्कित सत्य बरालिएको छ । पत्रकारका कलम दलपिच्छेका मसीबाट सिञ्चित हुँदा समाचार धमिलिएको छ । डाक्टरको सेतो एप्रोन, वकिलको कालो कोट र देशका ठूला मान्छेका खरानी कोटसँग आस्था घट्दो छ ।

हामीलाई न क्रान्तिमा बगेको रगतले झकझकायो, न भूइँचालोको कम्पनले सुधार्‍यो, न त कोभिडको सास फेर्न कठिन महामारीले नै सत्यबोध गर्ने परिवेशमा पुर्‍यायो । राम शाहको न्याय, जनताले खाएको सूचनापछि भात खाने महिन्द्र मल्लका इतिहास फन्टुस गफ भए ।

यतिबेला कांग्रेस सत्तामा छ । आजभन्दा ६५ वर्षअघि २०१५ सालमा दुईतिहाइ मत ल्याएर सत्ता सम्हालेको कांग्रेसले त्यो बेला आफ्नो घोषणापत्रमा लेखेको थियो – ‘प्रशासनयन्त्रको भ्रष्टाचार एवम् अदालतहरूमा व्यापक रूपमा फैलिएको घुसखोरीबाट जनता पीडित छन् । जनताको शोषण गर्नका निम्ति यसको उपयोग भइरहेको छ । सरकारले इमानदारीपूर्वक यस व्यापक रोगमाथि दृष्टि दिएको खण्डमा यस रोगलाई निर्मूल पारिनेछ । भ्रष्ट कर्मचारीलाई कडा सजाय र इमानदार एवम् कर्तव्यपरायण कर्मचारीलाई नेपाली कांग्रेसको सरकारले प्रतिज्ञा गर्दछ । अहिले प्रशासनयन्त्रमा ठूलो शिथिलता छ । यसले गर्दा सरकारी काममा विघ्न बाधा परिरहन्छ ।’

पाँचपटक देशको कार्यकारी भूमिका निर्वाह गरेका शेरबहादुर देउवा त्यो समयमा १२ वर्षका किशोर थिए । असीको सेरोफेरोमा रहेका देउवा छैटौँपटक कार्यकारी हुने सुरसारमा रहँदा समस्या त्यही ठाउँमा छ । न्यायाधीश नै लिलाम बढाबढमा नियुक्त गर्ने चलन भएपछि अब विधिको विषयमा बहस गर्नु नै व्यर्थ छ ।

सिंहदरबारका भवनहरू अहिले देखिएजस्तो शासकहरूको फेसन देखाउने शोरुममात्र नभएर आस्था, विश्वास र समर्पणको धरोहर हुनुपर्ने हो । चन्द्रशमशेरले सिंहदरबार बनाउन बज्रको उपयोग गरेका थिए । सिंहदरबार बनाउँदा उस समयमा काठमाडौं वरपरका सुत्केरीको मुखबाट कालो दाल खोसेर यहाँ ल्याउने उर्दी लगाइएको थियो । हड्डी, चुना र कालोमासको घोलबाट बनेको भवनभित्र सयौं आए, गए । थोरै कीर्तिमानी भए । कर्मचारीतन्त्र नेताका अघिल्तिर आकार बदलिरहने अमिबाजस्तै देखिने गरेको छ । तर त्यहीँ सिंहदरबारभित्र चन्द्रबहादुर थापा नाम गरेका मुख्यसचिव थिए, जसले ‘चन्द्रघण्टी’ बजाएर आफ्नो साख नेताभन्दा माथि राखे । १० बजे चन्द्रघण्टी बजेपछि सिंहदरबार बाहिरको कर्मचारीले भित्र पस्ने हिम्मत गर्दैनथ्यो । त्यही मेसोमा कृष्णबहादुर मानन्धर, भोगेन्द्र रिमाल र कर्णध्वज अधिकारी आदिले पनि इमान र इज्जतको त्यो पथ पछ्याए ।

पदमा बसेको मानिसलाई ऊ नियमको बन्धक नबनोस् भनेर राज्यले स्वविवेकीय अधिकार दिएको हुन्छ । तर, उक्त अधिकार पाएकाहरूले त्यसैलाई कमाइको गोरखधन्दा बनाइदिन्छन्

