घाम नछिर्ने उपत्यकाका सरकारी स्कुल : न उफ्रिने आँगन, न खेल्ने मैदान ! | Khabarhub Khabarhub

घाम नछिर्ने उपत्यकाका सरकारी स्कुल : न उफ्रिने आँगन, न खेल्ने मैदान !

नियम एकातिर, पूर्वाधार अर्कातिर



रौतहटका सुवेश वैठाले भविष्यमा क्रिकेट खेलाडी बन्ने लक्ष्य लिएका छन् । कक्षा ८ मा पढ्ने उनी र उनको दाइ काठमाडौंमा बुवासँगै बस्दै आएका छन् । बुवाको सानो व्यापार छ । आमा गाउँमा खेती गर्छिन् । उनलाई सानैदेखि क्रिकेटमा अत्यधिक रुचि थियो तर बुवाको सहयोग नपाएको गुनासो उनको छ । 

परिवारबाट सहयोग नभए पनि खेल्न नछोड्न गाउँलेहरूले गरेको खबरदारी भनेको कुरा आज पनि उनको स्मरणमा गुञ्जिरहेको छ । बुवाले पढ्न भनेर काठमाडौं त ल्याए तर सुवेशले प्रशस्त क्रिकेट खेल्न पाएका छैनन् । उनी पढ्ने महाबौद्धस्थित श्री महाँकाल माध्यमिक विद्यालयमा खेलकुदको लागि खुला ठाउँ नै छैन ।
 
पहिलोपटक विद्यालयमा आउँदा उनले खेल्ने ठाउँ नदेखेपछि सरलाई सोधे– ‘हामी कहाँ खेल्ने ?’ सरको उत्तर थियो– ‘यहाँबाट १० पास गरेर गएपछि बाहिर खेल्नू’ सरको उत्तरले उनी चकित भए ।  निजी स्कुलमा बुवाले पढाउन नसक्ने भएपछि उनी र दाइलाई बुवाले उक्त सामुदायिक स्कुलमा भर्ना गरिदिएका थिए । खेल्ने सोख पूरा गर्न सुविधा सम्पन्न स्कुलमा पढ्ने विकल्प सुवेशसँग थिएन । 

सुवेश वैठा, विद्यार्थी

पढाइ राम्रो भए पनि विद्यालय परिसरभित्र खेल्ने कुद्ने ठाउँ छैन । तर खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तो उनी हरेक शनिबार क्रिकेट खेल्न टुँडिखेल पुग्छन् । स्कुलस्तर प्रतियोगितामा उनले धेरै पटक खेलिसके । भविष्यको दिनमा उनी देशकै लागि क्रिकेट खेल्न चाहन्छन् । 

त्यस्तै अर्का विद्यार्थी १५ वर्षीय सविन भुजेल भविष्यमा सेना बन्न चाहन्छन् । स्थायी घर दोलखा भएका भुजेल हाल कक्षा ९ मा पढ्दैछन् । विद्यालयमा दौडिन, खेल्न उफ्रिन नपाउँदा उनलाई नरमाइलो लाग्छ । 

सविन भुजेल, विद्यार्थी

आफ्नो खेल्ने अधिकार खोसिएको उनले गुनासो गरे । भन्छन्, ‘हाम्रा आमाबुवाले बोर्डिङ स्कुल पढाउन सक्नुभएन । के हामी गरिबका छोराछोरी भएकै कारणले आफ्नो अधिकारबाट वञ्चित हुनुपर्ने हो ? विद्यार्थीको सर्वाङ्गीण विकासको लागि पढाइसँगै खेलकुद पनि हो । हामीलाई खेल्ने ठाउँ खै ?’

विद्यालयले वर्षमा ३/४ पटक फुटसल लैजाने भुजेल बताउँछन् । भन्छन्, ‘म पढाइ सकेर स्कुलबाट निस्केपछि बाहिर दौड अभ्यास गर्छु  । कहिलेकाहीँ साथीहरूसँग पार्कतिर गएर दौडिन्छु । पैसा हुँदा फुटसल पनि जान्छु । विद्यालय स्तरका खेलकुद प्रतियोगितामा सहभागी हुँदै आएको छु । अब के गर्नु खेल्ने सपनालाई खुम्च्याएर बस्न सकिँदैन ।’  

शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयका पूर्वाधारमा एकरूपता कायम गर्न र शिक्षण सिकाई मैत्री बनाउन विद्यालय भौतिक पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड जारी गरेको छ । जसमा खेलकुद मैदान अनिवार्य छ । अर्को, विद्यालय बनाउँदा भूकम्प प्रतिरोधी भवन र मापदण्ड निजी विद्यालयले समेत अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरेको छ । 

