पृतनापति समन्वयात्मक बैठक सुरु « Khabarhub

पृतनापति समन्वयात्मक बैठक सुरु


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति देखाएको अविचलित समर्पण भावबाट नेपाली सेना नेपाली जनताको आस्था र भरोसाको धरोहरका रूपमा स्थापित भएको बताएका छन् ।

आजदेखि सुरु दुई दिने पृतनापति समन्वयात्मक बैठक–२०८१ लाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनबाट सिर्जित चुनौती, प्रविधिलगायत कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीलाई समेत सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने बताए।

रक्षामन्त्री राईले विश्वको बदलिँदो भू–राजनीतिक परिवेश, ध्रुवीकरण र हालको अन्तर्राष्ट्रिय परिवेश तथा विभिन्न स्थानमा चलिरहेको द्वन्द्वहरूले हाम्रो देशमा पनि कुनै न कुनै प्रभाव पार्ने उल्लेख गर्दै त्यसका लागि सदैव चनाखो हुनुपर्ने बताए।

प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औँल्याएका अन्तर्निहित कार्यहरू सम्पादन गर्न नेपाली सेना सदैव प्रतिबद्ध रहेको बताए । उनले हालको विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गइरहेको अवस्थामा आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतार–चढावले नयाँ प्रकृतिका सुरक्षा चुनौती सृजना हुने सम्भावना रहेको उल्लेख गरे।

प्रधानसेनापति सिग्देलले भविष्यका सुरक्षा चुनौतीलाई सामना गर्न विभिन्न रणनीति तथा समन्वय प्रणालीलाई समयानुकूल विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउन सम्मेलन सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे।

नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकमा आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सम्मेलनमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, निमित्त रक्षा सचिव एवं रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ८ : ५१ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

गण्डकी– आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई

चालकको स्वास्थ्यसँग यात्रुको जीवन : कता छ राज्यको ध्यान ?

काठमाडौँ – सडकमा दिनहुँ गुडिरहेका हजारौँ सवारीसाधन केवल गन्तव्यतर्फ बढिरहेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।