पदमा बसेको मानिसलाई ऊ नियमको बन्धक नबनोस् भनेर राज्यले स्वविवेकीय अधिकार दिएको हुन्छ । तर, उक्त अधिकार पाएकाहरूले त्यसैलाई कमाइको गोरखधन्दा बनाइदिन्छन् । भन्सारको चेकजाँचको ढोका, नागरिकताको ह्रस्वदीर्घ, आफ्नै बाले रोपेको बारीको बुट्यान र लोग्नेस्वास्नीको सामान्य झगडामा समेत खेलेर स्वार्थको रोटी सेक्ने गरेका छन् ।

मुलुकका ६ जना सम्माननीय पदको पारिश्रमिक हिसाब गर्ने हो भने सर्वाधिक तलब खाने राष्ट्रपतिको कर तिरेर डेढ लाख पनि हात लाग्दैन । दिनैपिच्छै रङ्गीबिरङगी ब्रान्डेड कोट लगाउने यी सम्माननीयहरूको तलबले कोट किन्न पनि पुग्दैन । यो नियम तलदेखि माथिसम्म अक्षरशः लागू हुन्छ । नेता, कर्मचारी, पत्रकार, वकिल, कलाकार, लेखा, पुलिस, राजश्व प्रशासन, मालपोत, नापी र अदालत कुनै पनि क्षेत्रमा काम गर्नेहरूमा निःशुल्क रक्सी खाने आदत छ । यति बाक्लैलाई ख्वाउने को हुन्छ ? भन्नै परेन । महालेखाका अडिटरलाई सरकारका लेखापालहरूले निर्धक्क मेजमान ख्वाउनु र भेटी चढाउनु सदाचारभित्रै परिरहेको छ ।

केही समययता सामाजिक सञ्जालमा प्रतिशोधपूर्ण विचार आएको टिकाटिप्पणी सुनिन्छ । नियन्त्रणका लागि सरकारले संसदमा विधेयक पेश गरेको छ । टिकाटिप्पणी र गाली किन बर्सिन्छ ? त्यसको विश्लेषण हुनुपर्छ । नेताहरू स्वधर्ममा नबसेर पो त्यसो भएको हो कि ! तपाईँहरूका अघिल्ला पुस्ताले राणालाई सराप्न सिकाए, तपाईँहरूले राजा र पञ्चहरूलाई धारेहात लगाउन सिकाउनुभयो । माओवादीले कांग्रेस र एमालेलाई तल्लो स्तरमा गाली गर्न सिकायो । दशकौँदेखि तपाईँहरूले रोपेको त्यही बाली अहिले नागरिक तहमा पाकेको हो । यसलाई मत्थर पार्ने एन्टिबायोटिक भनेको नेताहरूको आचरण सुधार नै हो ।

देश कुन अवस्थामा पुग्यो भन्ने मापन एक डोको नेपाली रुपैयाँ बुझाउँदा २० पातजति डलर हात पर्छ । छोरीको भीसा लागेको खुसीमा एउटा दुःखी बा हाड घोटेर बनाएको घरको लालपुर्जा बैङ्कमा बुझाउँछ र साँझ केक लिएर घर पुग्छ । छिमेकी र आफन्त भेला गरेर आतीसबाजीमा रमाउँछन् । त्यो बाउ त्यही दिनदेखि शरीरमा ब्लडप्रेसर उपहार प्रवेश गराउन बाध्य हुन्छ । निद्रा उसका लागि मृगतृष्णा बन्छ । यो नियति भनेको बाउ मरेकै दिन सन्तान जन्मिएजस्तै हो । हुण्डीको कारोबारीमा रमाएकाहरूलाई त नाफा घाटाको पर्बाह नहोला, तर असल नागरिकका लागि ‘दिन कट्नी र मानो पचनी’ सहज छैन ।

प्रजातन्त्र ल्याउन कांग्रेस, एमाले र माओवादी बाहेक अरूको पनि हात छ । दलहरूले सराप्ने राजसंस्था नै कुनैबेला राणाविरुद्ध आन्दोलित थियो । शहीद गङ्गालाललाई झुण्ड्याउन लगिएपछि उनले जन्मदिने पिता भक्तलाललाई भनेका थिए – ‘बा ! तपाईँजस्ता गीताका ज्ञाताले मेरो नाशवान देहको नाश हुने भएकाले शोक गर्न सुहाउँदैन । बा ! तपाईं जन्मभूमिको उत्थानका निम्ति हाँसीहाँसी उत्सर्ग गर्न आशिर्वाद दिनुस् ।’ आफूसँगै राजनीति गर्ने माहिला भाइलाई पुष्पलाल सम्झाउँदै भन्छन् – ‘माहिला ! यस जन्मभूमिमा प्रजातन्त्रको स्थापनाका लागि हामीले बालेर गएको दियोलाई तिमीले ज्वाज्वल्यवान पार्न नेपालका कुना कुनामा पुर्‍याउनू ।’ तर, तिनै पुष्पलाललाई कम्युनिष्टहरूले ‘गद्दार’को भारी बोकाए ।

१९९७ सालको नेपाल प्रजा परिषद्को पर्वमा २६ महिना सजाय भोगिसकेका शुक्रराज शास्त्रीलाई १० महिनापछि छोड्नुपर्नेमा उल्टो ज्यान सजाय तोकियो । हिन्दुहरूको महान ग्रन्थ श्रीमद्भागवदगीताको श्लोक लिएर प्रवचन दिँदा तीन वर्षको सजाय अपुग ठानी २६ महिनापछि ज्यान सजाय दिइएको थियो ।

पर्चा पम्पलेट टाँस्दा, प्रदर्शन गर्दा राणाहरूको जोरजुलुमा परियो भने गोप्यता भङ्ग नहोस् भनेर ती क्रान्तिकारी युवाहरू सुरुवालको इँजारमा साइनाइट बोकेर हिँड्थे । साइनाइट बोकेको भनेर कम्पाउन्डर चन्द्रमान सैँजूलाई निर्घात पिटियो

प्रजापरिषद्का युवा त कति दृढ, चतुर र प्रजातन्त्रप्रति समर्पित थिए भने नजरबन्दमा रहेका शुक्रराज शास्त्रीको अध्यक्षतामा उसैबेला नागरिक अधिकार समिति गठन गरियो । यस समितिको उद्देश्य सामाजिक, धार्मिक माध्यमबाट नागरिक हक स्थापित गराउनु थियो । ०८५ सालको चतुर्मासमा पण्डित मुरलीधर शास्त्रीमार्फत असनचोकमा पुराणवाचनमार्फत जनतामा चेतना जगाउने काम गरियो । पुराणले जनताको मन यसरी जित्यो कि जताततै चर्चा भयो ।

युवाहरूले प्राणोत्सर्ग गरेर भए पनि जनतालाई आन्दोलित गर्ने निधो गरे । पर्चा पम्पलेट टाँस्दा, प्रदर्शन गर्दा राणाहरूको जोरजुलुमा परियो भने गोप्यता भङ्ग नहोस् भनेर ती क्रान्तिकारी युवाहरू सुरुवालको इँजारमा साइनाइट बोकेर हिँड्थे । साइनाइट बोकेको भनेर कम्पाउन्डर चन्द्रमान सैँजूलाई निर्घात पिटियो । राजा त्रिभुवनबाट नै यो काम भएको भन्ने शङ्का भएपछि सैँजूको प्राण भने लिइएन ।

लोकतन्त्र र गणतन्त्रको मसिहा दाबी गर्ने दलका नेता–कार्यकर्ताहरूले इतिहासका तथ्यपरक ऐनामा आफ्नो अनुहार हेर्न जरुरी छ । गजुर लाउने मात्र होइन, जग खन्नेहरूको पनि लेखाजोखा हुनुपर्छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १ : ०७ बजे

आईपीओ अनुमतिको वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह

काठमाडौं- निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात

फुङ्लिङ्– ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको

फाइनान्सियल टास्क फोर्सको ‘ग्रे लिस्ट’मा नेपाल

काठमाडौं– फाइनान्सियल एक्सन टास्क फोर्स (एफटिएफ)ले नेपाललाई खैरो सूची (ग्रे

एउटै वडामा तीन जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ४ मुदीमा तीनवटा जलविद्युत् आयोजना निर्माण