महाँकाल स्कुल प्रांगण

त्यस्तै, काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८१ मा ‘करले होइन रहरमा, हाम्रा बालबालिका सामुदायिक विद्यालयमा’ र ‘शैक्षिक रूपान्तरण अभियानमा सिर्जनात्मक सिकाइ, सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ’ नारासहित भर्ना अभियान गरेको थियो ।

तर महानगरको नारा उल्टो साबित भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी रहरले होइन, करले अथवा बाध्यताले पढिरहेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थीले आफ्नो दौडिने र खेल्ने अधिकारसम्म प्राप्त गर्न सकिरहेका छैनन् । 

काठमाडौंको मुख्य व्यापारिक केन्द्र महाबौद्धस्थित सेतो गुम्बाबाट ५० मिटर भित्र साँघुरो गल्ली हुँदै महाँकाल विद्यालय पुगिन्छ । विद्यालयको गेट कुनै घरभित्र प्रवेश गर्ने जत्रै छ । महाँकाल विद्यालयको कक्षाकोठामा ढोका र झ्यालसमेत छैन । डेस्क र बेञ्च पनि निकै पुराना छन् । कक्षाकोठाको भुईँबाट प्लास्टर उक्किएको छ । विद्यालय परिसर वरपरका अग्ला घरहरूले घामको किरणसम्म पस्न दिएका छैनन् ।

झ्याल ढोका नभएको क्लास

वि.सं २०१३ सालमा स्थापना भएको महाँकाल विद्यालय १३ आना क्षेत्रफलमा रहेको छ । दुई दुई तल्लाका ३ वटा भवन छन् । त्यही भवन पनि २०७२ सालको भूकम्पले चर्किएका छन् । भवनहरूकै बीचमा साना बालबालिकाका लागि खेल्ने संरचनाहरू छन् । बाँकी बचेको ठाउँमा विद्यार्थीहरूलाई पालैपालो प्रार्थना गराइने विद्यालयका प्रधानाध्यापक राजीव बज्राचार्य बताउँछन् । 

खबरहबसँग कुरा गर्दै उनले भने, ‘यस विद्यालयमा म २०७९ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेको छु । तीन सय बढी विद्यार्थी छन् । काठमाडौंका धेरै विद्यालयमा खुला ठाउँको अभाव छ । सरकारको मापदण्ड अनुसारको क्षेत्रफल काठमाडौंमा सम्भव छैन । विद्यार्थीका लागि मात्र नभइ युवाको लागि र वृद्ध वृद्धा कसैको लागि पनि खुला ठाउँ काठमाडौंमा छैन । ’

‘पहिले विद्यार्थीहरू विद्यालय परिसर बाहिर खेल्थे । तर व्यापारीहरूले होहल्ला भएको गुनासो गरे । केही लडेर चोटपटक लाग्यो । त्यसपछि अहिले बाहिर खेल्न जान दिने गरेका छैनौँ’ बज्राचार्य थप्छन्, ‘विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापमा उचित मात्रामा सहभागी हुने अवसर पाएका छैनन् । घामको किरण नपर्ने हुँदा जाडो याममा निकै कष्टकर हुन्छ ।’

त्यस्तै अभिभावकको  अवस्थाबारे प्रधानाध्यापक बज्राचार्यले ९५ प्रतिशत विद्यार्थीका अभिभावकको आर्थिक अवस्था कमजोर भएको बताए । ‘मजदुरी गरेर पेट पाल्नुपर्ने बाध्यता भएका अभिभावकका बच्चाहरु यो विद्यालयमा पढ्छन् । अभिभावक संघ गठन गर्न शिक्षित अभिभावक खोज्दा पाउनै मुस्किल छ ।’ साथै उनले भूकम्पले चर्किएको विद्यालय भवन प्राविधिक रूपमा प्रतिबन्धमै परे पनि सामान्य मर्मतपछि सञ्चालन भइरहेको बताए । 

त्यसै गरी, अर्को महाँबौद्धमै रहेको विद्यालय छ-त्यौड माध्यमिक विद्यालय । २०१७ सालमा स्थापना भएको उक्त विद्यालयको गेट देख्दा जोकोहीको आङ सिरिङ्ग हुन्छ । सोडा हालेको पाउरोटी फुलेजसरी विद्यालय छिर्ने गेटको पर्खाल फुलेर उभिएको छ । कति बेला ढ्याम्म विद्यार्थी र शिक्षक जोकोहीलाई पुर्न सक्छ ।

