आगलागी पीडितका गुनासा : नेताहरूले अवस्था हेरे, व्यवस्था गरेनन् | Khabarhub Khabarhub

आगलागी पीडितका गुनासा : नेताहरूले अवस्था हेरे, व्यवस्था गरेनन्


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

धनगढी– बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा गत चैत २६ गते साँझ भीषण आगलागी भयो । २५ वटा घर र ती घरभित्र सञ्चालनमा रहेका ३५ वटा पसलहरू जलेर छिनमै खरानी भए । भौतिक संरचना पुरै नष्ट भए । आधाबढी बजार नै ध्वस्त भयो । सिङ्गो बजार नै आगलागीले फेरियो । पीडितको जीवनशैली नै अस्तव्यस्त हुने अवस्था आयो । उक्त पीडा र समस्या अहिले पनि कायमै छ ।

आगलागीको १२ दिन बित्यो । तर पनि पीडितहरूले पाउनु पर्ने जति राहत र सहारा केही नपाएको गुनासो गरेका छन् । प्रहरीका अनुसार भौतिक संरचना बाहेक ८ करोड बढीको क्षति भएको छ । २५ वटा घरको क्षति यकिन नै गरिएको छैन । पक्कीदेखि खर र ढुङ्गाले छाएका नयाँ पुराना सबै घर जलेर नष्ट भएका छन् ।

वर्षौदेखि बजारमै घर बनाएर बस्नेतहरूको लागि बसोबासकै लागि समस्या छ । तर राज्यका पक्षबाट अवस्था हेर्न मन्त्री आए पनि व्यवस्था गर्नेतर्फ कसैको ध्यान नगएकोमा पीडितहरूमा आक्रोश देखिन्छ ।

उठीबास लागेका पीडितहरू पूर्णरुपमा विस्थापित छन् । पालिकाले दिएको पाल र केही आफन्तको घरको सहारामा उनीहरु जीवन काट्न बाध्य छन् । पीडामा समेत राज्यको उपस्थिति नदेखिएको प्रति आक्रोश आगलागी पीडित निर्मला रावलको छ । उनको पक्की घरमा नै क्षति पुगेको छ । आगो फैलँदै जाँदा उनले अन्यत्रको क्षति जोगाउन आफ्नो घर डोजर लगाएर भत्काइन् ।  थप क्षति हुन नदिन आफ्नो घर भत्काउन सहयोग गरेकी रावल अहिले आफन्तको कोठामा बस्दै आएकी छिन् । उनको घर निर्माण र घरको क्षति पाउने कुरामा उनी विश्वस्त छैनन् ।

‘मेरो घर जलेर खरानी भयो । तर अरूका घर बचाउन डोजर लगाएर भत्काउन दिएँ,’ उनले भनिन्, ‘त्यति नगरेको भए सायद जयगढको नाम निशान नै मेटिने थियो।’ अहिले पीडा मैले भोगिरहेकी छु, न बासको ठेगान छ, न गाँसको ग्यारेन्टी नै । नेताहरू आए, दिन्छौँ भनेर फर्किए तर कुनै व्यवस्था गरेनन्, उनले भनिन् ।

१० वर्षअघि श्रीमानको मृत्यु भएको र कार्यालय सहयोगीको जागिर गर्दै छोराछोरी पढाइरहेकी निर्मलाका लागि अहिले बस्न निकै गाह्रो देखिन्छ । गाउँपालिकाले दिएको एउटा ब्ल्याङ्केट, २५ किलो चामल, तेल र बाल्टिन बाहेक केही नपाएको पीडितले गुनासो गरेका छन् ।

गाउँपालिका अध्यक्ष टेकबहादुर साउदले सहयोग रकम जुट्ने क्रममा रहेकाले पीडितले राहत पाउने विश्वास व्यक्त गरे । पालिका दिनरात त्यसैमा लागिपरेको दाबी अध्यक्ष साउदको छ । साउदका अनुसार गाउँपालिकाको खातामा अहिलेसम्म ५ लाख ७२ हजार रकम संकलन भएको छ । त्यसमध्ये ३ लाख ५९ हजार पीडितलाई दिएको र बाँकी कामपनि तिब्र गतिमा भइरहेको उनको भनाइ छ ।

घटनालगत्तै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का, आन्तरिक मामिला मन्त्री हिरा सार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुरेन्द्रपाल जयगढ पुगेर स्थलगत अनुगमन गरि फर्किएका छन् । अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद पुष्पबहादुर शाहले पनि अवस्था बुझेर फर्किएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आकस्मीक बैठक गरेर ५० लाख दिने घोषणा समेत गरेको थियो । घोषणा लगत्तै मन्त्रीको टोली अछाम पुगेर पीडितलाई आश्वासन दिएर फर्किएको थियो । तर रकम दिने नदिने अझै प्रदेश सरकारले यकिन गरेको छैन ।

प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हिरा सार्कीले भने केही दिनमा बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गरेर पालिकालाई बुझाउने गरि तयारी भइरहेको बताए ।

आगलागी पछि मन्त्रीदेखि नेतासम्म समाजसेवीदेखि नागरिक अगुवासम्म जयगढ पुगेका थिए । उनीहरुले राहत दिने प्रतिस्पर्धाकै शैलीमा घोषणा समेत गरेका थिए ।

अछामका १० पालिका मध्ये मल्लेख गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका र मंगलसेन नगरपालिकाले राहत घोषणा गरेका थिए । ती मध्ये मंगलसेन नगरपालिकाले मात्रै दिने प्रक्रिया अघि बढाएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीकातर्फबाट पनि राहत घोषणा गरिएको थियो । तर नेकपा माओवादीका तर्फबाट केन्द्रीय सदस्य दिपक साउदले १ लाख २५ हजार रुपैयाँ सहयोग दिएका छन् । कांग्रेसले घोषणा गरेको १ लाख र एमालेले घोषणा गरेको १ लाख २१ हजार दिन बाँकी छ । यस्तै, मायामेट्रो अस्पताल प्रालिका अध्यक्ष धिरेन्द्र साउदले पनि १ लाख ५१ हजार नगद दिएको तथ्यांक पालिकामा छ ।

बान्नीगढी जयगढ गाउँपालिकाकी उपाध्यक्ष विन्दु रावलले गाउँपालिकाले तत्कालका लागि पीडितलाई खाद्यान्न उपलब्ध गराइसकेको र अस्थायी टहरा बनाउने योजना बनाएर अघि बढीसकेको जानकारी दिइन् । उनले भनिन्, ‘दीर्घकालीन पुनर्निर्माणको लागि सोच्नु पर्नेछ । त्यसमा पालिकाको टिम र संघ प्रदेश सरकार पनि जिम्मेवार हुनुपर्छ ।’

जयगढका व्यापारी समेत रहेका आगलागी पीडित खगेन्द्र साउदले राज्यले आश्वासन दिन आशा मात्रै बाँड्ने सहयोग नगर्ने कुरा गैर जिम्मेवार भएको बताए । घर, गोदाम र पसल सबै जलेर नष्ट भएपछि उनको परिवार अहिले गाउँपालिकाले उपलब्ध गराएको स्वास्थ्य चौकीको एउटा कोठामा आश्रित छ । साउदको मात्रै करिब १ करोड बढीको क्षति भएको प्रहरी रिपोर्ट छ ।

 ठूलाबडा आउने र फोटो खिच्ने बाहेक केही काम नभएको पीडितको गुनासो छ ।  

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १२ : ३१ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा