काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न बजार अनुगमन समिति सक्रिय बनाइएपछि मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुगेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सरकार महंगी नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताए ।
‘आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवम् प्रयोगमा आउने सामग्रीहरूको सहज र सुलभ आपूर्ति व्यवस्थापनको लागि बजार अनुगमनलाई नियमित रूपमा सञ्चालन गरिएको छ,’ प्रधानमन्त्रीले भने, ‘दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुहरूको आपूर्तिको व्यवस्था मिलाईएको छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न बजार अनुगमन समिति सक्रिय बनाईएको छ । यसले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुर्याएको छ ।’
उपभोक्ता अधिकारको संरक्षण एवम् न्यायिक निरूपणका लागि भर्खरै उपभोक्ता अदालतको स्थापना गरी सञ्चालनमा ल्याइएको पनि उनले बताए । ‘यहाँ एउटा कुरा चाहिँ भन्न चाहन्छु– ‘बढ्दो महंगी नियन्त्रण गर’ भन्ने नारा सधैं लोकप्रिय हुने नारा हो । महंगी घटिरहेको बेलामा पनि त्यो नारा चाहिँ लोकप्रिय नै हुन्छ । त्यसैले यस्ता कुराहरुमा प्रश्नलाई लोकप्रिय बनाउन होइन, तुलनात्मक अध्ययन गरेर नागरिक जीवनमा सहजता ल्याउन लाग्नु पर्छ । यसका लागि महंगीको गत वर्षको दरसँग तुलना गरेर हेर्नु उपयुक्त हुन्छ,’ ओलीले भने ।
चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा औसत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको जानकारी दिँदै प्रधानमन्त्रीले अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको स्मरण गराए ।
चालु आर्थिक वर्षको लागि सजगतापुर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको भन्दै उनले अनिवार्य नगद अनुपात र बैंक दरलाई समेत समायोजन गरिएको बताए ।
‘यसबाट अधिक तरलता नियन्त्रण भई उपभोक्ता मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न सहयोग पुग्ने अपेक्षा रहेको छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले अत्यावश्यक वस्तुहरूको भन्सार दर घटाउने तथा महँगीमा प्रत्यक्ष असर गर्ने वस्तुहरूमा कर छुट प्रदान गर्ने नीतिलाई निरन्तरता दिइने पनि बताए । कृषि उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत ऋण प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘यसबाट खाद्य आपूर्तिमा स्थिरता, कृषिजन्य उपजको उत्पादनमा वृद्धि, कृषिजन्य उत्पादनको आयात व्यवस्थापन साथै मूल्य स्थिरता कायम गर्न समेत सहयोग पुग्नेछ,’ प्रधानमन्त्रीले भने ।
प्रतिक्रिया