त्यौड माध्यामिक विद्यालय प्रवेश गेट

सम्बन्धित निकाय वडा र महानगरमा जानकारी गराएको प्रधानाध्यापक सुरेन्द्र केसी बताउँछन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘यो पर्खालको स्थिति स्वयम मेयर बालेन शाह आएर हेरेर जानुभएको हो । हुर्र दगुर्दै हिँड्नुहुन्छ, पर्खाल ख्यालै पो गर्नुभएन जस्तो छ । विद्यालयका तीन वटा भवन जापान सरकारले बनाइदिएको हो । तर फर्निचर अलि पुरानो छ । महानगरमा प्रमुख प्रशासक नहुँदा काम अगाडि बढिरहेको छैन ।’ 

महाँकाल विद्यालयमा विद्यार्थीले खेल्न पाएका छैनन् तर त्यौडमा त झनै अवस्था नाजुक छ । वरिपरिका भवनहरू पनि जीर्ण अवस्थाका छन् । खेलकुदको लागि क्षेत्रफल छैन । ‘बुक फ्री फ्राइडे’ भन्ने नारा पनि सामुदायिक विद्यालयका विद्यार्थीका लागि नारामै सीमित छ  । 

सुरेन्द्र के.सी., प्राधानाध्यापक, त्यौड माध्यामिक विद्यालय

शिक्षा र आर्थिक निकै विपन्न अभिभावकका छोराछोरीहरू पढ्छन् । उनीहरूले गुनासो नगर्ने हुँदा पनि सम्बन्धित निकायले ध्यानाकर्षण नगरेको प्रधानाध्यापकको गुनासो छ । भन्छन्, ‘यहाँ काठमाडौंकै स्थानीय विद्यार्थी कोही छैन । काठमाडौं वरपरका छिमेकी जिल्लाहरूबाट काठमाडौं काम खोज्दै आएका ज्यामी काममा संलग्न अथवा सानोतिनो व्यापार व्यवसाय गर्ने अभिभावक छन् । कतिपय अभिभावक कुलतमा समेत छन् ।’ 

शिक्षा मन्त्रालयका अनुसार देशभर माध्यमिक तहका २८ हजार सामुदायिक विद्यालय छन् । जसमा ५५ लाख विद्यार्थी पढ्छन् । त्यसमध्ये महानगरको ८९ सामुदायिक विद्यालयमा करिब ४७ हजार ६९४ विद्यार्थी पढ्छन् । 

विद्यालय भौतिक पूर्वाधार निर्माणसम्बन्धी मापदण्डमा विद्यालयका कक्षाकोठाको आकार प्रति विद्यार्थी न्यूनतम १ वर्ग मिटर र कक्षाकोठाको साइज ६० वर्ग मिटरभन्दा ठूलो बनाउन नपाइने उल्लेख छ । 

कक्षा १ – ५ अध्ययन गर्ने विद्यालय भवन निर्माणका लागि १५ सय ३० वर्ग मिटर, कक्षा १ – ८ सम्मका लागि २५ सय ४५ र माध्यमिक तह १ – १० कक्षासम्मका लागि ३३ सय १० वर्गमिटर जग्गा हुनुपर्ने छ । त्यसै गरी कक्षा १–१२ सम्म पठनपाठन हुने विद्यालयका लागि ४ हजार ७२ वर्गमिटर जग्गा अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । साथै, विद्यालय भवन बनाउँदा ६० प्रतिशत जमिन खाली छोड्नुपर्ने प्रावधान छ । 

त्यसै गरी कक्षाकोठासँगै खानेपानी, शौचालय, शिक्षक प्रशासनिक कार्यकक्ष, खेल मैदान, पुस्तकालय, भान्सा तथा खाजाघर, मनोरञ्जन कक्ष, बैठक पोसाक वा स्यानिटरी प्याड परिवर्तन कक्ष अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ३ : १७ बजे

आतंकवादविरुद्धकाे सहकार्य बढाउन भारत र न्युजिल्याण्ड सहमत

काठमाडौं – आतंकवादका विरुद्धमा सहकार्यलाई वृद्धि गर्न भारत र न्युजिल्याण्ड

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाँपजाँच सुरु

नवलपरासी – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी

उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति मिलाउन आग्रह

काठमाडौं – नेपाल उद्योग परिषद्ले उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्तिको

रसुवागढी नाकाबाट सुनसहित एक व्यक्ति पक्राउ

रसुवा – अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी

केपिलासगढीमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न

खोटाङ – यहाँको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आयोजित निःशुल्क आँखा